सबै ठीक छ सरकार
सबै कुरा ठीकठाक हुँदाहुँदै पनि केही विकासविरोधी, अप्रजातान्त्रिक तत्व सरकारको निरन्तर विरोध गरिरहेका छन् । तिनीहरुले डाह गर्दैमा चिन्ता लिनुपर्ने केही छैन सरकार !
सबै कुरा ठीकठाक हुँदाहुँदै पनि केही विकासविरोधी, अप्रजातान्त्रिक तत्व सरकारको निरन्तर विरोध गरिरहेका छन् । तिनीहरुले डाह गर्दैमा चिन्ता लिनुपर्ने केही छैन सरकार ! बिनाहिचकिचाहट यही गति र मतिका साथ अगाडि बढिरहे सरकारको फलिफापै फलिफाप हुनेमा कुनै शंका छैन । यो एक वर्षमा धेरै भए लोकप्रियता ओरालो लागेर भुइँतिर पुगेको छ । अर्थोक के भाको छ र ! पार्टीभित्र र बाहिर सरकारप्रति असन्तुष्टि चुलिएर आकाशमा पुगेको छ । पहिला–पहिला समर्थन गर्ने वा चुपचाप सरकारका काम पर्खिबसेकाहरु पनि आक्रोशित र वाक्क भएका छन् । सरकारी गुटकै मान्छे असन्तुष्ट बनेर अर्को गुटतिर बसाइँ सर्ने सम्भावना चुलिएको छ । सरकारलाई समर्थन गर्नेहरुको संख्या खर्लप्पै घटेको छ । त्यति हो, अर्थोक के भएको छ र ! सबै ठीक छ सरकार !
समग्रमा मुलुकको अवस्था एकदम ठीक छ सरकार ! सरकार र देश दुवै सही दिशातिर अगाडि बढेका छन् । यसरी नै अगाडि बढेर सरकारको डेढ वर्ष बितिसक्यो । उल्लिखित केही झिनामसिना कुराबाहेक बाँकी सबै ठीकठाक भएको हुँदा जतिसुकै विरोध भए पनि आत्तिनुपर्ने केही छैन सरकार । अब मात्र साढे तीन वर्ष हो, ‘यसैगरी बिताइदिन्छु पाँच वर्षे जिन्दगी’ गीत गाउन थाल्दा हुन्छ । आगे सरकारको जो विचार ।
देशको वर्तमान स्थिति पनि ठीक छ । मुलुकभरि जताततै बाढीपहिरो र डुबान हुँदा पनि मर्नेको संख्या सय नाघेको छैन । सडक केही दर्जन ठाउँमा भत्केका हुन्, यातायात केही दिनदेखि अवरुद्ध भएको हो । समस्या केही छैन । पहिरो हटाउने काम डोजरले गर्दैछन् । स्थानीय निकाय खटिएकै होलान् । वडाअध्यक्ष, सदस्यलाई अर्कोपल्ट चुनाव जित्नु छ भने तिनीहरुले व्यवस्थापन मिलाइहाल्लान् । वर्षा पनि थामिँदैछ । पहिरो र बाढी पक्कै कम हुनेछ । विचल्लीमा परेर ठाउँ–ठाउँमा शरणार्थी बनेका जनता घर फर्किनेछन्, घर नभएकाले कतै आफ्नो व्यवस्था मिलाउनेछन् । उनीहरुलाई बानी परेकै छ । अनि कहाँ के बिग्रेको छ त !
अहिले मन्त्रिमण्डलभित्रको आन्तरिक द्वन्द्वको दुर्गन्ध बाहिर पनि ह्वास्स–ह्वास्स आउन थालेको छ । त्यहाँ सरकारले गरेका काम प्रधानमन्त्रीलाई थाहा हुन छाडेछ । सचिवले मन्त्रीहरुलाई नै गुमराहमा राख्न थालेछन् । सरकारले अनेकौँ निर्णय गर्दै र दर्जनौँ विधेयक पेस गर्दै फिर्ता लिँदै गरिसक्यो । मेलम्ची आयोजनालगायत थुप्रै मुद्दामा सरकार पटक–पटक पछारियो । नझुक्ने र अडान कहिल्यै नछाड्ने कुरामा नाम कमाएका प्रधानमन्त्रीले सरकारबाट भएका कतिपय कामका लागि माफी मागे, लज्जित छु पनि भने । अर्थोक त के बिग्रेको छ र ! सब ठीक छ सरकार !
महँगी र भ्रष्टाचारको पारो माथिमाथि चढिरहेको छ । सरकारले नसके पनि तरकारीको भाउले ‘उडी छुनु चन्द्र एक’ भन्ने उद्देश्य पूरा गर्दैछ । दबाबमा परेर भारतबाट आउने विषादीले परिपूर्ण भनिएका तरकारी परीक्षणबिनै देशमा हुल्न बाध्य भइयो । मुलुकमा द्वन्द्वले टाउको उठाउँदैछ । विद्रोही समूहका मानिस मारिँदैछन्, समातिँदैछन् । मुठभेड बढ्दैछ । प्रहरी पनि मारिन थाले । त्योबाहेक अर्थोक त के बिग्रेको छ र ! सब ठीक छ सरकार !
सम्बन्धित
अब हामी त्यता वरपर गस्ती गर्छौं । ढुंगाहरूमा लठ्ठीले हानेर आवाजहरू निकाल्छौँ, सुसेल्छौँ । ...
सुत्न दे इन्डिया !
स्रोतले कति पटक बिहान माधव नेपाललाई र दिउँसो प्रचण्डलाई प्रधानमन्त्री बनाइसक्यो । साँझमा प...
यस्ता अद्भुत समाचार मित्रहरूले कहाँबाट ल्याउँछन् ?
हामीले पूरा नहुने आशा गरेर आफ्नो स्वास्थ्य बिगार्नुभन्दा पूरा हुने सम्भावना भएका अपेक्षा ग...
नयाँ वर्ष नयाँ आइडिया
नेपालमा भने कोरोना नियन्त्रणको जिम्मा स्वास्थ्य मन्त्रालयले होइन, गृह मन्त्रालयले लिएजस्तो...
प्रहरी लगाऊ, कोरोना भगाऊ !
यो समय त नाकमा मास्क, आँखामा कालो चस्मा र कानमा ठेडी लगाएर चुपचाप घरमा बस्ने समय हो ।...
त्यत्तिकै भ्रष्टाचार भयो भन्ने ?
बाइकवालाले फुऽ गरेको त मापसे पोजिटिभ देखियो । ट्राफिकले समाइहाले । तर बाइकवालाले भने, ‘माप...