पत्रुकारिता प्रालि
पत्रुकारिताका लागि पत्रकारितालाई जस्तो कुनै शैक्षिक योग्यता, कुनै आचारसंहिता, सरकारी निकायमा दर्ता, कार्यालय कोठा, कुनै ठूलो सञ्चार माध्यममा जागिर वा पहुँच केही नभए पनि हुने रहेछ ।
देशमा नयाँ–नयाँ रोजगारीका अवसर सिर्जना भइरहेका छन् । अहिले असाध्यै ठूलो रोजगारीको रूपमा पत्रुकारिता देखिएको छ । यसको व्यवसाय साह्रै सजिलो र लाभदायी रहेछ । ओछ्यानमै सुतीसुती पनि यसको खेती गर्न सकिने रहेछ । पत्रुकारिताका लागि पत्रकारितालाई जस्तो कुनै शैक्षिक योग्यता, कुनै आचारसंहिता, सरकारी निकायमा दर्ता, कार्यालय कोठा, कुनै ठूलो सञ्चार माध्यममा जागिर वा पहुँच केही नभए पनि हुने रहेछ । खल्तीमा एउटा मोबाइल फोन भए पत्रुकार हुनलाई कुनै आइतबार पर्खनै नपर्ने । समाचार त्यसैमा टाइप गर्न मिल्ने, तस्बिर, भिडियो त्यसैले खिच्ने । बुद्धि लगाएर काम गरे रातारात मालामाल भइने सम्भावना हुने । नोक्सानी त छँदै छैन । अझ भिडियो पत्रुकारिताको बजार त रगतभन्दा रातो र अगुल्टोभन्दा तातो छ अहिले । एउटै सर्त छ, यस व्यवसायमा लजाउनु, घिनाउनु र डराउनुचाहिँ हुँदैन । आफ्ना उत्पादनले समाजमा के असर गर्छ वा कसैको जिन्दगी नै बर्बाद गर्छ कि भन्नेतिर सोच्नु हुँदैन । त्यसरी सोच्न थाल्ने हो भने यो व्यापार नगरे पनि हुन्छ ।
हाम्रा गाउँतिर लाग्ने हटिया, मेला, महोत्सवमा बाँदर नचाएर घुमीघुमी चटक देखाउने, पानीपुरी, चटपटे वा हवाइ मिठाई बेच्ने, डमरु बजाएर बरफ बेच्ने आदि प्रकारका खुद्रे व्यापारीले गरेजस्तै पत्रुकारिताको व्यापारमा पनि हातमा क्यामेरा अन गरेर ठाउँ–ठाउँमा घुम्न जानुपर्ने हुन्छ । जस्तै, लोग्नेस्वास्नी वा सासूबुहारी कुटाकुट गरेका ठाउँमा, यौन सम्बन्धका लफडा भएका ठाउँमा, कुकुर, सुँगुर वा गाईगोरुको प्रेमालाप भएका ठाउँमा, अलि अस्वाभाविक तरिकाले कोही मानिस मरेको वा आत्महत्या गरेको ठाउँमा इत्यादि । हिजोआज केही व्यक्ति नकारात्मक विषयलाई चर्को युट्युब प्रस्तुतिद्वारा रातारात सेलिब्रिटी भएका छन् । त्यस्ता सेलिब्रिटीलाई खोजीखोजी सरकार वा कसैविरुद्ध गाली ओकल्न प्रेरित गरिन्छ । त्यस्तै विभिन्न हत्या वा बलात्कार काण्डले जन्माएका अनेक मनोविश्लेषक र विशेषज्ञसँग अन्तर्वार्ता गर्न सकिन्छ । जस्तै, सुम्ला विशेषज्ञ, डीएनए विशेषज्ञ, खकारविज्ञ, वीर्य विश्लेषक, मनोरोग ज्ञाता, अपराधविज्ञ, जासुस आदि । यस्ता भयंकर प्रतिभाहरू चिया दोकानमा, क्यारेमको बोर्ड वरिपरि, जुवातासको खालमा, देवालयमा, शौचालयमा जताततै छ्याप्छ्याप्ती पाइन्छन् । तर्कशास्त्रमा पारंगत छ भने मानसिक सन्तुलन गुमाएर बजारमा नांगै घुम्दै हिँडेको व्यक्ति पनि समाचारका लागि स्रोत–व्यक्ति हुन सक्छ ।
यसरी संकलन गरिएका कच्चा पदार्थमा आफूले सपना देखेका आधारमा, अनुमान गरेका आधारमा, सुनेका भरमा, घटना घटाउने व्यक्तिको राजनीतिक संलग्नताका आधारमा, पत्रपत्रिका, फेसबुक, युट्युब, अनलाइनका आधारमा बेस्सरी मसला खाँद्नुपर्छ । इन्टरनेटमा पाइने अनेक नयाँ–पुराना भिडियोबाट आफूलाई चाहिने टुक्रा कपी गरेर आफ्नो भिडिओमा पेस्ट गर्नुपर्छ । कुनै हत्या, बलात्कार वा आक्रमण भएका घटना भए त्यसका कारण र दोषीको नामै किटेर समाचार ठोक्नुपर्छ । त्यसमा केही नेताका नाम पनि गाँसिदिनुपर्छ । आङै सिरिंग हुने शीर्षक राख्नुपर्छ, जसले भित्री समाचार हेर्दै नहेरी पाठकले लाइक, सेयर र प्रतिक्रियाको ओइरो लगाऊन् । यसरी तयार गरेको समाचार, भिडियो दनादन युट्युबमा अपलोड गरेर भकाभक डलर कमाउन सकिन्छ भन्ने प्रशस्त उदाहरण हामीले बजारमा देखिसकेका छौँ । अतः ओछ्यानमा सुतीसुती मानिसका मथिंगल हल्लाउन सक्ने, शौचालयको कमोडमा बसीबसी मुलुकमा उथलपुथल ल्याउन सक्ने, नाफाको ग्यारेन्टी भएको पत्रुकारिता व्यवसाय छाडेर अन्त किन मन बराल्नु !
सम्बन्धित
अब हामी त्यता वरपर गस्ती गर्छौं । ढुंगाहरूमा लठ्ठीले हानेर आवाजहरू निकाल्छौँ, सुसेल्छौँ । ...
सुत्न दे इन्डिया !
स्रोतले कति पटक बिहान माधव नेपाललाई र दिउँसो प्रचण्डलाई प्रधानमन्त्री बनाइसक्यो । साँझमा प...
यस्ता अद्भुत समाचार मित्रहरूले कहाँबाट ल्याउँछन् ?
हामीले पूरा नहुने आशा गरेर आफ्नो स्वास्थ्य बिगार्नुभन्दा पूरा हुने सम्भावना भएका अपेक्षा ग...
नयाँ वर्ष नयाँ आइडिया
नेपालमा भने कोरोना नियन्त्रणको जिम्मा स्वास्थ्य मन्त्रालयले होइन, गृह मन्त्रालयले लिएजस्तो...
प्रहरी लगाऊ, कोरोना भगाऊ !
यो समय त नाकमा मास्क, आँखामा कालो चस्मा र कानमा ठेडी लगाएर चुपचाप घरमा बस्ने समय हो ।...
त्यत्तिकै भ्रष्टाचार भयो भन्ने ?
बाइकवालाले फुऽ गरेको त मापसे पोजिटिभ देखियो । ट्राफिकले समाइहाले । तर बाइकवालाले भने, ‘माप...