जोगी आत्मा
बनारस हिन्दु विश्वविद्यालयबाट फाइन आर्टमा स्नातकोत्तर गरेर फर्किएको तीन वर्षपछि किरण मानन्धर फ्रान्स गए, सन् १९८३ मा । साथमा थिए, उनका १५ पेन्टिङ ।
बनारस हिन्दु विश्वविद्यालयबाट फाइन आर्टमा स्नातकोत्तर गरेर फर्किएको तीन वर्षपछि किरण मानन्धर फ्रान्स गए, सन् १९८३ मा । साथमा थिए, उनका १५ पेन्टिङ । पहिलोपल्ट पेरिस जाँदा फ्रान्सेली भाषा आउँदैनथ्यो । तर त्यहाँ भाषा नजान्नेलाई मान्छे नै नगन्ने रहेछन् । ट्याक्सी चढ्न पैसा हुँदैनथ्यो, त्यसैले पिठ्युँमा पेन्टिङको चाङ बोकेर सहर चहार्थे । न प्रदर्शनीमा राख्ने चाँजोपाँजो मिल्थ्यो, न त कुनै पेन्टिङ बिक्थ्यो नै । हत्तुहैरान भए । तीन महिनाको भिसा छउन्जेल टिक्नै मुस्किल पर्ने भयो । निराशाले च्यापेकाले हत्तपत्त निद्रा पर्दैनथ्यो ।
रातको १ बज्दै थियो, किरणको कोठामा एक जोगी छिरे । कुराकानीको सुरुआतमै उनलाई पहिल्यैदेखि चिनजानको मान्छेजस्तै महसुस भएछ । जोगीले चित्र कोर्ने तरिका, पेरिसमा क्यानभास पाइने ठाउँ सबै बताए । उनी जोगीका वचन मन्त्रमुग्ध भएर सुनिरहेका थिए ।
त्यत्तिकैमा छेवैको साथीले सोधेछ, 'किन एक्लै बोलिरहेको ?' किरण सम्झन्छन्, "साथीले बोलेसँगै त्यहाँ कोही देखिनँ, हाम्रो कुरा त्यहीँ रोकियो ।"
भोलिपल्टदेखि उनी जोगीकै 'रोडम्याप' अनुसार हिँडे । अचम्म ! फलिफाप हुँदै गयो । प्रदर्शनीमा आफ्नो पेन्टिङ राख्न त पाए नै, फ्रान्सको संस्कृति मन्त्रालयले गरेको अन्तर्राष्ट्रिय चित्रकला प्रदर्शनीमा प्रथमसमेत भए । सरकारले ९ महिना भिसा थपिदियो, त्यही बसेर पेन्टिङ गरे । उनले बनाएका मास्कका चित्र खुब रुचाइयो । फ्रान्सेली भाषा सिके । कला अनुरागीको सपनाको सहर पेरिसमा पहिलो भ्रमणबाटै किरणले सुनौलो छाप बनाए ।
नेपाल फर्किएपछि पनि बारम्बार त्यही जोगीसँग साक्षात्कार भयो । जब ब्रस र कुची लिन्थे, जोगीको अनुहार आँखामा झल्झली नाच्थ्यो, शरीर र सोचाइमा छुट्टै स्फुर्ति सञ्चार हुन्थ्यो । साढे तीन दशक बित्यो, अझ पनि उस्तै हुन्छ । मानन्धर भन्छन्, "मेरो शरीरमा जोगीको आत्मा छ, त्यसले पेन्टिङ गर्न बल दिन्छ । अरुले नपत्याए पनि मेरा लागि सत्य यही हो ।" दोस्रो जनआन्दोलन सफल भएलगत्तै सूर्योदयदेखि सूर्यास्तसम्म धरहरामा १ सय २८ फिट लामो चित्र बनाए, 'लोकतन्त्र' । बंगलादेशमा बाटोमा सय मिटर लामो क्यानभासमा पेन्टिङ गरे । यी अद्भुत कर्म जोगीकै आत्माको देन मान्छन्, किरण ।
चित्रकारले कसैप्रति प्रेम व्यक्त गर्न के गर्ला ? पक्कै रंगको सहारा लिन्छ । किरणले पनि त्यस्तै गरे । जोगीको आत्माप्रति स्नेह अभिव्यक्त गर्दै चित्र बनाए । झम्सिखेलस्थित अगेना रेस्टुराँमा ती चित्रको प्रदर्शनी जारी छ । नाम राखेका छन्, 'आत्मा : द सोल' । ३ असोजसम्म चल्ने प्रदर्शनीमा २० पेन्टिङ छन् । मूल्यचाहिँ १ लाखदेखि ५ लाख रुपैयाँसम्म । किरण भन्छन्, "यो प्रदर्शनी जोगीलाई समर्पण गरेको छु । मेरो पेन्टिङको स्रोत र शक्ति त्यही आत्मा हो ।" उनी प्रत्येक दिन घटीमा तीन घन्टा ब्रस र कुचीसँग खेल्छन् । कहिलेकाहीँ त लगातार आठ घन्टासम्म । स्टुडियो छिरेपछि बाहिरी दुनियाँ पूरै भुल्छन् । कस्तो पेन्टिङ बनाउने कहिल्यै योजना हुँदैन, आफैँ स्वतःस्फूर्त बन्दै जान्छ । आत्माप्रति अगाध विश्वास र श्रद्धा यसरी पोख्छन्, "पेन्टिङ गरिनँ भने छटपटी हुन्छ, ज्वरो आएझैँ हुन्छ । स्वस्थ रहन पनि पेन्टिङ गर्नैपर्ने हुन्छ । यो सबै आत्माको शक्तिजस्तो लाग्छ ।"
चित्रकलामा किरणको नाम नेपालमा जति सम्मानित छ, फ्रान्स, जर्मनी, डेनमार्कजस्ता युरोपियन मुलुकमा त्योभन्दा धेरै । युरोपका प्रायः देशमा एकल चित्रकला प्रदर्शन गरिसकेका छन् । नेपालसहित गन्ने हो भने यो संख्या डेढ सय नाघिसकेको छ । तीन दशकअगाडि नै फ्रान्समा उनको एउटै चित्रले ३८ हजार फ्रेन्च फ्र्याक( नेपाली रुपैयाँ झन्डै ३ लाख ८० हजार) पाएको थियो । सन् १९९८ मा फ्रान्सको प्रतिष्ठित 'सिटिज् इन्टरनेसनल देस आर्टस्' फेलोसिप पाएका थिए । नेपालमै चाहिँ उनको पहिलो पेन्टिङ सय रुपैयाँमा बिकेको थियो । ग्राहक थिइन्, मञ्जुश्री थापा । सन् १९८९ मा उनको १५ मिटर लम्बाइ र १२ मिटर चौडाइको पेन्टिङलाई एक विदेशीले १५ लाख रुपैयाँ तिरेका थिए । उनी ललितकला प्रज्ञाप्रतिष्ठानका संस्थापक कुलपति पनि हुन् । नेपाली चित्रकलाको गुणात्मक अभिवृद्धि तथा व्यावसायिकीकरणमा अतुलनीय योगदान गरेका यी हस्ती भन्छन्, "कुलपतिका रुपमा चार वर्षबाहेक मैले सरकारको नुन खाएको छैन । जे-जति गरेँ, आफ्नै पेन्टिङ बेचेर कमाएँ ।"
किरण ६२ वर्ष पुगिसके तर सिर्जनशील सक्रियता रत्तिभर घटेको छैन । पेन्टिङ उनका लागि आँसुजस्तै हो । दुःखमा पनि दुई थोपा र्झछ, सुखमा पनि । रंगले भाव व्यक्त गर्छन्, खासगरी उत्तरअभिव्यक्तिवाद (पोस्ट-एक्स्प्रेस्निज्म) शैलीमा । उनका पेन्टिङ जीवन, भोगाइ र अनुभूतिका प्रतिविम्ब हुन्, जसलाई समाजसँग नजिक राख्न खोज्छन् । देश-विदेशका कलाप्रेमी उनका पेन्टिङ संग्रह गर्न मरिहत्ते गर्छन् । तर हिजोआज आफ्नो पेन्टिङले लाखौँ मूल्य पाउँदाभन्दा कुनै नयाँ पुस्ताको कलाकार पेन्टिङमा दत्तचित्त भएर लागेको देख्दा सुखानुभूति हुँदो रहेछ । भन्छन्, "राज्यको बेवास्ता निरन्तर छ तर ऊर्जावान् र प्रतिभावान् तन्नेरी कलाकारको आगमनले नेपाली चित्रकलाको भविष्य समृद्ध छ । यसमा मजत्ति खुसी अरु को होला र !"
सम्बन्धित
भृकुटी राई र इतिशा गिरीले नारीवादी कोणबाट चलाइरहेको पोडकास्ट बोजुबजै हाम्रोमा चल्ने एकतर्फ...
बोजुबजै, वर्ष ४
ईशान केही समयदेखि डुंगालाई क्यानभासमा उतारिरहेका छन् भने सविता काइँयोलाई ।...
कलाको डुंगामा सवार जोडी
बुबाआमाको नाममा चिठी लेखेर झोलामा राख्दाराख्दै लेखक बनिसकिछन्, दुर्गा । ...
नयाँ जमानाको कथा खजाना
मदनकृष्ण श्रेष्ठ, बुबाको नाम नै काफी थियो उनलाई । तर उनले यो सजिलो बाटो रोजिनन् । ...
बुबाको प्रेरणाले अघि बढेको सरानाको संगीत यात्रा
नरेन्द्र श्रेष्ठ २४ वर्षदेखि क्यामेराको बाटो हिँडिरहेका छन् । स्वयम्भूको सिरिजदेखि भूकम्पम...
क्यामेराको बाटो
प्रचण्ड, बाबुराम भट्टराईजस्ता नेताहरू कर्नाली दख्खिन बग्दो छ नाटक हेर्दा रोएको देखेका थिए,...