हेरुन्जेलको रमाइलो मात्र (फिल्म समीक्षा : कबड्डी कबड्डी कबड्डी )
काजीले मैयालाई बिर्सेला - नबिर्सेला तर कबड्डी र कबड्डी कबड्डी हेरेकाले काजीको एकोहोरो प्रेम बिर्सिएका छैनन् । शैलीमा समस्या भए पनि काजीको प्रेम चोखो छ । तर कबड्डी कबड्डी कबड्डीमा आइपुग्दा काजीको मन नयाँ सोल्टिनीतिर भुल्न थाल्छ । त्यसैले काजी अब आदर्श प्रेमी भइराखेन ।
'मर्दको जीवनमा प्रेम एकपटक मात्र हुन्छ, त्यो मैले मैयालाई गरिसकेँ,' छाडेर गएकी मैया (रिस्मा गुरुङ) प्रति काजी (दयाहाङ राई) यतिविघ्न दत्तचित्त छ । सपनामा मैया देखे पनि उनको खोजखबर छैन । त्यहीबेला गाउँमा नयाँ सोल्टिनी काशी (उपासनासिंह ठकुरी) को उदय हुन्छ । विस्तारै काजीको सिद्धान्त डगमगाउँछ ।
काजीले मैयालाई बिर्सेला - नबिर्सेला तर कबड्डी र कबड्डी कबड्डी हेरेकाले काजीको एकोहोरो प्रेम बिर्सिएका छैनन् । शैलीमा समस्या भए पनि काजीको प्रेम चोखो छ । तर कबड्डी कबड्डी कबड्डीमा आइपुग्दा काजीको मन नयाँ सोल्टिनीतिर भुल्न थाल्छ । त्यसैले काजी अब आदर्श प्रेमी भइराखेन ।
मौलिक पात्र र परिवेशको कथा पस्किएको कबड्डी अनेक कोणबाट नेपाली फिल्मको आदर्श थियो । नाम र दाम कमाउने थोरै फिल्ममा दर्ज भयो । कबड्डी कबड्डीमा पनि यसले धर्म छाडेन । जस जान्छ, निर्देशक रामबाबु गुरुङलाई । तर यसपटक नयाँ सोल्टिनीले काजी बिग्रिएझैँ कबड्डीको 'ब्रान्ड भ्यालु' बाट फाइदा लिने एकोहोरो नियतले निर्देशक विचलित भएका छन् । त्यसैले अघिल्ला दुई भागझैँ कबड्डी कबड्डी कबड्डी आदर्श फिल्म हुनसकेको छैन । नयाँपनकै अभाव छ । यति हुँदाहुँदै कलाकार, मीठा संवाद र मुस्ताङ, पोखराका मनोरम दृश्यले यसलाई 'वान टाइम वाच'चाहिँ बनाएको छ ।
फिल्मको सुरुआत हुन्छ, उही काजीको बेचैनीबाट । छन्त्याल (बुद्धि तामाङ) त पत्नीका साथ गाउँबाट भागिहाल्यो तर बिके (विजय बराल) काजीकै साथमा छ । मैयाको वियोगबाट मुक्ति पाउन प्रेरित गरिरहन्छ । काजीको घाउमा मल्हमपट्टी लगाएझैँ गर्छिन्, काशी । तर जब माया बस्न थाल्छ, तब काशीका अरु सोल्टीहरु बाधक बनिदिन्छन् । काशीको प्रेमी म्याकी (कर्मा) पनि थपिन्छ । काशी पाउने घम्साघम्सीमै केन्दि्रत छ, फिल्म ।
अघिल्ला दुई भागमा पनि काजी सोल्टिनीकै पछि लाग्ने हो तर सहायक पात्र र उपकथाले मूल कथालाई वजनदार बनाएको थियो । कबड्डीमा वैदेशिक रोजगारीमा हुने ठगी थियो, कबड्डी कबड्डीमा फोहोरी स्थानीय राजनीति र झाँक्रीको अन्धविश्वास घुसेको थियो । तर यसपटक उल्लेखनीय केही छैन । उही सोल्टिनीको पछि सोल्टीहरु दौडिएका छन् । अन्तरजातीय विवाह र सम्बन्ध विच्छेदलाई उजागर गर्न त खोजिएको छ तर सोल्टीहरुको रस्साकस्सीमा पूरापूर ओझेल परेको छ ।चरित्रकरणदेखि कथाको उठान, विकासक्रम र बैठानमा पटकथाकारद्वय गुरुङ र उपेन्द्र सुब्बाको कुशलता देखिँदैन । द्वन्द्वको निर्माण र त्यसबाट कथाप्रति कौतूहलपैदा नहुनु विडम्बना हो । लाग्छ, काशी पाउनुबाहेक म्याकी र धनकाजीको कुनै उद्देश्य छैन । उनीहरुका जीवन भोगाइका अरु आयाम समेट्न नसक्दा पात्रप्रति आत्मीयता आभास हुन्न ।
मध्यान्तरसम्म मनग्ये हँसाइन्छ । पात्र र सन्दर्भअनुकूलका पन्चलाइनले 'रिफ्रेस' गराउँछ । काजी र काशीबीचको प्रेम अंकुरण गराउने शैली रोचक छ । काजी र बिकेको दोस्ती प्रेमपूर्ण लाग्छ । तर यसपटक बिकेको व्यक्तिगत जीवनमा उतारचढाव हुँदैन । दर्शकलाईझैँ काजी र बिकेलाई छन्त्याल 'मिस' भएजस्तोलाग्दैन । दृश्य खास वजनदार नभए पनि तिनलाई परिपक्व शैलीमा खिच्ने र सिलसिला मिलाएर बुन्ने मामलामाचाहिँ गुरुङ प्रभावी देखिन्छन् । पात्रको बोलीचाली, भेषभूषा र जीवनशैलीमा मुस्ताङको स्थानीय स्वादलाई निरन्तरता दिइएको छ । धनकाजीको गाउँ घान्द्रुकको जीवनशैली भने बेवास्ता गरिएको छ । संवादजस्तै पटकथामा मिहिनेत गरेको भए कुरा अर्कै हुनसक्थ्यो ।
भनिहालियो, कबड्डी नेपाली सिनेमाका लागि अनेक कोणबाट नवीन खुराकको प्याकेज थियो । सिर्जनात्मक माध्यम भएकाले दर्शकले हरेक फिल्ममा नयाँपन आशा राख्नु स्वाभाविक हो भने फिल्ममेकरको दायित्व । तर कबड्डी सिरिजमात्र होइन, निर्देशक गुरुङका हरेक फिल्ममा धेरैहदसम्म कबड्डीकै पुनरावृत्ति भइरहेका छन् । कलात्मक छलाङ नहानी पुरानै पकवानमा रुमल्लिनुले शोभा दिँदैन । जे बिक्छ, त्यो दिनेलाई सर्जक होइन, व्यापारी भनिन्छ । सिर्जनशील भनिएका निर्देशक गुरुङले बजारको हाइ-हाइको आत्मरतिमा नअल्झिई आफ्ना फिल्म र ध्येयप्रति आत्मालोचना गर्नु आवश्यक भइसकेको छ । घुमाइफिराई जसरी हुन्छ, केटीको पछाडि केटा दौडाउने रबैयालाई सधैँ मौलिकताको नाममा स्वीकार्न सकिँदैन । यद्यपि फिल्मलाई एक तहको मनोरञ्जनात्मक बनाउन उनी अझैं काबिल देखिन्छन् ।
काशीको हात बाँधेर डोर्याएको दृश्य स्त्रीदेषी छ । अन्त्यमा मैयाको उदय नाटकीय लाग्छ । न त काशीको आमाबाबुको हठात मिलन नै विश्वसनीय छ । कथ्य संरचनाझैँ प्राविधिक पक्षमा खेलाँची गरिएको छैन । शैलेन्द्र डी कार्कीले दृश्यभावअनुसार क्यामेरा चलाएका छन् । मुस्ताङ, घान्द्रुकको मनमोहक सुन्दरताले आँखा तानिरहन्छ । 'दुबो फुल्यो...' र 'माया पिरती...' गीत श्रुतिमधुर छन् ।
कबड्डी कबड्डी कबड्डीको सशक्त पक्ष भनेकै कलाकारको अभिनय हो । काजीको चरित्रमा दयाहाङ पहिलेझैँस्वाभाविक लाग्छन् । लुटको गोफ्लेपछि काजीले उनलाई अभिनेताका रुपमा जीवन्त राख्नेछ । उनको चरित्रलाई पीडा भएपनि दर्शकलाई हँसाइरहन्छन् । क्याप्टेनमा फिक्का लागेकी उपासनाको अभिनय निखारिएको छ । कर्मा र विल्सनविक्रमले पात्र आत्मसात् गरेका छन् । चरित्रको वजन घट्न नदिएका अर्का कलाकार हुन्, विजय बराल । सुरुमा हँसाइरहने विजयले अन्त्यमा दर्शकको मन भारी बनाइदिन्छन् । बुद्धि तामाङ, माओत्से गुरुङ, कविता आले, पुष्कर कार्की, लुनिभा तुलाधरलगायतका कलाकार पनि उत्तिकै प्रिय लाग्छन् ।
भन्नैपर्ने कुरा, यतिविघ्न निपुणकलाकारको डफ्फा र कबड्डीको 'ब्रान्ड भ्यालु'लाई सदुपयोग गर्दै अर्को सानदार सिनेमा बनाउने अवसर गुरुङले गुमाए । गृहकार्यबिनै फिल्म बनाउने हतारो हानिकारक हुन्छ । धन्न, अहिले बनिरहेका प्रायः फिल्मझैँ दुई घन्टा बिताउनै धौ-धौ पर्दैन ।
सम्बन्धित
पर्फ्युममा सुँघ्ने क्षमतासँगै अस्तित्वको खोजी र ग्रनोई अवचेतन रूपमै मृत्युको नजिक रहेको दे...
सिनेमामा गन्धको प्रस्तुति
गरिरहेका काम जहाँको तहीँ थाती राखेर क्वारेन्टाइन पसेका रंगकर्मीको उकुसमुकुस ...
नाटकघरमा उज्यालो फर्केला ?
अमेरिकन आइडल–२०२० को उपाधि चुम्न आतुर नेपाली ठिटो...
'भाषा हटाइदिनुस्, भावना उस्तै हुन्छ'
बलिउडमा स्थापित भन्दा फरक पृष्ठभूमिबाट सिनेक्षेत्रमा प्रवेश गरेका इरफानको संघर्ष आफैंमा एउ...
इरफानको शक्तिशाली समय
लकडाउनमा सेलिब्रिटी दैनिकीः पारिवारिक पुनर्मिलन, सिर्जनात्मक रचनादेखि जनचेतनाका आवाजसम्म...
सेलिब्रिटीका लकडाउन सिर्जना
च्याम्पियनका अन्य प्रतिस्पर्धीले कन्टेन्टका लागि माथापच्ची गरिरहादा हिमेश भने तु लेखिसक्थे...