चस्माकै चिन्ता
१२ वैशाखमा पंक्तिकार सिभिल मलको सातौँ तलामा थ्रीडी फिल्ममा रमाइरहेको थियो।
भुइँचालो हो भन्ने पक्का भएपछि अग्रपंक्तिमा भागदौड मच्चियो, जसमा परेर लड्दा ममाथि अरू व्यक्ति पनि लडे। सम्हालिएर आकस्मिक द्वारतिर हानिएर ढोका समात्न पुगेछु। यसै त ७.६ म्याग्निच्युडले हल्लाइरहेको थियो, त्यसमाथि ढोका भित्रबाहिर हल्लियो। झोलुंगे पुललाई कुनै उद्दण्ड मान्छेले हल्लाइरहेको अनुभव भइरहेथ्यो।
यी सारा घटना भइरहँदा नाकबाट चस्मा खसेकाले सारा दृश्य धमिलो देखिरहेको थिएँ। कम्पन रोकिएपछि चस्मा खोज्ने योजना प्रमुख थियो किनभने जति चिन्ता ज्यानको भइरहेथ्यो, उति नै पिर चस्माको। यत्तिकैमा हातले नाक छाम्ने फुर्सद पायो। चस्मा त नाकमै सकुशल रहेछ। डरमिश्रित खुसी अपार थियो। आत्तिएको अवस्थामा इन्द्रियहरूले सही तरिकाले काम नगर्ने रहेछन्। हलबाट बाहिरिँदा हलका कर्मचारी बाकस थापेर भन्दै थिए, चस्मा राखेर मात्र जानूस् है। उनलाई पनि ज्यानभन्दा ड्युटी र चस्माकै पिर पो रहेछ।
उल्टो पिरामिडको पिरलो
सामान्य बुझाइमा पनि पिरामिड शैलीका अर्थात् आधार फराकिलो र माथि कम क्षेत्रफल भएका घरले भूकम्पसित जुध्ने क्षमता राख्छन्। तर, त्यसविपरीत सहरतिर उल्टा पिरामिड शैलीका घरको जगजगी छ, जति माथि गयो, क्षेत्रफल त्यति नै बढी। परिणामस्वरूप यसपालिको भूकम्पको निसानामा पुराना भवनका साथै यस्तै डिजाइन पनि परे। भाग्यवश नढलेका मध्ये प्राय: घरको डिजाइन भने फेरिन पुग्यो, टेको डिजाइन। भुँडी निस्किएका, कोल्टे परेका घरहरू टेकाको भरमा छन्।
उसै त उपत्यकाका साँघुरा गल्ली, उसमाथि प्रत्येकजसो घरमा टेको राख्नाले कहालीलाग्दो नयाँ डिजाइनको सहरजस्तो लाग्ने। नियमितजसो हिँडिने एउटा गल्ली हुँदै जाँदा अनुभव भयो, चलचित्रमा देखाइएजस्तै कुङ्फु स्कुलको विद्यार्थी प्रशिक्षणको क्रममा कुनै जोखिमपूर्ण च्याम्बर पार गर्ने मिसनमा छ। त्यसैले त खुट्टाले टेकिनसक्ने भीड हुने मरु, असन, इन्द्रचोकजस्ता व्यापारिक बस्तीमा मात्र होइन, तिनका मुखमा रहेका पसलमा समेत पहिलेजस्तो व्यापार नहुने रहेछ।
‘लजिक’ कि ‘म्याजिक’ ?
खेत जोत्ने क्रममा हलीले गोरुलाई पिट्न थालेछ। धेरै कुटाइ खाएपछि गोरु बोल्न थालेछ, ‘जति पिट्छौ पिट, तिमेरुको दिन अब सात दिन त हो नि, सात दिनपछि आउने भूकम्पमा परेर तिमेरु सब सखाप हुनेछौ।’
‘सात दिन रे ? यो घटना भएको कति दिन भयो ?’ ‘आज तेस्रो दिन।’ घरछेवैमा चल्दै गरेको संवाद थियो यो। जति धेरै डर मिश्रित जिज्ञासा आउँथ्यो, ती जानकार त्यति नै बुट्टा भरेर गफ दिइरहेका थिए। फलानो दिनमा ठूलो भूकम्पको खतरा छ, झूटा साबित भएमा मृत्युदण्ड पनि स्वीकार्य छ। कुनै बाबाको घोषणा।
कसैले वैशाख र असारको संक्रान्ति मंगलबार परेको तथा यी दुई महिनाका दिन समान भएको ज्योतिषीय तर्क प्रस्तुत गरेर समेत असारमा हुने विपत्को भविष्यवाणी अघि सारेका रहेछन्। भूकम्पपछि यस्ता धेरै हल्लाले जन्म लिए। यस्तै कारणले हप्ता दिनपछि आउने मीठो शनिबारलाई पनि नमीठो दिन र मंगलबारलाई समेत अमंगल मान्न थालेका छन्।
हामी तर्कभन्दा पनि हल्लाको पछि लाग्न रुचाउँछौँ। त्यसैले त यहाँ बेलाबेलामा त्रिशूल बाबाहरू जन्मन्छन्, विपत् र प्रलयका हल्ला चल्छन्। त्यसो त काठमाडौँ भूकम्पीय दृष्टिकोणले ठूलो जोखिममा छ भनेर सचेत नगराइएको होइन। तर, हामी ‘लजिक’भन्दा ‘म्याजिक’मा विश्वास गर्ने पर्यौँ। सुरक्षा, पूर्वतयारी र सचेतनाको के मतलब ? प्रश्न उठ्छ, थाहा हुने र सक्नेले १२ वैशाखको विपत्को पनि भविष्यवाणी किन नगरेका होलान् ? गरेका भए कम्तीमा हल्लाको पछि लाग्ने मान्छे भए पनि जोगिने त थिए !
सम्बन्धित
२००७ को राजा/प्रजाको संयुक्त प्रजातान्त्रिक आन्दोलनपछि अहिलेसम्म जारी भएका संविधानअनुसार र...
कार्यकर्ता होइन, नागरिक भएर सोचौँ
अमेरिकामा चकित पार्ने धेरै पक्षहरू हुँदाहुँदै पनि सुरुमै सबैको ध्यान खिचेर विकासको परिचय द...
अमेरिकी सडक सन्जाल : विकासको अनौठो मोडल
छोरीचेलीको करियरका लागि सीमित रकम तिर्न नसक्ने तर पराई घर पठाउन ऋण गरेरै भए पनि लाखौँ खर्च...
छोरीचेलीको हैसियत बिहे मात्रै ?
ट्याक्सी ड्राइभर पहिलो पटक मैले कसरी र कहिले हेरेँ, याद छैन । तर हेर्नेबित्तिकै मलाई त्यो ...
ट्राभिस कुटाइममा मुर्दाघर आयो
तिमी पनि तिम्रा प्रियहरूलाई भनिदेऊ, ‘क्षमा देऊ ।’ उनीहरूलाई सिकाइदेऊ, बदलाका लागि होइन, बद...
बदलाका लागि होइन, बदलावका लागि लड्नुपर्छ
अमेरिका विकास, शक्ति र संस्कृतिमा जति धनी छ, भित्र लुकेको जातीय तुष पनि उत्तिकै टाँसिएको छ...