नोटबुक
सडक व्यापारी र नगर प्रहरीबीच चल्ने लुकामारी र छोइडुम पुरानो खेल हो काठमाडौँमा ।
स्कुल होइन, फिल्म
केही महिना पहिलेको प्रसंग हो । छिमेकको एक पसलेसँग गफिँदै थिएँ । बाटोमा अन्दाजी चार–पाँच वर्षकी नानी धूलोमा खेलिरहेको देखेँ । बिदाको दिन थिएन, ती नानी पनि स्वस्थ नै देखिन्थिन् ।
कुरैकुरामा सोधेँ, ‘नानीको स्कुल बिदा हो र आज ?’
‘यसको त सधैँ बिदा हो,’ काममा व्यस्त पसले ले नै जवाफ दिए ।
बुझ्दै गएँ, स्कुलमा राम्ररी नपढेको र राम्रो अंक नल्याएकाले पैसा मात्र खेर गइरहेको भन्दै ती नानीलाई स्कुल जान बन्द गरिएको रहेछ । त्यति सानो उमेरको सन्तानको रेखदेख नगर्ने तर आशा भने ठूलो लिनुले उनका अभिभावक चेतनशील रहेनछन् भन्ने बुझ्न गाह्रो भएन । तर, उनकी आमाले छोरीको भविष्य भने निर्धारण गरिसकेकी रहिछन्, फिल्मको हिरोइन बनाउने ।
फिल्मको रंगीन संसारको सपना देख्दै शिक्षाको उज्यालोतिर छोरीलाई नडोर्याउने आमाभन्दा ती नानीको भविष्य सम्झेर दु:ख लाग्यो ।
कस्तो परिवर्तन ?
हाम्रा ग्यास साहूजी प्राय: तीतो बोल्थे । पैसा तिरेपछि पाइने ग्यास पनि छ कि भनेर सोध्दा किड्नी/कलेजो नै मागेजस्तो व्यवहार गर्थे । साहुनी झन् हाइभोल्टेजको नांगो तारजस्ती । अभावका बेला उनीहरूको भाउ ग्यासभन्दा महँगो हुन्थ्यो । कसले छुन सक्नू ? नाकाबन्दीताका प्रहरीको उपस्थितिमा आधा सिलिन्डर ग्यास बिक्री–वितरण हुन्थ्यो । एक दिनअघिदेखि लाइनमा लागेका ग्राहकलाई धम्काउनसमेत भ्याउँथे । भन्थे, ‘खुद्रा पैसा मिलाएर दिनू, नत्र पैसा फिर्ता दिइनेछैन ।’
करेला ओकल्ने उनीहरूको मुखमा अचेल फूल उम्रेको छ । ग्यास लिन जाँदा साहुनीको मुस्कानसहितको बोलीले अचम्मित तुल्यायो । कतै ठगिन पो लागेँ कि भन्ने शंका उब्जियो । तर, एकछिनको अलमलपछि शंका निवारण भयो । पसल ग्यास सिलिन्डरले भरिभराउ थियो । इन्धनको घट्दो मूल्य र नाकाबन्दीपश्चात् उपभोक्ताको सञ्चय गर्ने बानीले ग्यास कारोबार ठप्प भएको रहेछ । कुनै बेला गमक्क पर्ने ग्यास साहूजीहरूमा नाटकीय परिवर्तन आएको छ । आधा भरिएको सिलिन्डर पनि हजारौँमा बेच्न पल्केका साहूजीहरू अचेल त ग्राहकलाई फोन गरी गरी ग्यास लिन आउन अनुरोध गर्दा रहेछन् । समयसमयको कुरा न हो ! अहिले ग्यास उपभोक्ताका चन्द्रमा दाहिने भएका छन् ।
भाग्यले बाँचेका हामी केही समययता नारायणगढ–मुग्लिन सडक खण्ड प्रख्यात् शब्दावली भएका छन् । वर्षात्अघिदेखि नै यस क्षेत्रमा पहिरो खसेर बाटो अवरुद्ध भएको समाचार सुन्न, पढ्न पाइरहिएको छ । यस क्षेत्रमा बिताउनुपर्दाका दिक्कलाग्दा पलको वर्णन सामाजिक सञ्जालमा सधैँजसो पोखिएकै हुन्छन् । यस्तै दुखद कुराले एउटा घटना याद गरायो ।
छुट्टी मनाउन केही महिनापहिले परिवारसहित चितवनको सौराहातिर जाँदै थियौँ ।
दासढुंगा नपुग्दै ठूलो दुर्घटनाबाट जोगियौँ । अकस्मात् आएको ढुंगा मेरो सिटकै झ्याल फुटाएर झर्यो । ढुंगा ठूलै थियो, बस असन्तुलित हुँदै गति लियो । गुरुजीको संयम र निर्णयशक्तिले गाडीलाई दायाँ भीरबाट खस्न दिएन, ठूलो दुर्घटना टर्यो । तर, झ्यालको सिसा फुट्दा तीन वर्षकी छोरी र मलगायत केही विदेशी पर्यटकका शरीरमा धसिएका थिए । छुट्टी त अस्पतालको बेडमा बिझेका सिसा खोज्दैमा जाने भयो भन्ने पीरले मन खल्लो भयो । धन्न ! त्यस्तो झन्झटिलो क्षणचाहिँ बेहोर्नुपरेन ।
हामीले भोगेको नौलो घटनादेखि गुरुजी भने अभ्यस्त भइसकेका रहेछन् । पेटको आगो निभाउनकै लागि नचाहेर पनि यस्ता धेरै गुरुजीहरू ज्यान हत्केलामा लिएर दिनहुँ यो बाटो ओहोरदोहोर गर्छन् । यी पंक्ति लेख्दै गर्दा छोरी ताजा अखबार लिएर आइन्, जसमा उही बासी लाग्ने समाचार थियो, मुग्लिनको कष्टकर बाटो ।
बन्चरो ताक्छ घुँडो
सडक व्यापारी र नगर प्रहरीबीच चल्ने लुकामारी र छोइडुम पुरानो खेल हो काठमाडौँमा । नगर प्रहरी गब्बर सिंहको शैलीमा आउँछन् भने व्यापारी निरीह रामगढका गाउँलेजस्तै भाग्न सधैँ तम्तयार । तर, यो असाध्य खेलमा खाने मुखलाई जुँगाले कहाँ छेक्न सक्नू ? अव्यवस्थित सडक स्टल कहिल्यै हराएन ।
केही समयपहिले टेकुतिरको विष्णुमती पुलको दायाँबायाँ पेटी साँघुरो पारेर सवारीसाधनका लागि सडक फराकिलो पारिएको थियो । यसैको सिको गरेर होला, परोपकारतिरको पुलमा पेटीको स्ल्याब डोजर लाएर उप्काइयो । उद्देश्य थियो, आवागमनमा बाधा पुर्याउने सडक व्यापारीलाई ठेगान लगाउनु । बाँसै नरहेपछि बाँसुरी बजाउने कसले ? यस्तै सोचिएको रहेछ । तर, स्ल्याब उप्काइएपछि पेटीलाई दुईवटा नहरका रूपमा छोडियो । तिनमा पैदल यात्रुले बडो कष्टपूर्वक हिँड्नुपरिरहेको छ । उल्टो, यस्तो विकृत संरचना व्यापारीका लागि भने झन् सुविधाजनक साबित भयो । दुई नहरबीचको पर्खालमा आरामसित मेचमा जस्तै टुसुक्क बस्न मिल्ने । बनिबनाउ पसल नै जस्तो । स्ल्याब उप्काएर पुल विकृत पार्नुजस्तो अधुरो, अदूरदर्शी र झारा टार्ने कदमले अटेरी सडक व्यापारीलाई प्रहार गर्न खोजिएको थियो तर ढाड सेकियो बिचरा पैदल यात्रुको ।
सम्बन्धित
२००७ को राजा/प्रजाको संयुक्त प्रजातान्त्रिक आन्दोलनपछि अहिलेसम्म जारी भएका संविधानअनुसार र...
कार्यकर्ता होइन, नागरिक भएर सोचौँ
अमेरिकामा चकित पार्ने धेरै पक्षहरू हुँदाहुँदै पनि सुरुमै सबैको ध्यान खिचेर विकासको परिचय द...
अमेरिकी सडक सन्जाल : विकासको अनौठो मोडल
छोरीचेलीको करियरका लागि सीमित रकम तिर्न नसक्ने तर पराई घर पठाउन ऋण गरेरै भए पनि लाखौँ खर्च...
छोरीचेलीको हैसियत बिहे मात्रै ?
ट्याक्सी ड्राइभर पहिलो पटक मैले कसरी र कहिले हेरेँ, याद छैन । तर हेर्नेबित्तिकै मलाई त्यो ...
ट्राभिस कुटाइममा मुर्दाघर आयो
तिमी पनि तिम्रा प्रियहरूलाई भनिदेऊ, ‘क्षमा देऊ ।’ उनीहरूलाई सिकाइदेऊ, बदलाका लागि होइन, बद...
बदलाका लागि होइन, बदलावका लागि लड्नुपर्छ
अमेरिका विकास, शक्ति र संस्कृतिमा जति धनी छ, भित्र लुकेको जातीय तुष पनि उत्तिकै टाँसिएको छ...