नोटबुक
सरसर्ती हिसाब लगाउँदा जन्मदिनमा गिफ्ट बाँड्न मात्रै न्यूनतम खर्च करिब १६–१७ हजार रूपियाँ लाग्दो रहेछ ।
यसो गरे कसो होला ?
स्कुलबाट फर्कंदा मेरो फुच्चे भतिजोको हातमा प्राय: खेलौना, चकलेट आदिले भरिएको गिफ्टको प्याकेट हुन्छ । स्कुले साथीका जन्मदिनमा पाइने कोसेली रहेछन् ती । एउटा कक्षामा कति धेरै विद्यार्थी त, हरेक दिनजसो ‘ गिफ्ट’ पाउनलाई ? कौतूहल जाग्यो । तर, जन्मदिनवाला विद्यार्थीले आफ्नो कक्षा–साथीलाई मात्र होइन, स्कुलका सबै विद्यार्थीलाई गिफ्ट बाँड्नैपर्ने चलन रहेछ त्यहाँ । ३ सय ३० विद्यार्थी भएको उसको स्कुलमा पाइने त्यस्ता एउटै गिफ्टको मूल्य घटीमा ५० रुपियाँ त पर्छ नै । कहिलेकाहीँ त दुई सय रुपियाँभन्दा महँगा गिफ्ट पनि फुच्चेले पाएको छ । सरसर्ती हिसाब लगाउँदा जन्मदिनमा गिफ्ट बाँड्न मात्रै न्यूनतम खर्च करिब १६–१७ हजार रूपियाँ लाग्दो रहेछ । त्यसमाथि स्कुलमा केक काटेर साथीहरुसँग रमाइलो गर्ने चलन त सामान्य नै भयो ।
विद्यालयले अभिभावकलाई ‘तपाईंको नानीको जन्मदिन फलानो दिनमा पर्छ है’ भनेर ‘रिमाइन्डर’ पनि पठाउने गथ्र्यो, जसको उद्देश्य गिफ्टको जोरजाम गर्दै गर्नुहोला भन्ने हुन्थ्यो ।
राजधानीका अधिकांश शिशु विद्यालयमा यस्तो चलन व्याप्त छ भने त्यसको उल्टो भक्तपुरको व्यासी स्थित एभरेस्ट स्कुलमा भने विद्यार्थीको जन्मदिनमा चकलेट बाँड्न वा केक काट्न पूर्ण बन्देज रहेछ । त्यसको सट्टा गच्छे अनुसार विद्यालयमा केही रकम जम्मा गराउने चलन रहेछ । वर्षभरिमा यसरी संकलन भएको रकम विद्यालयले वार्षिक कार्यक्रममा दुर्गमको कुनै विद्यालयलाई सहयोग गर्दाे रहेछ । अनि, दाता विद्यार्थीहरुको नाम विद्यालयको वार्षिकोत्सवमा प्रकाशित हुने स्मारिकामा छापिँदो रहेछ । जन्मदिन मनाउने काइदा त यस्तो पो ! सबै स्कुलले यसो गरे कसो होला ?
रित्तो कुर्सीलाई प्रश्न
विसं ०६८ देखि थालिएको सडक विस्तारका क्रममा उपत्यका विकास प्राधिकरणले जनतालाई सुसूचित नगरेको, सांस्कृतिक सम्पदा र ऐतिहासिक संरचनासमेत जथाभावी मास्न थालेको, पहुँचवाला र सर्वसाधारणबीच विभेद गरेको र मुआब्जामा अन्याय गरेको भन्दै गुनासो गरिरहेका छन्, काठमाडौँका पीडितले । यसै सम्बन्धमा पीडितका प्रश्न र प्राधिकरणको उत्तर दिलाउन एक टेलिभिजन च्यानलले २६ साउनमा कालीमाटीस्थित १३ वडा कार्यालय परिसरमा ‘हामी जनता’ कार्यक्रमको आयोजना गरेको थियो ।
कार्यक्रम भनेकै समय अर्थात् साढे ११ बजे तोकिएको थियो तर प्राधिकरणका प्रमुख आयुक्त भाइकाजी तिवारीको अत्तोपत्तो भएन । अन्त्यमा पौने १ बजे आउन नसक्ने जानकारी गराए उनले । दर्शकदीर्घामा कौतूहल र आक्रोश व्याप्त भयो । अपराह्न १ बजेसम्म पनि कामपाकी उपमेयर हरिप्रभा खड्गी एवं १३ वडाका अध्यक्ष ध्रुवनारायण मानन्धरसँगै राखिएको तिवारीको कुर्सी रित्तै थियो । जनताको बाक्लो उपस्थिति र तामझामको त्यत्रो खर्चपछि कार्यक्रम स्थगित गर्ने कुरै भएन ।
अन्तत: उपाय निस्क्यो, रित्तो त्यो कुर्सीमा ‘भाइकाजी तिवारी अनुपस्थित’ लेखिएको कागज टाँसेर कार्यक्रम अघि बढ्यो । कुनै पीडितको प्रश्न तिवारीप्रति लक्षित भएमा रित्तो कुर्सीतिर फर्केर प्रश्न गर्न भनियो । ‘हामीले तिरेको करबाट तलब खाएर हाम्रै प्रश्न सुन्न र उत्तर दिन आवश्यक नठान्ने तिवारीको राजीनामा अब किन नमाग्ने त ?’ एक पीडितको प्रश्नपछि दर्शकदीर्घा तालीले गुन्जियो । प्रमुख आयुक्त तिवारीले यस्ता प्रश्न टीभीमा सुने होलान् कि ‘म्युट’ गरेर कार्यक्रम हेरे होलान् ? मलाईचाहिँ यही नै उत्सुकताको विषय छ ।
भो, आशा नगरौँ
टेकु पुलको जाममा खचाखच भरिएको बस थियो, त्यसको ढोकामा खुट्टा अड्याउने समेत ठाउँ थिएन । दुई युवती उक्त बसलाई लक्षित गर्दै आए । खलासीले भरिभराउ बसमा पनि ‘खाली छ’को इसाराले स्वागत गर्यो । युवतीहरुले मुस्किलले ढोकामा के टेकेका थिए, खलासीले सँगै रोकिएको अर्काे माइक्रोको खलासीतिर आँखा झिम्काउँदै युवतीहरुलाई पछाडिबाट धकेल्न थाल्यो । उसको उद्देश्य महिला यात्रुलाई भित्र पठाउनुभन्दा पनि परि स्थितिको ‘फाइदा’ उठाउनु थियो, यो प्रस्टै बुझिन्थ्यो । खलासीले यस्तो ठेलमठेल चार–पाँचपटक नै गर्यो । त्यसबीचमा जाम खुल्यो, माइक्रो हुत्तिँदै अगाडि बढ्यो । माइक्रोको खलासीले बसको खलासीलाई ‘ मोज गर् केटो, मोज गर्’ भन्दै हुइँकियो । अफिस टाइमको व्यस्ततामा मुस्किलले सवारी पाएका ती युवतीले कुनै प्रतिक्रिया जनाएनन् ।
महिलाको बाध्यता र मौनताको फाइदा उठाउँदै सार्वजनिक यातायातमा हुने यस्ता दुव्र्यवहारका घटना नौला होइनन् । हुन त यस्ता व्यवहारलाई निरुत्साहित गर्न हदैसम्मको सजाय हुने र एक समय त महिलाका लागि छुट्टै बसको व्यवस्था गरिने खबर पनि पढिएकै हो । तर, हर्न निषेध तथा जेब्रा क्रसिङबाट मात्र बाटो काट्नुपर्नेजस्ता नियम त ट्राफिक प्रहरीले पाउने कमिसन कटाएपछि प्रभावहीन भए भने ठूला परिवर्तन त्यति सजिलै होला र ? भो, आशा नगरौँ !
सम्बन्धित
२००७ को राजा/प्रजाको संयुक्त प्रजातान्त्रिक आन्दोलनपछि अहिलेसम्म जारी भएका संविधानअनुसार र...
कार्यकर्ता होइन, नागरिक भएर सोचौँ
अमेरिकामा चकित पार्ने धेरै पक्षहरू हुँदाहुँदै पनि सुरुमै सबैको ध्यान खिचेर विकासको परिचय द...
अमेरिकी सडक सन्जाल : विकासको अनौठो मोडल
छोरीचेलीको करियरका लागि सीमित रकम तिर्न नसक्ने तर पराई घर पठाउन ऋण गरेरै भए पनि लाखौँ खर्च...
छोरीचेलीको हैसियत बिहे मात्रै ?
ट्याक्सी ड्राइभर पहिलो पटक मैले कसरी र कहिले हेरेँ, याद छैन । तर हेर्नेबित्तिकै मलाई त्यो ...
ट्राभिस कुटाइममा मुर्दाघर आयो
तिमी पनि तिम्रा प्रियहरूलाई भनिदेऊ, ‘क्षमा देऊ ।’ उनीहरूलाई सिकाइदेऊ, बदलाका लागि होइन, बद...
बदलाका लागि होइन, बदलावका लागि लड्नुपर्छ
अमेरिका विकास, शक्ति र संस्कृतिमा जति धनी छ, भित्र लुकेको जातीय तुष पनि उत्तिकै टाँसिएको छ...