स्वास्थ्य

पत्रु र स्वस्थकर खानाको बहस

अरुणा उप्रेती, पुस ११, २०७६

दाल, भात पनि पत्रु खाना हुन सक्छ भनेर कोही व्यक्तिले गलत भनेका छन् । तर दाल, भात पत्रु होइन, चाउचाउ र कुरमुरे पत्रु हुन् भन्ने कुरा सत्य हो ।
पुरा पढ्नुहोस्

पत्रु खान्कीको पासो

सुनिता लोहनी, मंसिर ३०, २०७६

१९ वर्षीया रश्मी केसी चटपटे र पानीपुरीकी नियमित ग्राहक हुन् । साँधेको चाउचाउ उनको प्रिय । भन्छिन्, “दिनमा एक पटक त खान आउँछु । चटपटेमा हम्टीडम्टी हालेपछि स्पाइसी बन्छ, मीठो हुन्छ ।” यसले स्वास्थ्यमा असर पार्ने बताउँदा भन्छिन्, “हुन त हो तर खान मज्जा लाग्छ ।”

पछिल्लो समय ५ रुपैयाँ पर्ने मामा, हम्टीडम्टी, हिट्सदेखि २० रुपैयाँ पर्ने वाईवाई, रमपम चटपटेमा हालिने प्रमुख चीजको रूपमा विकसित भइरहेको छ । सडकछेउ, मलअगाडि बेचिने चटपटे स्टलमा ५ जाने चाउचाउ मालाजस्तै झुन्ड्याएर राखिन्छ र २० रुपैयाँ पर्ने  कार्टुनमा । दिनभर दुई कार्टुन चाउचाउ सकिने बताउँछन्, मध्यबानेश्वरका चटपटे व्यापारी श्याम यादव । उनका चटपटेका पारखीमा ४ वर्षे बालबालिकादेखि प्रौढ महिलासम्म हुन्छन् । कलेजछेउ बस्ने उनका ग्राहक अधिकांश विद्यार्थी र गृहणी हुन् ।

१२ वर्षीय स्वीकृत बरालको मन पर्ने खाजा हो, चाउचाउ । उनी घर होस् या विद्यालय, चाउचाउ खान मन पराउँछन् । भन्छन्, “स्कुलमा खान दिँदैनन् तर घर फर्किने समय या बिहान स्कुल जाने बेला खाइन्छ ।” धेरै खाँदा असर गर्ने बताउँदा भन्छन्, “खै, मामुले नै घरमा पकाएर खुवाइसिन्छ । घरमा त सबैले खान्छन् ।”

विज्ञापन एजेन्सीमा कार्यरत २४ वर्षीय रमेश भुजेल र उनका साथीहरूको अफिसमा नछुट्ने खाजा हो, चाउचाउ फ्राइ, चाउचाउ सुप र चाउमिन । भन्छन्, “यहाँ प्राय: यही पाइन्छ । छिटो, मीठो र सस्तो पनि ।” 

यी केही प्रतिनिधि पात्र मात्र हुुन्, जसले निरन्तर चाउचाउलाई स्न्याक्सभन्दा पनि पेट भर्ने खाजाको रूपमा खाइरहेका छन् । करिब ३ दशकदेखि अधिकांश नेपालीको खाजा बनेको छ, तयारी चाउचाउ । बच्चादेखि वृद्धवृद्धासम्म, घरदेखि अफिससम्म चाउचाउमै मन रमेको छ । तथ्यांकअनुसार मासिक साढे ५ करोड प्याकेट चाउचाउ नेपालमै खपत हुन्छ, जसमा खैरो चाउचाउको खपत कुल बिक्रीको ९० प्रतिशत छ । बजारमा सुप स्प्रे नगरिएको सेतो चाउचाउमा रारा र सुप स्प्रे गरिएको खैरोमा वाईवाईको वर्चस्व छ । गण्डकी नुडल्सले ३० वर्षअघि र चौधरी ग्रुपले २८ वर्षअघि उत्पादन गर्न थालेका रारा र वाईवाई अन्तर्राष्ट्रिय ब्रान्ड बनिसकेका छन् । काँचै खान साना प्याकेटका हम्टीडम्टी, हिट्स मामा चाउचाउ लोकप्रिय बनिरहेका छन् भने २० रुपैयाँ पर्ने चाउचाउ खाजाकै रूपमा प्रयोगमा आउन थालेको छ ।
करिब ५ अर्ब रुपैयाँको नेपाली चाउचाउको बजार बर्सेनि २० प्रतिशतले बढिरहेको छ । अभियन्ताहरू चाउचाउलाई पत्रु खाना (जंक फुड) भन्छन् । तर त्यही जंक फुडको बिक्री देशमा अधिक छ ।

१२ जेठ ०७२ मा नेस्ले इन्डिया प्रालिको म्यागी चाउचाउमा सीसा लिड पाइएपछि नेपालमा म्यागी बिक्री वितरण नगर्न खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले प्रेस विज्ञप्ति नै जारी गरेको थियो । भारतकै कतिपय राज्यमा म्यागीमा अखाद्य तत्त्व भेटिएसँगै बिक्रीमा बन्देज लगाइएपछि नेपालमा पनि कारबाही गरिएको थियो । सरकारले नेपाली चाउचाउ पनि प्रयोगशालामा जाँच गरिने बतायो ।

तर त्यसबेला मोनोसोडियम ग्लुटामेट नेपालका चाउचाउमा पनि परीक्षण गरिने बताएको विभागले समेत त्यसबारे अनुगमन र अनुसन्धान गर्दै गरेन । खाद्य प्रविधि तथा गुण नियन्त्रण विभाग प्रयोगशालाका एक कर्मचारीका अनुसार ०७२ पछि ल्याबमा चाउचाउ खासै परीक्षण हुँदैनन् । चाउचाउ मात्र होइन, बजारमा यस्ता थुप्रै खानेकुरा छन्, जुन बजार अनुगमन गर्न जाँदा शंका लागे मात्र ल्याब परीक्षणमा ल्याइने नत्र खासै अनुगमन नहुने ती कर्मचारी बताउँछन् । दक्ष कर्मचारी अभावले विभागले बेवास्ता गरेको कर्मचारीको बुझाइ छ ।

यस्तै, १५ कात्तिकमा राष्ट्रपति विद्यादेवी भण्डारीले बलियो नेपालको पोषण कार्यक्रम उद्घाटन गरिन् । कुपोषण र होचोपनामा कमी ल्याउने उद्देश्यले गर्न लागिएको कार्यक्रम चाउचाउमा पोषण थपेर उत्पादन गर्ने कुराले विवाद ल्यायो । सोही विवादपछि डा अरुणा उप्रेतीले बोर्डको सल्लाहकार पदबाट हटेको घोषणा गरिन् ।

नेपालमा प्राय: यस्ता विवाद आएपछि मात्र पोषणबारे छलफल चल्ने गर्छ । खाना जीवनको आधार हो । भनिन्छ, जस्तो खायो, त्यस्तै बनिन्छ । तर सरकार र सम्बन्धित अधिकारीले बजार अनुगमन र अनुसन्धान नगर्दा नागरिकको स्वास्थ्यमा खेलवाड भइरहेको छ ।
स्वास्थ्य मन्त्रालयअन्तर्गत स्वास्थ्य सेवा विभागका पोषण शाखा प्रमुख केदारराज पराजुली काठमाडौँ उपत्यकामा उपलब्ध चाउचाउ गुणस्तरहीन भएको बताउँछन् । उनका अनुसार एक संस्थाले गरेको अनुसन्धानबाट चाउचाउलगायत अन्य तुरुन्त खान मिल्ने प्याकेटका खानेकुरा न्यून गुणस्तरका छन् । सरकारले तोकेको मापदण्डसमेत पूरा नभइरहेको अवस्थामा चाउचाउजस्ता खानेकुरामा पोषण थपेर त्यसको प्रवद्र्धन गर्नु कत्ति जायज होला ?

बालबालिकाका लागि खतरा चाउचाउ

फागुन ०७५ मा विश्व स्वास्थ्य संगठनले काठमाडौँका १२ देखि २३ महिनासम्मका बालबालिकामा पोषण जाँच गरेको थियो । उक्त जाँचमा ७ सय ४५ घरधुरीका बालबालिका समावेश थिए । पोषण जाँचमा बालबालिकाको स्वास्थ्यमा प्रोटिन, भिटामिन, आइरन, जिन्कलगायत विभिन्न पोषण तत्त्वको अभाव देखियो । यसको मुख्य कारकतत्त्व बजारमा पाइने प्याकेटका खानेकुरा (जंक फुड) थिए, जसमा बिस्कुट, क्यान्डी र चकलेट, नुनिला र मसलेदार प्याकेट खाना र तयारी चाउचाउको मुख्य हिस्सा थियो ।

सर्वेक्षणमा धेरै खपत हुने स्न्याक्स फुडमा अधिक मात्रामा शक्तिवद्र्धक (चिनी धेरै भएको) र नुन धेरै भएको सोडियम तत्त्व हालिएका थिए । यसले शरीरलाई पोषण दिनेभन्दा स्वास्थ्यमा ह्रास ल्याउने काम गर्ने पोषणविद्हरू बताउँछन् । अनुसन्धानकर्ता एवं पोषणविद् डा अतुल उपाध्यायका अनुसार काठमाडौँमा गरिएको सर्वेक्षणमा दुई वर्षका बालबालिकाले आवश्यकभन्दा पनि धेरै मात्रामा जंक फुड खाएका थिए ।

बालबालिकामा पुड्को, ख्याउटे र कम तौलको समस्या देखिनुमा जंक फुड प्रमुख कारक भएको पोषणविद्हरू बताउँछन् । सामान्यत: अमेरिकाका १० देखि १५ वर्षसम्मका बालबालिकाले खाने जंक फुड नेपालका २ वर्षभन्दा कम उमेरका बालबालिकाले खाने गरेको पाइयो । यसरी बालबालिकालाई बजारमा पाइने प्याकेटको खानेकुरा खुवाउँदा तिनको स्वास्थ्यमा आवश्यक पोषण तत्त्वको कमी देखिएको छ ।

स्वास्थ्य संस्था हेलन केलर इन्टरनेसनलले पनि पत्रु खानेकुराका कारण काठमाडौँ उपत्यकाका बालबालिकामा पुड्कोपना हुने खतरा औँल्याएको छ । 

चाउचाउ पत्रु नै हो ?

अनुसन्धानकर्ता उपाध्यायका अनुसार जंक फुडको निश्चित परिभाषा छैन । कुन खाना जंक भन्ने प्रयुक्त सामग्रीबाट थाहा हुन्छ । चिल्लो, नुन र चिनीको मात्रा कुनै पनि खानामा चाहिनेभन्दा अधिक भए र त्यसमा फाइबर, प्रोटिन, भिटामिन, मिनरलको मात्रा कम छ भने त्यो जंक फुड हुन्छ । जस्तो, नेपालीको खाना सेलरोटीलाई जंक फुड मान्ने कि नमान्ने । उपाध्याय भन्छन्, “चाउचाउ फाइबररहित मैदाबाट बन्छ, जसमा प्रोटिन एकदमै कम हुन्छ । नुन हालिन्छ, चिनी नभए पनि चिल्लो हुन्छ, जसले शक्ति दिन्छ । भिटामिन र मिनरल अत्यन्त कम हुन्छ किनकि फलफूल, सागपात केही हालिँदैन ।” यस्तै, चिकेन स्वादका चाउचाउमा मासुको सुपको फ्लेबर हालिन्छ, कति मात्रामा त्यसबाट मासुको पौस्टिक तत्त्व गयो, त्यसको कुनै तथ्यांक छैन । 

नेपाल सरकारको मापदण्डअनुसार प्रोटिनको हकमा १० प्रतिशत नघटेको र मोनोसोडियम ग्लुटामेट १ प्रतिशत नबढेको हुनुपर्छ । तर चाउचाउमा प्रयोग भएको प्रोटिन मैदाकै ग्लुटेन भएको उपाध्याय दाबी गर्छन् । ग्लुटेनले पिठो इलास्टिकजस्तै तन्काउँछ, जुन चाउचाउ तन्काउन प्रयोग हुन्छ । अधिकांश चाउचाउमा २० प्रतिशत प्रोटिन हुने लेबलमै उल्लेख गरेको भेटिन्छ । तर दु:खको कुरा, खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले जाँच्दैन । अमेरिकामा बालबालिकाको खानामा ग्लुटेन राखिँदैन । ग्लुटेनले सेलियक (सानो आन्द्रामा समस्या) रोग लाग्छ । 


यो पनि पढ्नुहोस् : भान्छामा घुसेको भोजनको राजनीति


मैदा गहुँबाटै छानिएर बनेको पिठो हो । भिटामिन र मिनरलका लागि चाउचाउ खाइँदैन । सेल चामलको पिठोबाट बन्छ । घ्युमा पकाइन्छ, चिनी हालिन्छ । त्यसले शरीरमा कुनै पोषण दिँदैन । चामलको पिठोमा कार्बोहाइड्रेट धेरै, फाइबर शून्य, चिनीले मधुमेह जोखिम, चिल्लो शरीरमा बढी भए कोलेस्टेरोल बढाउँछ । यदि हाम्रो शरीरलाई चाहिने अनुपातमा दाल, भात र तरकारी खान्छौँ भने त्यो पोषण हो । तर धेरै दाल र भात तथा थोरै तरकारी खायौँ भने त्यो जंक फुड बन्न जान्छ । जंक फुड खाद्यपदार्थभन्दा पनि खाने प्रक्रिया रहेको उपाध्याय बताउँछन् । त्यसमा सहमत छिन्, खाद्य प्रविधि तथा गुण नियन्त्रणका वरिष्ठ खाद्य अनुसन्धान अधिकृत एवं फुड टेक्नोलोजिस्ट हुमा बोक्खिम । 

उपाध्यायका अनुसार १ देखि २ वर्षसम्मका बच्चाका लागि १ हजारदेखि २ हजार क्यालोरी चाहिन्छ । तर अध्ययनले जम्मा ८ सय मात्र क्यालोरी पाइएको देखाएको छ । वयस्क मान्छेलाई १८ सयदेखि २४ सय क्यालोरी चाहिने अन्तर्राष्ट्रिय मापदण्ड हो । नेपालीलाई कति चाहिन्छ, त्यसको अध्ययन हुनै सकेको छैन । विज्ञका अनुसार क्यालोरी नपुग्नुको एउटा कारण जंक फुड नभई खुवाउने प्रक्रिया (जंक फिडिङ) हो । फुड टेक्नोलोजिस्ट बोक्खिम जंक फुड शब्द अभियन्ताहरूले जन्माएको ठान्छिन् । भन्छिन्, “पोषण नपढेका तर पोषणमा काम गरिरहेकाले जन्माएको शब्द हो, यो । कतिपय खानामा विषाक्त तत्त्व हुन्छ, खानालाई ‘फोर्टिफाई’ गर्दा त्यस्ता तत्त्व नष्ट भई शरीरलाई चाहिने पोषिला खाना बन्छन् ।” 

अचेल कोरियन चाउचाउको माग व्यापक छ । बोक्खिमका अनुसार कोरियन र नेपाली चाउचाउ एकै खाले तत्त्वबाट बनेको हो । त्यो खान मिल्छ भने यो किन मिल्दैन ? उनी तर्क गर्छिन् । तर पकाएर खानुपर्ने चाउचाउ काँचै खाँदा त्यसले असर गर्ने उनी बताउँछिन् । उनका अनुसार विज्ञापनमा पनि चाउचाउमा अन्डा र सागसब्जी हालेको देखाइन्छ । चाउचाउमा सागसब्जी र अन्डा हालेर खानुपर्छ ।

चाउचाउलाई नखाऔँ भन्न सकिन्न तर बिहान–बेलुका दालभातजस्तो गरी खाने चीज नभएको पोषणविद् उपाध्यायको तर्क छ । भन्छन्, “तर म बालबालिकालाई फिटिक्कै खुवाउन हुन्न र अजिनोमोटो प्रयोग गर्नुहुन्न भन्ने मतमा छु ।” उनका अनुसार कुनै अध्ययनले अजिनोमोटोको प्रयोग फाइदा पुर्‍याउने र कुनैले चिनियाँ रेस्टुराँ सिन्ड्रोम (चिनियाँ खानामा अधिक मोनोसोडियम) हुने देखाएको छ । 

खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागमा ०७४/७५ मा चाउचाउ उद्योगविरुद्ध चार वटा मुद्दा परेका थिए भने ०७५/७६ मा ३ वटा । विभागका प्रवक्ता मोहनकृष्ण महर्जनका अनुसार चाउचाउका मुद्दा कमै हुन्छन् । विशेषगरी पानी मात्र अशुद्ध भेटिन्छ । सरकारले खानुहुन्छ भनेर लाइसेन्स दिएपछि विभागले चाउचाउलाई जंक भनेर कारबाही गर्न नमिल्ने बताउँछन्, महर्जन । भन्छन्, “न्यून गुणस्तर छ भने ल्याबमा पास हुन्न ।” 



बेखबर योजना आयोग

१८ कात्तिकमा नेपालमा ‘सन ग्लोबल ग्यादरिङ’ भएको थियो । ६१ देशका प्रतिनिधिले भाग लिएको कार्यक्रम उप्रधानमन्त्री उपेन्द्र यादवले उद्घाटन गरेका थिए भने राष्ट्रपतिले भाषण गरेकी थिइन् । बहुक्षेत्रीय पोषण योजना (०७५/७६ देखि ०७९/८०) सम्म कार्यक्रम नेपाल सरकारको मन्त्रिपरिषद्बाट ३ मंसिर ०७४ मा पारित भएको थियो । यसैअन्तर्गत ‘सन ग्लोबल ग्यादरिङ’ भएको हो । राष्ट्रिय योजना आयोगले पोषणमा सुधार गरी सन् २०३० सम्म पुड्कोपनलाई १५ प्रतिशत, ख्याउटेपनलाई ४ प्रतिशत र रक्तअल्पतालाई १० प्रतिशतमा झार्ने लक्ष्य लिएको छ । तर प्रधानमन्त्री नै अध्यक्ष रहेको योजना आयोग नै विश्व स्वास्थ्य संगठनले काठमाडौँ उपत्यकामा गरेको अनुसन्धानबारे जानकार छैन । प्रवक्ता किरण रूपाखेती आयोगलाई यसबारे केही थाहा नभएको दाबी गर्छन् । नेपाल संवाददाता पुग्दा उनको कार्यालयमा अधिकांश दैनिक पत्रपत्रिका थिए । उक्त समाचार केही महिनाअगाडि सञ्चार माध्यममा छाएको थियो । पढेलेखेका बाबुआमाकै सन्तान कुपोषित भएको डरलाग्दो तथ्यांक त्यसले उजागर गरेको छ । तर प्रवक्ता रूपाखेतीले उल्टै पुड्कोपन ५७ बाट ३६ प्रतिशतमा घटेको भन्दै आफ्नो प्रशंसा आफैँ गरे ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पोषण संवेदनशील र पोषण विशेषज्ञ कार्यक्रम चलाएको छ । स्वास्थ्य विभागले सरकारका अन्य निकायले पूरा गर्न नसकेका कामको परिपूर्ति मात्र पोषण विभागले गर्ने शाखा प्रमुख पराजुली बताउँछन् । आयोगले देशकै लागि पोषण निर्देशिका र कार्यक्रम बनाउने अन्य कृषि, महिला तथा बालबालिका, ज्येष्ठ, खानेपानी, सरसफाइ तथा वातावरण, अर्थ, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयसँग समन्वय गरी कार्यक्रम लैजानुपर्नेमा उनको जोड छ । भन्छन्, “तर उनीहरू आफ्नो काम गर्दैनन् । परिपूर्ति मात्र गर्नुपर्ने ठाउँमा हामीले सम्पूर्ण पोषण हेर्नु परेको छ । २६ वर्षदेखि भिटामिन ए क्याप्सुल र २० वर्षदेखि आइरन ट्याबलेट बाँडिरहेका छौँ । । जबकि यी भिटामिन र मिनरल ५० प्रतिशत नियमित खानाबाट र बाँकी ५० प्रतिशत अन्य माध्यम क्याप्सुल आदिबाट पुर्‍याउनुपथ्र्यो ।” 

पुरा पढ्नुहोस्

सत्ताको छहारीमा बसरुद्दिनको बदमासी

भूषण यादव, मंसिर ३, २०७६

राज्यले तोकेभन्दा बढी शुल्क उठाइरहेका ७ मेडिकल कलेज सञ्चालकविरुद्ध विद्यार्थी आन्दोलन चर्के पनि सरकार मूकदर्शक
पुरा पढ्नुहोस्

एम्बुलेन्स मासेर गाडी

अमृता अनमोल/बुटवल, भाद्र २२, २०७६

लुम्बिनी प्रादेशिक अस्पतालमा भद्रगोल
पुरा पढ्नुहोस्

फैलँदै डेंगु

माधव घिमिरे/विराटनगर, भाद्र १५, २०७६

संक्रमण नियन्त्रण कठिन
पुरा पढ्नुहोस्

गुप्ता पुरस्कृत

नेपाल संवाददाता , असार ३०, २०७६

प्रतिभामा नेपाली कोहीभन्दा कम छैनन् । त्यसैले अनुसन्धानकर्ता अरुण गुप्ता जापानिज सोसाइटी अफ न्युक्लियर मेडिसिन, जापानको ‘कन्ट्रिब्युसन टु एसियन यङ इन्भेस्टिगेसन अवार्ड २०१९’ बाट पुरस्कृत भएका छन् ।
पुरा पढ्नुहोस्

आवरण« भान्सामै विषादी

सुनिता लोहनी, जेष्ठ २८, २०७६

फितलो अनुगमन, नियमावली अभाव र उपभोक्ता हितका सरोकारवाला निकाय चुपचाप रहँदा जोखिममा जनस्वास्थ्य
पुरा पढ्नुहोस्

‘सरुवा पाएथेँ, गाउँले नै लिन आए’

प्रकाश बराल/बागलुङ, जेष्ठ १३, २०७६

२७ वर्षसम्म पहाडी बस्तीमा सेवा गरेका एक मधेसी स्वास्थ्यकर्मी
पुरा पढ्नुहोस्

सफेद विभेद

सुनिता लोहनी, जेष्ठ १२, २०७६

पारिश्रमिक र सेवासुविधामा नर्सिङ पेसामाथि नै पक्षपात
पुरा पढ्नुहोस्

नानीदानी चिनीमैयाँ

भिषा काफ्ले, वैशाख ३०, २०७६

आँखाको नानी दान गर्ने पहिलो नेपालीको अन्तर्कथा
पुरा पढ्नुहोस्

औषधीले खल्ती खलास

भिषा काफ्ले, चैत्र ५, २०७५

सरकारी लगानीभन्दा नागरिकको खल्तीबाट हुने उपचार खर्च तीन गुणा बढी
पुरा पढ्नुहोस्