विशेष : सिलगढीका नेपाली
धर्म, संस्कृति र रीतिरिवाजमा संवेदनशील समुदाय
सिलगढी (भारत)– करिब ५० वर्ष पछाडि फर्किने हो भने भारत पश्चिम बंगालको सिलगढी सहर नेपालीभाषीको ‘कब्जा’ मा थियो । भारत स्वाधीन भएलगत्तै सिलगढीको मेयर (चेयरम्यान) बनेका थिए एक नेपाली । उनी थिए, जर्ज महावर्ट सुब्बा । तिनै सुब्बा पछि पहिलो नेपाली विधायक पनि बने, अखिल भारत गोर्खा लिगका तर्फबाट ।
त्यसयता कोही पनि नेपालीभाषी सिलगढीको मेयर बन्न सकेको छैन । उनीपछि माइला बाजे अर्थात् रतनलाल ब्राह्मण सीपीएमबाट विधायक बनेका थिए । जनसंख्याको हिसाबले नेपालीभाषी बहुसंख्यक थिए । त्यसबेला करिब ६ हजारभन्दा ज्यादा जनसंख्या नेपालीकै थियो । अन्य समुदायको जनसंख्या ज्यादै कम । खासगरी राजवंशी, सन्थाल, मेचेजस्ता आदिवासी थिए । फाट्टफुट्ट रैथाने बंगाली पनि थिए ।
तर, ५० वर्षपछि अवस्था उल्टियो । नेपालीहरू छिन्नभिन्न भए, अल्पसंख्यक बने । बंगाली समुदायको जनसंख्या ‘दिन दुई गुणा रात चौगुणा’ बढ्यो । सन् २०११ को गणनामा सिलगढीको जनसंख्या ७ लाख ५ हजार ६ सय थियो । भारत सरकारको पछिल्लो गणनाअनुसार अहिले सिलगढीको जनसंख्या करिब साढे ९ लाख पुगेको छ । त्यसमध्ये नेपालीभाषीको जनसंख्या ३ लाख हाराहारी छ ।
सन् १९९१ देखि २००१ सम्मको एक दशकमा प्रत्येक वर्ष ८ दशमलव ०९ प्रतिशत र २००१ देखि २०११ सम्मको अर्को १० वर्षमा वार्षिक ४ दशमलव ०९ प्रतिशतले जनसंख्या बढेको देखिन्छ ।
सन् १९७१ मा तत्कालीन पूर्वी पाकिस्तान बंगलादेश बन्ने समयमा ठूलो हिंसा भयो । लाखौँ मारिए । खासगरी पूर्वी पाकिस्तानका हिन्दु बंगालीहरू त्यही मेसोमा भारत छिरे । त्यसपछि बिस्तारै सिलगढी भरिँदै गयो । “अहिले जति पनि बंगाली छन्, अधिकांश बंगलादेशबाट भागेर आएका आप्रवासी हुन्,” लामो समयदेखि सिलगढीमा बस्दै आएका लेखक ज्ञानेन्द्र खतिवडाको दाबी छ, “त्यसपछि नै नेपालीको दुर्दशा सुरु भएको हो ।”
खतिवडाका अनुसार बंगलादेशीले अड्डा जमाउन थालेपछि नेपाली आफ्नो जमिन सस्तोमा बेच्दै र कति त बिनापैसा ऐतिहासिक थातथलो छाड्दै हिँड्न बाध्य भए । “जमिन नछाड्या भए यस्तो अवस्था आउने थिएन,” खतिवडाले भने, “हाम्रो दबदबा कायमै हुने थियो ।”
पहिले महानन्द नदीको उत्तरतिर मात्रै सिलगढी थियो । बसपार्क, रेल स्टेसन यतै थिए । सन् १९७१ पछि बंगलादेशी आप्रवासी बढ्दै गएपछि महानन्द दक्षिण क्षेत्रमा बस्ती विस्तार भयो । अहिले यो क्षेत्र ठूलो ‘बिजनेस हब’ बनेको छ । नेपाल, भुटान र बंगलादेशको ट्रान्जिट पनि हो, सिलगढी ।
सिलगढी सहर | तस्बिरहरू : पर्वत पोर्तेल
सिलगढी कि सिलिगुडी ?
“खासमा असली नाम सिलगढी थियो । बंगालीभाषीले सिलिगुडी पारिदिए,” इतिहासका अध्येतासमेत रहेका खतिवडाले गुनासो पोखे, “सबै नेपाली नामको हुर्मत लिएका छन् ।”
सिलगढी कसरी रहन गयो भन्नेबारे भिन्नाभिन्नै मत छन् । एक मतअनुसार यहाँ पहिले गोर्खाली फौजको हातहतियार राख्ने क्याम्प थियो । त्यही आधारमा यसको नाम सिल अर्थात् हातहतियार र गढी अर्थात् क्याम्पबाट सिलगढी हुन गएको हो । गढ अर्थात् क्याम्पलाई गोर्खाली फौजले सिल गरेर सिलगढी रहेको भन्ने दाबी पनि छ । पहाडबाट ढुंगा बगेर आउने भएकाले सिलागढी हुँदै सिलगढी भएको भन्ने पनि भनाइ छ । नामबारे आ–आफ्ना मत रहे पनि यो नेपाली नाम नै हो भन्नेमा सबैको मत मिल्छ ।
एक समय सिक्किमको भूभाग थियो, सिलगढी । पछि नेपालको पनि भयो । नेपाल–सिक्किम युद्धपछि करिब २७ वर्ष यो क्षेत्र नेपालको अधीनमा रहेको इतिहासमा उल्लेख छ । सन् १८१६ को सुगौली सन्धिपछि तत्कालीन इस्ट इन्डिया कम्पनीले यो भूभाग फिर्ता लगेर सिक्किमलाई दियो । तर, ब्रिटिसले पुन: सिक्किमबाट लिजमा लिएर आजसम्म फर्काएन । पछि बंगालले आफ्नो बनायो । “यो जमिनको असली मालिक सिक्किम हो,” खतिवडा भन्छन्, “यो जमिन कहिल्यै बंगालको थिएन ।”
सिलगढीको नेपाली कल्याण हाइस्कुल
मेटिँदै नेपाली पहिचान
सिलगढीका नेपालीको पहिचान क्रमश: मेटिँदै छ । प्रधान नगर, गुरुङ बस्ती, लिम्बू बस्तीजस्ता नेपाली बहुल क्षेत्र नामेट हुन थालेका छन् । पुराना जमिनदार पुण्यप्रसाद प्रधानको सम्झनामा नेपालीले नामकरण गरेको प्रधान नगर त छ । तर, यहाँ नेपालीको बसोबास क्रमश: घट्दो छ । जमिनदार बाघवीर गुरुङको नाममा बनेको गुरुङ बस्ती गौरांग बस्तीका रूपमा परिणत भइसकेको छ ।
भूमिपति तिलकबहादुर ठकुरी क्षत्रीले नेपाली समुदायको हितका साथै खेलकुद गतिविधिका लागि प्रयोग गर्न भनेर करिब सय बिघा जमिन दान गरेका थिए । त्यसलाई पहिले तिलक मैदान भनिन्थ्यो । तर, तत्कालीन सत्तारुढ कम्युनिस्ट पार्टी (सीपीएम) ले नाम फेरेर कञ्चनजंगा रंगशाला बनाइदियो ।
सिलगढीको सेवोक रोड छेउमा पहिला ठूलो बर्मेली बस्ती थियो । दोस्रो विश्वयुद्धपछि बर्माबाट आएका नेपालीको यो जमिन अहिले छैन । नेपाली पूरै विस्थापित भइसके । त्यसबेलाको बर्मेली बस्ती अहिले आश्रमपाडा बनेको छ । “यहाँ नेपालीको नामोनिसान छैन,” सिलगढीका साहित्यकार राजा पुनियानी भन्छन्, “सिलगढीबाट नेपालीका सबै पहिचान बिस्तारै मेटिँदै जानु दु:खद र सोचनीय विषय हो ।” न्यू जलपाइगुडी रेल्वे स्टेसननजिकै एउटा ठूलो नेपाली बस्ती अझै पनि छ । तर, नेपालीभाषीको बसोबास भने खासै छैन ।
तिलकबहादुर ठकुरी क्षत्रीले दान गरेको तिलक मैदान, हाल कञ्चनजंगा रंगशाला
भाषा जोगाउनै मुस्किल
मातृभाषाको संरक्षण र प्रवद्र्धनको उद्देश्य बोकेर सन् १९७६ मा स्थापना भयो, नेपाली कल्याण स्कुल । स्कुल स्थापनामा तिलक राई, पशुपति शर्मा, भगीरथ लोहार, केबी क्षत्री, डीबी आलेलगायतको भूमिका थियो ।
सिलगढी क्षेत्रमा मात्रै नेपाली स्कुलको संख्या करिब एक दर्जन पुग्यो । कृष्णमाया नेपाली स्कुल, मंगल प्रधान नेपाली स्कुल, दलवीर प्राथमिक पाठशाला, भानुभक्त पाठशाला, डा आईबी थापा स्कुल, चम्पासरी नेपाली स्कुल आदि ।
बंगाल बोर्ड अफ सेकेन्डरी एजुकेसन दार्जिलिङका कन्भेनर राम क्षेत्रीका अनुसार दार्जिलिङ जिल्लाभरका स्कुलमा करिब १० हजार नेपाली विद्यार्थी अध्ययनरत छन् । सिलगढीमा मात्रै भने संख्या ज्यादै कम छ । एकताका २० हजार हाराहारीमा विद्यार्थी अध्ययनरत भए पनि त्यो संख्या ह्वात्तै घटेको छ ।
सिलगढीमा भारत सिलिगुडीको पुरानो नेपाली कल्याण स्कुलमा केही वर्षपहिले विद्यार्थी संख्या करिब एक हजार हाराहारी थियो । अहिले त्यो संख्या छैन । नेपाली स्कुल छन् । तर, विद्यार्थी सिला खोज्नुपर्ने स्थिति छ । नेपाली स्कुलहरूले आफ्नो मातृभाषाचाहिँ मरितरी बचाइराखेका छन् ।
क्षत्रीका अनुसार कतिपय नेपाली स्कुलमा विद्यार्थी संख्या न्यून छ । सरकारले एक शिक्षक बराबर ४० विद्यार्थी निर्धारण त गरेको छ । तर, विद्यार्थी पाउनै गाह्रो । उनले भने, “कतिपय स्कुलमा विद्यार्थीभन्दा शिक्षक बढी पनि छन् ।”
भारत स्वाधीनतापूर्व दार्जिलिङमा नेपाली भाषा बोलचालका रूपमा प्रयोग हुन्थ्यो । तर, लेखिएको थिएन । सन् १९५० पछि मात्रै औपचारिक रूपमा नेपाली भाषा लेख्ने क्रमको थालनी भयो । सूर्यविक्रम ज्ञवाली, धरणीधर कोइराला र पारसमणि प्रधान (सुधपा) लाई यसको श्रेय जान्छ । सुधपाकै सक्रियतामा नेपाली भाषामा साहित्य लेखन आरम्भ भयो ।
तिनताका नेपाली भाषाका स्कुलचाहिँ थिएनन् । सन् १९९२ मा नेपाली भाषाले भारतीय संविधानको आठौँ अनुसूचीमा मान्यता पाएपछि मात्रै नेपाली भाषामा पढाइ हुने स्कुल खुल्न थाले । दार्जिलिङ र डुबर्समा दर्जनौँ नेपाली स्कुल सञ्चालित छन् । तर, नेपाली भाषाको उत्थान र प्रवद्र्धनका लागि खुलेका स्कुलको स्थिति क्रमश: दयनीय बन्दै गएको छ ।
खासगरी राज्य सरकारको अनुदार नीतिले नेपाली भाषाका स्कुलले संकट झेलिरहेका छन् । “पर्याप्य पाठ्यपुस्तकको अभाव त छँदैछ,” सिलगढीस्थित नेपाली कल्याण उच्चमाविका शिक्षक सुकराज दियाली भन्छन्, “परीक्षामा नेपाली भाषाको प्रश्नपत्र बंगाली र अंग्रेजी भाषाबाट आउने गर्छ ।”
दियालीका अनुसार बारम्बार दोहोरिरहने यस किसिमका त्रुटिले के प्रस्ट पार्छ भने राज्य सरकार नेपाली भाषाको संरक्षणको खिलापमा छ । नेपाली भाषाप्रतिको विकर्षण र अंग्रेजी भाषाको आकर्षणका कारण नेपाली भाषाका विद्यार्थीको सिला खोज्नुपर्ने अवस्था रहेको शिक्षक शरद क्षत्री बताउँछन् ।
पुर्खाको चिनो
दार्जिलिङ मोडैको दायाँ कुनामा एउटा बडेमानको सालिक मुस्कुराइरहेको छ । त्यो प्रथम सगरमाथा आरोही तेन्जिङ नोर्गे शेर्पाको हो । उनकै अघिल्तिर अर्को सालिक ठडिएको छ, बंगालका पुराना कम्युनिस्ट नेता रतनलाल ब्राह्मण (माइला बाजे) को ।
ज्ञानञ्जलि नामक सामान्य ज्ञान पुस्तकका लेखक ज्ञानेन्द्र अर्यालका अनुसार दार्जिलिङबाट संसद्मा जितेका माइला बाजे लोकसभामा नेपाली पोसाक लगाएर भाषण गर्ने पहिलो नेपाली हुन् । अर्याल भन्छन्, “बंगालको राजनीतिमा माइला बाजे जत्तिको हैसियत अहिलेसम्म कसैले बनाउन सकेकै छैन ।” सिलगढीको सालुगाडा चेकपोस्टमै छ, प्रसिद्ध लेखिका पारिजातको सालिक । उनी कुर्सीमा बसेकी छन् ।
भारतमा भानुभक्त आचार्यको सालिक नेपालमा भन्दा धेरै देख्न सकिन्छ । सिलगढीको जक्सनमा पनि भानुको सालिक छ । नेपाली साहित्यका महाकवि लक्ष्मीप्रसाद देवकोटा प्रधाननगरको देवकोटा भवनको प्रांगणमा छन् ।
भारत स्वाधीनपछि मात्रै दार्जिलिङमा नेपाली भाषा, साहित्य, संगीतलगायतले फस्टाउने अवसर पाएको हो । सिलगढीमा चाहिँ सन् ८० को दशकपछि खासगरी भानु समिति र देवकोटा भवनजस्ता संस्थाहरूको स्थापनापछि मात्रै साहित्यिक गतिविधि बढेको देखिन्छ । लेखक पुनियानी भन्छन्, “ऐतिहासिक धरोहरलाई हामी भाषा, साहित्यसँगै नेपाली वीरतासँग गाँसेर हेर्छौं ।”
दसैँको रौनक
दसैँ, तिहार आदि चाडमा सिलगढीका नेपालीको उत्साह बेग्लै हुन्छ । सांस्कृतिक पर्वहरूलाई जातीय उत्सव तथा चिनारीका रूपमा धुमधामसँग मनाउने प्रचलन वर्षौंदेखि रहिआएको छ यहाँ । सप्तमीका दिन सिलगढीमा नेपाली समुदायले व्यापक रूपमा फूलपाती शोभायात्रा गर्छन् ।
पुरुषहरू दौरासुरुवाल र महिलाहरू चौबन्दी चोलीमा सजिन्छन् । नौमती बाजाको ताल, जातो, मादल, ढोलक, च्याब्रुङलगायत नेपाली पहिचान झल्किने सांस्कृतिक झाँकी निकालिन्छ । सिलगढीका व्यवसायी विजय रुचालका अनुसार बर्सेनि भव्य रूपमा मनाइने शोभायात्रामा सयौँ नेपाली सहभागी हुन्छन् ।
दार्जिलिङमा भारत स्वतन्त्रतापछि सन् १९५७ देखि दसैँको फूलपाती शोभायात्रा निकाल्न सुरु गरिएको इतिहास छ । पहिले यहाँका प्रहरी सेवामा कार्यरत नेपालीले मात्रै फूलपाती यात्रा निकाल्थे । त्यो दार्जिलिङको डाली भन्ने स्थानमा मात्रै सीमित थियो । ७० को दशकदेखि सर्वसाधारणले पनि फूलपाती यात्रा निकाल्न र घरघरमा फूलपाती भित्र्याउन थालेका हुन् ।
नेपालीहरू संसारको जुनसुकै कुनामा किन नपुगून्, आफ्नो धर्म, संस्कृति र रीतिरिवाजप्रति बढी नै संवेदनशील छन् । “देशमा रहँदा भन्दा देशबाहिर यस्ता कुराको बढी महत्त्व हुँदो रहेछ,” साहित्यकार जश योन्जन प्यासी भन्छन्, “नेपालमा भन्दा दार्जिलिङमा दसैँको बढी महत्त्व छ, किनकि हामी नेपालबाहिर छौँ । भारतमा बसेर नेपाली भाषा र संस्कृतिको जगेर्ना गर्नु धेरै कठिन छ ।”
नेपाली भाषाले भारतको संविधानमा मान्यता पाएपछि सिलगढीको भानुभक्त समितिको नेतृत्वमा फूलपाती शोभायात्रा गरिँदै आएको छ । यहाँको नेपाली समाजलगायतका अन्य संस्थाले पनि फूलपाती शोभायात्रामा साथ दिन्छन् । घटस्थापनादेखि नै यहाँका नेपाली एकजुट बन्छन् र व्रत प्रारम्भ गर्छन् । सिलगढीका नेपाली पण्डित धु्रवप्रसाद उपाध्याय भन्छन्, “दसैँ नेपालीभाषीबीचको एकता र भ्रातृत्वको पर्व हो ।”
सम्बन्धित
अमेरिकाले बर्सेनि निकाल्ने आतंकवादसम्बन्धी प्रतिवेदन नेपालबारे फेरिएको धारणा...
नेपाललाई 'आतंकवादको हब' मान्ने अमेरिकी धारणा कसरी परिवर्तन भयो ?
लकडाउनपछि आफ्नो मुलुक फर्किएका भारतीय मजदुर सम्पर्कमै आएनन्, रेडजोनमा परेका स्वदेशकैलाई ल्...
उद्योग चलाउनै मुस्किल
सात दशकयताको दलीय तानातानको शिकार बन्दै आएको नागरिकता मुद्दामा यसपल्ट पनि विगतकै राजनीतिक ...
नागरिकतामा किन सधैँ किचलो ?
केन्द्रीय अनुसन्धान ब्युरो, बाग्मती प्रदेशसहितको सिन्धुपाल्चोक, काभ्रे र प्रदेश २ सर्लाहीब...
आश्रममै रहे पनि किन पक्राउ पर्दैनन् बमजन ?
मुख्यमन्त्री शंकर पोखरेललाई प्रदेशमा आएर केन्द्रीय भूमिका गुम्ने भय, पार्टी इन्चार्ज र अर्...
ओलीका ‘अलराउन्डर’ विश्वासपात्र
कोरोना महामारीले खर्च घटाउन र प्रशासनलाई चुस्त राख्न सबक सिकाए पनि अनावश्यक खर्च कटौतीमा भ...