मारमुंग्रीकै हुँकार
जिम्मेवार पदमा बस्नेहरु जवाफदेही हुनुको साटो सर्वसाधारण भड्काउँदै
अराजक तत्त्वहरूबाट जुन खालका गतिविधि देखा पर्न थालेका छन्, त्यसलाई परास्त गर्न प्रतिवाद गर्नुपर्ने समय आइसकेको छ ।’ ‘जनतामा भ्रम छर्ने र हत्केलाले सूर्य छेक्न खोज्ने अराजक तत्त्वको प्रतिवाद गर्न र उनीहरूबाट सतर्क रहन विशेषगरी युवा र विद्यार्थी साथीहरूलाई विशेष अपिल गर्दछु ।’
यी दुवै अभिव्यक्ति नेकपा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ का हुन् । उनले पहिलो अभिव्यक्ति प्रदेश १ का इन्चार्ज भीम आचार्यलाई दायाँपट्टि साक्षी राखेर ५ असोजमा विराटनगर विमानस्थलमा दिए । दोस्रो उर्दी त्यसको ठीक ६ दिनअघि ३० भदौमा आफ्ना पूर्वसहकर्मी पोष्टबहादुर बोगटीको सम्झनामा काठमाडौँमा आयोजित कार्यक्रममा दिँदै थिए ।
प्रचण्डको निर्देशन आएको साता नबित्दै ११ असोजमा प्रचण्डकै गृहजिल्ला चितवनको भरतपुरस्थित चौबिसकोठीमा सरकारका आलोचक ज्ञानेन्द्र शाहीमाथि हमला भयो । सरकारले अघि सारेको ‘समृद्ध नेपाल, सुखी नेपाली’ नारालाई ‘काउन्टर’ दिँदै शाहीले ‘नेपालका लागि नेपाली’ अभियान चलाउँदै आएका छन् ।
त्यस दिन शाहीको अभियानले भरतपुरस्थित चौबिसकोठीमा ‘भ्रष्टाचार, बेथिति र लुटतन्त्रको विरोधमा नागरिक खबरदारी’ कार्यक्रमको तयारी गरेको थियो । कार्यक्रमलाई शाही, वरिष्ठ अधिवक्ता सुरेन्द्र भण्डारीलगायतले सम्बोधन गर्ने बताइएको थियो ।
दिउँसो १२ बजेतिर सभाको तयारी चल्दै गर्दा नेपाल कम्युनिस्ट पार्टी ‘नेकपा’ मा आबद्ध युवाहरु ‘ज्ञानेन्द्र शाही मुर्दावाद, राजावादीलाई बहिष्कार गरौँ’ लगायत नारा लगाउँदै कार्यक्रम स्थल पुगे । त्यहीँ रहेका प्रहरीले उनीहरूलाई तितरबितर बनाए । स्थानीय प्रशासनले सभा नगर्न भन्यो । अभियानका सदस्यहरू कार्यक्रम नगर्ने टुंगोमा पुगे । वरिष्ठ अधिवक्ता भण्डारीलगायत भरतपुर विमानस्थलबाट काठमाडौँ फर्किए । शाहीको टोली भने गाडीबाट फर्कने भयो ।
त्यसअघि भरतपुरको चौबिसकोठीको होटल ग्लोबलमा पत्रकार सम्मेलन गर्ने तयारी गर्यो । पत्रकार सम्मेलनका लागि होटलमा के पुगेको थियो, हातमा ढुंगा, इट्टा तथा रड बोकेका युवाहरूले शाहीमाथि निशाना केन्द्रित गरी आक्रमण गरे । कतिसम्म भने आक्रमणकारी जमातले शाही चढेको गाडीसमेत तोडफोड गरे । घाइते शाहीलाई उपचारार्थ राजधानी ल्याउनु पर्यो ।
३० भदौमा ललितपुरमा पत्रकार सम्मेलन गरिरहँदा पनि शाहीमाथि आक्रमणको प्रयास भएको थियो । उनले त्यसकै अघिल्लो दिन संस्कृति, पर्यटन तथा नागरिक उड्ययनमन्त्री योगेश भट्टराईमाथि नेपालगन्जमा बुद्ध एअरको विमानभित्र दुव्र्यवहार गरेका थिए । त्यसैको बदलाभावमा नेकपा निकट युवाहरूको समूहले उनीमाथि हुलहुज्जत गरेको थियो ।
कांग्रेस केन्द्रीय सदस्य एवं पूर्वमन्त्री मीनेन्द्र रिजालमाथि नेकपा कार्यकर्ताले १२ असोजमा तनहुँको ऋषिङ गाउँपालिकामा आक्रमण प्रयास गरे । लज्जास्पद त के भने रिजालमाथि आक्रमणमा उत्रिएका नेकपा कार्यकर्ताका हात–हातमा बियरका बोतल थिए ।
२६ भदौमा बाँकेको खजुरा गाउँपालिकामा कांग्रेसले आयोजना गरेको राष्ट्रिय जनजागरण अभियानका जिल्ला सभापति किरण कोइरालामाथि सांघातिक हमला भयो । खजुराको सीतापुरस्थित रेडक्रसको सभाकक्षमा कार्यक्रम भइरहँदा कोइरालामाथि आक्रमण भएको थियो । त्यस क्रममा सभापति कोइरालाको बायाँ हात भाँचियो । कांग्रेसले आफूहरूको जनजागरण अभियानबाट अत्तालिएर नेकपा कार्यकर्ताले आक्रमण गरी सभापति कोइरालाको हात भाँचिदिएको र प्रशासनले आक्रमणकारी विरुद्धको जाहेरीसमेत लिन नमानेको भन्दै विज्ञप्ति प्रकाशित गरेर आपत्ति जनायो ।
कतिसम्म भने यस घटनाका दोषीलाई प्रशासनिक कारबाही नभएसम्म संघीय संसद्समेत चल्न नदिने अडान लिएको थियो । २९ भदौमा गृहमन्त्री रामबहादुर थापाले बाँके सभापति कोइराला आक्रमणबारे संघीय सदनलाई जानकारी नै गराउनु पर्यो । ‘सरकारले दोषीलाई कारबाही प्रक्रिया अघि बढाइसकेको छ,’ गृहमन्त्री थापा सदनमा कांग्रेसलाई आश्वस्त तुल्याउँदै थिए, ‘जोसुकै होस्, कानुन मिच्ने र शान्ति सुरक्षामा खलल पुर्याउनेविरूद्ध कारबाही हुन्छ ।’
संयोग के भने ११ असोजमा चितवनमा आक्रमण हुनु केही समयअघि मात्र प्रचण्डपुत्री तथा भरतपुर महानगरपालिकाकी मेयर रेणु दाहाल ‘ज्ञानेन्द्र शाहीलाई चितवन प्रवेशमा प्रतिबन्ध लगाउने’ उद्घोष गर्दै थिइन् । उनको यो उदघोष आफूमाथि असहमत हुने जो कसैलाई लखेट्ने, भौतिक आक्रमण गर्ने ‘जनयुद्ध’कालीन शैलीभन्दा कुनै पनि अर्थमा कम थिएन ।
‘एउटा अरिंगाललाई चलाउनुभयो भने सिंगै गोलो खनिन्छ । तर हामीसँग अरिंगालको गोलोजति पनि बुद्धि छ कि छैन ? त्यो हामीले हेर्नुपर्छ,’ ३० भदौ ०७५ मा पूर्वमाओवादी नेता बोगटीको चौथो स्मृति कार्यक्रममा प्रधानमन्त्री केपी ओली नेता/कार्यकर्तालाई प्रश्न गर्दै थिए, ‘एउटा अरिंगाल मार्यो भने त्यसलाई मार्यो ठीकै छ नि, अर्कैलाई हमला गर्यो, ठीकै छ भन्ने गर्छौं कि एकजुट भएर लाग्छौँ ?’ आफूसँग असहमतहरूप्रति अरिंगालजस्तै जाइलाग्नु भन्ने प्रधानमन्त्री ओलीको त्यो प्रस्तुति यति बेला थेगोकै रूपमा प्रचलित भइरहेको छ । सत्ता पक्षका नेता/कार्यकर्ताले राम्रै बोले पनि अरिंगालको उपाधि पाउन थालेका छन् । ‘देशी/विदेशी प्रतिक्रियावादीहरूले पार्टी र सरकारविरुद्ध हमला गरिरहँदा पनि नेता/कार्यकर्ताले एकताबद्ध भएर जवाफ नदिएको’ भन्दै त्यस यता पनि बारम्बार प्रधानमन्त्री ओलीले प्रतिकारमा उत्रन निर्देशन दिइरहेका छन् । उनले दुई साताअघि पनि यस्तै अभिव्यक्ति दिए ।
प्रतिपक्षी कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माका शब्दमा कांग्रेस सरकारमा भएका बेला पनि सरकारविरुद्ध प्रशस्तै आलोचना हुन्थे । संगठित रूपमै सरकारविरुद्ध नारा–जुलुस पनि हुन्थे । तोडफोडमा उत्रनेविरुद्ध प्रशासनले कानुनी कारबाही गथ्र्यो तर कांग्रेसका कुनै पनि नेताहरूले आफ्नो आलोचना गर्ने व्यक्तिविरुद्ध संगठित रूपमा आक्रमण गर भनेर कुनै पनि कार्यकर्तालाई निर्देशन दिँदैनथे । “अहिले सत्तारुढ पार्टीका नेताहरूले जुन अभिव्यक्ति दिइरहेका छन्, लोकतान्त्रिक दर्शन र कम्युनिस्ट दर्शनमा रहेको भिन्नताकै कारण उनीहरूले कार्यकर्ताहरूलाई संगठित प्रतिकारमा उत्रन निर्देशन दिएका हुन्,” शर्मा भन्छन्, “लोकतन्त्रमा जनतालाई विरोध गर्ने अधिकार हुन्छ । विरोध गलत बाटोमा गयो भने त्यसलाई कानुनले नियन्त्रणमा लिनुपर्छ तर कार्यकर्तालाई प्रतिकार गर भनेर निर्देशन दिनु आफैँ कानुन हातमा लिने शैली हो । यो शैलीले कानुनी राजलाई निरुत्साहित गर्छ ।”
बिनाहातहतियार जुनसुकै भूभागमा हिँडडुल गर्न पाउने अधिकार संविधानप्रदत्त छ तर कसैलाई कुनै जिल्ला वा स्थान विशेषमा प्रतिबन्ध लगाउँछु भन्ने अभिव्यक्तिले कानुनको पालना गराउने व्यक्तिहरूबाटै उल्लंघन भइरहेको छ ।
पशुपति शर्माले ०७५ फागुन पहिलो साता ‘लुट कान्छा लुट’ बोलको गीत सार्वजनिक गरे । गीत सार्वजनिक भएलगत्तै तत्कालीन नेकपा एमालेनिकट युवा संघ नेता/कार्यकर्ताहरूले उनको गीतलाई प्रतिबन्ध लगाउने प्रयास मात्र गरेनन्, शर्माका सबै गीत बहिष्कार गर्ने, आक्रमण गर्ने अभिव्यक्ति दिए ।
युवा संघ नेपालका पूर्वअध्यक्ष तथा नेकपाका केन्द्रीय सदस्य अजम्बर काङमाङ राईका शब्दमा नागरिकले जथाभावी गर्न खोजे उसलाई नियन्त्रण गर्न राज्यले कानुन बनाउनु पर्छ । ती कानुन ठूला, साना जो कसैका हकमा लागू हुनुपर्छ तर नेताहरू स्वयंले व्यक्ति विशेषलाई प्रतिकार गर भनेर निर्देशन दिनु हुँदैन । “नागरिक आकांक्षा बढाइदिने तर सर्भिस डेलिभरी दिन नसक्दा आक्रोशित र निराश नागरिकहरू प्रतिकारमा उत्रन्छन्,” राईको कथन छ, “यही बेला स्वार्थप्रेरित भएर अवान्छित तत्त्वहरू सल्बलाउन पुग्छन् । तिनलाई कानुनी कारबाही गर्ने हो । नेताहरूले नै प्रतिकार गर भनेर निर्देशन दिँदा गलत सन्देश जान्छ ।”
राज्यका अनेक कानुन छन् । प्रहरी, राष्ट्रिय अनुसन्धान विभागलगायत निकाय छन् । राज्य/सरकारलाई को–को र कहाँ–कहाँबाट खतरा छ, त्यसको कुनै सूचना भए पहिल्याउने दायित्व तिनै निकायको हो । सत्तासमर्थक पार्टीका नेता कार्यकर्ताले राज्यका संयन्त्रमा भर गर्ने प्रयासमा लागेको भने देखिन्न । “राजनेताको परिचय प्रतिकारको अभिव्यक्तिले होइन, परिमार्जनको संस्कृतिले दिनुपर्छ,” कांग्रेस प्रवक्ता शर्मा थप्छन्, “अहिले सत्तारुढ दलका नेताहरूले दिइरहेका निर्देशन राज्य असफल बनाउने खालका छन् ।”
सम्बन्धित
अमेरिकाले बर्सेनि निकाल्ने आतंकवादसम्बन्धी प्रतिवेदन नेपालबारे फेरिएको धारणा...
नेपाललाई 'आतंकवादको हब' मान्ने अमेरिकी धारणा कसरी परिवर्तन भयो ?
लकडाउनपछि आफ्नो मुलुक फर्किएका भारतीय मजदुर सम्पर्कमै आएनन्, रेडजोनमा परेका स्वदेशकैलाई ल्...
उद्योग चलाउनै मुस्किल
सात दशकयताको दलीय तानातानको शिकार बन्दै आएको नागरिकता मुद्दामा यसपल्ट पनि विगतकै राजनीतिक ...
नागरिकतामा किन सधैँ किचलो ?
केन्द्रीय अनुसन्धान ब्युरो, बाग्मती प्रदेशसहितको सिन्धुपाल्चोक, काभ्रे र प्रदेश २ सर्लाहीब...
आश्रममै रहे पनि किन पक्राउ पर्दैनन् बमजन ?
मुख्यमन्त्री शंकर पोखरेललाई प्रदेशमा आएर केन्द्रीय भूमिका गुम्ने भय, पार्टी इन्चार्ज र अर्...
ओलीका ‘अलराउन्डर’ विश्वासपात्र
कोरोना महामारीले खर्च घटाउन र प्रशासनलाई चुस्त राख्न सबक सिकाए पनि अनावश्यक खर्च कटौतीमा भ...