हेलो सरकार, बालीनाली फौजीकिराले फाँडिसक्यो, खोइ नियन्त्रण तयारी ?
मिचाहा कीराले बर्सेनि बाली नोक्सान गरिरहेका बेला फेरि अर्को फौजी कीराको आतंक
र
नुवाकोट, त्रिशूलीस्थित मकैबालीमा ०२९ मा फौजी कीरा देखिँदा नेपाली कीट वैज्ञानिकहरूले धानबालीसमेत नष्ट होला भनी सायदै सोचेका थिए । तर त्यसको ३ वर्षमै पश्चिम तराईको कैलाली र कञ्चनपुरमा धानबालीमा देखियो । ०३४ मा त चितवन, दाङ र बागलुङका धानबालीमा फौजी कीरा फैलिएको थियो ।
त्यतिखेर कृषि विभागको कीट विज्ञान महाशाखाका कीटविज्ञ समुद्रलाल जोशी सम्झन्छन्, "पूर्वी र दक्षिण एसियामा पाइने फौजी कीराले नेपालमा देखिएको केही वर्षमै प्रकोपको रूप लियो ।" यो कीरा मुलुकमा पाइएको पुष्टि (कीट वैज्ञानिक भीमसेन केसीले गरेको) भएको ४७ वर्ष पुग्दा धानसहित २८ बाली निशानामा छन् । यो वर्ष सात वटै प्रदेशका कुनै न कुनै जिल्लामा प्रकोपको रूप लिएको फौजीका लार्भा पाकेको धानको बाला काटिरहेका छन् ।
माईथिम्ना सेपरेटा नाम रहेको मिचाहा प्रजातिको यो कीरा भर्खर नेपालमा देखिँदा चीन र जापानमा टाउको दुखाइको विषय थियो । अहिले ती देशले फौजी नियन्त्रणका लागि प्राकृतिक शत्रु अर्थात् फौजीलाई आक्रमण गर्ने कीरा प्रयोग गरिरहेका छन् । त्यसबाहेक तुरुन्त कीरा नियन्त्रण पद्धति र विषादी प्रयोग गरिरहेका छन् ।
बाराको गढीमाईको धानबालीमा माईथिम्ना सेपरेटा फौजी कीराको प्रकोप देखिएपछि गरिएको जैविक विषादी परीक्षण
कृषि अनुसन्धान परिषद् (नार्क) ले फौजीका बच्चामा फुल पारेर उसलाई मार्ने र आफ्नो बच्चा जन्माउने कोटेसिया (जाति), रुफीक्रूूस (प्रजाति) को परीक्षण गरे पनि प्रयोगमा ल्याइएन । यो ४७ वर्षको अवधिमा फौजीले प्रकोप लिँदा नियन्त्रणका लागि नयाँ खोज गर्ने, अरू बेला सुतेझैँ देखिए, कृषिका निकाय । नार्कले विषादी सिफारिसलाई गर्वको विषय ठान्यो ।
कृषि तथा पशुपक्षी विकास मन्त्रालयलाई झक्झक्याउने काम नार्कले नै गरिरहे पनि यसको गति भने धीमा छ । गरिमा नामक धानको नक्कली बीउबाट ठगिएका किसानमाथि अर्काे बज्रपातको रूपमा रहेको फौजी कीराले धानबाली नष्ट गरिरहेको छ । नार्क बल्ल कसरी नियन्त्रण गर्न सकिन्छ भनेर अनुसन्धानमा जुटेको छ ।
नार्कका कीटविज्ञ सुनील अर्याल भन्छन्, "जैविक विषादीको परीक्षण गरेका छौँ, पहिलो चरणमा सफल भएपछि थप अनुसन्धान भइरहेको छ ।" फौजी झुन्डमा रहेर बाली नोक्सान पुर्याउँदै हिँड्ने कीरा हो । दिउँसो धानको गाँज, मकैको गुभोमा लुकेर बस्ने र राती पात खाने, डाँठ नांगो पार्ने र बाला नै काट्ने फौजीका लार्भा मार्न बाराको महागढीमाई नगरपालिका बरियारपुरमा ६ कात्तिकमा परीक्षण भएको हो । नार्कले ढुटो (धान कुट्दा निस्केको भुस), भेली (उखुको पकाएको रस) मर्चा विषादीको मात्रा मिलाएर बनाएको दानेदार जैविक विषादी धानबालीमा छर्दा फौजीका लार्भा मरेका थिए ।
यो वर्ष फौजीले पाकिरहेको धानमा आक्रमण गरेको छ, जसले गर्दा किसानले नार्कबाट सिफारिस विषादीसमेत छर्न सकेका छैनन् । नार्कका कीटविज्ञ अर्याल भन्छन्, "बाली पाक्ने अवस्थामा विषादी छर्दा अन्नबालीमा अवशेष रहन्छ, त्यसले मानव स्वास्थ्यमा असर गर्ने भएकाले जैविक विषादी परीक्षणमा छौँ ।"
कीट वैज्ञानिकहरूले धान पाक्ने र फौजी कीराको लार्भा हुने अवस्था सँगसँगै परेकाले प्रकोपको रूप लिएको बताएका छन् । "आद्रता मन पराउने कीराले उचित तापक्रम र वातावरण पाएपछि फैलियो," कीटविज्ञ जोशी भन्छन् । विशेषगरी हल्दीनाथ-१ धान पाक्ने र फौजीका लार्भाको संख्या बढ्नु एउटै समय परेको छ ।
हाल धानबालीमा नोक्सान पुर्याइरहेका लार्भा पुतली बनेर अनुकूल वातावरण पाएर जीवितै रहे गहुँबालीमा हुने क्षति नकार्न सकिँदैन । एउटा पुतलीले ३-४ सय फुल पार्छ । ०७३ मा भैरहवाको गहुँ खेतीमा यसको प्रकोप देखिएको थियो ।
रैथाने भइसकेको फौजी कीराले किसानलाई हरेक वर्षझैँ दुःख दिइरहेका बेला अमेरिकाबाट आएको छ, सोही प्रजातिको अर्को मिचाहा कीरा । अमेरिकी महादेशको उष्ण तथा उपोष्ण क्षेत्रमा पाइने फौजी कीरा सन् २०१६ मा पहिलो पटक अफ्रिकामा देखा परेको थियो । हावामा समेत तैरिने फल आर्मी वर्म नामक फौजी कीरा नवलपुरस्थित गैँडाकोटको मकैबालीमा भेटिएको नार्कले २६ वैशाखमा पुष्टि गर्यो । यद्यपि विज्ञहरूले झापा र सिन्धुलीबाट यो कीरा भित्रिएको प्रारम्भिक निष्कर्ष निकालेको रिपोर्ट नेपालले २६ फागुन ०७५ मा प्रकाशित गरेको थियो । अघिल्लो वर्ष दक्षिणी भारतको कर्नाटकमा भेटिएसँगै यो कीरा नेपाल छिर्न सक्ने आशंका गरिएको थियो ।
यो पनि पढनुहोस् :मिचाहा कीरासित सावधान
फौजी कीरा सिन्धुलीलगायतका जिल्लामा देखिइसक्दा पनि त्यो फल आर्मी वर्म हो-होइन भन्नेमा कृषि मन्त्रालय र नार्कबीच जुँगाको लडाइँ चल्यो । स्वयं कृषिमन्त्री चक्रपाणि खनाल नेपालसँग स्वीकार्छन्, "अहिले नआए पनि कुनै बेला नेपालमा आउला भनेर सचेत त भइएकै थियो तर नेपालमा फल आर्मी वर्म प्रवेश गरेको हो-होइन भन्नेमा विवाद गर्दै थुप्रै समय खेर गयो ।"
विवाद त्यत्तिमा सकिएन । नार्कले वैशाखमै पुष्टि गरे पनि राष्ट्रिय बिरुवा संरक्षण संगठन यसलाई मान्न तयार भएन । डीएनए बारकोड परीक्षणपछि मात्र २७ साउनमा 'नेपालमा अमेरिकी फौजी कीरा भेटिएको' पुष्टि गर्यो ।
अनुसन्धानको नेतृत्व गरेका नार्कका कीटविज्ञ अजयश्रीरत्न वज्राचार्य आर्मी वर्म नामक अमेरिकी फौजी कीराले नेपालमा मकैमा आक्रमण गरे पनि अरू बालीमा नभेटिएको बताउँछन् । यो कीराले विशेषतः मकै मन पराउने भए पनि ८० प्रकारका बालीमा नोक्सान पुर्याउँछ । यो सिजनमा मात्र अमेरिकी फौजी कीराको संक्रमण १५ जिल्लाका मकैबालीमा देखिएको थियो ।
यो कीरा गर्मी ठाउँमा सक्रिय हुन्छ । तर पूर्वी पहाडका भोजपुर, खोटाङलगायत जिल्लामा मकैबालीमा पनि देखिएको थियो । यसलाई कतिपयले विश्वव्यापी तापमान वृद्धिको असर र अधिक रूपमा विषादी प्रयोगलाई औँल्याएका छन् । जल तथा मौसम विज्ञान विभागका अनुसार नेपालको तापक्रम वृद्धिको दर वाषिर्क अधिकतम ०.०५ डिग्री सेल्सियस र न्यूनतम तापक्रम ०.००२ डिग्री सेल्सियस छ । कतिपय अध्ययनले जलवायु परिवर्तनका कारण उत्पन्न जोखिमको दृष्टिले नेपाल विश्वमै छैटौँ स्थानमा रहेको देखाएका छन् ।
अमेरिकी फौजी कीराबारे जानकारी दिँदै नार्कले भनेको छ, 'यस कीराको लार्भा अवस्थाले मकैको पात, गुभो, जुंगा तथा घोगामा समेत असर पुर्याउँछ । भरखरै फुलबाट निस्केका साना लार्भाले पातको तल्लो सतहबाट हरियो भाग खाएर झिल्ली मात्र बाँकी राख्छन् । लार्भा हुकिर्ंदै जाँदा गुभोभित्र प्रवेश गरेर खान्छन् । घोगा लाग्न थालेपछि यस कीराले मकैको जुंगाका साथै खोस्टा छेडेर घोगासमेत खाने गर्छ ।'
यो कीराको पुतली एक रातमा १ सय किलोमिटरसम्म उड्न सक्ने बताइन्छ । तर नेपालमा यसअघिदेखि नै रहेको फौजी कीरा उड्ने भए पनि हावामा तैरिँदैन । फलतः यो कीरा एसिया र ओसेनियामै केन्द्रित छ ।
वज्राचार्य फौजी कीरा नियन्त्रणका लागि छुट्टै कार्यक्रम नभए पनि कीराको जीवनी अध्ययन, गुण नियन्त्रण, विषादी परीक्षणको काम भइरहेको बताउँछन् । नार्कले पछिल्लो समय फौजी कीराका प्राकृतिक शत्रु प्रयोग गरेर यसको नियन्त्रण गर्न बारुला जातका सिकारी कीरा र विभिन्न खपटे कीरा पाल्ने प्रयास थालेको छ ।
वज्राचार्य भन्छन्, "शत्रुकीरा (फौजी) को फुलमाथि मित्र (बारुला) कीराले फुल पारेपछि आउने बच्चा भनेको मित्रकीराको हुन्छ । यद्यपि यो अझै प्रयोगशालामा परीक्षण क्रममै छ ।"
भद्रगोल तयारी
धानको बाला नै काट्ने फौजी कीराको प्रकोप सात वटै प्रदेशमा फैलिएको छ । १ कात्तिकसम्मको प्रारम्भिक तथ्यांकअनुसार साढे २० हजार हेक्टर धानबालीमा क्षति पुगेको थियो ।
त्यतिन्जेल गण्डकी, प्रदेश ६ र ७ मा फौजी कीरा फैलिएको थिएन तर हाल ती प्रदेशका कुनै न कुनै जिल्लामा यसले प्रकोपको रूप लिएको छ । तर कति क्षति भयो, त्यसको तथ्यांक सरकारी निकायसँग छैन ।
प्लान्ट क्वारेन्टाइन तथा विषादी व्यवस्थापन केन्द्रका निमित्त प्रमुख सहदेवप्रसाद हुमागाईं भन्छन्, "संघ, प्रदेश र स्थानीय तहबीच समन्वय हुनुपर्ने हो, हुन सकेको छैन । नयाँ संरचना हुनाले पनि समस्या छ ।"
कृषिमन्त्री खनालले प्रदेश सरकारमार्फत स्थानीय तहसम्म समन्वय गर्न कृषि मन्त्रालयले तयारी गरिरहेको बताउँछन् । मकै, धान मात्र नभई अरू ८२ वटा बालीमा संक्रमण फैलिने सूचना पाएको भन्दै उनले नेपालसँग भने, "हालको बजेट कम भएकाले अर्थमन्त्रीसँग कुरा गरिरहेको छु, रकमान्तर गरेरै भए पनि प्रदेश र स्थानीय तहमा जानुपर्नेछ । मंसिर पहिलो सातासम्म ठोस कार्यक्रम आइसक्छ ।" यसका लागि कृषि मन्त्रालयका अधिकारीहरूको नेतृत्वमा टिम निर्माण गरिसकेको, त्यसमा नार्कका विज्ञ पनि सहभागी हुने उनी बताउँछन् ।
अमेरिकी सहयोग नियोग (युएसआइडी) बाट सञ्चालित परियोजनामार्फत क्षेत्रीय बाली संरक्षण प्रयोगशालाका बाली संरक्षण अधिकृतलाई तालिम दिनुबाहेक खासै प्रयास भएको देखिँदैन । अहिले नार्क र क्वारेन्टाइनका किट वैज्ञानिकहरू तालिम दिनकै लागि जिल्लाजिल्ला पुगेका छन् । तर एकीकृत रूपमा नियन्त्रणको प्रयास थालिएको छैन ।
फल आर्मी वर्म नियन्त्रणकै लागि भनेर अमेरिकी सहयोग नियोगले कृषि मन्त्रालय, नार्क र इन्टरनेसनल डेभलपमेन्ट इन्टरप्रेनर (आइडीई) का लागि ५ लाख डलरको परियोजना दिने भएको छ । विश्वभरिका बालीनालीमा लाग्ने कीराको जैविक अध्ययन गरिरहेको अमेरिकी संस्था इन्टेग्रेटेड पेस्ट म्यानेजमेन्ट इनोभेसन ल्याबका निर्देशक डा मुनि मुनियाप्पन मंसिर पहिलो साता काठमाडौँ आएका बेला यसको हस्तान्तरण गरिने बताइएको छ । मुनियाप्पन तिनै हुन्, जसले भारत, नेपालमा फल आर्मी वर्मले कुनै पनि बेला आक्रमण गर्न सक्ने भविष्यवाणी गरेका थिए ।
"हाम्रोमा कति क्षति भएको छ, त्यसको मूल्यांकन र कीरा नियन्त्रणको ठोस पहल अबचाहिँ होला," नेपाल विज्ञान तथा प्रविधि प्रतिष्ठान (नास्ट) का कृषि वैज्ञानिक प्रमोद झा भन्छन्, "तर हाम्रोमा पैसा आएपछि मात्रै तात्तिने प्रवृत्ति छ । सरकार आफैँले पनि ठोस पहल गरे भइहाल्छ नि ।"
राष्ट्रिय किसान समूह महासंघका निवर्तमान अध्यक्ष उद्धव अधिकारी मुलुकको मुख्य खाद्यान्न बाली धानमा फौजी कीराको आक्रमण, नक्कली बीउ प्रकरण बाहिरिँदा पनि सरकारले ठोस कदम चाल्न नसकेको टिप्पणी गर्छन् । गरिमा नामक धानको नक्कली बीउ लगाउँदा कति किसान ठगिए भन्नेबारे पनि सरकारी निकायसँग आधिकारिक तथ्यांक छैन । फौजी कीरा नियन्त्रणमा पनि उही ताल छ ।
कीरा नियन्त्रणका लागि प्लान्ट क्वारेन्टाइन एवं विषादी व्यवस्थापन केन्द्रका प्रमुखको नेतृत्वमा समिति गठन भएको थियो । तर अहिलेसम्म प्रतिवेदन नै तयार भएको छैन ।
फल आर्मी वर्म नियन्त्रणकै लागि भनेर कृषि वैज्ञानिक विभिन्न अध्ययन -अनुसन्धानमा लागिरहेका छन् । तान्जानियामा गत सेप्टेम्बर २२ देखि २५ सम्म भएको भेलामा १० देशका कृषि वैज्ञानिक सामेल थिए, जसमा इटाली र अमेरिकाका वैज्ञानिकले विश्वभरि यो मिचाहा कीराले गरेको नोक्सानी विवरण सुनाएका थिए । त्यसमा नेपालबाट सामेल वैज्ञानिकहरूले पछिल्लो तथ्यांक पेस गरे पनि अहिलेसम्मको क्षति मूल्यांकन भने यकिन गर्न सकेनन् ।
उनीहरूले एकीकृत शत्रुजीव नियन्त्रण गर्दा वातावरणलाई क्षति नहोस् भन्नेमा ध्यान दिन विश्वभरिका कृषि वैज्ञानिकलाई सुझाएका थिए । औषधीको अनुचित प्रयोगले खेतबारीको उर्बराशक्ति दीर्घकालसम्म रुग्ण हुने हुँदा बरु कीराकै प्रयोगमार्फत फौजी कीरा नियन्त्रण गर्न सकिने उनीहरूको भनाइ थियो । "मकैबाली, धानलगायत सयभन्दा बढी बाली-बिरुवामा यो फैलिइसकेको निष्कर्ष छ, त्यसैले अब फौजी कीरा समग्र खाद्य सुरक्षाकै लागि चुनौती बन्दै छ," तान्जानियाबाट फर्केका नास्टका कृषि वैज्ञानिक झाले अनुभव सुनाए, "फौजी कीरा नियन्त्रण गर्ने नाममा जथाभावी केमिकल प्रयोग गरे त्यसले थप क्षति निम्त्याउने उनीहरूको भनाइ थियो ।" एकीकृत शत्रुजीव नियन्त्रण अर्थात् इन्टिग्रेटेड पेस्टमार्फत झन्डै ८० प्रतिशतसम्म समस्या नियन्त्रण गर्न सकिन्छ ।
धान भित्र्याउन पाएनन् किसानले
फौजी कीराले झुलेका धानका बाला काट्न थालेपछि बारा, सिम्रौनगढ नगरपालिका-९ का किसान रामविलास साह तेलीले रातारात धान भित्र्याए पनि जोगाउन सकेनन् । भन्छन्, "सबै बाला कीराले काटेर भुइँमा असरल्ल पार्यो । अब त खेत रोपेको खर्च पनि निस्किन मुस्किल छ ।"
माईथिम्ना सेपरेटा फौजी कीराको आतंक नै फैलिएपछि बाराका किसान मारमा छन् । कीराको प्रकोप बढेपछि कतिपय किसानले रातारात हरिया र आधा पाकेको धान काटे । यो कीराको आतंकले कैयौँ किसानले पाकिसकेको भदैया जातको धान भित्र्याउन पाएका छैनन् । फौजी कीराले रातारात सयौँ बिघा पाकेको धानबाली नोक्सान गरिरहेको छ । कृषि ज्ञान केन्द्र बाराका बाली विकास अधिकृत राजनारायण साहका अनुसार कीरा संक्रमणले कतिपय किसानको ७० प्रतिशत धानबाली नोक्सान गरेको छ । जिल्लामा ७ सय बिघाको धानबालीमा क्षति हुँदा उत्पादनमा झन्डै १ हजार ५ सय मेटि्रक टनले गिरावट आउने अनुमान छ । "कीराको प्रकोप निरीक्षण गर्न कृषि ज्ञान केन्द्रले दुई सदस्यीय कृषि प्राविधिक टोली परिचालन गरेको छ," उनी भन्छन् ।
जितपुरसिमरा उपमहानगरपालिका–१८ मनहर्वा कुस्माडीमा फौजी कीराले नोक्सान गरेको पाकेको धान
किसानले कृषि ज्ञान केन्द्र तथा स्थानीय तहबाट प्राविधिक सहयोग पाउन सकेका छैनन् । बाढीपछि एकाएक सुक्खा मौसम हुँदा फौजीको प्रकोप बढ्ने गरेको कृषि ज्ञान केन्द्रका कृषि प्राविधिक बताउँछन् । "तापक्रम जति बढ्दै गयो, उति यी कीराको प्रकोप बढ्छ, तापकक्रम जति घट्दै जान्छ, त्यत्तिकै यो फौजी कीराको आतंक घट्दै जान्छ," कृषि ज्ञान केन्द्र बाराका प्रमुख कृषि विकास अधिकृत जितेन्द्र यादव भन्छन्, "यसपालिको बाढीपछि १६ डिग्री सेल्सियसभन्दा कम तापक्रम नभएकाले यो कीराको प्रकोप जिल्लाभरि फैलिएको हो ।" उनका अनुसार सम्बन्धित निकायमा समस्याबारे अवगत गराए पनि कतैबाट खासै ‘रेस्पोन्स’ आएको छैन ।
पुतलीझैँ देखिने उक्त कीराले एकैपल्टमा सयौँको संख्यामा लार्भा उत्पादन गर्ने हुँदा बालामा बढी नोक्सानी गरिरहेको बताइन्छ । फौज (आर्मी) जस्तै झुन्ड बनाएर एकैपल्ट आक्रमण गर्ने गरेकाले यसलाई फौजी कीरा भनिएको हो ।
फौजी कीराको संक्रमण अगहनी धानमा पनि फैलन सक्ने जोखिम बढेको छ । १५ कठ्ठामा लगाएको राधा-४ जातको धान कीराले भसक्कै पारेको जितपुरसिमरा उपमहानगरपालिका -१८ कुस्माडीका हर्क लामा बताउँछन् । भन्छन्, "पाकेको धान कीराले सखाप पार्यो । वर्षभरि खाने अन्न एक-दुई रातमै सखाप भयो ।"
— बाराबाट लक्ष्मी साह
सम्बन्धित
अमेरिकाले बर्सेनि निकाल्ने आतंकवादसम्बन्धी प्रतिवेदन नेपालबारे फेरिएको धारणा...
नेपाललाई 'आतंकवादको हब' मान्ने अमेरिकी धारणा कसरी परिवर्तन भयो ?
लकडाउनपछि आफ्नो मुलुक फर्किएका भारतीय मजदुर सम्पर्कमै आएनन्, रेडजोनमा परेका स्वदेशकैलाई ल्...
उद्योग चलाउनै मुस्किल
सात दशकयताको दलीय तानातानको शिकार बन्दै आएको नागरिकता मुद्दामा यसपल्ट पनि विगतकै राजनीतिक ...
नागरिकतामा किन सधैँ किचलो ?
केन्द्रीय अनुसन्धान ब्युरो, बाग्मती प्रदेशसहितको सिन्धुपाल्चोक, काभ्रे र प्रदेश २ सर्लाहीब...
आश्रममै रहे पनि किन पक्राउ पर्दैनन् बमजन ?
मुख्यमन्त्री शंकर पोखरेललाई प्रदेशमा आएर केन्द्रीय भूमिका गुम्ने भय, पार्टी इन्चार्ज र अर्...
ओलीका ‘अलराउन्डर’ विश्वासपात्र
कोरोना महामारीले खर्च घटाउन र प्रशासनलाई चुस्त राख्न सबक सिकाए पनि अनावश्यक खर्च कटौतीमा भ...