अपराधमा पनि परनिर्भरता
नेपालमा पानी ल्याउन चिनियाँ आइदिनुपर्ने, बिजुली ल्याउन चिनियाँ आइदिनुपर्ने, बाटो खोल्न चिनियाँ आइदिनुपर्ने । अब हुँदाहुँदा एटीएम चोर्न पनि चिनियाँ नै आइदिनुपर्ने

राजधानीमा फेरि एक बथान चिनियाँ अपराधी पक्राउ परेछन् । एकैचोटि १ सय २२ जना । नेपालमा चिनियाँ सहयोग बढिरहेको छ भन्थे, हो रहेछ । ६ महिनाअघि ६–७ जना पक्राउ परेका थिए । अब त्यो संख्या ह्वात्तै बढेर १ सय २२ पुगेछ । चीनले जस्तो विकास हामीले कहिले गर्ने हो खोइ ?
चीन यति तीव्र गतिमा अघि बढिरहेको छ । हामी भने हरेक कुरामा परनिर्भर हुँदै गइरहेका छौँ । हुँदाहुँदा अब अपराधमा समेत हामी परनिर्भर हुने अवस्था आइसकेको छ । परनिर्भरताको योभन्दा ठूलो दुर्दशा अरु के होला ? नेपालमा पानी ल्याउन चिनियाँ आइदिनुपर्ने, बिजुली ल्याउन चिनियाँ आइदिनुपर्ने, बाटो खोल्न चिनियाँ आइदिनुपर्ने । अब हुँदाहुँदा एटीएम चोर्न पनि चिनियाँ नै आइदिनुपर्ने, अन्तर्राष्ट्रिय अपराध गर्न पनि चिनियाँ नै आइदिनुपर्ने ! ए बाबा, कमसेकम अपराधमा त हामी आफैँ आत्मनिर्भर बनौँ । अपराधसमेत हामीलाई अरुले आएर गरिदिनुपर्ने ?
निराश भएका मानिस भन्ने गर्थे– अब यो देशको भविष्य छैन । अहिलेचाहिँ मलाई पनि त्यस्तै लाग्न थालेको छ । हाम्रोमा रेमिट्यान्स विदेशबाट आउँछ, आर्थिक सहयोग विदेश–विदेशबाट आउँछ, कारखाना खोल्नुपरे विज्ञ विदेशबाट आउाछन्, अब त बालुवा बोक्ने ज्यामीसमेत विदेशबाट आउँछन् । अहिले त स्थिति कहाँसम्म पुग्यो भन्दा अपराध गर्ने अपराधीसमेत विदेशबाट आउन थालिसके । जम्मै कुरा विदेशीले गर्ने हो भने हामीचाहिँ के गर्ने नि ? अनि यस्तो देशको भविष्य होला र ?