कोरोनाको त्रासबीच बेलायतमा नेपालीले भोग्नु परेको जातीय विभेद
कोभिड– १९ सर्वव्यापी महामारी त्रासले पश्चिमा जगत्मा नेपालीसहित पूरै एसियाली मूलका व्यक्तिप्रति जातीय विभेदको जेनोफोविया मौलाउँदै
इलिशा श्रेष्ठ/नवीन पोखरेल
३ वैशाखमा मिलन लिम्बू आफ्नै घरभित्रको कोठामा भिडियो गेम खेल्दै बसिरहेका थिए । अचानक विस्फोटको आवाज सुने । सुरुमा त्यो आवाज कुनै आतिसबाजीको हुनुपर्छ भन्ठानेका थिए, मिलनले ।
प्राय: शान्त रहने लन्डनको दक्षिणपूर्वी भेगमा अवस्थित मेडस्टोन सहरमा रातको ११ बजे यस्तो आवाज आएको हुँदा उनले झ्यालबाट बाहिर नियाले । आँगनमा उनका बुबा भूपू गोर्खा सैनिकको गाडीमा आगो दन्किरहेको थियो ।
प्रहरी र बारुणयन्त्रलाई खबर गरियो । घटनाको निष्कर्ष आगजनी थियो । आपराधिक नियतले जानीजानी कारमा आगो लगाइएको अनुसन्धानबाट खुल्यो । ब्रिटिस गोर्खा सैनिकको बाहुल्य भएको मेडस्टोन सहरमा यस्ता घटना भूपू गोर्खा सैनिक रामकुमार लिम्बूका छोरा मिलनले कहिल्यै अनुभव गरेका थिएनन् ।
लिम्बू भन्छन्, ‘यो मेरो घर र परिवारमाथिको आक्रमण थियो ।’
यो घटना गोर्खा समुदायमाथि त्यस रात मात्र घटेको थिएन । करिब एक घन्टा नपुग्दै सोही टोल निवासी अर्का ब्रिटिस गोर्खा सैनिक वसन्त मदनको निजी गाडीमा पनि आगजनी भयो ।
मिलनका आफन्त रत्न लिम्बूले आगजनीका घटना जातीय वितृष्णा प्रेरित भएको विश्वास गर्छन् । ‘हामी सबै अत्यन्त दु:खी र नराम्ररी तर्सिएका छौँ,’ रत्नले भने, ‘मलाई डर छ कि मेरो परिवार पनि घृणा र अपराधको अर्को सिकार हुन सक्छ ।’
भूपू गोर्खालीका घरमा भएको आगजनी घटना कुनै छुट्टै दुर्घटना होइन । आजभोलि बेलायतमा रहेका नेपाली समुदायमाथि भौतिक र मौखिक आक्रमण बढ्दो छ ।
कोभिड– १९ सर्वव्यापी महामारीको त्रासले पश्चिमा जगत्मा नेपाली मात्र नभई, पूरै एसियाली मूलका व्यक्तिप्रति जातीय विभेद र विदेशी (एसियाली) मन नपराउने 'जेनोफोविया' मौलाउँदै गएको छ ।
गत महिना लन्डनको ब्रिस्टोल सडकमा हिँडिरहेका बेला रोशन गुरुङलाई एक व्यक्तिले आफ्नो गाडी भित्रैबाट औँला देखाउँदै रिस पोखे ।
रोशन भन्छन्, ‘म पहिलोपल्ट जातीय विभेदको सामना गर्दै थिएँ । त्यो घटना सम्झँदा पनि आङ सिरिंग हुन्छ । ती व्यक्तिले मलाई गालीगलौज र अपमान गरे र भने– चमेरा कति मूल्यमा बिक्री गर्यौ ? कोभिड– १९ महामारी फैलाएकामा मलाई बधाई दिँदै व्यंग्य हाने ।’
यसैगरी ५ चैतमा हौसल्ला थापा जिम्बु बाटो हिँडिरहेका बेला एक बटुवाले भाइरस बेलायतमा ल्याएको आरोप लगाएको सम्झिन्छिन् ।
जिम्बु भन्छिन्, ‘त्यसअघि मैले कहिल्यै जातिका कारण दुर्व्यवहार सहनु परेको थिएन । घटनाले एकैसाथ मलाई भयभीत, रिस र असुरक्षित महसुस भएको छ ।’
कोभिड– १९ महामारी बिरामी संख्या बढ्दै जाँदा, सम्भावित घातक रोगप्रति व्यक्ति र समुदायले डर र चिन्ताका कारण चिनियाँ तथा एसियाली मूलका सन्ततिमाथि भाइरस फैलाएको दोषारोपण गर्दै बलिको बोका बनाइरहेका छन् । विगत इतिहास नियाल्दा पनि महामारीले बृहत् रूप लिँदा यसको डरत्रासले विकसित देशका जनताले विकासोन्मुख राष्ट्र एवं समुदायका व्यक्तिप्रति दोषारोपण र लाञ्छना लगाएका थुप्रै उदाहरण छन् ।
०६५ मा एचवनएनवन स्वायन फ्लु महामारी फैलिँदा मेक्सिकन र दक्षिण अमेरिकी जनसमुदायलाई दोषारोपण गरिएको थियो भने ०७० मा इबोला फैलिँदा अफ्रिकी मूलका बासिन्दालाई बलिको बोका बनाइएको थियो ।
यी तथ्यले के पुष्टि गर्छन् भने जब महामारीले बृहत् रूप लिएर विकसित राष्टका बहुसंख्यक जनसमुदायलाई अत्याउँछ, तब ती राष्ट्रमा बस्ने आप्रवासी र अल्पसंख्यक समुदायमाथि पूर्वाग्रही ढंगले आरोप लगाएको देखिन्छ । उनीहरूप्रति हेय र अवहेलनाको दृष्टिले हेर्ने गरिएको प्रमाण भेटाउन गाह्रो छैन ।
त्रिभुवन विश्वविद्यालय समाजशास्त्र विभागकी प्राध्यापक नारायणी देवकोटाका अनुसार बेलायतमा भएका नेपाली जनसमुदाय जातीय उत्पीडनका सिकार भएका हुन् । किनकि गोरा समुदायको बाहुल्य भएको समाजमा पहिलेदेखि नै नेपालीलाई अन्यको दर्जामा राखिने गरिएको छ ।
प्राध्यापक देवकोटा भन्छिन्, “बेलायतमा रहेका नेपाली अल्पसंख्यक आप्रवासीमा पर्छन् । सामाजिक, आर्थिक हिसाबले पनि निम्न वर्गमा । यस कारण यस्तो आक्रमण भएको हुन सक्छ ।”
डन्भर सहरकी बासिन्दा निलिमा लिम्बूका अनुसार नेपाली समुदाय लक्षित दुर्व्यवहार कोभिड– १९ महामारी हुनुभन्दा पहिलेदेखि नै रहेको बताउँछिन् ।
भन्छिन्, ‘म सुपरमार्केटमा काम गर्छु । आफ्नो देश फर्केर जाऊ भन्नेजस्ता टिप्पणी थुप्रैपल्ट सामना गरेकी छु, कोभिड– १९ फैलिनुभन्दा पहिल्यै ।’ यस्ता दुर्व्यवहार गर्नेमा प्राय: उत्ताउला, अशिक्षित व्यक्ति र साना केटाकेटी हुने गरेका छन् । निलिमाका अनुसार कोभिड– १९ बारे भ्रामक र कुनै जातिविशेषसँगको संलग्नताको समाचारले नेपाली समुदायलाई झन् बढी तर्साएको छ ।
निलिमा थप्छिन्, ‘कयौँ बेलायती सञ्चार माध्यमले कोभिड– १९ बारे समाचार सम्प्रेषण गर्दा एसियाली समुदाय, व्यक्तिको चित्र र भिडियो सँगै प्रस्तुत गरिरहेका छन् । कयौँ नेपाली मूलका मानिस पूर्वी एसियालीजस्तै देखिने हुँदा उनीहरूले यो दुर्व्यवहार सहनु परिरहेको छ ।’
कोभिड– १९को समाचारमा लगातार एसियाली मूलका मानिसको फोटो मिडियाले प्रयोग गरिरहँदा विदेशी मन नपराउने जेनोफोविया बढाउन मद्दत पुर्याएको अमेरिकी समाचार भोक्सका भिजुअल सम्पादक केइनाज अमारिया बताउँछिन् । भन्छिन्, ‘समाचार सम्प्रेषकले आफैँलाई सोध्नुपर्छ, के फोटोले कुनै विशेष समुदायलाई अपमान गरिरहेको छ वा रुढीवादी मान्यतालाई निरन्तरता दिएको छ ?’
जहाँसम्म मेडस्टोन सहरमा भएका आपराधिक आगजनीका घटना छन्, त्यहाँका काउन्सिलर दिनेश खड्काका अनुसार यो घटनामा संलग्नको खोजी जारी छ । घटना आरोपको शंकामा ५ जना व्यक्तिलाई हिरासतमा राखिएको छ ।
काउन्सिलर खड्का सो घटना जातीय विभेदबाट प्रेरित भएको मान्न तयार छैनन् । भन्छन्, ‘यो सहरमा म १९ वर्षदेखि बसिरहेको छु र कहिल्यै नेपाली समुदाय जातीय विभेदको सिकार भएको थाहा छैन । यहाँ १ हजारभन्दा बढी नेपाली समुदायका मानिसको बसोबास छ । स्थानीयले ब्रिटिस गोर्खालाई अत्यन्त माया तथा आदर गर्ने गरेका छन् ।’ तसर्थ, यसलाई नेपाली समुदायमाथि जातीय आक्रमणको रूपमा नलिई आगजनी घटनाको रूपमा लिन जरुरी रहेको उनको बुझाइ छ ।
स्थानीय एकजुट भई हजार पाउन्ड संकलन गरेर पीडितलाई क्षतिपूर्तिस्वरूप दिएको सहयोगले एकताको प्रत्याभूति दिन खोजेको खड्काले बताएका छन् ।
तर सबै खड्काको विचारप्रति सहमत छैनन् ।
युके–नेपाल फ्रेन्डसिप सोसाइटीका कार्यकारी प्रमुख एलान मार्सेल ( सांका) भने यो घटनालाई धेरै समय अघिदेखि नै भित्रभित्रै उम्लिँदै गएको त्यहाँका पुराना स्थानीय बासिन्दाको एसियाली आप्रवासीप्रतिको वितृष्णा सतहमा देखा परेको अड्कल काट्छन् ।
मार्सेल (सांका) ले मेडस्टोन समुदायका नेता तथा काउन्सिल सदस्यहरूलाई लेखेको पत्रमा सम्भावित जेनोफोवियाबाट प्रेरित भई हुन सक्ने ब्रिटिस गोर्खाप्रति लक्षित आपराधिक क्रियाकलाप निगरानी र नियन्त्रण गर्न सरोकारवाला निकायलाई ध्यानाकर्षण गराएका छन् ।
बेलायतस्थित नेपाली दूतावासका अधिकारहरूले पनि यो घटनालाई जातीय विभेदकै रुढीवादी चिन्तनको नतिजाको रूपमा हेरेका छन् ।
नेपाली दूतावासका डेपुटी चिफ अफ मिसन शरदराज अरन भन्छन्, ‘यो आपराधिक कार्य नभई नेपाली आप्रवासीप्रति जातीय विभेदकै उपज हो । हामी चिन्तित छौँ, यदि यस्ता दुव्र्यवहारका घटना दोहोरिरहे कोभिड– १९ महामारीपछि पनि नेपाली समुदाय जातीय हिंसाको सिकार भइरहनेछ ।’
काठमान्डु पोस्टमा प्रकाशित रिपोर्ट । अनुवादः सुनिता लोहनी
सम्बन्धित
अमेरिकाले बर्सेनि निकाल्ने आतंकवादसम्बन्धी प्रतिवेदन नेपालबारे फेरिएको धारणा...
नेपाललाई 'आतंकवादको हब' मान्ने अमेरिकी धारणा कसरी परिवर्तन भयो ?
लकडाउनपछि आफ्नो मुलुक फर्किएका भारतीय मजदुर सम्पर्कमै आएनन्, रेडजोनमा परेका स्वदेशकैलाई ल्...
उद्योग चलाउनै मुस्किल
सात दशकयताको दलीय तानातानको शिकार बन्दै आएको नागरिकता मुद्दामा यसपल्ट पनि विगतकै राजनीतिक ...
नागरिकतामा किन सधैँ किचलो ?
केन्द्रीय अनुसन्धान ब्युरो, बाग्मती प्रदेशसहितको सिन्धुपाल्चोक, काभ्रे र प्रदेश २ सर्लाहीब...
आश्रममै रहे पनि किन पक्राउ पर्दैनन् बमजन ?
मुख्यमन्त्री शंकर पोखरेललाई प्रदेशमा आएर केन्द्रीय भूमिका गुम्ने भय, पार्टी इन्चार्ज र अर्...
ओलीका ‘अलराउन्डर’ विश्वासपात्र
कोरोना महामारीले खर्च घटाउन र प्रशासनलाई चुस्त राख्न सबक सिकाए पनि अनावश्यक खर्च कटौतीमा भ...