कोरोना लडाइँमा भियतनामले अमेरिकालाई सिकाएको पाठ
अमेरिकाले विश्वव्याधिविरुद्ध लड्न आफ्नो पुरानो दुस्मनबाट सिक्न सक्छ । तर भियतनामको सफलताबाट अमेरिकालाई जुन सुझाव प्राप्त हुन्छ, त्यो उसलाई मन पर्ने छैन ।
कोरोना भाइरसविरुद्धको लडाइँमा यो साता अमेरिकाले एउटा दु:खको उत्कर्ष पार गर्यो । यहाँ पहिलोपल्ट कोरोना भाइरस देखापरेको ३ महिनाभन्दा कम अवधिमा २० वर्ष लामो भियतनाम युद्धमा भन्दा धेरै अमेरिकीले ज्यान गुमाए । सन् १९५५ देखि १९७५ सम्म चलेको यो युद्धमा ५८ हजार २ सय २० अमेरिकी मारिएका थिए ।
संयोगवश, भियतनामको जनमुक्ति सेनाले साइगोन (अहिलेको हो चि मिह्न) सहर कब्जा गरेको १८ वैशाखमा ४५ वर्ष पूरा भएको छ । कोरोनाविरुद्धको युद्धमा अहिले भियतनामले अमेरिकाले भन्दा फरक रेकर्ड राखेको छ ।
त्यहाँ पछिल्लो दुई सातामा कुनै पनि स्थानीय रूपमा भएका संक्रमण देखा परेनन् । चीनसँग सीमा जोडिएको, तुलनात्मक रूपमा कम आय भएको र झन्डै १० करोड जनसंख्याको यो मुलुकले विश्वव्याधिबाट जोगिन ठूलो सफलता हात पार्यो । यहाँ २ सय ७० संक्रमित भए भने एक जनाको पनि मृत्यु भएको छैन । गत फेबु्रअरीबाट लागू गरिएको लकडाउन विस्तारै खुला गर्न थालिएको छ । गएको साताबाट रेस्टुराँ र सैलुनहरू खुल्न थालेका छन् ।
गत १६ वैशाखमा प्रधानमन्त्री न्गुएन सुआन फुकले उद्घोष गरे, ‘भियतनामले विश्वव्याधि नियन्त्रणमा राखेको छ ।’ विश्वव्याधि नियन्त्रणमा भियतनामले पाएको यो सफलतालाई विश्वले अनुमोदन गरेको छैन । अन्य मुलुकका सफलताको चर्चा भइरहँदा भियतनाम छुटिरहेको छ ।
यो मुलुक दक्षिण कोरिया वा ताइवानजस्तो प्रविधिमा दक्ष होइन । र, हङकङ वा आइसल्यान्डजस्तो सजिलै नियन्त्रण गर्न सकिने सानो क्षेत्रफल भएको मुलुक पनि होइन । यहाँ न्युजिल्यान्डकी ज्यासिन्डा आर्डेन र जर्मनीकी एन्जेला मर्केल वा अन्य महिला नेतृत्वझैँ चामत्कारिक नेतृत्व पनि छैन । चर्चा गरिएका अरू मुलुकझैँ यो उदारवादी वा प्रजातान्त्रिक राष्ट्र पनि होइन ।
युद्ध सकिएको ४५ वर्षसम्म पनि भियतनाम अधबैँसे पुरुषहरूको कोटरीले चलाउने एक विकासोन्मुख कम्युनिस्ट देशकै रूपमा रहेको छ ।
त्यसो भए भियतनामको सफलताको पछाडि के छ त ? बेलायतको किंग्स कलेजका रोबिन क्लिंगर विद्रा र बाथ विश्वविद्यालयका बा लिह्न ट्रानले सरकारले अपनाएका तीन तरिका पहिचान गरेका छन् । तापक्रम मापन एवं परीक्षण, लक्ष्यकेन्द्रित लकडाउन र निरन्तरको सम्पर्क ।
पक्कै पनि भियतनाममा अरू मुलुकमा भन्दा थोरै संख्यामा परीक्षण गरियो । अमेरिकाले ५० लाख परीक्षण गर्दा भियतनामले २ लाख मात्र यस्तो परीक्षण गर्यो । तर परीक्षण र कोरोना पुष्टि भएको संख्याको अनुमान हेर्दा भने भियतनाम धेरै अगाडि छ ।
भियतनामले कोरोना परीक्षण चाँडै सुरु गर्यो । यहाँ गत जनवरीमा वुहानबाट फर्किएका तीन जनामा पहिलोपल्ट कोरोना संक्रमण देखिएको थियो । यसको पुष्टि हुनेबित्तिकै उसले आफ्नै परीक्षण उपकरण तयार गरेर जाँच सुरु गरेको थियो । यसपछि व्यापक ‘कन्ट्याक्ट ट्रेसिङ’ गरियो । शंकास्पदहरूलाई कडाइसाथ सुविधासहितका सरकारी क्वारेन्टाइनमा राखियो ।
सरकारले एसएमस र एपमार्फत आफ्ना नागरिकसँग निरन्तर सम्पर्क गरिरह्यो । साथै, स्वास्थ्य मन्त्रालयको वेबसाइटमा निरन्तर कोरोनासम्बन्धी जानकारी र तथ्यांक पनि प्रकाशित गरिरह्यो ।
सञ्चार स्वतन्त्रतामाथि कडा प्रतिबन्ध भएको मुलुकको यो कदम आश्चर्यचकित पार्ने किसिमको थियो ।
भियतनामजस्तो निरंकुश मुलुकको तथ्यांक विश्वसनीय छ त भन्ने प्रश्न उठ्नु स्वाभाविकै हो । अथवा थोरै संख्यामा परीक्षण गरिएकाले संक्रमितहरू छुटेका पो छन् कि भन्ने लाग्न सक्छ । तर अमेरिकी जनस्वास्थ्य विज्ञहरूले नै यो तथ्यांक विश्वसनीय भएको बताएका छन् ।
भियतनाममा सन् २००३ मा सार्स कोरोना भाइरस पनि फैलिएको थियो । यसबेला स्थानीय स्तरमा हुने संक्रमण रोक्न सफल विश्वकै पहिलो मुलुक बनेको थियो र अन्तर्राष्ट्रिय रूपमा प्रशंसा पनि पाएको थियो ।
हुन सक्छ, राज्यको अधिनायकवादी चरित्रले पनि संक्रमणलाई सुरुमै पहिचान र नियन्त्रण गर्न सहयोग गरेको छ । संक्रमणसम्बन्धी तथ्यांकलाई अति गोप्य राख्ने नीति अपनाएको चीनको गल्तीबाट भियतनामले पाठ सिकेको हो चि मिह्नस्थित इकोनोमिक विश्वविद्यालयका ट्रिन भिन्ह ले र हुय क्वुन्ह न्गुह्नको निष्कर्ष छ ।
साइबर सुरक्षामा काम गर्ने कम्पनी फायरआईले भियतनाम सरकारको सम्पर्कमा रहेका ह्याकरहरूले चीनको आपतकालीन व्यवस्थापन मन्त्रालयको इमेलमा प्रवेश गरेर सूचना लिन खोजेकोसमेत बताएको छ । तर भियतनाम सरकारले यो आरोप अस्वीकार गरेको छ ।
अमेरिका र भियतनाम दुवै देशमा युद्धको स्मृति अझै बाँकी छ । प्रधानमन्त्री न्गुएनले कोरोनाविरुद्ध भियतनामको लडाइँलाई ‘स्प्रिङ प्रत्याक्रमण २०२०’ नाम दिएका छन् । भियतनाम मामिलाविज्ञ जर्ज ब्ल्याक यसलाई सन् १९६८ को अमेरिका र यसका सहयोगीविरुद्ध घोषणा गरिएको प्रत्याक्रमणको स्वाभाविक प्रतिध्वनि मान्छन् ।
अहिले यी दुई मुलुकले पुरानो दुस्मनी बिर्सिइसकेका छन् । सन् १९९५ मा नै शत्रुता अन्त्य गरिएको थियो । सर्भेक्षणहरूमा भियतनामीले अमेरिकालाई मन पराएको देखाउने गरेका छन् । भियतनामले कोरोना संक्रमणको विध्वंशकारी दोस्रो लहर रोक्न सक्यो भने सम्भवत: अमेरिकासँगको निकटता अझ बढ्नेछ ।
अप्रिलको सुरुआतमा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले ‘भियतनामका मित्रहरू’ लाई उक्त मुलुकमा बनेका ४ लाख ५० हजार डुपोन्ट पीपीईका लागि धन्यवाद दिएका थिए । कोरोना संक्रमण फैलिएपछि कतिपय लगानीकर्ताले आफ्नो व्यापार चीनबाट भियतनाममा सारिसकेका छन् । यसलाई भियतनामले अर्थतन्त्र पुनरुत्थानको अवसरका रूपमा लिएको छ ।
अमेरिकाले विश्वव्याधिविरुद्ध लड्न आफ्नो पुरानो दुस्मनबाट सिक्न सक्छ । तर भियतनामको सफलताबाट अमेरिकालाई जुन सुझाव प्राप्त हुन्छ, त्यो उसलाई मन पर्ने छैन । भियतनामको सफलता यो वर्षको सुरुआतमा त्यहाँको सरकारले गरेको केही महत्त्वपूर्ण निर्णयमा निर्भर छ । यतिबेला अमेरिकी सरकार चमत्कारको प्रतीक्षा गरिरहेको थियो ।
अब अमेरिकासँग पछाडि फर्किने विकल्प नभए पनि कोरोनाविरुद्धको लडाइँ सकिएको छैन । भियतनामका उपप्रधानमन्त्री भु दुक दामले गत साता भनेका थिए, ‘हामीले भियतनामभित्रको युद्ध मात्रै जितेका हौँ, कोरोनाविरुद्धको सिंगो लडाइँ अझै जारी छ ।’
(वासिङ्टन पोस्टमा प्रकाशित यो आलेख रोहेज खतिवडाले अनुवाद गरेका हुन् ।)
सम्बन्धित
अमेरिकाले बर्सेनि निकाल्ने आतंकवादसम्बन्धी प्रतिवेदन नेपालबारे फेरिएको धारणा...
नेपाललाई 'आतंकवादको हब' मान्ने अमेरिकी धारणा कसरी परिवर्तन भयो ?
लकडाउनपछि आफ्नो मुलुक फर्किएका भारतीय मजदुर सम्पर्कमै आएनन्, रेडजोनमा परेका स्वदेशकैलाई ल्...
उद्योग चलाउनै मुस्किल
सात दशकयताको दलीय तानातानको शिकार बन्दै आएको नागरिकता मुद्दामा यसपल्ट पनि विगतकै राजनीतिक ...
नागरिकतामा किन सधैँ किचलो ?
केन्द्रीय अनुसन्धान ब्युरो, बाग्मती प्रदेशसहितको सिन्धुपाल्चोक, काभ्रे र प्रदेश २ सर्लाहीब...
आश्रममै रहे पनि किन पक्राउ पर्दैनन् बमजन ?
मुख्यमन्त्री शंकर पोखरेललाई प्रदेशमा आएर केन्द्रीय भूमिका गुम्ने भय, पार्टी इन्चार्ज र अर्...
ओलीका ‘अलराउन्डर’ विश्वासपात्र
कोरोना महामारीले खर्च घटाउन र प्रशासनलाई चुस्त राख्न सबक सिकाए पनि अनावश्यक खर्च कटौतीमा भ...