कर्णाली जानू, सल्यान नघुमी नफर्कनू [१५ तस्बिर]
मनमोहक प्राकृतिक छटा । लेखपोखराबाट देखिने सिस्ने हिमाल र कुपिन्डे ताल । भ्रमण वर्ष–२०२० मा सल्यानमा घुम्नैपर्ने अरु के के छन् ?
![कर्णाली जानू, सल्यान नघुमी नफर्कनू [१५ तस्बिर] कर्णाली जानू, सल्यान नघुमी नफर्कनू [१५ तस्बिर]](http://nepal-assets-api.ekantipur.com/thumb.php?src=http://nepal-assets-cdn.ekantipur.com/uploads/source/news/2019/miscellaneous/Kupinde-Lake-Salyan-by-Saroj-Baiju-26122019033040.jpg&w=900&height=601)
मनमोहक प्राकृतिक छटा । लेखपोखराबाट देखिने सिस्ने हिमालको वर्णन गरिसाध्य छैन । पहेँलपुर फुलेको तोरीबारी, सुन्तला, हरिया खेत अनि उन्मुक्त ग्राम्य जीवनको स्वाद नै बेग्लै । अझ यहाँ रहेको कुपिण्डे ताल अझ सुन्दर । ताल किनारमा सुस्ताउँदाको आनन्द त छँदै छ, डुंगामा बसेर सयर गर्दाको मज्जा नै बेग्लै । भ्रमण वर्ष–२०२० मा घुम्ने ठाउँको सूचीमा कर्णाली प्रदेशको सल्यानलाई राख्नैपर्छ ।
१५ तस्बिरमा हेर्नुस् सल्यानको सेरोफेरो
सल्यानको कुपिन्डे तालमा तैरिँदै गरेको जलेवा चरो । हिँउदमा मौसम छल्न आउने जलेवालाई नेपालमा आगन्तुक चरा पनि भनिन्छ । रुस, चीनको तिब्बत, र मङ्गोलिया यो चराको प्रमुख बसोबास स्थल हो । यसको मुख्य आहार माछा हो ।
कुपिन्डे तालमा राष्ट्रिय झन्डासहित देखिएको डुंगा । यो तालमा २० भन्दा बढी डुंगा सञ्चालनमा छन् । यहाँ घुम्न आउनेहरूले ताल एक फन्को घुमेको १०० रुपैयाँ र आधामात्र घुमेको ५० रुपैयाँ शुल्क तोकिएको छ ।
भ्रमण वर्षको पूर्व सन्ध्यामा पर्यटकलाई लोभ्याउन यहाँका सबै डुंगामा राष्ट्रिय झन्डा फहराइएको छ ।
सल्यानको लेखपोखराबाट देखिएको सिस्ने हिमाल । रुकुम जिल्लामा पर्ने सिस्ने हिमाल दर्शनावलोकन पर्यटकहरूको अर्को आकर्षण हो । हिमाल वर देखिएको डाँडा छत्रेश्वरी गाउँपालिकाको गुराँसे गाउँ हो ।
गुराँसे गाउँका घर रंग्याएर चटक्क पारिएका छन् ।
कुपिन्डे ताल आसपास शनिबारको दिन किनमेल राम्रै हुन्छ । शनिबार तालमा घुम्न आउने मानिसहरू धेरै हुने भएकाले वरपरका गाउँबाट फलफूल र सरसामान बेच्नेहरूको पनि यहाँ भीड हुन्छ ।
सल्यानको गैरागिठीमा रहेको राधेश्याम माविका विद्यार्थी चंगा उडाउँदै । कागजबाट हवाईजहाज आकारमा बनाइने यो खेलौनालाई सल्यानमा चंगा भनिँदो रहेछ ।
सल्यानको रानीपोखरीमा रहेको सरस्वती निमाविका विद्यार्थी खेलकुद सप्ताहमा सहभागी हुँदै छन् ।
फलाँटे गाउँमा बाख्रा चराउँदै गरेकी स्थानीय ।
कुपिन्डे तालमा शनिबारको हाटमा सरसामान विक्री गरेर घर फर्किँदै गरेका महिलाहरू । उनीहरू शनिबार बिहानदेखि दिउँसो करिब ४ बजेसम्म उनीहरू ताल आसवास सामान बेच्छन् । चिसोले ४ बजेपछि भने यहाँ बस्न मुस्किल पर्छ ।
सल्यान कल्लेरीमा डोको बुन्दै गरेका ६३ वर्षीय दीलबहादुर भण्डारी । उनी आफ्नो घरका लागि मात्र होइन, डोका बनाएर घरछिमेकमा पनि विक्री गर्छन् ।
सल्यानको कल्लेरीमा बालबालिका । उनीहरू भर्खर स्कुलबाट फर्किएका छन् र साथीहरूसँग खेल्न निस्केका छन् ।