‘नर्सलाई ५ हजारमा काम लगाइएको छ’
न्यून ज्याला र बेरोजगारीले थलिएको नेपाल नर्सिङ संघको नेतृत्व हालै मनकुमारी राईले पाएकी छन् ।

न्यून ज्याला र बेरोजगारीले थलिएको नेपाल नर्सिङ संघको नेतृत्व हालै मनकुमारी राईले पाएकी छन् । देशभरका ९० हजार नर्सको नेतृत्व गर्ने नर्सिङ संघकी अध्यक्ष राईसँगको संवाद :
नर्सका तलब, सुविधालगायत समस्या सम्बोधन गर्ने तपाईंको योजना के छ ?
निजी अस्पतालमा नर्सलाई दिने पारिश्रमिकमा एकरुपता छैन । मैले औपचारिक रुपमा अध्यक्षको कार्यभार सम्हालेपछि स्वास्थ्य र श्रम मन्त्रालयमा गएर समस्याबारे बुझाउँछु । दुवै मन्त्रालयको सहकार्यमा जागरुकता ल्याउने र नियमन गर्ने गरी काम हुन्छ । सरकारले तोकेको न्यूनतम पारिश्रमिक १७ हजार रुपैयाँ पाउनुपर्छ । अहिले त नर्सलाई ५ हजारमा काम लगाइएको छ ।
कम सुविधामा काम लगाउनुको कारण के हो ?
विश्व स्वास्थ्य संगठनको मापदण्डअनुसार बिरामी र नर्सको अनुपात मिलेको छैन । जस्तो, आईसीयुमा एक नर्स बराबर एक बिरामी हुनुपर्छ तर व्यवहारमा त्यस्तो छैन । अर्को नर्सको मागभन्दा उत्पादन ज्यादै बढी भएकाले न्यून सुविधामै काम गर्नुपर्ने बाध्यता छ ।
एकातिर कम सुविधा, अर्कोतिर पढ्ने संख्या ठूलो किन ?
१५/२० वर्षअघिसम्म नर्सिङ पढिरहेका विद्यार्थी शिक्षण अस्पतालबाट पहिल्यै बुक हुन्थे । पढेपछि जागिर पक्का भएकाले धमाधम कलेज खुले र अहिले २/३ सय कलेजबाट बर्सेनि ८ हजार स्टाफ नर्स उत्पादन हुन्छन् । दोस्रोचाहिँ, बीएस्सी गरेपछि विदेश जान पाइने लोभ ।
यति धेरै नर्स विदेशमै खपत हुन्छन् त ?
होइन, कोही त्यत्तिकै बसेका छन्, कोही क्लिनिकमा काम गर्छन् । बीएस्सी नर्सिङपछि ५० प्रतिशतले बाहिर जान आवेदन दिने गरेका छन् । दर्तावाला नर्स भएर काम गर्ने थोरै मात्र छन् ।
त्यसो भए विदेशको आकर्षण किन त ?
बहुसंख्यक पढ्दै नर्सिङ केयर (बूढाबूढी र बालबालिकाको हेरचाह) का रुपमा काम गर्छन् । यति गर्दा पनि नेपालमा भन्दा आम्दानीको हिसाबले राम्रो हुने भएकाले हो ।
नर्सले बिरामीप्रति गर्ने व्यवहारबारे बारम्बार प्रश्न उठ्छ किन ?
अधिकांश अस्पतालमा दरबन्दी थोरै र बिरामीको चाप धेरै भएकाले एक जना नर्सले लामो समयसम्म धेरै जनासँग काम गर्नुपर्छ । कामको चाप छ । कहिलेकाहीँ बिरामी र उनीहरुसँग सम्बन्धित व्यक्तिको व्यवहारले समस्या हुन सक्छ ।
यस्तो हुनुमा कतै हाम्रो शिक्षा प्रणालीमा त खोट छैन ?
पढाउँदा त हामी भिजिटरले जस्तो व्यवहार गरे पनि नम्र हुनुपर्छ भनेर नै सिकाउँछौँ । भिजिटर, नर्सको व्यक्तिगत आनीबानी र परिस्थितिजन्य कुराले कहिलेकाहीँ यस्तो हुन्छ, जुन नहुनुपर्ने हो ।
नर्सिङको प्रयोगात्मक पढाइमा एउटा बिरामीलाई धेरैले अनावश्यक जाँच गर्ने समस्या छ । गुणस्तरमा त यसले फरक पार्ला नि ?
प्रक्रिया त सिक्नुपर्छ । सोध्ने कुरा सोध्नैपर्यो । एउटै अस्पतालमा ५/६ वटा कलेजले प्रयोगात्मक पढाइ गर्नुपर्छ । यसले ओभर ल्यापिङको समस्या छ । नर्सिङ काउन्सिलले यसको अनुगमन गर्नुपर्छ ।
नर्समा पनि दुर्गमको सेवामा जान नमान्ने समस्या छ । यसलाई निरुत्साहित गर्न संघको भूमिका के हुन्छ ?
कर्मचारी समायोजनपछि स्थानीय तहले आवश्यकताअनुसार नर्स भर्ना गर्ने भएकाले अब त्यो समस्या नहोला ।
प्रत्येक विद्यालयमा एक नर्सको दरबन्दी राख्ने सरकारको नीति छ, यो नीतिले बेरोजगार नर्सको कति प्रतिशत समस्या सम्बोधन गर्ला ?
केही हदसम्म गर्ला । ठ्याक्कै तथ्यांक निकालेका छैनौँ । बाग्मती प्रदेशबाहेकले यो नीति नअँगालेकाले चाँडै कार्यान्वयन हुन्छ, हुँदैन भन्ने थाहा छैन ।