काठमा सम्बन्धन
सम्बन्धन शर्माको दसौँ एकल पेन्टिङ प्रदर्शनी हो । यसभन्दा अगाडि उनले ७ वटा प्रकृतिको विषयमा र अन्य ३ वटा सामाजिक विषयमा आधारित भएर चित्र प्रदर्शनी गरेका थिए ।
मानिस र प्रकृतिको सम्बन्ध अन्योन्याश्रित छ । चाहे मानिसले वन फँडानी गरोस् या भौतिक संरचनामा मग्न भएर प्रकृतिलाई भुलोस् । प्रकृतिविना उसको गुजारा असम्भव छ ।
मानिस र प्रकृतिको अटुट सम्बन्धलाई चित्रमा उतारेका छन्, कलाकार भीमप्रसाद शर्माले । ६३ वर्षीय कलाकार शर्माले काठमा गौँथली र मानिसको सम्बन्धको विभिन्न आयाम कोरेका छन् । थाहा नै होला, गौँथलीले मानिसको घरको दलिन, बार्दलीमा गुँड बनाउँछन् । भौतिक सुविधामा भुलेको मानव गाउँबस्ती छोडेर सहर पसिरहेका छन् । यस्तोमाताल्चा लगाएको घरमा गौँथली चुकुलमा आएर बसेको चित्र हृदयविदारक लाग्छ । यस्तै, आमाको दूध तपतप खस्दै गौँथलीले भने मुख आँ..गरिरहेको, आमाको गर्भमा रहेको बालक गौँथलीहरुबीच कुराकानी, बन्द घरको झ्यालबाट हेर्दै महिला, साथमा दुई जोडी भँगेरा र गौँथली । यी चित्रहरु मार्मिक त छन् नै । साथमा चित्रकारले रङसँग यति मज्जालाई खेलेका छन् कि भित्तामा झुन्डाइएका ३५ वटै चित्र हेर्दा आनन्द लाग्छ । एक्रोलिक रङ र प्राकृतिक, झारपात र वनस्पतिको रङ मिसाएर बनाएका छन् ।
गैँडाकोट निवासी शर्मा प्रकृति र मानिसको सम्बन्ध देखाउन ‘सम्बन्धन’ शीर्षकमा चित्र प्रदर्शनी गरेको बताए । गौथलीसँग वार्ता गर्ने सानो बालक आफू भएको उनले जिकिर गरे । यस्तै, कुनैबेला ठमेल घुम्दा बुद्धको टाउको भएको ताल्चा भेट्टाए । बुद्धको टाउकोमा ताल्चा लगाउने देख्दा उनको कलाकार मन थाप्न सकेन । भन्छन्, “त्यही भएर यो पेन्टिङ बनाएँ । बुद्धकै टाउकोमा ताला लगाएपछि संसारमै ज्ञानको के हालत होला । मैले यसलाई विम्बको रुपमा बुझेको छु ।”
सम्बन्धन शर्माको दसौँ एकल पेन्टिङ प्रदर्शनी हो । यसभन्दा अगाडि उनले ७ वटा प्रकृतिको विषयमा र अन्य ३ वटा सामाजिक विषयमा आधारित भएर चित्र प्रदर्शनी गरेका थिए । २२ मंसिरबाट सुरु भएको प्रदर्शनी नेपाल आर्ट काउन्सिलमा ६ दिनसम्म चलेको थियो ।
परिवारको कान्छो छोरा कलाकार शर्माले चित्रको कुनै औपचारिक अध्ययन गरेका छैनन् । उनलाई सानैदेखि बेलादेखि नै चित्र बनाउन रुचि थियो रे । तर बाल्यकालमा चित्र धेरै बनाउँदा बुबाको गाली खाँदा उनलाई आमाले बचाउँथे । बाल्यकालमा चित्र बनाएर विद्यालयमा विभिन्न पुरस्कार जितेको उनले खुशीसाथ सुनाए, मानौँ उनी भर्खरै ती पुरस्कार जित्दैछन् ।
पृथ्वीनारायण क्याम्पसबाट समाजशास्त्रमा स्नातक गरेपछि शर्माले शिक्षकका रुपमा सात वर्ष काम गरे । सुरुमा पढाउन उनी मुस्ताङ गए, ०३९ मा । साहित्यकार एवं चित्रकार गोविन्दराज विनोदीसँग भेटपछि उनी चित्रकारिता फर्के । भारतबाट आएका सर्कस देखाउने समूहको लागि पोस्टर बनाउने जिम्मा पाए उनले । बनाउँदै जाँदा उनलाई यसैमा रमाइलो लाग्यो । तर चित्रमै लाग्नको लागि थप प्रेरणा भने क्यानडामा मिल्यो । एसटिएफएक्स युनिभर्सिटीमा समाजशास्त्र पढ्न जाँदा विश्वविद्यालयको आर्ट ग्यालरीमा पुगे । विश्वविद्यालयका विद्यार्थीले बनाएका चित्रहरु प्रदर्शनी गर्न लागेको थाहा पाएपछि उनले आफू भनी चित्र राख्न इच्छुक भएको बताए । शर्माले डटपेनले बनाएको सामाजिक विषयमा केन्द्रित चित्र सामूहिक प्रदर्शनीमा राखियो र दुवै चित्र बिक्री पनि भयो । यसपछि उनी हौसिए । आर्ट ग्यालरीका क्युरेटर उनीबाट यति प्रभावित भएकी उनलाई एकल प्रदर्शनीको निम्तो दिए। तर उनले पहिलो प्रदर्शनी भने नेपालमा गरे, नेपालका विकास सवालहरु शीर्षकमा सन् २००३ मा । त्यसको एक वर्षपछि क्यानडामा गरे, ‘नमस्ते फ्रम नेपाल’ शीर्षकमा ।
रिटायरमेन्टको उमेरमा पनि उनी उत्तिकै जुझारु छन् । प्रदर्शनीमा राखिएका चित्रहरु प्राय: सबै उनले सन् २०१८ मै बनाएका हुन् । मोफसलमा बसेर पनि उनी निरन्तर कलाको साधना गरिरहेकै छन् । प्राय: कलाकार राजधानी केन्द्रित हुन खोजिरहँदा शर्मा भने प्रकृतिको काखमा बसेर कोर्नु जत्तिको मज्जा अन्त देख्दैनन् ।
सम्बन्धित
भोको बिहान बोकेर, सँधै सँधै उदाइरहने, मेरा हत्केलाका ठेलाहरू हेर, लेख्न सक्छौ तिमी, मेरा अ...
पोस्टमार्टम स्थलबाट सूर्यबहादुर तामाङको आग्रह
जुत्ताको तलुवामुनि, सदियौँदेखि कुल्चिएका छौ तिमीले - मेरो अस्तित्व । (कविता)...
म निसास्सिइरहेको छु
मैले तिमीलाई गाउँ गाउँ अनि दलित, गरिबका बस्ती बस्तीमा आउ भनेको थिएँ । तर तिमी त सहर-बजारका...
गणतन्त्र
गाउँभरि युवाहरूको अभावमा खेत बाँझो देख्न नसकी, घरका हल गोरुसँगै, आफ्नो पनि हत्या गर्ने वृद...
एक बौद्धिकलाई प्रश्न
मेरो अन्त्यको अर्थहीन विलम्बबीच म सोचमग्न छु- अविलम्ब जागृत हुनुपर्ने मानिस कहाँ छ ? (कवित...
सृष्टिमा अन्तिम सेतो जिराफ
सत्तालाई सबैभन्दा बढी झोँक चल्छ, जब चिच्चाउन थाल्छ कोही नाङ्गो मानिस... ...