एलेक्सा, हनुमान चालिसा सुना !
एलेक्सा आजको ताजा समाचार भन, अडर सुन्नासाथ एलेक्सा, पटापट ताजा समाचर सुनाउन थाल्छे अब आजको मौसमको हाल सुना एलेक्सा भन्यो, एलेक्सा धमाधम सम्भावित तामक्रम, वर्षा, घाम, बादल, हुरी, बतास र हिउँको हाल सुनाउन थाल्छे
राजव नेपाली साहित्यमा स्थापित नाम हो । कविता, कथा, उपन्यास, निबन्ध लगायत सबैजसो साहित्यका विधामा कलम चलाएका उनका रचनाहरूमा प्रगितवादी चेतना पाइन्छ ।
उनका 'समय पीडा', 'इतर जिल्लावासी', 'कंगन खित्का', 'क्यापिटल हिल' लगायत कथासंग्रह प्रकाशित छन् । २०६५ मा प्रकाशित 'क्यापिटल हिल' उनको चर्चित कथा संग्रह हो । 'बेकारीमा उपन्यास', 'सोटिट' उनका रुचाइएका उपन्यास हुन् ।
राजव आफ्ना कवितामा राजनीतिक स्वतन्त्रता र अभिव्यक्ति स्वतन्त्रताको पक्षमा उभिन्छन् । जागरुक समाजका पक्षमा उनी आवाज बोल्छन् ।
प्रस्तुत छन्, नेपाल सप्ताहान्त साहित्यमा यसपटक उनका तीन कविताः
कवि
यी जो चाप्लुस छैनन्
यी सब कवि हुन्
यी धर्तीको हावा, पानी, वन, ताल, तलैया, प्रकाश, प्राण, पखेरु, तरुवर र
जीवनको कुरा लेख्छन्
यी सब कवि हुन्
यी सब कवि हुन्
यिनको भित्र कतै झर्ना जस्तो सम्वेदना छ
त्यतैबाट बग्छ
यिनका कविता
साधारण मानिसका
यी असाधारण दुःख लेख्छन्
यी सब कवि हुन्
यिनको हात पनि उठ्छ
कलम पनि उठ्छ
यी सब कवि हुन्
यी सब कवि हुन्
मौनका यी घोर विरोधी हुन्
यी सब कवि हुन्
शासकको घोषणामा
यी अवान्छित
सरकारी ओहदाको लागि अनफिट
यी जो चाप्लुस छैनन्
सब कवि हुन्
जनता
यी जनता हुन्
यी जनता हुन्
यी जनता हुन्
जनता हुन् यीसँग
पर्याप्त दुःख छ
यी जनता हुन्
यी जनता हुन्
यिनको घरभित्र छिर्नुस्
यिनका बच्चा मान्द्रोमा भोकै सुतेका हुन सक्छन्
अथवा रोगले ढलेका हुन सक्छन्
यिनका आईमाईको आंगमा पूरा लुगा नहुन सक्छ
यी देशको लागि नभै नहुने
पुरक प्राणी हुन्
जनगणमा यी धेरै छन्
यी जनता हुन्
यी जनता हुन्
यिनको आंगमा चढेर
कुनै पनि दलाल
शासक हुनसक्छ
यी जनता हुन्
एआई दासत्वमा बुद्धिहरू
कुनै घरमा
एलेक्सा नामकी सानो गोल चक्कर पसी र
पटापट धेरैलाई विस्थापित गरी
समाचारको लागि अब अखबार किन्नु परेन, टिभी, रेडियो कुर्नु परेन
लिभिङ्ग रुमको कुनामा वाइफाइसँग सम्बन्धन गरेर राखेको एलेक्सालाई अह्रायो
एलेक्सा आजको ताजा समाचार भन,
अडर सुन्नासाथ एलेक्सा, पटापट ताजा समाचर सुनाउन थाल्छे
अब आजको मौसमको हाल सुना एलेक्सा भन्यो, एलेक्सा धमाधम
सम्भावित तामक्रम, वर्षा, घाम, बादल, हुरी, बतास र हिउँको हाल सुनाउन थाल्छे
एकछिनमा वाथरोबको तुना कस्दै
हजुरआमा प्रकट हुन्छिन र एलेक्सातिर फर्केर भन्छिन्, एलेक्सा भजन सुना
निमेषमै एलेक्सा कुनै भजन लगाई दिन्छे
एलेक्साले सुनाएको भजन सुन्दै
हजुरआमा स्मार्ट चुलोमा स्मार्ट किट्ली बसाल्छिन्,
दूध चिनी, पानी चियाको मात्रा मिलाएर हाल्छिन् र टाइमसेट गरेर भजन सुन्न थाल्छिन्
ठीक समयमा हजुरआमाको स्मार्ट किट्ली चिया पाकेको संकेत ध्वनि दिन थाल्छ
हजुरआमा चूलोतिर कुद्छिन्,
चिया कप कपमा राखेर आफ्नो भागको एक गुलाफी कपको कान च्यापेर सोफामा बस्छिन् र,
चियाको सुर्की लिँदै फेरि एलेक्साको अल्गोरिदमबाट निस्किरहेका भजनहरू सुन्न थाल्छिन्
यस्तैमा बाथरुमबाट हजुरबा निस्कन्छन्,
आफ्नो चियाको कप उचाल्दै एलेक्सातिर फर्केर भन्छन्, एलेक्सा हनुमान चालिसा सुना
एलेक्सा तुरुन्त हनुमानचालिस सुनाउन थाल्छे
केहीबेरमा नाति केटो आउँछ र एलेक्सालाई भन्छ, एलेक्सा प्ले सन मेन्डेज
एलेक्सा तुरुन्तै सन मेन्डेजको गाना 'इफ आइ कान्ट ह्याब यु ’ सुनाउन थाल्छे
घरमा डेढ वर्षे बालक पनि छ
उसलाई भात ख्वाउन बेबी सार्क सुनाउन पर्छ
आमा एलेक्सालाई भन्छिन्, एलेक्सा प्ले बेबी सार्क
एलेक्सा तुरुन्तै सुनाउन थाल्छे 'बेबी शार्क डु डु , बेबी शार्क डु डु'
घरको एक पढाकु आउँछ र अह्राउँछ
एलेक्सा सलमान रुस्दीको क्विचेट कस्तो छ सुना,
एलेक्सा क्विचेटको रिभ्यु सुनाउन थाल्छे
एलेक्सा भित्रिएपछि कोठामा र्याकका किताबहरू अछुत भएका छन्
हातको स्पर्श नपाएर ती सब उदास रहन्छन्
अब तिनलाई हेर्ने आाखाहरू एलेक्सातिर फर्कन्छन्
एलेक्सा तिनको चाहको कविता, कथा, उपन्यास, इतिहास, पुराणदेखि
यूवल नोह हरारीको ट्वान्टी वान लेसन फर ट्वान्टी फस्ट सेन्चुरीसम्म सुनाउन थाल्छे
को के सुन्छन्, को के पढ्छन्, सबको चाह पूरा गर्दै
एलेक्सा एक एकको रुचि, इच्छाको डाटा आफ्ना कर्पोरेट मालिकहरूकाँ पुर्याउँछे
घर घर पसेका यस्तै यस्तै एआई भेदियाहरूको कर्पोरेट दासत्वमा
निकम्मा हुँदै छन् बुद्धिहरू।
सम्बन्धित
भोको बिहान बोकेर, सँधै सँधै उदाइरहने, मेरा हत्केलाका ठेलाहरू हेर, लेख्न सक्छौ तिमी, मेरा अ...
पोस्टमार्टम स्थलबाट सूर्यबहादुर तामाङको आग्रह
जुत्ताको तलुवामुनि, सदियौँदेखि कुल्चिएका छौ तिमीले - मेरो अस्तित्व । (कविता)...
म निसास्सिइरहेको छु
मैले तिमीलाई गाउँ गाउँ अनि दलित, गरिबका बस्ती बस्तीमा आउ भनेको थिएँ । तर तिमी त सहर-बजारका...
गणतन्त्र
गाउँभरि युवाहरूको अभावमा खेत बाँझो देख्न नसकी, घरका हल गोरुसँगै, आफ्नो पनि हत्या गर्ने वृद...
एक बौद्धिकलाई प्रश्न
मेरो अन्त्यको अर्थहीन विलम्बबीच म सोचमग्न छु- अविलम्ब जागृत हुनुपर्ने मानिस कहाँ छ ? (कवित...
सृष्टिमा अन्तिम सेतो जिराफ
सत्तालाई सबैभन्दा बढी झोँक चल्छ, जब चिच्चाउन थाल्छ कोही नाङ्गो मानिस... ...