जात व्यवस्थाको जाँतो
नेपाली समाजको चरित्र बुझ्न का लागि आहुतिलिखित नेपालमा वर्णव्यवस्था र वर्ग–संघर्ष एक महत्त्वपूर्ण बौद्धिक खुराक हो । यसले आजको नेपाल राज्य र शासकीय सामाजिक संरचनाको गहन विश्लेषणका लागि तथ्यगत आधार प्रस्तुत गरेको छ ।
नेपाली समाजको चरित्र बुझ्न का लागि आहुतिलिखित नेपालमा वर्णव्यवस्था र वर्ग–संघर्ष एक महत्त्वपूर्ण बौद्धिक खुराक हो । यसले आजको नेपाल राज्य र शासकीय सामाजिक संरचनाको गहन विश्लेषणका लागि तथ्यगत आधार प्रस्तुत गरेको छ । दक्षिण एसियाली समाज र वर्ग निर्माणको मौलिक जरो–किलो ठम्याउने एक आधार–स्तम्भ हुन सक्छ, यो । दलित समस्यालाई वर्गीय आँखाले हेर्ने मार्क्सवादी दृष्टिकोणमाथि आहुतिले प्रश्न मात्र गरेका छैनन्, समस्या समाधानको दीर्घकालीन उपाय पनि सुझाएका छन् ।
विगत दुई सय वर्षको इतिहास हेर्दा राज्यका संरचनामा सीमित परिवार, निश्चित समुदाय र लिंगको वर्चस्व देखिन्छ । अहिले पनि एकातिर लोकतान्त्रिक गणतन्त्र छ भने अर्कोतिर जात व्यवस्था । एक देश दुई राजनीतिक प्रणाली । पुस्तकमा आहुतिले दलित शब्दलाई पुर्नपरिभाषित मात्र गरेका छैनन्, हिन्दु सामन्तवादमा आधारित नेपाली समाज नै दलित र गैरदलित दुवै समुदायको मुक्तिका लागि बाधक भएको उद्घोष गरेका छन् ।
सैन्यबलले मात्र सधैँ आम मानिसमाथि नियन्त्रण गरिरहन सम्भव हुँदैन । जात व्यवस्थालाई टिकाइराख्न सोहीअनुरुपको ज्ञान उत्पादन गर्नुपर्छ । त्यसका लागि नै हो, हिन्दु धर्मशास्त्रहरुको उत्पादन र प्रचार–प्रसार । ती धर्मशास्त्र र हिन्दु सामन्तवादमाथि आलोचनात्मक चेत सबल बनाउने अर्को किताब हो, ह्वाइ आइ एम नट हिन्दु । कथावाचन शैलीमा लेखिएको कान्चा इलैयाको यो पुस्तक लेखन शिल्पका दृष्टिले पनि निकै महत्त्वपूर्ण छ ।
दलित र नेपाली समाजसम्बन्धी केही अध्ययन र लेखन भए पनि दलित मुद्दामा लेख्नेहरुमा अनुभव र अनुभूति बेसी भएको आरोप पनि लाग्नेगर्छ । तर बदलिँदो परिवेशमा नेपाली समाज बुझ्ने वा दलित समस्यालाई बाहिर ल्याउने सबैभन्दा बलियो माध्यम नै उनीहरुका भोगाइ उजागर गर्नु हो । यो किताब आम दलितहरुले भोगेको समस्या र त्यसविरुद्ध प्रतिरोधको स्वर पनि हो । पुस्तकले दलित समुदायको आँखामार्फत हिन्दु दर्शन, व्यवहार, संस्कृति र अर्थराजनीतिसँग दरिलो प्रश्न उठाएको छ । दलित समुदायको बैग्लै गौरवपूर्ण इतिहास छ । हिन्दु समुदाय र दलितबीचको सांस्कृतिक भिन्नता, बालबालिकाको सामाजिकीकरण, यौन तथा पारिवारिक सम्बन्ध र सिकाइ प्रक्रियासमेत बेग्लै छ । त्यस्तै, हिन्दु र दलितहरुको ऐतिहासिक नायक–नायिका कुनै पनि सन्दर्भमा मिल्दैन । त्यसैकारण दलितहरुले आफूलाई हिन्दु भनिरहनु आवश्यक छैन भन्ने तर्क गर्छन्, इलैया ।
नेपालमा पनि सदियौँदेखि धर्मकै नाममा मन्दिरमा प्रवेशबाट वञ्चितहरुलाई जबर्जस्त निश्चित धर्मको बिल्ला भिराइँदै आएको छ । मानिसलाई भोकै मारेर मन्दिर विकासमा करोडौँ बजेट खर्चिने राजनीतिक व्यवस्थाले कहिल्यै पनि सीमान्तीकृत समुदायको अधिकारलाई सम्बोधन गर्न सक्दैन । नेपालका अधिकांश अल्पसंख्यक तथा दलित समुदायको इतिहास र गौरवको पहिचान राज्यले गर्न सकेको छैन । उनीहरुको इतिहास बहुसंख्यक हिन्दुहरुको इतिहाससँगै विलीन भएको छ । आफ्नो बेग्लै इतिहास र गौरवको पहिचानका लागिसमेत ह्वाइ आइ एम नट हिन्दु महत्त्वपूर्ण पाठ हो ।
सीमान्तीकृत समुदायको संवेदनशीलता बुझ्न एउटा बलियो स्रोत हुन सक्छ, एन इमेज अफ अफ्रिका । नाइजेरियाली लेखक चिनुवा अचिबेको विवादास्पद यो गैरआख्यानमा ब्रिटिस साहित्यकार जोसेफ कोन्नाडको हार्ट अफ डार्कनेसमाथि आलोचना गरिएको छ । अफ्रिकालाई अन्यकरण गरेकाले घोर जातिवादी लेखकको आरोप कोन्नाडमाथि लगाएकाछन्, अचिबेले ।
सीमान्तीकृत समुदायमाथि साहित्यिक हस्तक्षेपको विरोध कसरी गर्नुपर्छ भन्ने बलियो उदाहरण पनि हो, यो किताब । अफ्रिकीमाथि बाहिरी दुनियाँले पालेको पूर्वाग्रही दृष्टिकोणलाई प्राज्ञिक कर्ममार्फत चुनौती मात्र दिएनन्, प्रतिकारसमेत गरे, अचिबेले । अफ्रिकी इतिहास, कला र संस्कृतिबारे कम अध्ययन गरेका कोन्नाडले उपन्यासमा अफ्रिकीहरुलाई साम्राज्यवादी बेलायती आँखाभन्दा भिन्न तरिकाले हेर्न सकेनन् । कुनै पनि समुदायका विषयमा लेखिएका गलत तथ्य र भाष्यले कालान्तरमा ‘शक्ति–सम्भ्रान्त’ र ‘सर्वसाधारण’ बीचको तीव्रत्तर आर्थिक, सामाजिक, राजनीतिक र मनोवैज्ञानिक वर्ग विभाजनमा मद्दत पुर्याउँछ । कंगो नदी तटमा बस्ने फाङ जातिको कला, कौशललाई उपन्यासमा बेवास्ता गर्दै अफ्रिकीलाई अपमानित र अमानवीयकरण गरेको हुँदा यसलाई साहित्यका रुपमा स्वीकार्न नसकिने अचिबेको तर्क महत्त्वपूर्ण छ ।
प्रस्तुति : गुरुङ सुशान्त
सम्बन्धित
भोको बिहान बोकेर, सँधै सँधै उदाइरहने, मेरा हत्केलाका ठेलाहरू हेर, लेख्न सक्छौ तिमी, मेरा अ...
पोस्टमार्टम स्थलबाट सूर्यबहादुर तामाङको आग्रह
जुत्ताको तलुवामुनि, सदियौँदेखि कुल्चिएका छौ तिमीले - मेरो अस्तित्व । (कविता)...
म निसास्सिइरहेको छु
मैले तिमीलाई गाउँ गाउँ अनि दलित, गरिबका बस्ती बस्तीमा आउ भनेको थिएँ । तर तिमी त सहर-बजारका...
गणतन्त्र
गाउँभरि युवाहरूको अभावमा खेत बाँझो देख्न नसकी, घरका हल गोरुसँगै, आफ्नो पनि हत्या गर्ने वृद...
एक बौद्धिकलाई प्रश्न
मेरो अन्त्यको अर्थहीन विलम्बबीच म सोचमग्न छु- अविलम्ब जागृत हुनुपर्ने मानिस कहाँ छ ? (कवित...
सृष्टिमा अन्तिम सेतो जिराफ
सत्तालाई सबैभन्दा बढी झोँक चल्छ, जब चिच्चाउन थाल्छ कोही नाङ्गो मानिस... ...