अजित बरालका प्रिय तीन किताब
भारतीय पत्रिकाहरु छान मार्ने क्रममा क्याम्पसको पुस्तकालयबाट एन एरिया अफ डार्कनेस सुटुक्क आफ्नाे बनाएपछि भीएस नयपाललाई पछ्याएँ र उनको प्रशंसक भएँ ।
सानोमा गतिलो पुस्तक पढ्न नपाएको पीडा छँदै थियो, गम्भीर लेखकहरूको फराकिलो अध्ययन क्षितिज र विषयगत विविधता देख्दा इर्ष्या पनि लाग्थ्यो । भारतीय पत्रिकाहरु छान मार्ने क्रममा क्याम्पसको पुस्तकालयबाट एन एरिया अफ डार्कनेस सुटुक्क आफ्नाे बनाएपछि भीएस नयपाललाई पछ्याएँ र उनको प्रशंसक भएँ पनि । भीएसका हजुरबाहरु नेपालबाट गएर वेस्ट इन्डिजमा उखु किसानी गरेका थिए । नयपालका जीवनी जानेको मलाई उनको आत्मकथात्क उपन्यास अ हाउस फर मिस्टर विश्वास सबैभन्दा नजिक लाग्छ ।
उपन्यासमा नयपालले आफ्ना पिताको कथासहित पारिवारिक इतिहास र संघर्षलाई सरस ढंगले बुनेका छन् । साथै, क्यारेबियन टापुमा बस्ने भारतीयमाथि बेलायती उपनिवेशले दिएको दंशलाई निकै मार्मिक वर्णन गरेका छन् । त्रिनिदादमा रहेका भारतीय आप्रवासीहरुले आफ्नाे जरा मेटिएको व्यथा र पीडा सहेर पनि स्वसंस्कृति संरक्षणका लागि गरेको संघर्ष उदाहरणीय छ । मिस्टर विश्वासले आफ्नो घर निर्माणका लागि सहेको सकसलाई पहिचानको आकांक्षासँग तुलना गर्न सकिन्छ । स्वयं नयपालका लागिसमेत यो उपन्यास सबैभन्दा नजिक थियो । उनले भनेका छन्, ‘यो उपन्यास मेरो सर्वाधिक निजी र बालापनका अनुभव एवं तथ्यमा आधारित छ ।’
यो किताब प्रकाशनपूर्व नयपाललाई लागेछ, उपन्यासको पूर्ण पाठ या अधिकांश हिस्सा यादमा लिपिबद्ध छ । तर बिस्तारै स्मृतिबाट धूमिल हुँदै गएपछि उनले ठाने– आफूले बनाएको त्यस संसार, उही भावना र भोगाइमा फर्कनु उचित होइन, जहाँ हास्यको आवरणभित्र पीडाको हिमाल छ । भनिन्छ– छापाखाना पठाइसकेपछि नयपालले यो उपन्यास दोहोर्याएर पढेनन् ।
बाले ल्याएको द ग्रेट रेलवे बजार पढेपछि लाग्यो, यो ध्यानले पढ्नुपर्ने साहित्यिक शिल्प हो । पल थरुको यो किताब यस्तो वृत्तान्त हो, जहाँ लन्डनको भिक्टोरिया स्टेसनदेखि टोकियो, मस्को, पेरिस, इस्तानबुल हुँदै अफगानिस्तान, पाकिस्तान, भारत, श्रीलंका र बर्मासम्म रेलबाट गरिएको यात्राको लेखाजोखा छ ।
आफ्नो डिब्बाको झ्यालबाट देखिने प्राकृतिक दृश्यहरु थरुले पाठकलाई मन्त्रमुग्ध पार्ने गरी लेखेका छन् । उनको यात्रामा द ओरियन्ट, खैबर पास लोकल, द फ्रन्टियर मेल, द गोल्डेन ऐरो टु क्वालालम्पुर, मेन्डले एक्सप्रेस, द ट्रान्स–साइबेरियन एक्सप्रेसजस्ता आँटिला रेलगाडीको साथ थियो । यात्रामा भेटिएका मानिसबारे उनी यति मनमोहक शैलीमा लेख्छन् कि मानौँ– हामी पनि साथमै यात्रारत छौँ । थरु बेलाबेला भीएस नयपाल या मार्क ट्वेनको नाम लिन्छन् ।
रोचक संयोग– भीएस नयपाल र पल थरुबीच गुरु–चेलाजस्तो निकट सम्बन्ध रहेछ । यी दुई लेखकको बोलचालै बन्द हुने, परस्पर सम्बन्धबारे किताबै लेख्ने र फेरि सार्वजनिक मञ्चमा सँगै वार्तालाप गर्नेसम्मको अनौठो आरोह–अवरोहयुक्त संगत पनि भएछ । थरु यात्रामा भेटिएका व्यक्तिलाई कुनै पुस्तकको पात्रसँग तुलना गरेर हेर्छन् । मोहक वर्णन पढेर भन्न सकिन्छ– रेलमार्ग यस्तो काल्पनिक बजार हो, जहाँ कुनै पनि व्यक्ति धैर्यका साथ गोपनीयता र एकान्तमा डुब्न सक्छ ।
आख्यानप्रति अरुचि बढिरहेका बेला कोरियाली अमेरिकी लेखक मिन जीन लीको उपन्यास पाचिंकोले भने मलाई बाँधिरह्याे । संयोग– फ्र्यांकफर्ट पुस्तक मेलामा यसका लेखकलाई भेट्ने मौका पाएको थिएँ । उपन्यासमा सन् १९१० देखि १९८९ सम्मको ठूलो क्यानभास छ, जसमा द्वितीय विश्वयुद्धका बाछिटासहित चार पुस्ते कथा कोरिएको छ ।
उपन्यासले समेटेको समयावधिमा जापान र कोरियाबीचको सम्बन्ध नस्लवाद आसपासको मुद्दामा घुमेको थियो । जापानले कोरियामाथि कब्जा जमाएपछि कैयौँ परिवार निराश्रित हुन्छन् र उनीहरुलाई आधारभूत आवश्यकता परिपूर्ति गर्नसमेत धौधौ हुन्छ । दोस्रो विश्वयुद्ध र कम्युनिजमको भयावह वातावरणबीच अन्य कोरियालीजस्तै एक परिवारले जापानमा गरेको संघर्षले पाठकलाई उद्वेलित गर्छ ।
कोरियाली परिवारले जापान निर्वासनमा भोग्नु परेको अपहेलना र गर्नु परेको संघर्ष त कष्टप्रद छँदै छ, कोरियाभित्रैको अस्थिर राजनीतिक परिवेशका कारण स्वदेश फर्किन नसक्ने झनै कहालीलाग्दो परिस्थिति छ । जापानबाट कोरिया जानु ताप्केबाट उम्केर भुंग्रोमा पर्नुसरह हुन्छ । प्रवासनको परिचयहीनता, परायापन र अस्वीकरणले आँखा खोलिदिन्छ, साथै गह पनि भरिदिन्छ । अन्धविश्वस, अभाव र अपहेलनाको दुर्दान्त चित्रण भए पनि जीवनेच्छा र आशावादिता पनि प्रचुर छ, उपन्यासमा ।
यो यस्तो इमानदार लेखन हो, जहाँ साम्राज्यवादी जापानको यथार्थ रुप र अद्भुत कल्पनाको मिश्रण छ । लाग्छ– यो विशाल उपन्यासमा इतिहास आफैँ एक पात्र हो । लेखक ली हर पृष्ठमा कहीँ न कहीँ छन् तर अदृश्य रुपमा । दर्दनाक पृष्ठभूमि, प्रतिकूल परिवेश र अमानवीय घटनाबीच पनि पात्रहरु पाठकलाई संवेदित गर्न सक्ने ल्याकत राख्छन् । यस्तै आख्यान लेखिए हामी थप मानवीय हुन्थ्यौँ कि !
प्रस्तुति : गुरुङ सुशान्त
सम्बन्धित
भोको बिहान बोकेर, सँधै सँधै उदाइरहने, मेरा हत्केलाका ठेलाहरू हेर, लेख्न सक्छौ तिमी, मेरा अ...
पोस्टमार्टम स्थलबाट सूर्यबहादुर तामाङको आग्रह
जुत्ताको तलुवामुनि, सदियौँदेखि कुल्चिएका छौ तिमीले - मेरो अस्तित्व । (कविता)...
म निसास्सिइरहेको छु
मैले तिमीलाई गाउँ गाउँ अनि दलित, गरिबका बस्ती बस्तीमा आउ भनेको थिएँ । तर तिमी त सहर-बजारका...
गणतन्त्र
गाउँभरि युवाहरूको अभावमा खेत बाँझो देख्न नसकी, घरका हल गोरुसँगै, आफ्नो पनि हत्या गर्ने वृद...
एक बौद्धिकलाई प्रश्न
मेरो अन्त्यको अर्थहीन विलम्बबीच म सोचमग्न छु- अविलम्ब जागृत हुनुपर्ने मानिस कहाँ छ ? (कवित...
सृष्टिमा अन्तिम सेतो जिराफ
सत्तालाई सबैभन्दा बढी झोँक चल्छ, जब चिच्चाउन थाल्छ कोही नाङ्गो मानिस... ...