(पुस्तक समीक्षा) हजुरआमैका अलिखित दु:ख
पितृसत्ताका नयाँ चुनौती सामना गरिरहेका हामीलाई सत्ताको एकसरो इतिहास बताउने किताब हो, अमृता लम्सालकृत हजुरआमाका कथा ।
हजुरआमाले जीवनमा भोगेका दैनन्दिनका घटना सुनाउँदा मेरो बालमनोविज्ञानले प्राय: स्वार्थी भएर सोच्यो, ‘धन्न ! म त्यस समयमा जन्मिएनछु ।’ तर हजुरआमाप्रति असीम सहानुभूति पनि एकसाथ पैदा भयो । हाम्रो पुस्तासम्म आइपुग्दा महिलाका सवाल, तिनका हकबारे अनेक कोणबाट बहस हुँदै छन् । अपुग भए पनि परिवर्तन भएको छ । ऊर्जाशील समय बुहार्तन, बालबच्चा र कहिल्यै नसकिने कामको चटारोमै व्यतीत गरेका असंख्य हजुरआमाले उत्तरार्द्धमा आफ्नो जीवनको मूल्यांकन कसरी गर्लान् ? पितृसत्ताका नयाँ चुनौती सामना गरिरहेका हामीलाई सत्ताको एकसरो इतिहास बताउने किताब हो, अमृता लम्सालकृत हजुरआमाका कथा ।
असी कटेका २३ हजुरआमाहरुले भोगेको आरोह–अवरोह, पीडा, संघर्ष आदि समेटिएको पुस्तकमा तीन जना नातिनी पुस्ताले अभिव्यक्त गरेको आफ्ना हजुरआमाको जीवनीप्रतिकाे दृष्टिकोण पनि समेटिएको छ । हजुरआमाका कथामार्फत लगभग शताब्दी पहिलेको पितृसत्तात्मक समाजको लैंगिक सम्बन्ध उजागर गर्दै महिलाको अलिखित इतिहास उत्खनन गर्नु पुस्तकको ध्येय देखिन्छ । लैंगिक असमानताले सिर्जना गरेका दु:खका पहाडबारे कम लेखिने गरेको छ । अझै पनि महिलालाई दोयम दर्जामै राखिएको क्रूर यथार्थ बुझाउन पनि यस्ता अलिखित कथा लिपिबद्ध हुनुपर्छ । पुस्तकमा समावेश यथार्थले नेपाली समाजका उल्लेख्य संख्याका महिलाको प्रतिनिधित्व गर्छन्, जसले महिला भएकै कारण अशिक्षा र स्वनिर्णयको अभाव झेल्दै केवल गृहस्थीको दायराभित्र संकुचित हुनुपर्यो ।
पुस्तकले हजुरआमाहरुका दु:ख, संघर्ष, अशिक्षित हुनुको पीडालाई उजागर गर्छ । विवाहको अर्थ थाहा नहुँदै विवाहिता हुनुपरेका अधिकांश हजुरआमाको गुनासो आफ्नाे शिक्षा प्राप्तिको इच्छालाई पित्तृसत्तात्मक समाजले कोरिदिएको ‘लक्ष्मणरेखा’ प्रति छ । अशिक्षित हुनुको पीडा जीवनको उत्तरार्द्धमा समेत भुल्न नसकेका हजुरआमाहरुले अवसर पाउँथे भने ? पितृसत्ताको प्रभाव किञ्चित कम रहेका परिवारका महिलाले गरेका प्रगतिले केही संकेत गर्छन् ।
तुला राणाले आफ्ना बुबाको सकारात्मक एवं प्रगतिशील निर्णयकै कारण बनारस विश्वविद्यालयमा उच्च शिक्षा हासिल गरिन् । भगवती उप्रेतीले १० कक्षासम्मको विद्यालय अध्ययन र फ्रान्समै भाषा अध्ययन गरी पहिलो नेपाली–फ्रान्सेली दोभाषे भएर काम गरिन् । अर्की हजुरआमा हुन्– नारायणदेवी प्रधान श्रेष्ठ, जसले पढ्ने अवसर पाएकै कारण नेवार भाषामा केही कविताकृति प्रकाशन गर्न सफल भइन् । तर पुरुषले पुरुषका लागि बनाएको समाजमा नारायणदेवीहरुलाई लेखकका रुपमा ठूलो परिचय बनाउन सम्भव भएन ।
छोरी रजस्वला नहुँदै ‘कन्यादान’ गरे पुण्य कमाइने अन्धविश्वास व्याप्त समयमा बालविवाह सामान्य प्रचलन थियो । बालविवाह गर्ने पुरुषलाई भने खासै फरक परेको देखिँदैन । विवाहको केही समयपछि नै अपरिपक्व मातृत्वको यात्रा सुरु गरेका धेरै हजुरआमाहरु सन्तान जन्माउने औजारसरह थिए । प्रशस्त बच्चा जन्माउने र हुर्काउने ध्याउन्नमै उनीहरुले आफ्नो सम्पूर्ण ऊर्जा र समय लगाए । कुनै स्वास्थ्य सुविधा नभएको त्यो जमानामा बर्सेनि बच्चा जन्माउन कति कठिन थियो, अहिले कल्पना गर्न पनि हम्मे पर्छ । अज्ञानता, उपचार अभाव, पोषणको कमी, अन्धविश्वासकै कारण बाल मृत्युदर पनि उच्च थियो । सन्तान गुमाउँदाको पीडा अझै बिर्सन सकेका छैनन्, हजुरआमाहरुले । ती अनुभव अलिखित दु:खका दसी हुन् ।
सुन्दै आएका हजुरआमाका कथाव्यथाको समाजशास्त्रीय वा मानवशास्त्रीय कोणबाट खासै विश्लेषण भएका छैनन् । भोगाइ बताउनु, रेकर्ड गर्नु र लिपिबद्ध गरेर विश्लेषण गर्नु यो पुस्तकको एउटा सबल पक्ष हो । प्रत्येक हजुरआमाका कथामा लेखक अमृताको विश्लेषणात्मक टिप्पणीले हम्मेसी चर्चा नगरिने ऐतिहासिक पाटोबारे सोच्न उत्प्रेरित गर्छ ।
पुस्तक काठमाडौँकेन्द्रित देखिन्छ । धेरैजसो हजुरआमा मध्यम र उच्च वर्गीय पृष्ठभूमिका छन् । लेखकले हजुरआमा खोज्ने सजिलो बाटो अपनाएकी छन् । आहुति, जुगल भूर्तेल, जीवा लामिछाने, गोपाल गुरागाईं जस्ता सार्वजनिक व्यक्तित्वका आमाहरुसँग कुराकानीबाट पुस्तक तयार भएको छ । एउटै पुस्तकमा सबै खाले विविधता समावेश गर्न सकिादैन तथापि थप मिहिनेत आवश्यक थियो ।
पुस्तकमा समावेश गर्ने र ऐतिहासिक अभिलेख नै राख्ने उद्देश्यले काम गर्दा भने अखबारी विधि अपुग हुन्छ । स्रोत र समय अभावका कारण पनि सजिलो बाटो खोजिएको हुन सक्छ । पर्याप्त स्रोतसहितका संस्था नभएको प्रमाण पनि हो यो, पुस्तक । थप अनुसन्धानका लागि एउटा खुड्किलो भने हो ।
हजुरआमाका कथा
लेखक : अमृता लम्साल
प्रकाशक : अक्षर क्रिएसन
पृष्ठ : २६२
मूल्य : ४६० रुपैयाँ
सम्बन्धित
भोको बिहान बोकेर, सँधै सँधै उदाइरहने, मेरा हत्केलाका ठेलाहरू हेर, लेख्न सक्छौ तिमी, मेरा अ...
पोस्टमार्टम स्थलबाट सूर्यबहादुर तामाङको आग्रह
जुत्ताको तलुवामुनि, सदियौँदेखि कुल्चिएका छौ तिमीले - मेरो अस्तित्व । (कविता)...
म निसास्सिइरहेको छु
मैले तिमीलाई गाउँ गाउँ अनि दलित, गरिबका बस्ती बस्तीमा आउ भनेको थिएँ । तर तिमी त सहर-बजारका...
गणतन्त्र
गाउँभरि युवाहरूको अभावमा खेत बाँझो देख्न नसकी, घरका हल गोरुसँगै, आफ्नो पनि हत्या गर्ने वृद...
एक बौद्धिकलाई प्रश्न
मेरो अन्त्यको अर्थहीन विलम्बबीच म सोचमग्न छु- अविलम्ब जागृत हुनुपर्ने मानिस कहाँ छ ? (कवित...
सृष्टिमा अन्तिम सेतो जिराफ
सत्तालाई सबैभन्दा बढी झोँक चल्छ, जब चिच्चाउन थाल्छ कोही नाङ्गो मानिस... ...