विप्लव प्रतीकका १० छोटा कविता
अचानोमा गर्धन थाप्दा थाप्दाअब त यस्तो लागिरहेछ–खुकुरी छिटो चलोस् ।
१.
ब्रम्हाण्ड आफ्नै धूनमा छ,
प्रकृति आफ्नै सूरमा छ
मस्त छ मानिस पनि,
सोचिरहेछ– म गरिरहेछु ।
सोच्छु म पनि र सातो जान्छ मेरो–
मानिस नभए संसार कस्ले हाँक्थ्यो होला?
२.
ब्रम्हाण्डमा बने ग्रह, जन्मिए मानिस
तर, मानिसले ईश्वर बनायो, सीमाना बनायो
गरिब, धनी बनायो, निर्दयी बनायो, निमुखा बनायो ।
प्रेमको फललाई उसले इर्ष्या, अहं र घृणाले साँध्यो,
र, साँधेर खायो प्रेमको फल,मातियो दम्भले ।
थाहा हुँदो हो त
जीवनको रचनाकारलाई,
लेख्थ्यो होला उसले मानिसको गीत ?
३.
कसरी बन्छ बादल ?
कसरी बन्छ पानी ?
कसरी फुल्छन् फूल, दुबो र रुख ?
शीत केले बन्छ ? कसरी छरिन्छन् रङ्हरू आकाशमा ?
छ, सबजवाफ छ विज्ञानसँग
हर सवालको जवाफ छ,
तर, रहस्यको सुरुङभित्र छिरेको ज्ञान चुपचाप छ,
बिनाअपेक्षा उत्तरको–
ऊ मौन छ ।
४.
बलिया छौ ? –निर्बलको पाखुरीमा बस,
समृद्ध छौ ? –गरिबको मनमा बस,
विद्वान छौ ? –निमुखाको गीत गाउ,
सरकारमा छौ ? –त्यतै बस, यता नआउ
तिम्रा दम्भ, शक्तिको उन्माद र असंवेदनशीलताका कीटाणु
हामीलाई सर्न सक्छ ।
५.
बादशाहलाई अपदस्थ गर्ने योद्धाहरू
तानाशाहमा बद्लिएपछि,
सामन्तका विरोधी सर्वहाराहरू
महासामन्तमा फेरिएपछि
के हुन्छ ? – म सोचिरहेछु ।
नवक्रान्तिको फिलिङ्गो निभेकै हो कि
कतै सल्किएर बसेको छ,
भेउ पाएँ भने सुनाउनेछु ।
अहिले म दूरदूरसम्म नियालिरहेछु ।
६.
भन्थेँ म अँध्यारोमै उज्यालो लुकेको हुन्छ
यहाँ त दिवसमै अन्धकारको साम्राज्य छ
फुङ्ग उडेका फूलहरू छन् यस उद्यानमा
कुन मुखले भन्छौ तिमी, यहाँ रामराज्य छ ?
७.
मात्र यत्ति बाँकी छ –
अब, दन्दनीबलिरहेको
दर्दको सूर्य खसोस् ममाथि
म च्याप्प समातेर मुठ्ठी बन्द गर्नेछु,
जादूगर हुँ म, यत्तिसम्म कौशल त मसँग पनि छ–
मुठ्ठी खोल्दा त्यहाँ फूल देखिनेछ ।
८.
सम्झनाको गुजुल्टो केलाइरहेछु
तर जुन टुप्पा फेला पारे पनि
तिम्रै सम्झनाको सिलसिला शुरु हुन्छ ।
९.
म तिमीलाई मुस्कुराउन उपाय सिकाइरहेछु
तिमी मलाई आँसु टिपेर मोती बनाऊ भन्दछौ
म तिमीलाई तिमी उड्ने आकाश देखाइरहेछु
तिमी मलाई पिँजडा सिँगार्न सिकाइरहेछौ ।
१०.
अचानोमा गर्धन थाप्दा थाप्दा
अब त यस्तो लागिरहेछ–
खुकुरी छिटो चलोस् ।
सम्बन्धित
भोको बिहान बोकेर, सँधै सँधै उदाइरहने, मेरा हत्केलाका ठेलाहरू हेर, लेख्न सक्छौ तिमी, मेरा अ...
पोस्टमार्टम स्थलबाट सूर्यबहादुर तामाङको आग्रह
जुत्ताको तलुवामुनि, सदियौँदेखि कुल्चिएका छौ तिमीले - मेरो अस्तित्व । (कविता)...
म निसास्सिइरहेको छु
मैले तिमीलाई गाउँ गाउँ अनि दलित, गरिबका बस्ती बस्तीमा आउ भनेको थिएँ । तर तिमी त सहर-बजारका...
गणतन्त्र
गाउँभरि युवाहरूको अभावमा खेत बाँझो देख्न नसकी, घरका हल गोरुसँगै, आफ्नो पनि हत्या गर्ने वृद...
एक बौद्धिकलाई प्रश्न
मेरो अन्त्यको अर्थहीन विलम्बबीच म सोचमग्न छु- अविलम्ब जागृत हुनुपर्ने मानिस कहाँ छ ? (कवित...
सृष्टिमा अन्तिम सेतो जिराफ
सत्तालाई सबैभन्दा बढी झोँक चल्छ, जब चिच्चाउन थाल्छ कोही नाङ्गो मानिस... ...