साहित्य
प्रतीकात्मक तस्बिर सटरस्टक
१५ जेष्ठ २०७७ बिहीबार
गणतन्त्र
मैले तिमीलाई गाउँ गाउँ अनि दलित, गरिबका बस्ती बस्तीमा आउ भनेको थिएँ । तर तिमी त सहर-बजारका दलालकहाँ पो बिक्री भएछौ । (कविता)

मैले तिमीलाई
गरिब, दलितको झुप्रा र झुपडीमा आउ भनेको थिएँ
तर तिमी त
केही सांसद, मन्त्रीहरूको महलमा मात्र पुगेछौ ।
मैले तिमीलाई
गाउँ गाउँ अनि दलित, गरिबका बस्ती बस्तीमा
आउ भनेको थिएँ
तर तिमी त
सहर-बजारका दलालकहाँ पो बिक्री भएछौ ।
गणतन्त्र
मैले तिमीलाई
भोका नाङ्गाको रोटी भएर
आउ भनेको थिएँ
तर तिमी त निर्दोष दलित गरिबको छातीमा गोली भएर आएछौ ।
अझै पनि गणतन्त्र
तिमीलाई साँच्चै आउन मन छ भने
माया गर्ने मान्छेलाई बिहे गर्न हिँडेका बेहुला अनि जन्तीको लास
भएर होइन
न्याय भएर आउ
न्याय भएर आउ ।