राम्ली लेकका गोठाला
रुकुम पूर्वका लेकाली भेग, खर्क अनि वनजंगल यतिबेला खुबै रमाइला हुन्छन् । रमाइला त अरू बेला पनि हुन्छन् नै । तर साउनमास वस्तुभाउ र गोठालाको चहलपहलले यहाँको लेकाली वातावरणमा छुट्टै रौनक छाउँछ ।

‘राम्ली डाँडा काट्नेबित्तिकै
बाँचे भेट, मरे त यत्तिकै....’
भूमे गाउँपालिकाको शिरमा रहेको राम्ली लेकको थुम्कोमा बसेर श्यामलाल मगरले यो गीत दोहोर्याएर गाए । उनको यो गीतले राम्लीको जंगल गुञ्जियो । डाङडुङ आवाज निकालेर चरनमा मस्त वस्तुभाउको आवाजमा श्यामलालको गीत पनि मिसियो । वातावरण यसै संगीतमय बन्यो ।
रुकुम पूर्वका लेकाली भेग, खर्क अनि वनजंगल यतिबेला खुबै रमाइला हुन्छन् । रमाइला त अरू बेला पनि हुन्छन् नै । तर साउनमास वस्तुभाउ र गोठालाको चहलपहलले यहाँको लेकाली वातावरणमा छुट्टै रौनक छाउँछ । लगभग २५ सय मिटर उचाइको रुकुम पूर्वको भूमे–३ मा पर्ने राम्ली लेकमा त्यहाँका विभिन्न बस्तीबाट गोठाला लेक उक्लिएका छन् । बेँसीको गर्मी छल्न र वस्तुभाउलाई ताजा घाँसपात खुवाउन हरेक वर्ष आफूहरू यसरी लेक उक्लिने गरेको श्यामलाल सुनाउँछन् ।
साउनभरि यहाँका स्थायी गोठमा बसेर वस्तुभाउ चराउने सर्वसाधारण साउन सकिएपछि भदौमा अलि तलको अर्को गोठमा सर्छन् । असोजदेखि मंसिरसम्म बेँसी झरेर धान–मकैको काम गर्छन् अनि पुसदेखि फागुनसम्म हिउँ पर्न सक्ने र चिसो बढ्ने हुनाले मूलघरमै रहन्छन् । त्यसपछि चैत–वैशाखमा बेँसीमा गहुँ, जौको काममा लाग्छन् र जेठभरि मूलघरमै रहन्छन् । असारदेखि फेरि सुरु हुन्छ, लेकतिरको यात्रा । असारभरि गोठाला अहिले रहेको भन्दा पनि माथिको लेक पुग्छन् र साउनमा राम्लीको लेक भरिलो बनाउँछन् ।
यहाँको बसाइँ अस्थायी भएकाले बेँसीबाट अन्नपात बोकेर ल्याउन सजिलो छैन । गोठ उक्लेकाहरू फुर्सदमा डोको बुन्ने, गाईभैँसी बाँध्ने दाम्ला बुन्ने र डाँडापाखा चहार्दै लोकभाका सुसेल्छन् । गोठालाको गीतले रनवन गुञ्जिन्छ । वस्तुभाउ वनमा नहराऊन् भनेर घाँटीमा झुन्ड्याइदिने घन्टीको आवाजले प्रकृति संगीतमय हुन्छ नै ।
आफ्ना वस्तुभाउसहित अन्नपात बोकेर उकाली–ओराली गर्दै वर्षमा चार–पाँच ठाउँ बसाइँ सर्ने यहाँका जनताको दैनिकी कष्टकर नै छ । यसलाई सहज बनाउन स्थानीय सरकारले आवश्यक योजना बनाउने गाउापालिका अध्यक्ष रामसुर बुढा बताउँछन् । “वर्षमा धेरै ठाउामा बसाइँ सर्ने स्थानीयको बाध्यता हो,” भन्छन्, “स्थानीय सरकारले आगामी दिनमा आवश्यक योजना बनाएर उनीहरूको दैनिकी सहज बनाउन पहल गर्नेछ ।”
तस्बिरहरु हेर्नुहोस :