बाघ र बाख्राको जुधाइ

बाघ र बाख्राको जुधाइ

- विप्लव भट्टराई

तीन दशकपछि इलाममा आयोजित राष्ट्रिय स्तरको फुटबल प्रतियोगिताले मोफसलमा तरंग त ल्यायो नै, केही कुरा सिकायो पनि। २८ पुसदेखि ७ माघसम्म आयोजित प्रथम लुम्बिनी राष्ट्रिय महिला फुटबल च्याम्पियनसिपले प्रशंसकलाई प्रत्यक्ष खेल हेर्ने अवसर र खेलाडीको उत्साह बढाउनमा गतिलै योगदान पुर्‍यायो। तर, स्तर नमिल्दो प्रतिस्पर्धाले फुटबल पारखीको मन भने कुँडिएको छ।

तीन विभागीसहित पाँच विकास क्षेत्रका टिम  सहभागी प्रतियोगिता अवधिभर विभागीय टिमहरूको दबदबा देखियो। बलिया विभागीय टिमका अगाडि क्षेत्रीय टिमहरू निरीह र कमजोर देखिए। विभागीय टिमसँगको हरेक खेलपछि ती टिमका प्रशिक्षक र कप्तानहरूको प्रतिक्रिया हुन्थ्यो, "खेल त पूरै बाघ र बाख्राको जुधाइजस्तो भयो।" पछिल्लो प्रतियोगितासमेत जितेर पुलिस क्लबको टिमले लगातार चारवटा टुर्नामेन्ट कब्जा गरसिकेको छ। प्रतियोगितामा खास लडाइँ पनि विभागीय टिमबीच मात्र भयो भन्दा अत्युक्ति नहोला।

सशस्त्र प्रहरीको क्लब एपीएफले टिम मध्यपश्चिमाञ्चललाई १३-० ले हराउँदा होस् या त्रिभुवन आर्मीले पश्चिमाञ्चललाई १०-० को गोल अन्तरले हराउँदा होस्, कुनै पनि प्रशिक्षक र खेलाडी खुसी देखिएनन्। पश्चिमाञ्चलका प्रशिक्षक जीतबहादुर पुन भन्छन्, "कम्तीमा अब स्तर मिल्ने गरी मात्र प्रतिस्पर्धा गराउनुपर्‍यो। हामी सात दिनभित्र खेलाडी बटुलबाटुल गरेर टिम तयार पारेर भिड्न आउनुपर्ने बाध्यता छ।" हुन पनि मोफसलको महिला फुटबलले गति लिन सकेको छैन। खेलाडी जन्माउने र उनीहरूलाई सक्रिय गराइराख्ने संयन्त्रको अभाव छ। प्रतियोगितामा विभागीय टिमले क्षेत्रीय टिमविरुद्ध ५३ गोल गरे। नेपाल पुलिस, त्रिभुवन आर्मी र एपीएफविरुद्ध कुनै पनि क्षेत्रीय टिमले गोल फर्काउन सकेनन्।

त्यसो त नेपाली महिला फुटबलले विभागीय टिमकै योगदानको भरमा अन्तर्राष्ट्रिय ख्याति कमाएको छ। दक्षिण एसियाली फुटबलमा भारतलाई मात्र चुनौती ठान्ने नेपाली टिमलाई उचाइ दिन विभागीय टिमले दिएको योगदान कम आँक्न नमिल्ने फुटबल पण्डितहरूको विश्लेषण छ। तर, यो प्रतियोगितापछि मोफसलमा महिला फुटबलको खेलस्तर उकास्न पनि उत्तिकै पहल गर्नुपर्ने आवश्यकता खड्किएको छ। त्यसका लागि सम्बन्धित निकायले वातावरण तयार पारिदिनुपर्ने माग खेलाडी र प्रशिक्षकहरूको छ।

व्यावसायिक बन्न सकिने र भविष्य पनि सुरक्षित हुने ठानेर अधिकांश महिला खेलाडीको लक्ष्य नै विभागीय टिममा पुग्ने हुन्छ। विभागीय टिममा सेवासुविधा उच्च छ, जुन क्षेत्रीय स्तरका कुनै पनि टिममा छैन। महिला फुटबल व्यावसायिक नभएको अवस्थामा विभागीय टिममा जाने मोहलाई स्वाभाविक मान्छन्, पूर्वाञ्चलका प्रशिक्षक दर्शन भक्तराज। भन्छन्, "विभागीय टिमको विरोध होइन तर अरू टिमलाई पनि शक्तिशाली बनाउनुपर्छ भन्ने हाम्रो मान्यता हो। विभागीयबाहेकका टिमलाई कम्तीमा तीन महिनासम्म प्रशिक्षणको व्यवस्था मिलाएर मैदानमा नउतार्नेहो भने स्थिति अहिलेजस्तै भइरहन्छ।"

प्रतियोगिताको नतिजा विभागीय टिमलाई सुम्पिँदै गर्दा क्षेत्रीय टिमले भने प्रशिक्षण अभाव, खेलाडी तान्ने प्रवृत्ति र फुटबल खेल्ने वातावरण नहुनुलाई नै समस्याका मूल कारण मानेका छन्। क्षेत्रीय टिमले मिहिनेतका साथ खेलाडी उत्पादन नगर्ने पनि होइनन्। तर, विभागीय टिमहरूले त्यस्ता खेलाडी टपक्क टिपेर लगेपछि स्वाभाविक रूपमा क्षेत्रीय टिम कमजोर हुन्छन्। क्षेत्रगत रूपमा अहिलेको नेपाली राष्ट्रिय महिला फुटबल टिममा पूर्वाञ्चलका ६, सुदूरपश्चिमाञ्चलका तीन र बाँकी मध्यमाञ्चलका खेलाडी रहेको अखिल नेपाल फुटबल संघ अन्तर्गतको महिला समितिकी महासचिव विमला पौडल जानकारी दिन्छिन्। राष्ट्रिय टिममा जिल्लागत रूपमा रौतहटको योगदान उल्लेख्य छ। विभागीय टिमका सम्पूर्ण खेलाडी राष्ट्रिय टिममा पर्छन्। राष्ट्रिय टिममा एपीएफका नौ, पुलिसका ६ र आर्मीका पाँच खेलाडी छन्।

क्षेत्रीय टिमको कमजोरी प्रकट भएको यो पहिलो प्रतियोगिता भने होइन। यसअघि नवलपरासीमा भएको प्रतियोगितामा एपीएफसँग १७ गोल खाएको सुदूरपश्चिमाञ्चलले इलाममा सात गोल खाँदा केही उपलब्धि भएको ठानेको छ। अघिल्लो वर्षसम्म क्षेत्रीय टिममा रहेका राम्रा र भरपर्दा चार जना खेलाडी आर्मी र पुलिसमा गएकाले टिम कमजोर भएको प्रशिक्षक ललित चन्दको भनाइ थियो। यसबीचमा टिमबाट निशा बोहरा आर्मी क्लबमा अनुबन्ध भइन्। अमृता जैसी, नीरा सुनुवार र मनिता चौधरी पुलिसको नजरमा परे। अहिले टिम पुर्‍याउन कैलाली श्रीपुरका मात्रै १२ खेलाडी ल्याउनुपरेको गुनासो प्रशिक्षक चन्दको छ।

विभागीय टिममा राम्रा खेलाडी गएपछि संकट खेपिरहेको अर्को टिम हो, मध्यमाञ्चल। क्षेत्रीयमध्ये तुलनात्मक रूपमा बलियो मानिएको यो टिमबाट सात जना आर्मीमा, आठ जना एपीएफमा र सात जना पुलिसमा गइसकेको प्रशिक्षक शेरबहादुर दर्लामी बताउँछन्। भन्छन्, "हामीले खेलाडी टिकाउन सक्यौँ भने मात्र धेरै उपलब्धि हुन्छ ।"

पर्याप्त प्रतियोगिता नहुनु, व्यावसायिक क्लब बन्न नसक्नु र सरोकारवालाले महिला फुटबल विकासमा पर्याप्त ध्यान नदिनुले नै जिल्ला र क्षेत्रको महिला फुटबल फस्टाउन नसकेको हो। यस्तै रहे पनि महिला फुटबलको विकासमा सक्दो प्रयास भइरहेको सुनाउँछन्, अखिल नेपाल फुटबल संघका सहमहासचिव मणि कुँवर। "समस्या छन् तर व्यावसायिक फुटबलको विकास गर्नु नै यसको समाधान हो," रेफ्री कल्पना शर्माको भनाइ छ। खेलाडी बटुलबाटुल गरी छोटो प्रशिक्षणपछि मैदानमा उत्रिएका टिम विभागीयलाई जित्नेभन्दा पनि कम गोल खाने रणनीतिमा हुन्छन्। कम गोल खाएकै कारण प्रतियोगितामा पूर्वाञ्चल टिम सेमिफाइनल प्रवेश गर्ने भाग्यमानी टिम बन्यो। पश्चिमाञ्चलका प्रशिक्षक पुन भन्छन्, "सिंहसँग बाख्रा जुधाएर खेलाडी उत्पादन हँुदैनन्। गाविस तहदेखि जिल्ला र क्षेत्र हुँदै केन्द्रसम्म पुग्ने वातावरण नबनाएसम्म हाम्रो केही जोर चल्दैन।"

प्रकाशित: माघ १२, २०७०

×