सिनेमा: ज्याकी च्यान
टाइम म्यागजिनले विश्वकै चर्चित व्यक्तित्वको सर्वेक्षण गर्दा एसियाबाट नायक ज्याकी च्यान, प्रजातन्त्रवादी नेता आन साङ सुकी
स्मृतिको धूमिल मार्ग पछ्याउँदै म विक्रमाब्द ०४१ मा पुग्छु, जुन बेला म १७-१८ वर्षको ठिटो थिएँ । सँगै थियो, पर्याप्त उमेरजन्य जिज्ञासा, उमंग र लहडीपन । एसएलसी उत्तीर्ण गरेर भर्खर चार भन्ज्याङ प्रवेश गरेको थिएँ, त्रिचन्द्र क्याम्पसमा जीव विज्ञान विषय पढ्न । कवि भूपी शेरचनको दृष्टिमा काठमाडौँ उपत्यका फगत चिसो एस्ट्रेभन्दा बढी थिएन । तर, मेरा निम्ति कौतुकमय विश्व नै बनेको थियो ।
लगन टोलको डेरामा प्रेम गुरुङ र भरत गौचनसँग बस्थेँ । भरत मेरो क्याम्पसको सहपाठी थियो । प्रेम उनको पहिलादेखिकै साथी रहेछ । त्यसैले मेरो पनि साथी बन्यो । प्रेम भर्खर हङकङबाट आएको जिमन्यास्टिक र मार्सल आर्टको खेलाडी । ऊ हामीलाई किसिम किसिमका किक देखाउँथ्यो । साइड किक, फ्रन्ट किक, राउन्ड किक, फ्लाइङ किक आदि । ऊ दौडँदै घरको भित्तामा केही स्टेप चढेर तीव्र गतिमा फनक्क घुमेर जमिनमा उभिन सक्थ्यो । भरत र म छक्कै पर्थ्यांै । उसले भनेपछि मखन टोलमा ज्याकी च्यानको पहिलो सिनेमा हेरँे । मज्जा लाग्यो । फाइट पनि गज्जबको, उत्तिकै हँसाउने । यसरी प्रेमले ज्याकीको सिनेमाको लत लगाइदियो ।
एक दिन प्रेमले एउटा पोस्टर ल्याएर कोठाको भित्तामा टाँस्यो । जसमा शिरमा चाइनिज माटोको सानो कप राखेको र घुडाँ खुम्च्याएर हातलाई मुट्ठी पारेर अगाडितिर फैलाएको दृश्य थियो । त्यो ड्रंकन मास्टरको कठोर तालिम दिँदाको दृश्यजस्तो लाग्छ । कपमा पानी वा यस्तै केही थियो र थाकेर हल्लिँदा केही थोपा खसे जँड्याहा गुरुले लटठीले हिर्काइहाल्थ्यो ।
डेरामा सानो बगैँचा थियो । भोगटेको बोट, हलुवावेदको बोट, घन्टी फूल र केही नचिनिने वृक्ष । बगैँचामा उभिएर प्रेम अनेकथरी किक देखाउँथ्यो । उसले बजारमा भर्खर आएको कुङ्फु सुज लगाउँथ्यो । कालो रंगको पातलो कपडाले बेरिएको तर सोलको किनारामा सेतो प्लास्टिकले मोडिएको । सिने मामै देखिनेजस्तो । ऊ किकलाई लामो समयसम्म हावामै अडाइराख्न सक्थ्यो । भरत र म अवाक् हुन्थ्यौँ । सायद ईष्र्या पनि गर्थ्यौं । प्रेम जसलाई हामी सोल्टी भन्थ्यौँ, ज्याकी च्यानकै नेपाली संस्करणजस्तो लाग्थ्यो । हामी बगैँचाको बिरुवाको झुन्डिएको घन्टी फूललाई किकले छुने अभ्यास गर्थ्यौं ।
म आफ्नै उचाइको फूल छुन सक्दिनथेँ भने ऊ जम्प किक गर्दै आफूभन्दा अग्लो उचाइको फूल, लहरा पनि भेट्टाउँथ्यो । पुस अप, सिट अप पनि धेरै गथ्र्यो । खुट्टा फट्टाउने फाङ धेरै गथ्र्यो । कोठामा, बगैँचामा धेरै उछलकुद र नानाथरी गरेपछि एक दिन घरबेटीले उर्दी सुनायो, 'शान्त भएर नबस्ने हो भने तपाईंहरुले डेरा खाली गर्नुपर्छ ।' त्यसपछि ज्याकीको एक्सन नक्कल गर्ने भूतसवार बन्द भयो । हामी डरायौँ । तर, मेरोे सिनेमा लत भर्खरै सुरु भएको थियो ।
मखन टोलतिरको विचरण निर्विवाद चलिरह्यो । कहिलेकाहीँ म एक्लै पनि पुग्थेँ । ज्याकीको नयाँ सिनेमा लागेको भए रिट्ठो नबिराई हेथर्ंे । भिडियो भर्खर प्रचलनमा आएकाले व्यावसायिक प्रदर्शन फैलँदै थियो । सुरुमा दस रुपियाँमा हेर्थ्यौं । पछि पाँचमा झर्यो । हुँदाहुँदा तीन रुपियाँमा पनि धेरै सिनेमा हेरियो । ज्याकीको सिनेमामा चाइनिज कुङ्फुको आश्चर्यजनक कौशल हेर्न त सकिन्थ्यो नै, उनको कमेडीले कम्ता हँसाउँदैनथ्यो । चार्ली चैपलिनको सिनेमापछि कसैको अभिनयमा म यति धेरै हाँसेको छु भने सायद त्यो ज्याकी च्यानकै हो ।
भिडियो देखाउने ठाउँ भने निकै फोहर हुन्थ्यो । साँघुरो गल्ली भएर पुग्नुपर्ने, घाम नपर्ने ओसिलो र अमिलो गनाउने हल हुन्थ्यो । फोहोर कार्पेटमा बसालिन्थ्यो । चुरोटको धूवाँ र ट्वाइलेटको गन्धले हुर्मत नै लिन्थ्यो । तर, सिनेमाको लत लागिसकेपछि ती सबै दोस्रो महत्त्वका हुन्थे । सिनेमा सुरु हुनासाथ गन्धहरु हराउँथे र हामी उनैसँग कुङ्फुको दुनियाँमा हाँस्दै विचरण गर्थ्यौं ।
ज्याकी च्यान हङकङमा जन्मिए । त्यसैले प्रारम्भिक दिनमा उनले हङकङे निर्देशकको सिनेमामा खेले । हङकङे चाइनिज जीवनको दृश्यिक पाटो उनको सिनेमाको उल्लेख्य पक्ष हो । चाइनिज मार्सल आट्र्सका शैलीहरु, बौद्ध गुम्बाका दृश्य, सेतै फुलेका चेरीका वृक्ष, ग्रामीण रहनसहन, कुर्ताजस्तो घुँडासम्मै झरेका कमिज, लामो कपाल पाल्ने पुरुषहरु, रक्सीमा लट्ठिने मार्सल आट्र्सका गुरु, जुवा खेल्दै गरेका झगडिया, साँघुरो गल्ली, चाइनिज पाश्र्व संगीत र कोलाहलपूर्ण माछा बजारका दृश्य ।
चीन/जापानमा मार्सल आट्र्सको इतिहास हजारौँ वर्ष पुरानो छ । भिक्षुहरुले विकसित गरेको साओलिन आर्टले मार्सल आट्र्सलाई संस्थागत गरेको इतिहास छ । गुम्बाको रक्षा गर्न यसको प्रयोग गरिन्थ्यो । मार्सल आट्र्सले मनलाई एकाग्र बनाउने जगजाहेर नै छ । सिनेमामा मार्सल आट्र्सका सर्प शै ली, झुसिलकीरा शैली, बिरालो शैली, बाँदर शैली, निमेषभरमै आक्रमण गर्ने इगल क्ल टेक्निक आदि देखाइन्थे । ज्याकीको पोज र मुखबाट निक्लने आवाजले नै हामी उनी कुन शैलीमा भिड्दै छन् भनेर थाहा पाउँथ्यौँ । सिनेमाको नामै स्नेक इन इगल स्याडो भएकाले सहजै अनुमान गर्न सकिन्थ्यो कि गिद्दको शैलीले सर्पको शैलीलाई पराजित गर्नेछ । यसरी जीवको लड्ने सामथ्र्यका आधारमा बनाइएको सिनेमा हेर्दा छक्क परिन्थ्यो ।
अहिले ज्याकी हलिउडकै चर्चित नाम भइसकेका छन् । हलिउडमा द काननवल रन र रस आवर सिनेमामार्फत मज्जाले जमे । परम्परागत चाइनिज कुङ्फुलाई फ्लाइङ किक मार्दै हलिउडमा उनले सफल अवतरण गरे । करोडौँ फ्यान र डलर कमाउन सफल भए । दुस्साहसपूर्ण स्टन्ट र कमेडीले सबैको प्रिय बने । उनको अपोजिटमा खेल्ने पश्चिमा हिरो वयन उल्सिन र क्रिस टकरसँग जोडी जम्यो । फरक देशीय र सांस्कृतिक पृष्ठभूमिबाट आएकाले भाषाको भिन्नताले ल्याउने उटपट्याङ स्थितिले सिनेमाको हास्यलाई झन् सूक्ष्म बनाएको छ ।
पहिलो चरणमा उनका ड्रंकन मास्टर, स्नेक इन अ इगल स्याडो, द यङ मास्टर, फियरलेस हायना आदि चर्चित छन् । दोस्रो हलिउड चरणमा रस आवर, द काननवल रन, सांघाई नुन, सांघाई नाइट, हु एम आई, सिटी हन्टर, आर्मर अफ गड, अराउन्ड द वल्र्ड इन एटी डेज, द कराँते किड आदि उत्तिकै रु चाइएका छन् ।
ज्याकी युनिसेफका गुडविल एम्बासडर पनि बने । एचआईभी एड्सविरुद्धको सचेतना अभियानमा एसियाका विभिन्न देशको दौडाहामा लागे । सायद ०५८ सालमा उनी भारत आए । भारतीय नायक जैकी श्राफले आफू ज्याकी च्यानको फ्यान भएकाले भेट्न इच्छुक भएको सार्वजनिक अभिव्यक्ति दिए । भारतीय र पश्चिमी युवामा ज्याकीको क्रेज बढिरहेको छ । नेपालमा पनि उनका लाखौँ फ्यान छन् ।
घरघरमा टीभी र डेकको आगमनसँगै व्यावसायिक प्रदर्शनको बजार पनि समाप्त भयो । तर, समाप्त हुनुअघि नै म वन विज्ञानको विद्यार्थी बनेर कौ तुकमय सहर छाडेर हेटौँडा गए । त्यसपछि मखन टोल छुट्यो । तर, मखनको स्मृति र ज्याकी च्यानप्रतिको प्रेम हृदयबाट कहिल्यै छुटेन । अचेल यदाकदा उनको फिल्मका सीडी ल्याएर हेर्छु । उनी यति प्रीतिकर छन् कि मलाई पटक्कै नोस्टाल्जिक हुन दिँदैनन् । उनले मलाई १७-१८ वर्षको उमेरदेखि अहिलेसम्म हँसाइरहेका छन्, आफ्नो जीवन्त अभिनयले ।
पश्चिमी नायकहरुको विपरीत उनको अभिनयमा पूर्वीय संयमता, लज्जा र भद्रता झल्किन्छ । आफैँ खतरनाक स्टन्ट गर्न तम्सन्छन् । गिनिज वल्र्ड रेकडर् मा जीवित नायकमध्ये सबभन्दा बढी स्टन्ट गर्ने कीर्तिमान उनकै नाममा छ । भनिन्छ, उनकोे शरीरको सद्धे अंग फेला पार्न कठिन छ । मर्किने, भाँचिने दुर्घटना त उनका निम्ति सामान्य नै भइसक्यो । हातका औँला, नाक, निधार, च्यापु, घाँटी, गोलीगाँठा, कुइना, पैताला, खप्पर, नितम्बको हाड केही पनि चोटरहित छैनन् । एकपटक खप्परमा गहिरो चोट लागेर उनी झन्डै मृत्युको मुखमा पुगे । टाइम म्यागजिनले साँचो लेखेको छ, 'आफू पीडामा परेर, सहेर पनि ज्याकी च्यान विश्वभरका दर्शकलाई हँसाइरहेका छन् । त्यसैले उनी महान् छन् ।'
सम्बन्धित
ब्ल्याक स्कट, ब्ल्याक लेदर ज्याकेट, ब्ल्याक गगल्स र ब्ल्याक सुजमा पूर्वमिस नेपाल एवं नायिक...
ब्ल्याक ब्युटी
थापागाउँमा रहेको क्रन्ची कर्नर रेस्टुराँमा प्ल्याटर पाइन्छ, त्यो पनि चिकेन छोइलाको । ...
प्ल्याटर @ क्रन्ची कर्नर
काठमाडौँका विभिन्न स्थानमा पाइने पाँच खानालाई दिल्ली फुड वाकले आफ्नो सूचीमा समेटेको छ । ...
दिल्ली फुड वाकको मेनु
खैरो चेक ज्याकेट, खैरो बुट र कालो स्कर्टले मोडल निशा आचार्यलाई फेसनेबल बनाएको छ । ...
निशाको पुरानै शैली
आफ्नो ड्रेसअपमा निकै कम व्यक्ति रमाउँछन् । हेर्नुस्, मोडल पूजन थापा रातो चेक कोट र कालो हा...
आनन्दित पूजन
सुन्दरता निखार्न पहिरनले मुख्य भूमिका खेल्छ । हेर्नुस् त मोडल शुभेच्छा खड्कालाई वन पिसमा क...