उपहारजंग शाहको नोटबुक
यसअघि अन्य संस्थामा पनि थुप्रै वर्ष काम गरेको थिएँ । प्राय: ठाउँमा काम छाड्ने क्रममा रहेका कर्मचारीलाई गरिने नमिठो व्यवहारको भुक्तभोगी र साक्षी पनि बनेँ । तर, छहारी जहिल्यै ठूलो रूखको लिनु भन्ने भनाइ मेरो जीवनमा नेपालसँगको कार्यकालमा चरितार्थ भयो ।
नेपाल र नेपाल छोड्दा
साढे तीन वर्षको नेपाल साप्ताहिकसँगको सम्बन्ध निकै आत्मीय रह्यो । विशेषत: करिअर बनाउने सन्दर्भमा सहकर्मीहरूबाट भुल्नै नसकिने सहयोग प्राप्त भयो । नेपालसँग आबद्ध हुँदा नै उच्च शिक्षाका लागि अमेरिका आउने प्रक्रियामा थिएँ । तर, कारणवश उद्देश्य पटकपटक पछि धकेलियो ।
यसअघि अन्य संस्थामा पनि थुप्रै वर्ष काम गरेको थिएँ । प्राय: ठाउँमा काम छाड्ने क्रममा रहेका कर्मचारीलाई गरिने नमिठो व्यवहारको भुक्तभोगी र साक्षी पनि बनेँ । तर, छहारी जहिल्यै ठूलो रूखको लिनु भन्ने भनाइ मेरो जीवनमा नेपालसँगको कार्यकालमा चरितार्थ भयो ।
७ भदौमा भिसा अन्तर्वार्ता थियो । १३ भदौमा विश्वविद्यालय पुग्नुपर्ने भएकाले ११ भदौमा जसरी पनि उड्नुपर्ने थियो । तर, निश्चित नभएकाले अफिस छाड्ने–नछाड्ने निर्णय दिन सकिएको थिएन । भिसा लाग्यो । नियमानुसार छाड्नुअघि राजीनामा दिनुपथ्र्यो । भोलिपल्टै राजीनामापत्र लेखेँ । अर्को दिन अफिससम्म पुगेँ तर भर्याङ उक्लने हिम्मत आएन ।
त्यत्तिकै फर्कें । अमेरिका आउनुभन्दा एक दिनअघि कार्यालयमै बिदाइ कार्यक्रम राखिएको थियो । प्रधान सम्पादकको कोठाबाहिर दुईपटक पुगेँ । तर, यति आत्मीयता दिने टिमलाई छाड्दै छु भन्ने कल्पनाले मन भक्कानियो । त्यही साँझ सहकर्मी रवि मानन्धरलाई ‘दाइ अफिसमा चाहियो भने दिइदिनूस् है!’ भन्दै खाम थमाइदिएँ ।
उड्ने दिन विमानस्थलमा सुरक्षा जाँच गराउँदै थिएँ । प्रधान सम्पादकको फोन आयो । शुभकामना दिनुभयो । त्यसबेला भने मुखै फोरेर भनिदिएँ, ‘मैले आफ्नै हातले औपचारिक राजीनामा बुझाएको छैन, म नेपालकर्मी नै रहिरहनेछु ।’
जीपीएस जीवन
आफ्नो सहर काठमाडौँको त सडक मात्र होइन, गल्लीगल्ली थाहा थियो । तर, अमेरिकाको ठूलो सहर बोस्टन पुगेपछि भने रनभुल्लमा परियो । कति दिनसम्म त बाटो मात्र होइन, दिशा खुट्याउनसम्म हम्मेहम्मे पर्यो । घर र बाटोहरू उस्तै उस्तै हुने भएकाले डुल्दै डुल्दै अलि पर पुगियो कि फर्कने बाटै फेला नपर्ने ।
केही दिन त आफू नयाँ भएकाले होला भन्ने लाग्यो । तर, वर्षौंदेखि यहीँ बसेकाहरूसमेत बाटो फेला पार्न नसकेर हैरान हुँदा रहेछन् । समस्याको समाधान गरिदिएको रहेछ, जीपीएस प्रविधिले । कारमा बसेपछि मोबाइलमा जीपीएस खोल्यो । जाने ठाउँ टाइप गर्यो अनि त्यसले जताजता जाऊ, जताजता मोडिऊ भन्छ उतैउतै गयो । अझ नजिकका बैंक, रेस्टुराँ, होटल, कार्यालय आदिका जानकारी लिन समेत जीपीएस नै प्रयोग हुने ।
नेपाल घुम्न आउने पर्यटक हातमा नक्सा लिएर फनफनी घुमिरहेको याद आयो । अनि, सोचेँ, नेपालमा जस्तै यहाँ पनि इन्टरनेट कहिले सुस्त हुने कहिले चल्दै नचल्ने भए मान्छेको जीवन कति डामाडोल हुँदो हो ? बेलाबेला दूरसञ्चार सेवा नै बन्द भए के हुँदो हो ? गुगलले विकसित मुलुक मात्र होइन, नेपालजस्ता विकासोन्मुख देशका गल्लीगल्लीलाई समेत आफ्नो म्यापमा अटाएको छ । प्रविधिको थोरै विस्तार गर्न सकिए त नेपाल आउने पर्यटक मात्र होइन, स्वदेशीलाई पनि सजिलो हुने थियो ।
वाइन नपाएर हैरान
यहीँ बस्ने बालसखालाई आफ्नै पैसाले वाइन खुवाउने भएँ । स्टोर धेरै टाढा थिएन तर समय निकै घर्किसकेको थियो । म्यासाचुसेट्स राज्यको कानुन अनुसार रातको ११ बजेपछि मदिराजन्य पदार्थ बिक्रीवितरण नहुने भएकाले हतार गर्दै गयौँ । तर, वाइन रोजेर सेल्स काउन्टरमा पुग्दा घडीमा ११ बजेको घन्टी बज्यो । आफूहरू ११ बजेअघि नै आएको भन्दै सेल्सम्यानलाई अनुरोध गर्यौँ । उनले बिल काट्ने कोसिस गरे । तर, मेसिनले लिन मान्दै मानेन । उनले माफी मागे, हामी जिल्ल परेर रित्तो हात फर्कियौँ ।
अर्को दिन पनि त्यस्तै योजना बन्यो । दुई जना सँगै गयौँ । त्यस दिनचाहिँ ११ बज्न ५ मिनेटजति बाँकी थियो । २१ वर्षभन्दा मुनिकालाई मदिराजन्य पदार्थ नबेच्ने भएकाले अनिवार्य परिचयपत्र हेर्ने नियम छ । काउन्टरमा बसेकी अधबैँसे महिलाले परिचयपत्र मागिन् । साथीले आफ्नो परिचयपत्र देखायो । मैले खल्तीबाट १० डलर निकालेर दिएँ । ती महिलाले त मसँग पनि परिचयपत्र मागिन् । पासपोर्ट घरमै छाडेको थिएँ । अरू परिचयपत्र थिएन ।
नियम के रहेछ भने मदिराजन्य पदार्थ किन्न जो जो आउँछन्, सबैको परिचयपत्र हेर्नैपर्ने रहेछ । म त साथी मात्र गएको थिएँ, परै बसेको भए पनि हुने थियो । घडीले ११ बजेको जनाउ दिइहाल्यो । त्यस दिन पनि जिल्ल परियो । घर फर्कंदै गर्दा मठमन्दिर र विद्यालयवरिपरि मदिराजन्य पदार्थ बिक्री गर्न नपाइने, सार्वजनिक स्थलमा धुम्रपान गर्न नपाइने नेपालको कानुन दिमागभरि नाचिरह्यो । कार्यान्वयन नै भएन भने कानुनको के अर्थ ?
सम्बन्धित
२००७ को राजा/प्रजाको संयुक्त प्रजातान्त्रिक आन्दोलनपछि अहिलेसम्म जारी भएका संविधानअनुसार र...
कार्यकर्ता होइन, नागरिक भएर सोचौँ
अमेरिकामा चकित पार्ने धेरै पक्षहरू हुँदाहुँदै पनि सुरुमै सबैको ध्यान खिचेर विकासको परिचय द...
अमेरिकी सडक सन्जाल : विकासको अनौठो मोडल
छोरीचेलीको करियरका लागि सीमित रकम तिर्न नसक्ने तर पराई घर पठाउन ऋण गरेरै भए पनि लाखौँ खर्च...
छोरीचेलीको हैसियत बिहे मात्रै ?
ट्याक्सी ड्राइभर पहिलो पटक मैले कसरी र कहिले हेरेँ, याद छैन । तर हेर्नेबित्तिकै मलाई त्यो ...
ट्राभिस कुटाइममा मुर्दाघर आयो
तिमी पनि तिम्रा प्रियहरूलाई भनिदेऊ, ‘क्षमा देऊ ।’ उनीहरूलाई सिकाइदेऊ, बदलाका लागि होइन, बद...
बदलाका लागि होइन, बदलावका लागि लड्नुपर्छ
अमेरिका विकास, शक्ति र संस्कृतिमा जति धनी छ, भित्र लुकेको जातीय तुष पनि उत्तिकै टाँसिएको छ...