गुराँस अभियन्ता लक्ष्मण
उनले सुरु गरेको ‘गुराँस वन जोगाऔँ’ अभियानका कारण पूर्वी पहाडका तेह्रथुमदेखि संखुवासभा र ताप्लेजुङसम्म फैलिएका लेकाली वनपाखा वर्षको ६ महिना राताम्मै हुन्छन् ।
बाल्यकालमा बाबुआमाको साथ लागेर ताप्लेजुङको साँघु गाविसमा रहेको मावली ओहोरदोहोर गर्थे, तेह्रथुम वसन्तपुरका लक्ष्मण तिवारी, ४४ । पैदल बाटोको दायाँबायाँ घना गुराँसे वन पथ्र्यो । एक्लै दोक्लै हिँड्न मुस्किल भएकाले बटुवाले बाटो दायाँबायाँका गुराँस फाँडेर फराकिलो बनाउँथे । उनको मनमा कताकता गुराँस वन फँडानी गर्ने होइन, जोगाएर फुलाउने हो भन्ने लाग्थ्यो ।
नभन्दै तिवारी २५ वर्षयता गुराँस जोगाउने अभियानमा निरन्तर लागिरहेका छन् । उनले सुरु गरेको ‘गुराँस वन जोगाऔँ’ अभियानका कारण पूर्वी पहाडका तेह्रथुमदेखि संखुवासभा र ताप्लेजुङसम्म
फैलिएका लेकाली वनपाखा वर्षको ६ महिना राताम्मै हुन्छन् । यस क्षेत्रले देशविदेशका पर्यटक पाएको छ । आर्थिक गतिविधि बढेको छ अनि वातावरणीय सौन्दर्य मौलाएको छ ।
तीन जिल्लाको संगमस्थल तीनजुरे मिल्के जलजले (टीएमजे) क्षेत्रमा २८ प्रजातिका गुराँस तँछाडमछाड गर्दै फुल्छन् । “प्राकृतिक रूपमा फुलेका यी फूलको सौन्दर्य देखाएर स्थानीयले फाइदा लिन सक्ने सपना मैले देखेको थिएँ,” तिवारी भन्छन्, “यहाँका बासिन्दाको भविष्य गुराँससँगै जोडिएको छ ।”
उनले गुराँसको संरक्षण गर्न स्थानीयलाई प्रेरित मात्र गरेनन्, गुराँसका साथै लेकाली क्षेत्रको जैविक विविधता र सिमसार क्षेत्रको संरक्षण गर्न सके तल्लो कछाड र औल क्षेत्रमा हुने पानीको अभावलाई समेत पूर्ति गर्न सकिने सोच अघि सारे । उनले यस क्षेत्रका १३ वटा खोलानाला र जलाधार क्षेत्रको संरक्षणका लागि छुट्टै नीतिको माग गर्दै वन तथा वातावरण मन्त्रालयमा मागपत्र बुझाए ।
लेकाली क्षेत्रका पानीका मुहान संरक्षण नगरे तल्लो क्षेत्रमा भविष्यमा पानीको हाहाकार हुने उनको ठम्याइ छ । गुराँस जंगल मात्र संरक्षण गर्न सके यी तीन जिल्लामा पर्यटकीय विकास गर्न ठूलो सहयोग पुग्ने ठानेर राष्ट्रिय लालीगुराँस संरक्षण व्यवस् थापन समिति नामक संस्था गठन भयो । संस्थाको संयोजकको जिम्मेवारी तिवारीले नै पाए । यस क्षेत्रमा गुराँस पर्यटनको विकास गर्ने उद्देश्यले वसन्तपुरमा ‘लाली गुराँस महोत्सव’को आयोजना उनकै अगुवाइमा भयो । ०६८ सालमा ‘हेर्न जाऔँ है गुराँसको राजधानी तीनजुरे मिल्के जलजले’ भन्ने नाराका साथ सम्पन्न तेह्रथुम महोत्सवको परिकल्पनाकार पनि उनै हुन् ।
गुराँस पर्यटन प्रवद्र्धनका लागि तीनजुरे डाँडामा भ्यु टावर, वसन्तपुरनजिक पिकनिक टावर, घुर्मिसेको जंगलमा पिकनिक थलो, आरआर गार्डेन, पदमार्ग निर्माणलगायतका काम पनि उनकै अगुवाइमा भएका छन् । गुराँस वर्षको एक सिजन मात्र फुल्छ । त्यसपछि यसको सौन्दर्य केही समयका लागि गुम्छ ।
गुराँस सौन्दर्यप्रेमीको त्यो अभाव पूरा गर्न उनले वर्षको बाह्रै महिना फुलिरहने गुराँसको परिकल्पना गरे । उनले बनाएको योजनामा गुराँसको राजधानी टीमएजेको प्रवेशद्वार वसन्तपुर, बसपार्कमा फुलिरहेको गुराँस स्तम्भ भर्खरै मात्र निर्माण भएको छ । यहाँसम्म आउनेहरूले वर्षभरि नै फुलिरहेको गुराँसको प्रत्यक्ष अवलोकन गर्न सक्छन् । टीएमजे क्षेत्रमा तीन जिल्लाका २३ गाविस पर्छन् ।
उनले सुरु गरेको ‘गुराँस जोगाऔँ’ अभियानलाई साथ दिँदै वसन्तपुुरसहित फुलेक दांगपा, सुङनाम र सोल्मा गाविसवासीले दुई महिनाअघि लाली गुराँस नगरपालिका घोषणाको माग गर्दै स्थानीय विकास मन्त्रालयमा मागपत्र बुझाएका छन् । तिवारी भन्छन्, “हरेक वस्तु र सेवासँग गुराँस जोडेर लानुपर्छ, यहाँका बासिन्दाको भाग्य र भविष्य उज्यालो छ ।”
अन्तर्राष्ट्रिय प्रकृति संरक्षण संघ (आयूसीएन)सँग मिलेर ०६६ सालमा आफूले तयार गरेर वन मन्त्रालयमा बुझाएको टीएमजे गुराँस संरक्षण क्षेत्रको दिगो विकासको रणनीति कार्यान्वयन भए आफ्नो बाल्यकालदेखिको सपना सफल हुन्थ्यो भन्ने तिवारीलाई लाग्छ । पूर्वी तराई र भारतको विहारबाट नजिकको दूरीमा रहेको यो क्षेत्रमा वर्षमा एक लाखभन्दा बढी पर्यटकले अवलोकन गर्छन् । भन्छन्, “हामीसँग कस्तूरीको जस्तो विना छ तर चिन्न नसक्दा कस्तूरीले झैँ दु:ख पाइरहेका छौँ ।”
सम्बन्धित
ब्ल्याक स्कट, ब्ल्याक लेदर ज्याकेट, ब्ल्याक गगल्स र ब्ल्याक सुजमा पूर्वमिस नेपाल एवं नायिक...
ब्ल्याक ब्युटी
थापागाउँमा रहेको क्रन्ची कर्नर रेस्टुराँमा प्ल्याटर पाइन्छ, त्यो पनि चिकेन छोइलाको । ...
प्ल्याटर @ क्रन्ची कर्नर
काठमाडौँका विभिन्न स्थानमा पाइने पाँच खानालाई दिल्ली फुड वाकले आफ्नो सूचीमा समेटेको छ । ...
दिल्ली फुड वाकको मेनु
खैरो चेक ज्याकेट, खैरो बुट र कालो स्कर्टले मोडल निशा आचार्यलाई फेसनेबल बनाएको छ । ...
निशाको पुरानै शैली
आफ्नो ड्रेसअपमा निकै कम व्यक्ति रमाउँछन् । हेर्नुस्, मोडल पूजन थापा रातो चेक कोट र कालो हा...
आनन्दित पूजन
सुन्दरता निखार्न पहिरनले मुख्य भूमिका खेल्छ । हेर्नुस् त मोडल शुभेच्छा खड्कालाई वन पिसमा क...