पारि किताब, वारि छटपटी
नाकाबन्दीबाट अछुतो रहेन पुस्तक बजार पनि ।
१७ कात्तिकको एकाबिहानै पत्नीको मुखबाट वीरगन्ज नाका खुलेको अपुष्ट खबर पाएर लेखक बुद्धिसागर खुबै खुसी भए । खुसी नहून् पनि किन, दसैँको छेको पारेर ९ असोजमा विमोचन गर्ने भनिएको उनको उपन्यास फिरफिरे नाकाबन्दीकै कारण रक्सौल नाकामा अड्किएको थियो । नाका खुलेसँगै आफ्नो किताब काठमाडौँ आइपुग्ला र विमोचन गरेलगत्तै पाठकको हातसम्म पुर्याउँला भन्ने कत्रो सपना थियो । तर, बुद्धिसागरको खुसी धेरैबेर टिकेन । उनले खबर सुने, प्रहरीको बल प्रयोगबाट खुलाइएको नाकाबाट भारतीय गाडीहरू मात्रै आफ्नो देश फर्के । नाकामा रोकिएका कन्टेनर नेपाल प्रवेश गरेनन् ।
भारतीय छापाखानामा छापिएका २५ हजार प्रति पुस्तक नेपाल नभित्रिए पनि बुद्धिसागरले छापाखानाले पठाइदिएको डमी–कपी हातमा लिएर मुस्कुराइरहेको फोटो ट्वीटरमा ‘पिन’ गरेर राखेका छन् । किताब कहिले आफ्नो हातमा पर्छ भनेर उनलाई बग्रेल्ती पाठकले ‘मेन्सन’ गर्दै सन्देश पनि छाडेका छन् । तर, बुद्धिसागर आफैँलाई थाहा छैन, कहिले खुल्छ नाकाबन्दी र कहिले आइपुग्छ किताब ।
भन्सार नाकामा पुस्तक अड्किएर हैरानी बेहोरिरहेका बुद्धिसागर एक्ला लेखक भने होइनन् । भारतीय नाकाबन्दीको असरबाट लेखनी र प्रकाशनको क्षेत्रमा पनि अछुतो छैन । नयाँ र पुन:मुद्रणका निम्ति भारतमा छापिएर पुस्तक बोकेर नेपालतर्फ आएका कन्टेनर रक्सौल नाकामै अड्किएका छन् । फिल्मी पटकथाबाट लेखनीमा हामफालेका ब्रजेशको दोस्रो उपन्यास जुनेलीको अवस्था पनि त्यस्तै छ । प्रकाशक बुक हिलले उपन्यासको विमोचन मिति पनि तोकिसकेको थियो, १४ असोज । तर, नाकाबन्दीका कारण रक्सौल भन्सार पास हुन नसकेपछि प्रकाशक र उपन्यासकार दुवै विलखबन्दमा छन् ।
भन्सारमा किताब अड्केकै कारण विमोचनको मिति सार्नेमा फिनिक्स बुक्स पनि पर्छ । दसैँअघि नारायण ढकालको कथासंग्रह विमोचन गर्ने अन्तिम तयारीमा जुटेका प्रकाशक नाकाबन्दीका कारण किताब अड्किएपछि के गर्ने र कसो गर्नेको मनोदशामा छन् । प्रकाशक जगदीश अधिकारी भन्छन्, “नाकाबन्दीले रनाहा पारेको छ ।” पद्मश्री साहित्य सम्मान प्राप्त गरेपछि फिनिक्सले पुन:मुद्रणका लागि पठाएको उपेन्द्र सुब्बाको लाटो पहाड र खोलाको गीत पनि रक्सौल नाकामै अड्किएका छन् भने नयाँ साजसज्जाका साथ पुन:मुद्रण गरिएको मोहन मैनालीको उपल्लो थलो पनि नाकाबन्दीकै कारण नेपाली बजारमा आउन पाएको छैन । पारिजातको उपन्यास शिरीषको फूल र कथासंग्रह मैले नजन्माएको छोरोको प्रकाशन अधिकार प्राप्त गरेको फिनिक्सले यी दुवै किताब छापे पनि नाकाबन्दीका कारण बजारमा पुर्याउन सकेको छैन । पत्रकार गोपाल खनालद्वारा लिखित भूराजनीति र स्वप्निल स्मृतिको कवितासंग्रह बाडुली र सुदूर सम्झना पनि रक्सौल नाका कट्न सकेको छैन । जगदीश भन्छन्, “नाकाबन्दीले १० लाख रुपियाँ बराबरको किताब फ्रिज भएको छ ।”
फाइनप्रिन्टका प्रकाशक निरज भारीका अनुसार बुद्धिसागरको उपन्यास फिरफिरेको बजार प्रवद्र्धनका निम्ति फाइनप्रिन्टले दुई लाख रुपियाँ खर्चिसकेको थियो । विमोचनको मिति तोकीवरी छापिसकेको निमन्त्रणा कार्डसमेत खेर गयो । भारी भन्छन्, “फिरफिरेको बजार प्रवद्र्धनमा म्युजिक भिडियो र रिङ ब्याक टोनसमेत बनाइसकेका थियौँ ।”
विमोचनको मिति तय भएका मात्रै होइनन्, पुन:मुद्रण गरिएका कैयौँ किताब भन्सार नाकामै अड्किएका छन् । बुक हिल प्रकाशनले नयाँ साजसज्जाका साथ पुन:मुद्रण गरेको मदनमणि दीक्षितको उपन्यास मेरी नीलिमा र अश्विनी कोइरालाको जुकरवर्ग क्याफेको तेस्रो संस्करण पनि भन्सार नाकामै अलपत्र परेका छन् । प्रकाशकमध्येका एक पवन आचार्य दुखेसो सुनाउँछन्, “रुम् कि हाँसम् भइएको छ ।” आचार्यका अनुसार नाकाबन्दीका कारण उनको प्रकाशनका निम्ति गरेको झन्डै २० लाख रुपियाँ फ्रिज भएको छ ।
फाइनप्रिन्टले प्रकाशन गरेको प्रशान्त झा लिखित ब्याटल्स् अफ दी न्यू रिपब्लिकको नेपाली अनुवाद गणतन्त्रको संघर्ष पनि रक्सौल भन्सारबाट तर्न सकेको छैन । मदन पुरस्कार प्राप्त गरेपछि पुन:मुद्रण गरिएको विजयकुमारद्वारा लिखित खुसीका १० हजार प्रति पनि रक्सौल नाकामै थन्किएका छन् । नयनराज पाण्डेको उलार, हरिवंश आचार्यको चिना हराएको मान्छेको पुन:मुद्रित प्रति र केही बालसाहित्यका किताब पनि भन्सारमै छन् । भारी भन्छन्, “ऋण खोजेर किताब छापेका थियौँ, ब्याज नै तिर्न नसक्ने भयौँ ।”
नाकाबन्दीको मारमा पर्ने अर्को प्रकाशन गृह हो, कथालय । दसैँअघि नै विमोचनको तयारी गरेर छापिइसकेका दुई उपन्यासका लागि कथालयले विमोचनको साइत निकाल्न सकेको छैन । “नेपालमै छापिए पनि विमोचनको साइत जुराउन सकेनौँ,” प्रकाशक राजीवधर जोशी भन्छन्, “नाकाबन्दीमा विमोचन पनि के सम्भव होला र खै ?” सञ्जय अधिकारीद्वारा लिखित उपन्यास धर्सो र शिवानी न्यौपानेद्वारा लिखित उपन्यास क्रसिङ स्याडोज दुवै जारी नाकाबन्दीका कारण विमोचन भएनन् । जोशी भन्छन्, “विमोचन गरे पनि बजारमा किताब पठाउन सकिने अवस्था छैन । सिंगो समाज नै अस्तव्यस्त भएका बेला किताब पढ्ने पाठक पनि छैनन् ।” प्रकाशनको अन्तिम तयारीमा रहेका अन्य पुस्तक पनि जोशीले छापाखाना पठाउन सकेका छैनन् । कथालयले नै ल्याउन लागेको नेपाली मिडियामाथि लेखिएको किशोर नेपालद्वारा लिखित पुस्तक मिडिया नाकाबन्दीकै मारमा छ । जोशी भन्छन्, “झन्डै ४० लाखको हाराहारीको पुस्तक बजार नआउँदा ठप्पै भएको छ ।”
नाकाबन्दीका कारण अधिकांश प्रकाशन गृहका प्रकाशन तालिकासमेत बिग्रिएका छन् । प्रकाशित पुस्तक बजार पठाउन नसकेपछि प्रकाशनको अन्तिम तयारीमा रहेका किताबको काम पनि रोकिएको छ । फाइनप्रिन्टले सेटिङसमेत भइसकेको नयनराज पाण्डेद्वारा लिखित उपन्यास सल्लिपिर छापाखाना पठाउन सकेको छैन । प्रकाशनका निम्ति अन्तिम काम भइरहेका आधा दर्जनभन्दा धेरै किताब नाकाबन्दीको मारमा परेका छन् ।
नाकाबन्दीकै कारण फाइनप्रिन्टले १० मंसिरबाट सुरु गर्ने भनिएको एनसेल लिटरेचर फेस्टिबललाई पनि पछाडि सारेको छ । राजीवधर जोशी भन्छन्, “अन्तिम सम्पादनको तयारीमा रहेका किताबको काम पनि अगाडि बढाउन सकेका छैनौँ ।” जोशीको भन्दा फरक अनुभव छैन, सांग्रिला बुक्सका मणि शर्माको पनि । प्रकाशनको अन्तिम तयारीमा रहेका डा सरोज धितालको मुक्त आलेखहरू संग्रह र सरिता तिवारीको कवितासंग्रह प्रश्नहरूको सगरमाथा छापाखाना पठाउन सकेको छैन । शर्मा भन्छन्, “कागज अभावका कारण छापाखाना बन्द छन् । नाकाबन्दी नखुलेसम्म किताब छाप्न सकिएला जस्तो छैन । ”लगानी फ्रिज हुँदा र दसैँ र तिहारको किताब बिक्ने समय गुमाउनुपर्दा प्रकाशक त पीडित छन् नै, प्रकाशित किताब पाठकमाझ पुगेपछि आउने प्रतिक्रियाका प्रतीक्षामा रहेका लेखकलाई यस्तो प्रतीक्षा आफैँमा कुतकुती लाग्ने हुन्छ ।
त्यसो त बुद्धिसागर र ब्रजेश दुवैका हातमा छापाखानाबाट आएको एकाध प्रति डमी किताब भने नपरेको होइन । तर, पाठककहाँ पुगेर प्रतिक्रिया नआएसम्म लेखकको मन शान्त हुँदैन । ब्रजेश भन्छन्, “छटपटी असाध्यै धेरै हुँदो रै’छ । साढे दुई वर्ष लगाएर लेखेको किताबको प्रतिक्रिया सुन्ने रहर कसलाई हुँदैन र ?”
अहिलेको अवस्था लेखकहरूलाई परीक्षाको नतिजा निकालिसकेको तर नतिजा हातमा नपरेको विद्यार्थीको जस्तो भएको छ । किताब बजारमा आउन लाग्दाको जोश बिस्तारै हराउँदै गएको छ । बुद्धिसागर भन्छन्, “अनौठो मनोदशामा बाँचिरहेको छु । दिनभरि नाका खुल्छ कि भन्ने आशा गर्छु । साँझ परेपछि आफैँसँग रहेको डमी प्रति सुम्सुम्याएर सुत्छु ।”
सम्बन्धित
भोको बिहान बोकेर, सँधै सँधै उदाइरहने, मेरा हत्केलाका ठेलाहरू हेर, लेख्न सक्छौ तिमी, मेरा अ...
पोस्टमार्टम स्थलबाट सूर्यबहादुर तामाङको आग्रह
जुत्ताको तलुवामुनि, सदियौँदेखि कुल्चिएका छौ तिमीले - मेरो अस्तित्व । (कविता)...
म निसास्सिइरहेको छु
मैले तिमीलाई गाउँ गाउँ अनि दलित, गरिबका बस्ती बस्तीमा आउ भनेको थिएँ । तर तिमी त सहर-बजारका...
गणतन्त्र
गाउँभरि युवाहरूको अभावमा खेत बाँझो देख्न नसकी, घरका हल गोरुसँगै, आफ्नो पनि हत्या गर्ने वृद...
एक बौद्धिकलाई प्रश्न
मेरो अन्त्यको अर्थहीन विलम्बबीच म सोचमग्न छु- अविलम्ब जागृत हुनुपर्ने मानिस कहाँ छ ? (कवित...
सृष्टिमा अन्तिम सेतो जिराफ
सत्तालाई सबैभन्दा बढी झोँक चल्छ, जब चिच्चाउन थाल्छ कोही नाङ्गो मानिस... ...