नाक्चेनाङ्ला सडक — १० वर्षमा १४ किलोमिटर

  • तिब्बती सीमा नाक्चेनाङ्ला जोड्ने सडक निर्माण सुस्त

- राजबहादुर शाही

मुगुको सदरमुकाम गमगढीदेखि तिब्बती सीमा नाक्चेनाङ्लासम्मको दूरी जम्मा ८५ किलोमिटर छ । राष्ट्रिय योजना आयोगले पूर्वी व्यापारिक नाकाका रूपमा यसलाई प्राथमिकतामा राखेको पनि हो । तर, सडक डिभिजन कार्यालयले विगत १० वर्षमा जम्मा १४ किलोमिटर ट्रयाक मात्र खोलेको छ । सुस्त गति हेर्दा सडक निर्माण सम्पन्न गर्न अझै २० वर्ष लाग्ने अनुमान छ ।

 

सरकारले मुगुको तिब्बत नाका खोलेर सामान आयातमा सहज बनाउन चीनसँग सम्झौता गरिसके पनि सडक निर्माण कार्यले तीव्रता लिन सकेको छैन । गमगढीदेखि तिब्बत जोड्ने सडक निर्माणका लागि बर्सेनि तीन करोड बजेटको ठेक्का खोलेर निर्माण कार्य भइरहेको सडक डिभिजन कार्यालय जुम्लाका प्रमुख नारायणदत्त भण्डारी बताउँछन् । भन्छन्, “चालू आव २०७२/७३ मा नौ करोड रुपियाँको ठेक्का खोल्ने प्रक्रिया अघि बढाइसकिएको छ ।”

कर्णाली अञ्चलका पाँच जिल्ला मुगु, हुम्ला, डोल्पा र कालीकोटमध्ये मुगु र हुम्लामा तिब्बत नाका पर्छन् । दुर्गम क्षेत्र विकास समितिबाट इन्जिनियरको टोली खटाएर विस्तृत सर्वे डिजाइन गरेको १० वर्षपछि कछुवाको गतिमा निर्माण कार्य सुरु भएको छ ।

०४९ सालमा अन्तर्राष्ट्रिय गैरसरकारी संस्था कर्णाली स्थानीय विकास कार्यक्रम ( केएलडीपी)ले गमगढीदेखि सीमा मुगु गाउँसम्म फराकिलो घोरेटो बाटो निर्माण गरेपछि त्यहाँ स्थानीयको आवतजावत सहज भए पनि ११औँ शताब्दीदेखि भेडाको ऊन र नुनको व्यापारबाट सुरु भएको मुगु–तिब्बत सम्बन्ध अहिलेसम्म फराकिलो बन्न सकेको छैन ।

मुगुको सीमा गाउँमा राजस्व संकलन र तिब्बततिर अवैध व्यापार रोक्न भन्सार कार्यालय स्थापना गरिए पनि चिसो मौसम र भौगोलिक विकटताले सरकारी कर्मचारी बस्दैनन् । सीमा मुगु गाउँमा भन्सार कार्यालय सुरक्षाका निम्ति प्रहरी चौकीसमेत छ ।

समुद्री सतहदेखि करिव ४ हजार ९ सय ८६ मिटर उचाइमा रहेको तिब्बतको व्यापारिक नाका नाक्चेनाङ्लाको ह्याजिमारमा बर्सेनि १५ देखि ३० साउनसम्म चिनियाँ हाटबजार लाग्छ । मुगुको माग्री, किम्री, डोल्फु, मुगु, पुलु, डोल्फु गाविसका बासिन्दा घोडा, चौरी, झोवा, खच्चर लिएर हाटबजारमा किनमेल गर्न पुग्छन् ।

किनमेलका लागि तिब्बत जाने स्थानीय तिब्बती व्यापारीबाट ठगिने गरेका छन् । उनीहरूकै मूल्यमा सामान किन्नुपर्ने बाध्यता छ । सरकारले मुगुको तिब्बत नाका पहिले नै खोलिदिएको भए अहिले भारतीय नाकाबन्दी खेप्नु नपर्ने स्थिति रहेको उद्योग वाणिज्य संघ मुगुका अध्यक्ष कमल बुढा बताउँछन् । भन्छन्, “छिटो नाका खोलियो भने हाम्रो अपेक्षा पूरा हुन्छ ।”

मुगेलीले यताबाट जाँदा उवा, जौ, स्थानीय फल चुलीका बोक्रा, यार्सागुम्बु, चिराइतो, गुच्ची च्याउ, सतुवा आदि लैजाने र तिब्बतबाट चामल, घिउ, मैदा, नुन, लत्ताकपडा, रक्सी ल्याउने गरेका छन् । तिब्बतको ह्याजिमारदेखि गाडी चढेर तीन घन्टाको समयमा कैलाश मानसरोवरको प्रमुख सडक पुग्न सकिन्छ । हुम्लाको तिब्बत नाका हिल्साभन्दा मुगु–तिब्बत नाका छोटो र सहज मानिन्छ ।

गमगढीदेखि पैदल मार्गबाट तिब्बत नाका पुग्न चार दिन लाग्छ । मुगु र तिब्बत सीमासम्म सडक सञ्जालले जोडियो भने समान आयातसँगै रारा हेर्न चिनियाँ पर्यटक भित्रिने अपेक्षा गरिएको छ ।

हिमपातका कारण उक्त नाका पुस, माघ, फागुन र चैतसम्म अवरुद्ध भए पनि अन्य आठ महिना खुला रहन्छ । तिब्बतले सीमा क्षेत्र ह्याजिमारमा भन्सार कार्यालय स्थापना गरेको छ । मुगुको पूर्वी तिब्बत सीमा क्षेत्रमा आदिवासी जनजातिका १२ गाउँ छन् । उनीहरूका रहनसहन, भेषभूषा, धर्म–संस्कृतिका आ–आफ्नै विशेषता छन् ।

समुद्री सतहदेखि १२ हजार ५ सय फिट उचाइमा रहेको मुगु गाउँको दृश्य रमणीय छ । यो सुक्खा मरुभूमिमा मानव बस्ती रहेको जिल्लाकै एक मात्र गाउँ हो । गमगढीदेखि सीमा तिब्बतको यात्रा गर्न कठिनाइ छैन । बीच बाटोमा पर्ने लुम्स, छाइल, ढुंगेधारा, पुलु र चितै बगरमा होटलको व्यवस्था छ ।

यहाँ तामाङ जातिको बाहुल्य छ । यहाँका जनजाति बाहै्रमास व्यापार व्यवसायबाट आत्मनिर्भर छन् । घरघरै होमस्टेको अवधारणा ल्याएका छन् । मुगेली जनजाति चौरी, झोवा, घोडा लिएर तिब्बतमा व्यापार गर्न जान्छन् । तिब्बतबाट फर्कंदा नुन, तेल, साबुन, मैदा, घिउ, चिया, रक्सी, कम्मल, मिठाईजस्ता हरेक प्रकारका सामानसहित जुस, भाँडाकुँडा वा खसी, च्याङ्ग्रा ल्याउँछन् । व्यापारको प्रमुख आयस्रोत नै पाटन क्षेत्रको बहुमूल्य जडीबुटी यार्सा हो ।

मुगु–तिब्बत सीमासम्म जोड्ने सडक चाँडो निर्माणका लागि मन्त्रालयमा पहल भइरहेको स्थानीय विकास अधिकारी प्रह्लाद पुडासैनीको भनाइ छ । “मुगुको तिब्बती नाका अत्यन्तै सहज छ । सरकारले प्राथमिकतामा राखेर छिटो खोलिदिनुपर्छ,” पुडासैनी भन्छन्, “यो नाका खोलियो भने समग्र देशलाई सामान आयातमा टेवा पुग्ने अवस्था छ ।” 

प्रकाशित: पुस ७, २०७२

×