अल्बानियाको आख्यान
सन् १९४३ मा अल्बानियामाथि जर्मनीले आधिपत्य कायम गर्ने र त्यसपछिका घटनाचक्रलाई उपन्यासको प्रमुख विषयवस्तु बनाएका छन्, इस्माइल कादरीले आफ्नो उपन्यास द फल अफ द स्टोन सिटी अर्थात् ढुंगे सहरको अवसानमा ।
समय : दोस्रो विश्वयुद्धको । इटालीका तत्कालीन शासक बेनिटो मुसोलिनीको आदेशमा सन् १९३९ अप्रिल ७ मा जनरल अलफ्रेडो गुजोनी नेतृत्वको फौजले अल्बानियाका राजा जोग (जोगु)माथि विजय प्राप्त गर्यो । उनको यो आक्रमण रणनीतिक थियो । उनी अल्बानियाबाट ग्रीस हुँदै अन्य छिमेकी मुलुकमाथि आधिपत्य कायम गर्न चाहन्थे । तर, लक्ष्यमा भने सफल हुन सकेनन् । बरू, एडोल्फ हिटलरका नाजी सैन्यले युगोस्लाभिया, ग्रीसजस्ता छिमेकी मुलुकका साथसाथै अन्तत: इटाली नियन्त्रित अल्बानिया पनि आफ्नो अधिनमा लियो ।
सन् १९४३ मा अल्बानियामाथि जर्मनीले आधिपत्य कायम गर्ने र त्यसपछिका घटनाचक्रलाई उपन्यासको प्रमुख विषयवस्तु बनाएका छन्, इस्माइल कादरीले आफ्नो उपन्यास द फल अफ द स्टोन सिटी अर्थात् ढुंगे सहरको अवसानमा । अल्बानिया इतिहासका विभिन्न कालखण्डमा तानाशाहबाट शासित मुलुक हो । अटोम्यान शासनताका क्रिस्चियन धर्म मान्ने अल्बानियालीहरू इटाली, ग्रीस, इजिप्टलगायतका मुलुकमा शरण लिन गएका थिए । नभागेका वा अल्बानियामा नै रहेकाहरू भने धर्म परिवर्तन गरेर मुस्लिम बने । भनिन्छ, अठारौँ शताब्दीसम्ममा दुईतिहाइ अल्बानियालीहरूले धर्म परिवर्तन गरेका थिए । ठूलो संख्यामा मुस्लिम जनसंख्या बनाउन सफल भएकै कारण सन् १९१३ सम्म अटोम्यान शासन टिकेको थियो ।
यस्तै विभिन्न ऐतिहासिक घटना कादरीका उपन्यासका प्रमुख विषयवस्तु हुन् । विशेष गरी उपन्यासले हिटलरका नाजी सैन्य अल्बानियामा आएदेखि कम्युनिस्ट शासनसम्मको घटनाक्रमलाई समेट्छ । जर्मनी सैन्य स्वघोषित ‘स्वतन्त्रताका पुजारी’को भेषमा अल्बानिया छिरेपश्चात्को पहिलो स्टेसन हो, जिरोकास्टर अर्थात् प्राचीन ‘स्टोन सिटी’ । यही सहर र यसको वरिपरि विकसित घटना र मुख्यत: यस सहरले देख्नु/भोग्नुपरेका सन्दर्भहरूको सेरोफेरोमा कथा घुमेको छ । सोही सहरमा एउटै नामधारी दुई जना डाक्टर बस्थे, जसलाई छुट्याउन ‘बिग डाक्टर गुरामेटो’ र ‘लिटिल डाक्टर गुरामेटो’ भन्ने गरिन्थ्यो । भूमिकाका आधारमा पहिलो डाक्टर प्रमुख पात्र हुन् ।
हुन त नाजी फौजका अघि अल्बानियालीसामु आत्मसमर्पणको विकल्प थिएन । यद्यपि, केहीले प्रतिकारस्वरूप जर्मनका मोटरसाइकलमाथि आक्रमण गरेपछिको परिणामस्वरूप सयौँ अल्बानियालीलाई नाजी सैन्यले बन्दी बनाइसकेका थिए । तर, कथाले एक फरक मोड तब लिन्छ, जब बिग डाक्टर गुरामेटोले नाजी फौजका कमान्डर फ्रिज भोन स्वाबेलाई एक विशिष्ट आतिथ्यताका साथ आफ्नै घरमा रात्रिभोज गरेर स्वागत गर्छन्, सन् १९४३ सेप्टेम्बर १६ मा । युद्घले थकित र बूढा देखिने सैन्य कमान्डर र डा गुरामेटो विश्वविद्यालय पढ्दाका साथी थिए । तर, यही विषयलाई लिएर अल्बानियाली जनता दुई खेमामा बाँडिन्छन्, डाक्टर देशद्रोही या राष्ट्रसेवक ?
कमान्डरसँगको चिनाजानी र डाक्टरको प्रयासको परिणामस्वरूप नाजी फौजले बन्दी बनाइएकाहरू छुट्छन्, जसमा सामान्य अल्बानियालीका साथै एक प्रसिद्ध औषधि व्यापारी यहुदी पनि थिए । डाक्टरका प्रशंसकले उनलाई एक कुशल कूटनीतिज्ञ भनेर उनको सफलताका प्रशंसा गरे भने विपक्षीहरूले जर्मनीमा पढेको स्त्रीरोग विशेषज्ञ डाक्टरले शत्रुलाई आतिथ्यता गर्यो भनेर उनको खोइरो खने ।
डाक्टरलाई त्यतिबेला समस्या पर्छ, जब दोस्रो विश्वयुद्धको समाप्तिपछि अल्बानियामा कम्युनिस्टहरूको शासन सुरु हुन्छ । उनीहरूले डाक्टरलाई नाजीहरूसँग सहकार्य गरेकामा आलोचना मात्र गरेनन्, नाम मिलेकै कारण दुवै डाक्टर यातनाको भागिदार बन्छन् । मुख्यत: यहुदीलाई छुटाएको विषयलाई लिएर डाक्टरलाई बढी नै केरकार गर्छन् । जर्मनका शत्रु मानिने यहुदीलाई समेत छुटाएको यो घटनालाई एक शंकास्पद देशद्रोही घटनाका रूपमा हेरिन्छ । यस घटनाका अनुसन्धानकर्ताले दबाब दिँदै सोध्छन्, ‘तपाईंले भनेका सब कुरा साँचा हुन् । तर, यी सब कुरा हामीलाई थाहा छन् । हामीलाई बाँकी कुरा भन्नूस्, जुन हामीलाई थाहा छैन ।’ कथाको पछिल्लो भागमा त्यहाँ आएका सैन्य कमान्डर भोन स्वाबे साँच्चै डाक्टर गुरामेटोका पुराना मित्र थिए वा अरू कोही ? यो रहस्यले विशेष स्थान पाउँछ ।
भनिन्छ, इतिहास आफैँमा पनि शतप्रतिशत सत्य हुँदैन । इतिहासमा पनि केही न केही बढाइ–चढाइ हुन्छ भने इतिहास लेखन प्राय: शक्तिबाट सञ्चालित हुन्छ र सोही अनुसार लेखिन्छ र लेखाइन्छ । अर्कातर्फ साहित्य जहिले पनि कपोलकल्पित मात्र हुँदैन, बरू सामाजिक, राजनीतिक, सांस्कृतिक, घटना तथा परिघटनाबाट प्रभावित हुन्छ । यो उपन्यासमा वर्णित घटना पनि तत्कालीन समयका उपज हुन् । जर्मनी, इटाली, अल्बानिया, रुसजस्ता युरोपेली देशमध्ये बीसौँ शताब्दीको तत्कालीन सम्बन्धलाई यो उपन्यासले प्रतिनिधित्व गर्छ । जर्मनी—इटाली समूहको हारपछि विजेता बनेका रुसलगायतका मुलुकले हारेका मुलुकमाथि गरेको व्यवहारको चित्रणको एक प्रतिनिधि पात्र डाक्टर गुरामेटो आफैँ हुन् ।
उपन्यासमा शतप्रतिशत सत्यको दाबी गर्न नसकिए पनि तानाशाह र कम्युनिजमको चेपुवामा परेको डाक्टर गुरामेटो तत्कालीन युरोपेली राजनीतिक अवस्थाको प्रतिनिधि पात्र भने अवश्य नै हुन् । पुरातन शैलीमा समयको क्रमबद्घताका साथ (१९४३, १९४४, १९५३) लेखिएको यो उपन्यास व्यंग्यवाण, उत्सुकता र यथार्थता मिश्रित अल्बानियाको मध्य बीसौँ शताब्दीको ‘फिक्सनलाइज्ड हिस्ट्री’ अर्थात् आख्यानिक इतिहास हो ।
द फल अफ द स्टोन सिटी
लेखक : इस्माइल कादरी
अंग्रेजी अनुवाद : जोन हंगसन
प्रकाशक : क्यानोनगेट
पृष्ठ : १६८
सम्बन्धित
भोको बिहान बोकेर, सँधै सँधै उदाइरहने, मेरा हत्केलाका ठेलाहरू हेर, लेख्न सक्छौ तिमी, मेरा अ...
पोस्टमार्टम स्थलबाट सूर्यबहादुर तामाङको आग्रह
जुत्ताको तलुवामुनि, सदियौँदेखि कुल्चिएका छौ तिमीले - मेरो अस्तित्व । (कविता)...
म निसास्सिइरहेको छु
मैले तिमीलाई गाउँ गाउँ अनि दलित, गरिबका बस्ती बस्तीमा आउ भनेको थिएँ । तर तिमी त सहर-बजारका...
गणतन्त्र
गाउँभरि युवाहरूको अभावमा खेत बाँझो देख्न नसकी, घरका हल गोरुसँगै, आफ्नो पनि हत्या गर्ने वृद...
एक बौद्धिकलाई प्रश्न
मेरो अन्त्यको अर्थहीन विलम्बबीच म सोचमग्न छु- अविलम्ब जागृत हुनुपर्ने मानिस कहाँ छ ? (कवित...
सृष्टिमा अन्तिम सेतो जिराफ
सत्तालाई सबैभन्दा बढी झोँक चल्छ, जब चिच्चाउन थाल्छ कोही नाङ्गो मानिस... ...