भ्रमित पात्रको फेहरिस्त

- निशान्त खनाल

दोस्रो पुस्तक, अझ भनौँ उपन्यास धेरै नेपाली लेखकका निम्ति सकस बनिदिन्छ । अथवा, पाठकको अपेक्षा ठूलो हुन्छ र त्यो पुग्दैन । अपवादबाहेकका लेखक आफ्नो दोस्रो पुस्तक चाँडै सक्न हतारिएको जस्तो देखिन्छन् । वा, आफ्ना प्रशंसकको कुरा बढी पत्याउँछन् र नयाँ वा आमपाठकलाई भन्दा आफ्ना प्रशंसकलाई खुसी पार्न र उनीहरूको पर्खाइको पीडालाई कम गर्ने हतारोमा पुस्तकलाई माझ्ने फुर्सद पाउँदैनन् । आफ्नो पहिलो उपन्यास यायावरपछि दोस्रो उपन्यास लिएर आएका ब्रजेशको जुनेली पढ्दै गर्दा केही कुरामा उनी पनि सकसमा परेको भान हुन्छ ।

यायावर नियतिले ठगेको एउटा फिरन्तेको कथा थियो । जुनेली त्यही किताबको यायावर अर्थात् वैकुण्ठकी श्रीमती जुनेलीको कथा हो, वैकुण्ठचाहिँ यायावरको प्रमुख पात्र । आफ्नो पहिलो पुस्तकमा जुनेलीलाई उचित ठाउँ नदिएर अन्याय गरेका लेखकले यस पुस्तकमा भने उसलाई न्याय दिलाउने प्रशस्त प्रयास गरेका छन् । यसमा जुनेलीले आफ्नो कथा भन्छे अनि हराउँछे । यायावर पढिसकेका कतिपय पाठकले यो पुस्तक पढेपछि यी दुई कथाका पात्र र प्रसंगलाई आवश्यक ठाउँमा जोड्छन् र बिर्सिसकेको कथा सम्झन्छन् । यायावर नपढेका पाठकका लागि पनि कथावस्तु बुझ्न गाह्रो पर्दैन । किताब पढेपछि बुझिन्छ यो जुनेली मात्रको पनि कथा होइन ।

यसभित्रको एक पात्र, जो आफूलाई लेखक भएको र आफूले अहिलेसम्म ५० उपन्यास लेखिसकेको र यायावर पनि आफैँले लेखेको दाबी गर्छ, उसको पनि कथा हो । जसमा, एउटा लेखक कसरी आफ्ना पात्रसँग जोडिन्छ भनेर उपन्यासकारले आफ्नै छटपटी र व्यग्रतालाई देखाउन खोजेका छन् । त्यो यस पुस्तकभित्र देखा पर्ने सामान्य कथाभन्दा भिन्न बनेको छ र एक लेखकको मनोदशाको वर्णन गर्न सफल उपकथाका रूपमा यसलाई बुझ्न सकिन्छ । साहित्य तथा लेखकीय विधासँग रूचि राख्ने कतिपय पाठकका लागि जुनेलीको कथाभन्दा लेखकको छटपटी आफ्नो र नजिकको लाग्न पनि सक्छ । यसले पुस्तकलाई एक आम र अति सामान्य वर्णनात्मक उपन्यास हुनबाट जोगाएको छ । यायावर पढेका पाठकलाई  ५० वटा किताब लेखिसकेको दाबी गर्ने ‘डिल्युजनिस्ट’ पात्र चिराग र उसकी मनोचिकित्सक सेफालिकाको संवादबाट सुरु हुने यो उपन्यास पूर्णत: नयाँ परिवेश र कथामा आधारित छ । तर, यही नै उपन्यासको मूलकथा भने होइन ।

आफ्नो पहिलो उपन्यासमा जस्तै उपन्यासकारले यसमा पनि जुनेलीको कथा भन्नुपूर्व अर्को कथा सिर्जना गरेका छन् । कतिपय ठाउँमा त जुनेलीभन्दा चिराग हावी भएको पनि देखिन्छ । पाठकहरू एकातिर चिरागलाई के कस्तो भयो होला भन्ने उकुसमुकुसका माझ जुनेलीको कथा पढ्छन् भने अर्कोतर्फ जुनेलीका विषयमा नै लेखिएको कथामा उसले पाउनुपर्ने स्थान र आकर्षण चिराग बनिदिन्छ । यस अवस्थामा पाठकले मूल पात्रलाई भन्दा सहायक पात्रलाई अझ नजिकबाट राम्रोसँग चिनेको महसुस गर्छन् । सायद उपन्यासकारले चिरागलाई मूल पात्र बनाएर आफ्नो तेस्रो कृति लेख्ने विचार गरेका छन्, त्यसैले यो पात्रमाथि निकै मिहिनेत गरेका पनि छन् ।

यायावरमा न्याय नपाएकी, आफ्नो कुरा सुनाउन नपाएकी जुनेली आफ्नो कथा लेखाउन इन्स्पेक्टर प्रतापमार्फत लेखक चिरागलाई भेटेर आफ्नो कथा भन्छे । चिराग उसलाई भेट्छ । आफ्नो मिल्ने साथीकहाँ बस्ने व्यवस्था मिलाउँछ अनि उसको कथा लेख्छ । तर, यी सब उसका कल्पना हुन् कि साँच्चिकैका घटना, यसका बारेमा उपन्यासले प्रस्ट पार्दैन । उता समाज चिरागलाई पागलको उपमा दिन्छ । चिरागले लेखेको जुनेलीको कथा उसकी मनोचिकित्सक सेफालिकाले पढ्छे र पाठकसम्म आइपुग्दा यो उपन्यास जुनेलीको मात्र नभई चिराग, कमल र सेफालिकाको कथा बनेर आउँछ । यसर्थ, जुनेलीमा जुनेली मात्र भेटिन्न ।

जुनेलीको कथा छोटो छ– ऊ हाम्रै समाजकी एउटी नारी हो, जो आफूले गरेको सानो गल्तीकै कारण आफ्नो पतिव्रता, धर्म र राम्रो गृहस्थी जीवन निर्वाह गर्न नसकेको पश्चात्तापमा एक्लो जीवन बाँचेकी छे । उसको वैकुण्ठ अनि कालो रामबीच के कस्तो सम्बन्ध थियो, उनीहरूको विवाह कसरी भयो अनि वैकुण्ठ सहर छिरेपछि ऊ गाउँमा कसरी बसी भन्ने कथा यायावरमा पढिसकेका पाठकले अनुमान लगाउन सक्छन् । उपन्यासकारले जुनेलीलाई काठमाडौँ भित्र्याउँछन्, वैकुण्ठलाई घर फर्काउन जुनेलीले गरेका काम र संघर्षको वर्णन गर्छन् र उपन्यास तथा यसका पात्रलाई नयाँ ‘सेटिङ’मा बुन्ने प्रयास गर्छन् । यी वर्णन पढ्न रमाइला छन् ।

२ सय २० पृष्ठको उपन्यासमा नयाँ कुरा केही छैन । भाषाशैली सपाट र परम्परागत छ । लेखनमा जम्दै गरेको पछिल्लो पुस्ताले एउटा नयाँ शैली स्थापित गरेको छ, जुन यसमा देख्न सकिँदैन । चलचित्र लेखिरहने बानी परेका ब्रजेशले यो उपन्यासलाई पनि उस्तै शृंगार दिन सक्दो प्रयास गरेका छन् । तर, केही कथानक प्रसंग अनुसारका छैनन् । छाडा शब्दहरूको प्रयोगमा उनी साह्रै उदार देखिन्छन्, आवश्यक ठाउँमा होइन, जबर्जस्ती त्यस्ता शब्द राख्नुको औचित्य देखिँदैन । त्यससँगै पात्रलाई माध्यम बनाएर लेखकले आफ्नो दर्शन भरपूर थोपरेका छन् । पात्रको मनोदशा वर्णन गर्दा उनले प्रशस्त मिहिनेत गरेका छन् र थुप्रै अनुच्छेद सिर्जना गरेका छन्, जुन कतिपय ठाउँमा अनावश्यक लाग्छन् । किताबको मुख्य समस्याचाहिँ सम्पादनको हो । कैँची चलाउनुपर्ने थुप्रै ठाउँ हुँदाहुँदै पनि सम्पादक आवश्यकताभन्दा बढी उदार भइदिएकाले त्यसको प्रतिफल पुस्तकले बेहोर्नुपरेको छ । 

प्रकाशित: फाल्गुन २०, २०७२

×