पुस्तक -- कसरी एक्लो नायक ?
एक चर्चित लेखकको मामुली उपन्यास मात्र हो, एक्लो नायक । ‘सिल्भर एज’मा ‘गोल्डन पुस्तक’ पर्खेका पाठकलाई लेखकले न्याय गर्न सकेका छैनन् ।
हिट हुनु हरि अधिकारीको विशेषता हो । उनका समीक्षा र अन्तर्वार्ता हिटै छन् । उनको पहिलो कथासंग्रह रामलालको आकाश (विसं २०३९) पनि हिटै भयो । त्यसलाई उनले काका रामचन्द्र अधिकारी र प्रेमिका सरोजा उदासका नाममा समर्पण गरेका छन् । परशु प्रधानको पुस्तक केही अनुहार, केही क्षण (०५१) मा उनले सरोजाबारे खुलाएका छन्, ‘तीन वर्ष सँगै बसेर पनि विवाह हुन नसकेकी पहिलेकी प्रेमिका ।’
समर्पणको सिलसिला त्यत्तिमै टुंगिँदैन । हालै आएको उपन्यास एक्लो नायकमा लेखिएको छ, ‘समर्पण सन्त नेता किसुनजीमा ।’ तर, ‘किसुनजीको सच्चा जीवनकथा लेख्छु’ भन्ने कबुलेर उनले फेरि एकपटक आफ्नो चिरपरिचित आलोचक छवि नै बिर्सिएका छन् ।
विधागत रूपमा एक्लो नायक एकदमै अस्पष्ट स्थितिमा छ । लेखककै शब्दमा यो न विशुद्ध आख्यान हो, न त ऐतिहासिक वृत्तान्त । यस प्रकरणमा उनीमाथि आख्यानमा खेलाँची ठानेको बात लाग्न पनि सक्छ । के उनले आख्यानमाथि बुझ्दै नबुझी दर्जनौँ समीक्षा लेखेका हुन् त ?
उपन्यास सन्त नेता कृष्णप्रसाद भट्टराईमाथि लेखिएको छ । यसको थालनी मृत्युप्रसंगबाट हुन्छ । सुरुका तीन अध्यायमा ८७औँ जन्मोत्सव, अस्पताल बसाइ या पट्याङपुटुङ अंग्रेजीले उपन्यासको राम्रै छनक दिन्छन् । त्यसपछि उपन्यास इतिहासका पाठहरूले पुरिँदै जान्छ । उपन्यासै हो कि भन्ने भ्रम पनि टुट्दै जान्छ ।
पक्कै पनि नेपाली समाजमा किसुनजीका अनेक किस्सा छन् । उमेर पुगेका तन्नेरी । अविवाहित तर कुमार होइन भन्ने वक्रोक्ति । पान, चुरोट र मदिराको कडा अम्मल । स्मित हास्य, विनोदप्रिय स्वभाव । तर, सारा कृष्ण–लीला यसमा अटाउन सकेका छैनन् ।
दाजु गोपालप्रसाद भट्टराई ‘भारत छोडो’ आन्दोलनमा जेल परेपछि राजनीतिक प्रभावमा परेका र वनारस विश्वविद्यालयको छात्र संघको उपाध्यक्ष भएपछि प्रोफेसर बन्ने सपना त्यागेका किसुनजी गणेशमान हुँदै बीपीको सम्पर्कमा पुग्छन् र २६ वर्ष पुग्दा नपुग्दै नेपाली कांग्रेसको केन्द्रीय
सदस्य बन्छन् ।
दुईपटक नेपालको प्रधानमन्त्री भएका किसुनजीको शान्तिपूर्ण र सम्झौताहीन राजनीतिक संघर्ष पुस्तकको पेटबोली हो । खास गरी राजालाई बिन्तीपत्र नहाल्दा बीपी कोइराला र गणेशमान सिंहभन्दा २२ महिनापछि रिहा भएको विषयलाई प्राथमिकता दिएका छन् लेखकले । नौ वर्ष नौ महिना लामो बन्दी जीवन बिताएपछि उनले भनेछन्, ‘म पञ्चायतको एक नम्बर शत्रु हुँ ।’
उपन्यासका नायक किसुनजी हुन् । तर, चर्चा उनको भन्दा अरू पात्रको ज्यादा छ । किसुनजीको प्रसंग त कति बेला आउला भनेर पर्खनुपरेको छ पाठकलाई । लेखकले मुख्य चरित्रको झलक दिएका छन्, चरित्रको झाँकी दिन सकेका छैनन् । पाँच वर्षअगाडि दिवंगत नेताका बारेमा यसले खासै नयाँ जानकारी दिँदैन । विभिन्न ठाउँमा छरिएका सामग्री एकैठाउँमा आएका भने छन् ।
ऐतिहासिक उपन्यासमा लेखकले युग वा युगका घटनालाई ल्याएको छ या युगभित्रका व्यक्तिलाई ? त्यसको विशिष्ट महत्त्व हुन्छ । लेखकले किसुनजीका हरेक कदम स्वाभाविक र न्यायोचित ठहराएका छन् । आफूलाई किसुनजीका असली शिष्यका रूपमा देखाउने क्रममा आएका कतिपय स्तुति वाक्य पाठकलाई असहज लाग्न सक्छ ।
त्यसो त पुस्तकमा थुप्रै विवादास्पद प्रसंग छन् । बीपी कोइरालाका अतिरिक्त सम्बन्ध खोलिदिएका छन् भने विश्वबन्धु थापा र तुलसी गिरीलाई बीपीका ‘राजनीतिक सन्तान’ भनिदिएका छन् । गिरिजाप्रसाद कोइरालालाई राजाको दर्शनभेटपछि पञ्चायतको मन्त्री बन्न खुट्टा उचालेका तर सहायक मन्त्रीको अफरपछि रोकिएको भन्ने खुला आरोप छ । उनलाई पार्टी अनुशासनमा नबस्ने, पार्टीलाई राजाको पाउमा बुझाउन खोज्ने मामुली सम्झौतावादी पनि भनिएको छ । सुशील कोइरालाको भूमिका गिरिजाबाबुको खाली गिलासमा चिया थपिदिने मात्र देखाइएको छ ।
किसुनजीकी निजी सेविका अमिता कपाली कथावाचकका रूपमा छन् उपन्यासमा । ती कति अभागी कथावाचक भने लेखकले तीन अध्यायबाटै अपहरण गरिदिन्छन् । ३१ अध्यायबाट उपसंहारसम्म पुग्दा पनि तिनको सासबास कतै भेटिँदैन ।
पुस्तकमा गणेशमान सिंह, लक्ष्मीप्रसाद देवकोटा, मरिचमान सिंह, शरदचन्द्र शाह, सुन्दरराज चालिसे, रमेशनाथ पाण्डे, रानी ऐश्वर्यसम्मका विवादास्पद चर्चा छन् । किसुनजीले गोरखाबाट ०१५ को आमचुनाव किन हारे ? उनको विवाह किन भएन ? उनका प्रेमप्रसंग थिए वा थिएनन् ? पुस्तक पूरै छिचोल्दा पनि पाठकका यस्ता उत्सुकता मेटिँदैनन् ।
त्यसो त कवि हुनुको अर्थमा हरि अधिकारीको भाषिक विन्यास तारिफयोग्य थियो, छ । त्यसमा ताजापन पनि छ । तर, भाषिक कलाबाजी र रंगरोगनले मात्र उपन्यास सग्लो उभिन सकेको छैन ।
साँच्चै भन्ने हो भने किसुनजीलाई ‘एक्लो नायक’ भन्नुमा पनि कुनै संगति भेटिँदैन । एक्लो नायक कसको ? लेखकको या पाठकको ? कांग्रेसको या कसको ? हजारौँ–लाखौँ कार्यकर्ता र अनुयायी भएका किसुनजी कसरी एक्लो ? विवाह नगरेकाले एक्लो ?
एक चर्चित लेखकको मामुली उपन्यास मात्र हो, एक्लो नायक । ‘सिल्भर एज’मा ‘गोल्डन पुस्तक’ पर्खेका पाठकलाई लेखकले न्याय गर्न सकेका छैनन् ।
एक्लो नायक
लेखक : हरि अधिकारी
प्रकाशक : अनुष्का प्रकाशन
पृष्ठ : ३७१
मूल्य : ४०० रुपियाँ
सम्बन्धित
भोको बिहान बोकेर, सँधै सँधै उदाइरहने, मेरा हत्केलाका ठेलाहरू हेर, लेख्न सक्छौ तिमी, मेरा अ...
पोस्टमार्टम स्थलबाट सूर्यबहादुर तामाङको आग्रह
जुत्ताको तलुवामुनि, सदियौँदेखि कुल्चिएका छौ तिमीले - मेरो अस्तित्व । (कविता)...
म निसास्सिइरहेको छु
मैले तिमीलाई गाउँ गाउँ अनि दलित, गरिबका बस्ती बस्तीमा आउ भनेको थिएँ । तर तिमी त सहर-बजारका...
गणतन्त्र
गाउँभरि युवाहरूको अभावमा खेत बाँझो देख्न नसकी, घरका हल गोरुसँगै, आफ्नो पनि हत्या गर्ने वृद...
एक बौद्धिकलाई प्रश्न
मेरो अन्त्यको अर्थहीन विलम्बबीच म सोचमग्न छु- अविलम्ब जागृत हुनुपर्ने मानिस कहाँ छ ? (कवित...
सृष्टिमा अन्तिम सेतो जिराफ
सत्तालाई सबैभन्दा बढी झोँक चल्छ, जब चिच्चाउन थाल्छ कोही नाङ्गो मानिस... ...