अलिकति जीवन
एउटै विषयवस्तुमा अडिएको हुनाले यसमा अन्य मोटा किताबमा जस्ता थुप्रै पात्र र उपकथा छैनन् । जुडसँग चिनापर्ची हुनेबित्तिकै पाठकलाई यही दु:खी तर साहसी पात्रसँग यात्रा गर्न मन लाग्छ । र, हुन्छ पनि त्यस्तै ।
रगतको नातालाई मात्र ‘आफन्त’का रूपमा परिभाषित गर्न सिकेका हामीले कहिलेकाहीँ मित्रतालाई हलुकासँग लिन्छौँ, सामान्य सम्बन्ध मान्छौँ, अझ महत्त्वहीन ठान्छौँ । शनिबार घरबाहिर निस्किन लागेको छोराले सुन्नुपर्छ, ‘कत्ति त्यही साथीहरूकै पछि लाग्नुपर्ने ? परिवारको वास्ता छैन !’ वा बेस्ट फ्रेन्डसँग बजार डुलेर घर फर्किएकी श्रीमतीसँग श्रीमान् झर्किएला, ‘केचाहिँ कुरा गर्छौ तिमीहरू दिनभरि ?’
अरूले बुझ्नै नसक्ने यो सम्बन्धको गहिराइ एउटा साथीले मात्र भेउ पाउँछ । यही साथीत्वको अनुपम नमुनामा टिकेको छ हान्या यानागिहाराको उपन्यास अ लिटल लाइफ (अलिकति जीवन) । कुनै नौला कथा, अप्रत्याशित घटना र संयोगहरू समावेश नभए पनि यी अमेरिकी उपन्यासकारले पाठकलाई मन्त्रमुग्ध पार्ने कृति रचेकी छन् । उनको मोटो कृतिको अन्तिम पानामा पुगेपछि लाग्छ, यति जीवन्त चरित्र चित्रण न कुनै उपन्यासमा भएको थियो, न त मित्रताको यस्तो मिहिन उत्खनन कुनै कथामा समेटिएको थियो । मित्रता र सम्बन्ध, प्रतिबद्धता र प्रेमको अर्थ त यी लेखकले मात्र बुझेकी रहिछन् !
झलक्क हेर्दा हान्याद्वारा उपन्यासमा बुनिएको मित्रता साधारण लाग्छ– क्याम्पसमा पढ्दा चार अल्लारे ठिटाहरू भेट्छन्, सस्ता रेस्टुराँमा खाएर पैसा बचाउँछन्, घुम्न जान्छन् । यस्ता साथीहरूसँग हामी पनि चोक, गल्ली अनि भट्टीमा ठोक्किन्छौँ । चलचित्रका पात्रहरूबीच यस्तो मित्रता कति हो कति !
यो उपन्यासभित्र कोरिएको मित्रता यस्तो चानचुने हुँदै होइन । एउटा साथीले अर्कोको अघि घुँडा टेकेर ‘तिम्रा लागि ज्यान दिन्छु’ भन्ने वा एउटी महिलाले बालसखाका लागि छातीमा गोली थाप्ने नाटकीय मित्रता पनि होइन । यो एउटा बिलकुलै नयाँ मित्रता– किशोरावस्थामै जिन्दगीदेखि विरक्त भइसकेको जुडलाई केवल आफ्नो मायाको बलले मात्रै जिउन बाध्य पारिराख्ने विलेमको मित्रता ।
र, यो मित्रता हाँसखेल, रमाइलो वा भावनाको सहज आदानप्रदानमा टिकेको छैन । यो सम्बन्ध जोगाइराख्न विलेमलाई जति गाह्रो हुन्छ, त्यो पढ्दा मात्र पनि पाठकलाई खलखली पसिना आउँछ । एउटा साथी, त्यो पनि विचित्रको लहडेलाई खुसी बनाइराख्न विलेमको त्याग, उसको साहस अनि प्रयास अतुलनीय छन् । दिनदिनै ब्लेडले आफ्ना नाडी ताछ्ने अनि मनका भावनालाई गुम्स्याएर घिटीघिटी बाँच्ने जुडलाई विलेमले ३५ वर्षसम्म सानो बालकलाई झैँ जोगाइराख्छ । त्यसको अन्त्यमा जुडलाई स्वीकार्न करै लाग्छ, उसलाई जिउने सहारा दिने भनेको केवल मित्रता रहेछ । यस्तो सुन्दर स्वीकारोक्ति र मित्रताको शक्तिको अभिव्यक्ति सायदै कतै अनुभव गर्न पाइएला ।
मित्रताको मन छुने प्रस्तुति मात्र कृतिको सफलता होइन । यसमा अर्को उत्कृष्ट प्रयोग छ, जुडको चरित्र चित्रण । यौनहिंसा र दुराचार खपेका बालबालिकालाई यसले जीवनपर्यन्त पार्ने असरबारे जान्न जुडको कहानी नै काफी छ । १५ वर्षको उमेरसम्म जुडको जीवन नर्कभन्दा पीडादायी हुन्छ । एउटा धर्मगुरुले फकाइफुल्याइ वेश्यावृत्तिमा फसाएपछि उसले दिनकै एक दर्जनजति ग्राहकलाई आफ्नो शरीर सुम्पिनुपर्छ । सातदेखि १५ वर्षसम्मको उमेरमा उसलाई हजारौँ मानिसले भोगिसकेका हुन्छन्, बालबालिकाले सुन्नसमेत नहुने गाली उसले लाखौँपटक सहन्छ, पढ्दा पनि गला अवरुद्ध हुने खालका सजाय उसको कमजोर जीउले पाउँछ ।
किशोरावस्थामा नटेक्दै उसलाई कहिल्यै निको नहुने यौनरोग लागिसकेको हुन्छ । जीवनका यी सुरुआती अनुभवले उसबाट खुसी र विश्वास चोरेर लान्छन् । उसलाई लाग्छ, हरेक लोग्नेमान्छे उसको ग्राहक हो, उसको लुगा खोलेर रगतपच्छे बनाएर छाड्ने मौका मात्र खोज्दै छ । र, यी घटनाका लागि उसले आफैँलाई दोषी मान्छे, उसलाई लाग्छ– ऊ एक कुत्सित व्यक्ति हो, ऊसँग यसै गरी व्यवहार गरिनुपर्छ, ऊ सबैबाट शोषित हुन जन्मिएकी हो किनभने ऊ फोहोरी, संक्रमित, घृणायोग्य र रोगी छे । आफूलाई माया गर्ने थुप्रै मान्छे हुँदा पनि उसले यो मानसिकता त्याग्न सक्दिन । आफू पिल्सिइरहन्छे, नजिकका लागि अञ्जानमै सताइरहन्छे ।
जुडको बनोट र विस्तारले हान्याको असाधारण लेखकीय क्षमतालाई पुष्टि गर्छ । जुडको यति साह्रो माया लाग्छ, उसका ज्ञानी आँखामा हेरेर आश्वासन दिन मन लाग्छ, उसको क्षतविक्षत् ढाडमा मलम लगाइदिन मन लाग्छ, उसको आत्मविश्वास फिर्ता ल्याइदिन मन लाग्छ । उसलाई आश्वासन दिन मन लाग्छ, ‘जुड, तिमी दोषी छैनौ, तिमी असल र पवित्र छौ, तिमी सबैभन्दा उत्कृष्ट मानव हौ ।’ जति ऊ मान्छेहरूसँग तर्सिन्छे, उति पछ्यौरीमै लुकाएर सुरक्षित राख्ने चाह बढ्छ । किताबका पानामा जन्मिएको एउटा मान्छेका लागि यति धेरै माया लेखकको शिल्पले मात्र आउँछ ।
विलेमले पनि जुडलाई दसौँ वर्ष यत्ति बुझाउन खर्चिन्छ तर जुडले आफ्नो भयावह विगत बिर्सिएर विलेमका कुरा पत्याउँछे त ? उपन्यास यही विषयमा घोत्लिरहन्छ । एउटै विषयवस्तुमा अडिएको हुनाले यसमा अन्य मोटा किताबमा जस्ता थुप्रै पात्र र उपकथा छैनन् । जुडसँग चिनापर्ची हुनेबित्तिकै पाठकलाई यही दु:खी तर साहसी पात्रसँग यात्रा गर्न मन लाग्छ । र, हुन्छ पनि त्यस्तै ।
जुडको जीवनसँगै बग्दा कति खेप आँसु झर्छन्, कहिले उसलाई खुसी बनाउने व्यक्तिलाई मनमनै धन्यवाद दिइन्छ, उसको चित्त दुखाउनेलाई जगल्ट्याइन्छ । पढ्ने र बुझ्ने भन्दा पनि आफैँ अनुभव गर्नलायक पात्र बनेको छ जुड सेन्ट फ्रान्सिस । ज्यादै कम पात्र यसरी पाठकको मुटुमा उक्लिन्छन् ।
पाठकको मात्र होइन, उपन्यासले समीक्षकको पनि मनमा बास बसेर म्यान बुकर पुरस्कार (२०१५)को छनोट सूचीमा पनि परेको थियो । रोहिन्तन मिस्त्रीको अ फाइन ब्यालेन्स जस्तो सुस्तरी बग्ने कथा,
जीवन्त पात्र र पीडाको परिभाषा बुझाउने पुस्तकको अग्रपंक्तिमा अब अ लिटल लाइफकै नाम आउँछ ।
—-
अ लिटल लाइफ
स्रष्टा : हान्या यानागिहारा
प्रकाशक : पिकाडोर
पृष्ठ : ७२०
मूल्य : ६९९ रुपियाँ
सम्बन्धित
भोको बिहान बोकेर, सँधै सँधै उदाइरहने, मेरा हत्केलाका ठेलाहरू हेर, लेख्न सक्छौ तिमी, मेरा अ...
पोस्टमार्टम स्थलबाट सूर्यबहादुर तामाङको आग्रह
जुत्ताको तलुवामुनि, सदियौँदेखि कुल्चिएका छौ तिमीले - मेरो अस्तित्व । (कविता)...
म निसास्सिइरहेको छु
मैले तिमीलाई गाउँ गाउँ अनि दलित, गरिबका बस्ती बस्तीमा आउ भनेको थिएँ । तर तिमी त सहर-बजारका...
गणतन्त्र
गाउँभरि युवाहरूको अभावमा खेत बाँझो देख्न नसकी, घरका हल गोरुसँगै, आफ्नो पनि हत्या गर्ने वृद...
एक बौद्धिकलाई प्रश्न
मेरो अन्त्यको अर्थहीन विलम्बबीच म सोचमग्न छु- अविलम्ब जागृत हुनुपर्ने मानिस कहाँ छ ? (कवित...
सृष्टिमा अन्तिम सेतो जिराफ
सत्तालाई सबैभन्दा बढी झोँक चल्छ, जब चिच्चाउन थाल्छ कोही नाङ्गो मानिस... ...