चम्किला विद्यालय, उज्याला शिक्षक
निजी शिक्षण संस्थाको हल्लीखल्लीमाझ केही उदाहरणीय सरकारी विद्यालय
सरकारी विद्यालयको राष्ट्रिय नतिजा ३२ प्रतिशत रहेका बेला केही विद्यालयले भने ७० प्रतिशतभन्दा बढी नतिजा ल्याएर पुरस्कारै जितेका छन् । जस्तो :
श्री पद्म उमावि, भक्तपुर
निजी विद्यालयको शिक्षाले आकर्षित गरेका अभिभावकलाई सरकारी विद्यालयमा तान्नु भनेको निकै कठिन काम हो । तर, भक्तपुर दरबार क्षेत्रस्थित श्री पद्म उमाविले यस्तै कठिन काम गरेको छ । यो विद्यालयको पठनपाठन र शैक्षिक–भौतिक प्रगतिले निजी विद्यालयतिर आँखा लगाइरहेका अभिभावकलाई आफ्ना सन्तति यहीँ भर्ना गर्न प्रेरित गरिरहेको छ ।
०७१ को एसएलसी नतिजामा पनि श्री पद्म उमावि देशकै उत्कृष्ट सरकारी विद्यालय ठहरियो भने ०७२ को नतिजामा पनि उत्कृष्ट विद्यालय बन्यो । प्रधानाध्यापक राम हाडाका अनुसार विद्यालयको समग्र सिकाइ उपलब्धि ८० प्रतिशतभन्दा माथि छ । जब कि, देशको सरकारी विद्यालयको राष्ट्रिय नतिजा ३२ प्रतिशतभन्दा बढी छैन ।
०६० मा व्यवस्थापन संकायबाट सुरु गरिएको उच्च मावि तहमा अहिले मानविकी, शिक्षा र विज्ञान संकाय सञ्चालित छन् । यसै विद्यालयको भगिनी संस्था हो, पद्म कलेज । यहाँ स्नातकोत्तरसम्म पढाइ हुन्छ, बीबीएस र एमबीएस कार्यक्रम । स्नातक र स्नातकोत्तरको औसत उत्तीर्ण दर पनि ५० प्रतिशतभन्दा माथि छ । पूर्वप्राविदेखि स्नातकोत्तर तहसम्म करिब १ हजार ९ सय छात्रछात्रा र १ सय ५० शिक्षक कर्मचारीको नेतृत्व हाडाले गर्दै आएका छन् । एउटै व्यक्तिको नेतृत्वमा पूर्वप्राथमिक तहदेखि स्नातकोत्तर तहसम्म पठनपाठन सञ्चालन गर्न सफल शैक्षिक संस्थामा पर्छ, श्री पद्म उच्च मावि । यो नै प्रधानाध्यापक/प्राचार्य हाडाको मुख्य सफलता हो ।
चक–डस्टर पनि नपाउनु विवशता हो । तर, श्री पद्म उच्च मावि सीसीटीभी, इन्टरएक्टिभ बोर्ड, कम्प्युटर ल्याब र इन्टरनेटको प्रयोगमार्फत ‘स्मार्ट’ सरकारी विद्यालय बन्न सफल भएको छ । त्यहाँ प्रविधिले कालोपाटी र चक डस्टरलाई विस्थापित गरिसकेको छ । पठनपाठनमा सूचना प्रविधिको प्रयोगका दृष्टिले नम्बर एक नै भएको छ यो विद्यालय । पठनपाठनलाई स्मार्ट बनाउन स्कुलले एक वर्षअघिदेखि इन्टरएक्टिभ बोर्ड, मल्टिमिडिया सेट तथा ल्यापटपबाट शिक्षण प्रारम्भ गरेको छ । हाडाका अनुसार यो विद्यालय २१ वर्षअघि कम्प्युटर ल्याउने सरकारी विद्यालय हो । विसं १९८१ मा स्थापना भएको श्री पद्म उमावि देशकै पुराना विद्यालयमध्येको हो ।
प्राचार्य सीसीटीभीमार्फत आफ्नै कार्यकक्षमा बसीबसी विद्यालयका सम्पूर्ण गतिविधि नियाल्छन् । भन्छन्, “सीसीटीभी जडानपछि स्कुलमा छात्रछात्रा र शिक्षकको नियमितता बढेको छ ।” यो विद्यालयको अर्को विशेषता हो, १५ वटा विषयगत प्रयोगशाला । इन्टरनेटसहितको कम्प्युटर ल्याब पनि छ, विद्यालयमा ।
प्रधानाध्यापक हाडाको ऊर्जा र योग्यताले यो विद्यालयलाई देशकै उम्दा सरकारी विद्यालय बनाएको छ । २९ वर्षदेखि शिक्षण पेसामा रहेका गणित विषयमा एमएड उनी ‘हाइटेक हेडसर’ हुन् । उनको कार्यकक्षमा ल्यापटप, कम्प्युटर, टेलिफोन छन् त हातमा स्मार्ट फोन ।
सत्यवती उच्च मावि, तनहुँ
कतिपय सरकारी विद्यालय बालबालिका भर्ना नभएर बन्द हुने अवस्थामा पुगेका छन् । तर, तनहँुमा एउटा यस्तो विद्यालय छ, जहाँ भर्ना हुन सिट नपाएर आकांक्षी अभिभावक आफ्ना सन्ततिलाई अन्यत्रै लैजान बाध्य छन् । शैक्षिक र भौतिक प्रगतिमा ठूलो फड्को मारेको तनहुँको सदरमुकाम दमौलीको सत्यवती उच्च मावि यस्तै सरकारी विद्यालय हो । यो विद्यालयमा अहिले २ हजार ४ सय विद्यार्थी पढ्छन् भने तिनलाई ८५ जना शिक्षकले सम्हालेका छन् । हरेक शैक्षिक सत्रको सुरुमा वरिपरिबाट १ हजार ५ सय छात्रछात्रा यहाँ भर्ना हुन आउँछन् । तर, विद्यालयले तीन सयभन्दा बढी विद्यार्थी लिन नसक्ने भएकाले प्रवेश परीक्षाको व्यवस्था गरेको छ ।
सत्यवती उच्च माविलाई तनहुँकै उम्दा विद्यालय बनाउन नेतृत्वदायी भूमिका खेलेका छन् प्रधानाध्यापक इन्द्रप्रसाद पौडेलले । राम्रो पठनपाठनका कारण शिक्षा मन्त्रालयबाट पनि सत्यवती उच्च मावि चारपटक उत्कृष्ट विद्यालयका रूपमा पुरस्कृत भइसकेको छ । यो विद्यालय जिल्लाको नम्बर एक सूचीमा त छँदै छ, पश्चिमाञ्चल विकास क्षेत्रकै उत्कृष्ट विद्यालय पनि हो । मिहिनेती र दक्ष शिक्षक अनि विद्यालयको प्रगतिप्रति चासो राख्ने अभिभावकका कारण विद्यालयको शैक्षिक उन्नति भएको विद्यालयका प्रधानाध्यापक पौडेलको ठम्याइ छ ।
यहाँको पढाइ अन्यत्रको भन्दा भिन्न छ । किनभने, अरू स्कुलमा उही थोत्रो लेक्चर विधिमा पढाइ हुन्छ भने त्यहाँ अभिभावक र छात्रछात्राको रुचि अनुसार नियमित अन्तक्र्रिया हुन्छ । शिक्षणमा स्मार्ट विधि अपनाइएको छ । पढाइको माध्यम अंग्रेजी हो । प्रधानाध्यापक पौडेल भन्छन्, “मेरो विषयको नतिजा ८१ प्रतिशत छ भने विद्यालयको समग्र औसत शैक्षिक नतिजा ७० प्रतिशतभन्दा माथि छ ।”
धेरैजसो सरकारी उच्च माविमा शिक्षा र मानविकी संकायको बाहुल्य छ । तर, यो अपवाद बनेको छ । विज्ञान, शिक्षा र व्यवस्थापन विषयमा पढाइ हुन्छ यहाँ । अझ विज्ञानमा त उत्कृष्ट नतिजा नै हासिल गर्दै आएको छ, करिब ९० प्रतिशतको उत्तीर्ण दरका कारण । पौडेल भन्छन्, “सरकारी विद्यालयमा विज्ञान विषयमा यत्रो उत्तीर्ण दर आउनुले नै हाम्रो गुणस्तर कस्तो छ भन्ने देखाउँछ ।”
गणेश मावि, बाग्लुङ
सार्वजनिक विद्यालयमा सर्वाधिक ध्वस्त मानिन्छ, अंग्रेजी शिक्षा । बाग्लुङको गणेश माध्यमिक विद्यालय भने त्यसलाई ठाडै चुनौती दिइरहेछ । १० वर्षअघिदेखि अंग्रेजी माध्यममा पढाइ भइरहेको यस विद्यालयका विद्यार्थीले एसएलसी परीक्षासमेत अंग्रेजी माध्यममै दिन्छन् ।
यस वर्षको एसएलसीको नतिजाका आधारमा यो विद्यालय पश्चिमाञ्चल विकास क्षेत्रको उत्कृष्ट सरकारी विद्यालय घोषित भएको छ, यो ।
गणेश माविनजिकै दुईवटा निजी विद्यालय छन् । तर, आमअभिभावकको छनोटमा गणेश मावि नै छ । यो विद्यालयमा छोराछोरी भर्ना गर्न मरिहत्ते गर्छन्, स्थानीय अभिभावक । राम्रो कुरा के छ भने विद्यालयमा एकपटक भर्ना भएका बालबालिकाले सितिमिती विद्यालय छाड्दैनन् । त्यसैले विद्यालयको ‘ड्रप आउट’ दर शून्य छ । पहाडी भेगको विद्यालय भए पनि यहाँ ६ सय ९० विद्यार्थी छन् ।
सरकारी विद्यालयका शिक्षकमध्ये धेरैले आफ् ना छोराछोरीलाई निजी विद्यालयमा पढाउने गरेका छन् । त्यस्ता शिक्षकका लागि सरकारी विद्यालय जागिर खाने थलो मात्र भएको छ । तर, गणेश माविका प्रधानाध्यापक चूडामणि सुवेदीले आफ्ना छोरालाई यही विद्यालयमा पढाएका छन् । अरू शिक्षकले पनि आफ्ना विद्यालय उमेर समूहका छोराछोरीलाई यहीँ पढाएका छन् । “शिक्षकले आफ्ना छोराछोरी आफ्नै विद्यालयमा पढाउन थालेपछि अभिभावकले पनि हामीलाई विश्वास र सम्मान गर्दा रहेछन् ,” सुवेदीको अनुभव छ ।
प्राय: सबैतिरका शिक्षकले विद्यार्थीलाई तँ वा तिमी सम्बोधन गर्छन् । यहाँका शिक्षकहरू चाहिँ आफ्ना विद्यार्थीलाई ‘तपाईं’ सम्बोधन गर्छन् । विद्यार्थीलाई सम्मानको अर्थ सिकाउन र व्यवहारमा उतार्न यस्तो गरिएको हो । यहाँ सजाय निषेध गरिएको छ । रमाइलो र बालबालिकालाई माया गरेर पढाउने गरिएकाले गणेश माविको औसत सिकाइ उपलब्धि ८२ प्रतिशतभन्दा बढी रहेको प्रधानाध्यापक सुवेदी बताउँछन् ।
अहिलेसम्म एसएलसीलाई विद्यालय तहको अन्तिम खुड्किलो मानिएकाले यो सकेपछि विद्यालयहरूको छात्रछात्राप्रतिको दायित्व सकिएको ठान्ने धेरै विद्यालय छन् । तर, यो गणेश माविको हकमा लागू हुँदैन । विद्यालयले एसएलसीपछि पनि विद्यार्थीसँगको सम्बन्धलाई जीवन्त राख्ने गरेको छ, करिअर काउन्सिलिङ, फलोअपमार्फत ।
विद्योदय निमावि, झापा
सरकारी विद्यालयका बालबालिकाका लागि विद्यालयमै खाजाको व्यवस्था गर्न अझै नेपालको राज्यव्यवस्था सक्षम भइसकेको छैन । बिहान खाना खाएर विद्यालय गएका बालबालिका खाजा खानका लागि विद्यालय छुट्टी भएपछि फेरि घर फर्किनुपर्छ । यता निजी विद्यालयमध्ये केहीले विद्यालयमा खाना–खाजाको व्यवस्था गरेका छन् भने धेरैमा बालबालिका आफैँ टिफिन लिएर जाने गर्छन् ।
तर, झापाको दमकस्थित विद्योदय निमाविका सबैभन्दा सानो उमेर समूहका बालबालिकाले विद्यालयमा भोकै पढ्नुपर्दैन । त्यहाँ नगरपालिका र जिल्ला शिक्षा कार्यालयको सहयोगमा कक्षा ३ सम्मका बालबालिकालाई खाजा खुवाउने गरिएको छ । यसको पहल गर्ने पात्र हुन् शिक्षण सेवामा ३२ वर्ष बिताइसकेका शिक्षक नरपति पाण्डे । उनका अनुसार सबैभन्दा साना उमेरका बालबालिकालाई विद्यालयमा खाजा ख्वाउन थालेपछि टिफिनपछि विद्यार्थी घर भाग्ने अनुभव थियो । खाजाले बालबालिका पढाइप्रति आकर्षित भएका छन् । निमित्त प्रधानाध्यापक पाण्डे भन्छन्, “भोको पेटले पढ्न सक्दैनन् भनेर हामीले चन्दादाताको सहयोगमा खाजा ख्वाउने गरेका छौँ ।”
यस विद्यालयमा बालबालिकाको पठनपाठन सुधार गर्न इन्टरनेटसहितको कम्युटर ल्याब पनि छ । कक्षा ५ सम्म अंग्रेजी माध्यममा पठनपाठन हुन्छ । बालबालिकाको नेतृत्व विकासका लागि बाल तथा युवा क्लब छन् । तिनले कुनै कारणले कक्षा खाली भएकामा स्वतन्त्र लेखन अनि हिज्जे प्रतियोगिताजस्ता अतिरिक्त क्रियाकलाप सञ्चालन गर्छन् । यस्ता सिर्जनात्मक क्रियाकलापले यो विद्यालयलाई आमसरकारी विद्यालयभन्दा भिन्न बनाएको छ । २ सय ५६ छात्रछात्रा र ११ शिक्षक रहेको विद्योदय निमाविको शैक्षिक उपलब्धि ७० प्रतिशतभन्दा माथि छ ।
निमित्त प्रधानाध्यापक पाण्डेले पढाउँदै आएका विषयमा विद्यार्थीले ७२ प्रतिशतभन्दा बढी नतिजा हासिल गरेका छन् । “शिक्षण मेरो सोख हो, म अवकाश पाएपछि पनि स्वयंसेवी शिक्षकका रूपमा शिक्षण कर्ममा हुन्छु,” पाण्डे भन्छन् ।
सम्बन्धित
पढ्ने–पढाउने पाउनै मुस्किल...
४२ विद्यालयमा चलेको थारु भाषा शिक्षा अहिले जेनतेन एउटामा
शिक्षकहरू हाम्रा नानीहरूलाई मायाको आँखाबाट कहिले हेर्छन् ? आखिर कहिले उनीहरू ‘वास्तविक शिक...
... अनि किन जाने यस्तो स्कुल ?
राजनीति–व्यापार गठजोडका कारण मेडिकल कलेजद्वारा विद्यार्थीबाट असुलेको अतिरिक्त रकम फिर्ता ग...
अटेरी मेडिकल कलेज सञ्चालकसामु निरीह सरकार
विद्यार्थीको सिकाइमा सकारात्मक प्रभाव पारे पनि शिक्षकमै विषयगत ज्ञान कमजोर...
स्थानीय पाठ्यक्रम कति प्रभावकारी ?
अतिरिक्त शुल्क फिर्ता गराउन चिकित्सा शिक्षा संघर्ष समितिको आन्दोलन ६–७ वटामेडिकल कलेजमा ...
मेडिकल कलेजका बेथिति : निर्लज्ज सञ्चालक, मूकदर्शक सरकार
परीक्षाजस्तो संवेदनशील विषयमा त्रिवि विज्ञान तथा प्रविधि अध्ययन संस्थान परीक्षा शाखाले आकस...