मेनुमा जमेको म:म
वन्यजन्तुका तस्बिर खिच्न संसार चहारिरहने वाइल्ड लाइफ फोटोग्राफर बुच लामाले जहाँ जहाँ नेपाली समुदाय भेटे, त्यहाँको खान्कीमा म:म छुटेको पाएनन् । मेनुमा म:म देखेपछि उनी लख काटिहाल्छन्, रेस्टुराँ पक्कै कतै न कतै नेपाल र नेपालीसँग जोडिएको छ । म:मले थोरै भए पनि देशको न्यास्रो मेटाइदिन्छ उनको ।
वन्यजन्तुका तस्बिर खिच्न संसार चहारिरहने वाइल्ड लाइफ फोटोग्राफर बुच लामाले जहाँ जहाँ नेपाली समुदाय भेटे, त्यहाँको खान्कीमा म:म छुटेको पाएनन् । मेनुमा म:म देखेपछि उनी लख काटिहाल्छन्, रेस्टुराँ पक्कै कतै न कतै नेपाल र नेपालीसँग जोडिएको छ । म:मले थोरै भए पनि देशको न्यास्रो मेटाइदिन्छ उनको ।
हुन त म:म नेपालको रैथाने परिकार होइन । विशेष गरी काठमाडौँ उपत्यकाका नेवार समुदाय व्यापारका सिलसिलामा तिब्बत जाने–आउने क्रम चल्दा म:म बनाउने कला पनि नेपाल भित्रियो । तर, रमाइलो के भने स्थानीयले म:मलाई आफ्नै स्वाद र शैलीमा ढाले, त्यसमा नयाँपन दिए । विशेषत: तिब्बती म:ममा मसलाको प्रयोग हुँदैन । अचारमा पनि खासै विविधता हुँदैन । तर, नेवार समुदायको भान्छामा हुर्किन पाएको म:मले भने त्यही अनुसार ट्वाक्क स्वाद पायो । नेपालमा फास्ट फुड कल्चर भित्र्याएको चेन रेस्टुराँ नाङ्लोका सञ्चालक श्यामसुन्दर कक्षपति पनि म:मको लोकप्रियता देखेर छक्क पर्छन् । भन्छन्, “म:मले चार दशकभित्र काठमाडौँ गल्लीका खाजाघरबाट संसारभरिकै रेस्टुराँ र पाँचतारे होटलसम्मको यात्रा तय गरेको छ ।”
यसबीचमा नेपालीको ‘अल टाइम फेभरेट’ खाजा म:मको विविधता र स्वादले समेत व्यापक रूप पाएको छ । मांसाहारीदेखि शाकाहारीसम्मका लागि विभिन्न स्वादमा म:म उपलब्ध छ । त्यसमाथि मसलाको मिश्रण र अचारको स्वादमा भिन्नता हुने भएकाले भान्छा अनुसार स्वादमा पनि नयाँपन आउँछ । त्यसैले त स्वदेशी हुन् वा विदेशी, म:मको स्वादमा नरम्ने सायदै कोही होलान् । भलै, रुचि अनुसार म:म खाने गन्तव्य फरक–फरक होलान् । रेस्टुराँ व्यवसायीहरूको अनुभवमा विदेशीले समेत एकपटक खाएपछि म:मका बारेमा बुझेर र बनाउने तरिका सिकेरै जान्छन् । नेपाल आउनासाथ म:म खोज्ने पर्यटक पनि अनगिन्ती भेटेका छन्, व्यवसायी कक्षपतिले । भन्छन्, “९९ प्रतिशत विदेशीको मन म:मको स्वादले जितेको छ ।”
फास्ट फुड व्यवसायमा म:मको हिस्सा उल्लेख्य वृद्धि हुँदै गएको छ । नेपालीलाई नभई नहुने अनि एकपटक स्वादको चस्का परेपछि विदेशीसमेत पल्किने । यही कारण होला, विदेशका रेस्टुराँका मेनुमा समेत अचेल म:म थपिन थालेको छ । भारतमा समेत ‘स्ट्रिड फुड’का रूपमा होस् वा छिटोछरितो खाजाका रूपमा, म:म लोकप्रिय बन्दै छ । कोलकातामा सन् २००८ मा नेपालीले नै सुरु गरेको रेस्टुराँ ‘वाउ म:म’का अहिले देशका विभिन्न स्थानमा ३५ वटा आउटलेट खुलिसकेका छन् । त्यसमाथि वैदेशिक रोजगार, शिक्षा आदिका लागि बाक्लो संख्याका नेपाली संसारभर छरिएर रहेकाले नेपाली लक्षित रेस्टुराँ खुल्ने क्रम पनि बढेको छ । जसका मेनुमा म:म विरलै हुन्नन् ।
नेपाली म:म विश्वभरि लोकप्रिय हुँदै जानुको मुख्य कारणचाहिँ स्वादिलो हुनु नै हो । त्यसमाथि नयाँ ठाउँको नयाँ स्वादसँग जोखिम लिन नचाहनेले म:मको विकल्प विरलै खोज्छन् । कक्षपति भन्छन्, “अहिले संसारभर लोकप्रिय भइरहेको म:मलाई नेपालको मौलिक ब्रान्ड भन्दा फरक पर्दैन ।”
संसारभर लोकप्रियता कमाइरहेको यही नेपाली ब्रान्डको अहिलेसम्म कुनै अन्तर्राष्ट्रिय चेनचाहिँ छैन । म:मको फैलिँदो व्यापारले देखाएको छ, नेपाली म:मका नाममा त्यस्तो चेन अगाडि बढ्न सके त्यो रेमिट्यान्सको भरपर्दो माध्यम हुन सक्छ ।
सम्बन्धित
अमेरिकाले बर्सेनि निकाल्ने आतंकवादसम्बन्धी प्रतिवेदन नेपालबारे फेरिएको धारणा...
नेपाललाई 'आतंकवादको हब' मान्ने अमेरिकी धारणा कसरी परिवर्तन भयो ?
लकडाउनपछि आफ्नो मुलुक फर्किएका भारतीय मजदुर सम्पर्कमै आएनन्, रेडजोनमा परेका स्वदेशकैलाई ल्...
उद्योग चलाउनै मुस्किल
सात दशकयताको दलीय तानातानको शिकार बन्दै आएको नागरिकता मुद्दामा यसपल्ट पनि विगतकै राजनीतिक ...
नागरिकतामा किन सधैँ किचलो ?
केन्द्रीय अनुसन्धान ब्युरो, बाग्मती प्रदेशसहितको सिन्धुपाल्चोक, काभ्रे र प्रदेश २ सर्लाहीब...
आश्रममै रहे पनि किन पक्राउ पर्दैनन् बमजन ?
मुख्यमन्त्री शंकर पोखरेललाई प्रदेशमा आएर केन्द्रीय भूमिका गुम्ने भय, पार्टी इन्चार्ज र अर्...
ओलीका ‘अलराउन्डर’ विश्वासपात्र
कोरोना महामारीले खर्च घटाउन र प्रशासनलाई चुस्त राख्न सबक सिकाए पनि अनावश्यक खर्च कटौतीमा भ...