[अनुभूति] मेरो कविताको शीर्षक छ...
वाह ! गज्जब लाग्यो । बीचमा एउटा संस्कृत शब्द थियो । अर्थ नबुझे पनि खतरा लाग्यो कविता ।
“कविता प्रतियोगिता हुँदै छ, तैँले भाग लिनुपर्छ है,” ओठमुन्तिरको काफलजत्रो गेडीलाई माथिल्लो दाँतले छुँदै नेत्र सर म उभिएनिर आएर बोले । टिफिन खाइरहेको थिएँ, झस्किएँ । सरको आदेशले लल्याकलुलुक भएँ । अनुहार रातो भयो, कान तातो । त्यसै त्यसै आत्तिएर पिलपिल गर्न थालेँ र भनेँ, “मलाई कविता लेख्न आउँदैन सर ।”
कविता त लेख्नै आउँदैनथ्यो । तर, त्यसभन्दा पनि खास डर अर्कै थियो– स्टेजमा उभिएर बोल्नुपर्ने ।
कक्षामा वादविवाद प्रतियोगिता हुँदा एकपटक बोलेको थिएँ । प्रतियोगिताको शीर्षकबाहेक सबैथोक सम्झन्छु । उद्घोषकले मेरो नाम लिएर बोलेका थिए, ‘अबको वक्ता छन्, चन्द्रप्रकाश अर्याल...।’ मेरो कानभित्र रकेट पसेजस्तो भयो । बसेको ठाउँबाट स्टेजसम्म पुग्न पनि हजारौँ माइल पार गर्दै छु जस्तै लाग्यो । म छुलछुली भएँ । बोल्दा–बोल्दै मुख सहारा मरुभूमि भयो ।
र, शरीरचाहिँ अन्टार्टिका ! केही सेकेन्ड मात्रै बोलेको थिएँ, उभिन नसकेर लडुँलाजस्तै भयो । साथीहरू गललल हाँसे, सरहरू मुसुमुसु । त्यही बेला नेत्र सरले भन्नुभएको थियो, ‘राम्रो बोलिराछस् बाबु । एकछिन बोल् ।’ तर, मैले सकिनँ ।
दगुर्दै प्लेग्राउन्डतिर गएँ । भुइँको माटो बूढी र चोरऔँलाले टिपेर निधार र रुद्रघन्टीमा लगाउँदै आफैँसित कसम खाएँ... म स्टेजमा गएर कहिल्यै बोल्नेछैन । बरू मर्छु !
तर, त्यसको लगभग एक सातापछि नेत्र सर मछेउ आएर उर्दी जारी गरे, “आउँछ । अस्ति वादविवादमा राम्रो बोल्याथिस्, आत्तिएर बिगारिस् ।” त्यतिन्जेल सरले हरेक शब्द बोल्दा ओठमुनिको काफलगेडी सम्झन्थे सायद । त्यसैले माथिल्लो दाँतले छोइरहन्थे । कसैले त सरलाई नसुन्ने गरी काफलगेडी पनि भन्थे ।
“बुझिस् कि नाइँ ?” थुकले चिसो भएको त्यही काफलगेडीलाई यसपालि दाहिने हातको चोर र बूढीऔँलाले मुसारे, “अबको १० दिनपछाडि हो । बाल दिवसको दिन ।”
डरले इत्रिएको थिएँ । कहिल्यै नलेखेको कविता कसरी लेख्ने ? कविता मात्रै होइन, केही पनि लेख्न आउँदैनथ्यो, सिवायहोमवर्क । हरेक बिहान म सुतेको खाटनजिक आएर बुबा संस्कृतका श्लोक पढ्नुहुन्थ्यो । रामायणका श्लोक पनि गुनगुनाउँदै पल्टिनुहुन्थ्यो । ‘एकदिन नारद सत्यलोक पुगिगया..’ मीठो गरी भाका हाली गाउनुहुन्थ्यो बुबा ।
“किन कराउनुभको के ?” म झिजो मान्थेँ ।
“तेरो बुद्धि आउला, केही लेख्न–पढ्न सिक्लास् भनेर ।” मलाई झन् रिस उठ्थ्यो । बिहान–बिहान सुतिरहेको बेला त्यसरी कराएर कसैले कसरी लेख्न–पढ्न सिक्थ्यो ? ह्या बकवास् !
बुबाले रामायणको श्लोक भट्याइरहनु हुन्थ्यो । म रिसले भुनभुनिन्थेँ बर्कोभित्र ।
“सुन् यता...,” बर्को थुत्नुहुन्थ्यो । म बर्को तानेर दाह्रा किट्दै फेरि लम्पसार पर्थें ।
‘सरस्वती मया दृष्टा वीणा पुस्तक धारिणी...’ सरस्वतीको श्लोक पनि उसै गरी भट्याउनुहुन्थ्यो ।
“बिहानै श्लोक पाठ गर्दा मात्रै पनि मनमा सरस्वतीको बास हुन्छ । लेख्न–पढ्न बेस्सरी आउँछ ।” बुबाबाट यो वाक्य जबर्जस्ती सुन्नु मेरो नित्यकर्म भइसकेको थियो ।
***
नेत्र सरले उर्दी जारी गर्दा केही दिनअघि खाएको कसम पनि सम्झिएँ । अनि, सोचेँ : सरले मलाई बिनासित्तिको जिद्दी किन गरे क्या !
उर्दी पाएको साँझ घर पुगेँ । सधैँझैँ झोला फ्यात्त फालेर स्कुल ड्रेसमै बेलौँतीको रूखमा चढ्न गइनँ । घरभित्रै बसेँ । बुबा अफिसबाट आइसक्नुभएको थिएन । अनि, यस्सै झोक्राएर बसेँ । खुट्टाको बूढी औँलाले भुइँ कोतरिरहेँ ।
मम्मीको आवाज सुन्दा पो एक्कासि झसंग भएँ, “के भयो बाबु तँलाई ? सञ्चो भएन ?” झ्यालमा लगाएको जालीमा दुई हात राख्दै त्यसैको बीचमा अनुहार राखेर बोल्नुभयो ।
मम्मीतिर हेर्दै नहेरी जवाफ फर्काएँ, “केही भ’छैन ।”
मम्मी कोठाभित्रै आउनुभयो । मछेउ बस्नुभयो । निधार छाम्नुभयो, “ओहो ! जोरो आ’छ क्या हो तँलाई ।”
“आछैन के ।” मम्मीको हात हटाइदिँदै भनेँ ।
“के भयो भन् ?”
“कविता प्रतियोगितामा भाग लिनी अरे मैले, नेत्र सरले भनेका ।”
“अनि ली न त ।”
“लेख्न आए पो !”
“बुबाले सिकाइदिनुहोला नि !” अचानक १० हजार वाटको बत्ती दिमागमा बल्यो । अनुहार एक्कासि उज्यालियो । ओठमा सनफ्लावर फुल्यो । म खुसी भएको देखेर मम्मी झन् खुसी हुनुभयो ।
बेचैनीसाथ बुबालाई कुरेँ । यत्तिकैमा परैबाट बुबा बिस्तारै साइकल चलाएर आइरहनुभएको देखेँ । चैते बतास भएर दगुर्दै बुबानिरै पुगेँ । स्याँस्याँ गर्दै भनेँ, “बुबा नेत्र सरले कविता लेख्न भनेछन् मलाई । प्रतियोगितामा भन्नी अरे ।”
“ए हो ?” भनेर केही गमेझैँ गर्नुभयो ।
बुबाले साँझको ८ बजेको समाचार नहेरेको थाहा थिएन । त्यस दिन हेर्नुभएन । रोटी–तरकारी खाएर कापी–कलम लिएर घोरिनुभयो । मचाहिँ बुबाको कलमतिर हेरेर घोरिएँ । लेख्दै, केर्दै, लेख्दै, केर्दै गरिरहनुभयो धेरैबेरसम्म । मम्मी भुइँमा बसेर बत्ती कात्दाकात्दै झुपुझुपु भइसक्नुभएको थियो ।
१२ बजेतिर लेखिरहेको पानाबाट आँखा उठाएर मतिर हेरेर मुस्कुराउनुभयो बुबा । म पनि खिसिक्क गरेँ । अनि, पानामा हेरेँ । कालो अक्षरले रंगिएको कागजमा दुई–दुई लाइनमा कविताका हरफ लटरम्म थिए ।
“ला कविता ।” लेखेका पाना ध्यार्र पारेर त्यो मतिर बढाउनुभयो ।
चम्किला आँखा बनाएर पढेँ :
हाम्रो देश कति राम्रो हिमचुली नै हाँसे
डाँफे चरी नाचे यहाँ नदीहरू गाए...।
वाह ! गज्जब लाग्यो । बीचमा एउटा संस्कृत शब्द थियो । अर्थ नबुझे पनि खतरा लाग्यो कविता ।
“अब सुत् । भोलि गएर नेत्र सरलाई देखा ।”
“हुन्छ ।” आज्ञाकारी भएँ । तर, रातभरि निदाउन सकिनँ । नेत्र सरमाझ कतिखेर पुगौँला र कविता देखाउँला भन्ने छटपटीसाथ निदाएँ ।
बिहान उठेँ । घुर्मैलो अक्षरमा बुबाले लेख्नुभएको कवितालाई अर्को सफा पानामा खुब मिहिनेतसाथ सारेँ । अनि, शीर्षक पनि दिएँ, ‘हाम्रो देश’ ।
अरूबेला भन्दा चाँडो स्कुल गएँ त्यस दिन । नेत्र सरलाई कुरेर स्कुलको गेटमै उभिइरहेँ । परबाट लमकलमक हिँड्दै सर आइरहेको देखेँ । मसिनो धर्कोबाट मोटो–मोटो हुँदै सिंगो मान्छे भए सर । अनि, मनजिक आएर उभिए । चिटिक्क परेका अक्षरमा सफा कागजमा लेखिएको कविता जतनसाथ गोजीबाट झिकेँ । अनि, सरतिर बढाएँ ।
पानातिर पुलुक्क हेरेर सर मुस्कुराए ।
“मैले भनेको होइन ? तैँले सक्छस् बाबु भनेर ?” सरले मायाले टाउको सुमसुम्याए । भाका हालेर पढे, ‘हाम्रो देश कति राम्रो...।’ पढिसकेपछि के सोचेर हो, मुसुमुसु हाँसे । अनि, टाउको हल्लाउँदै भने, “राम्रो छ ।” खुसीको गहिराइ कति हुँदो हो !
“अब कविता भन्न प्राक्टिस गर् ।” बल्ल पो झसंग भएँ । लल्याकलुलुक भएँ । ओहो ! मैले त स्टेजमा गएर कविता कसरी भन्ने ! निधारमा माटो लगाउँदै आफैँसँग खाएको कसम सम्झिएँ । हैट् !
“स्टेजमा गएर म त बोल्न सक्दिनँ सर ।”
“सक्छस् ।” सरले हौस्याए ।
स्कुलमा थोरै साथीहरूमाझ बोल्नुपर्दा त त्यसरी हालत पतला भएको थियो । त्यहाँ दर्जनौँ मान्छेका बीच कसरी बोल्नू ?
“नाइँ सर । म सक्दिनँ । एक सक्दिनँ, दुई सक्दिनँ, तीन सक्दिनँ ।” आफ्नो निर्णय सुनाएँ ।
“नआत्ती । समय छ, म सिकाउँछु तँलाई ।” सरले अँगालो हाले ।
एउटा चिर्कटोमा केही लेखेर दिए । अनि भने, “ला, यो अनि कविता दुइटै कण्ठ पार् । अनि, ऐनामा हेरेर बोल्ने प्राक्टिस गर् दिनदिनै । भाषण गरेझैँ बोल् है ।”
स्कुलबाट घर पुगेँ । हत्तपत्त कोठाभित्र पसेर झ्यालढोका थुनेँ । ठूलो ऐनावाला गोदरेज दराजको अघिल्तिर उभिएँ । चिर्कटो निकालेर पढ्न थालेँ– यस सभामा उपस्थित आदरणीय व्यक्तित्वहरू । दूधको दूध पानीको पानी छुट्याउने निर्णायक मण्डल, महिला तथा सज्जन वृन्द । मेरो कविताको शीर्षक छ, ‘हाम्रो देश...।’
कविता पनि फरर पढेँ । वाह ! गजब लाग्यो आफ्नो प्रतिभा देखेर । आफैँसँग कुरा गर्न त निष्फिक्री सकिँदो रहेछ । नसकिने त अरूसँग पो रै’छ ।
त्यसपछि हरेक दिन घरबाट बाहिर ननिस्की प्राक्टिस गरेँ । मेरो चालोमालो देखेर घरका दंग थिए । स्कुलमा पनि सरहरूका मोटरसाइकलको ऐनामा हेरेर प्राक्टिस गरेँ । कविता प्रतियोगिता हुनु अघिल्लो दिन नेत्र सरले क्लासमा अगाडि बोलाएर कविता पढ्न लगाए । आफू पछिल्लो सिटमा बसे । म नडराई उठेर अगाडि गएँ । ‘...यस सभामा उपस्थित....’ साथीहरू एक लट गलल हाँसे । अनि, बाँकी कविता पढेँ । काफलगेडीलाई दाँतले चलाउँदै सरले पनि ताली बजाए परर...परर...। सरलाई हेरेर म हाँसेँ । सर पनि हाँसे ।
***
कविता भन्ने दिन आयो । बिहानै उठेर नुहाएँ । मन्दिर पनि गएँ । भगवान्सँग मनमनै कुरा गरेँ । र, टीका लगाएर घर फर्किएँ ।
“राम्ररी भनेस् कविता ! आफैँले लेखेको हो भनेस् नि !” बुबाले यसो भन्दा मम्मी हाँस्नुभयो ।
सरले मलाई बालमन्दिर लगे । खै, किन हो ममा डर कत्ति पनि थिएन । अतिथिहरूको लम्बेतान भाषणपछि दर्जनभन्दा बढी प्रतिस्पर्धीहरूले अनेक कविता भने । कसैले राजारानी, कसैले देश, कसैले हिमालका बारेमा । सबैका कविता मेरोजस्तै थिए ।
अन्तत: उद्घोषकले मलाई बोलाए, ‘कविता भन्ने अबको पालो छ, चन्द्रप्रकाश अर्यालको...।’
म डायसमा पुगेर उभिएँ । गोजीबाट कागज निकालेर अघिल्तिर राखेँ । हल वरिपरि हेरेँ । ‘पिन ड्रप साइलेन्स’ थियो । केही पर नेत्र सरलाई पनि हेरेँ । काफलगेडीलाई माथिल्लो दाँतले छुँदै सरले मलाई ‘ भिक्ट्री’को औँला देखाए । म हौसिएँ ।
‘यस सभामा उपस्थित....’ कागजतिर हेर्दै नहेरी चर्को–चर्को स्वरमा म बोल्न थालेँ । बोल्दै जाँदा कताबाट हो शरीरभित्र के पसेझैँ भयो । जुरुकजुरुक भएँ आफैँ ।
‘मेरो कविताको शीर्षक छ– मेरो देश...’ धाराप्रवाह कविता भट्याउन थालेँ । खुब जोस्सिएँ । सकेपछि ‘धन्यवाद’ पनि भनेँ । हलमा बेस्सरी ताली गुञ्जियो । म हल्का नर्भस पनि भएँ । र, कविता लेखेको चिर्कटो निर्णायकलाई बुझाएँ । चिर्कटो लिँदै निर्णायक मुस्कुराए, “गह्रुँगो कविता रै’छ बाबु । संस्कृत पनि जान्या छौ ?” व्यंग्य थियो कि प्रशंसा ? खुट्याउन सकिनँ । मुसुक्क हाँस्दै आफू बसेको ठाउँमा आएर उभिएँ । छेउमा नेत्र सर पनि थिए । काफलगेडी मुसार्दै सरले भने, “गजब भनिस् केटा । गजब †” म बेस्सरी फुर्किएँ ।
व्यग्रतासाथ नतिजा पर्खिएँ ।
उद्घोषक नतिजा भन्न थाले । मुटु यति बेस्सरी ढुकढुक गरिरहेको थियो, लाग्थ्यो त्यो फ्वात्त बाहिर आउनै लागेको छ । दोस्रोसम्म आफ्नो नाम आएन । पहिलो हुने आश कत्ति पनि थिएन । एकदमै निराश थिएँ ।
‘पहिलो हुनुभएको छ, सनसाइन बोर्डिङ स्कुलका चन्द्रप्रकाश अर्याल....।’ ओहो ! म त खुसीले मर्छुझैँ लाग्यो । ज्यान सुक्यो । ओठ चरचरी चिरिए । हल थपडीले थर्कियो । सबै मैतिर हेरिरहेका थिए ।
म उभिएर सेलिब्रिटी पारामा हात हल्लाएँ । अनि, कुर्सीमा बसेँ । नेत्र सरले आफ्नो मुख मेरो काननजिक ल्याएर बिस्तारै भने, “बधाई छ केटा ! बुबाले कविता राम्रो लेख्नुभएछ !”
सम्बन्धित
भोको बिहान बोकेर, सँधै सँधै उदाइरहने, मेरा हत्केलाका ठेलाहरू हेर, लेख्न सक्छौ तिमी, मेरा अ...
पोस्टमार्टम स्थलबाट सूर्यबहादुर तामाङको आग्रह
जुत्ताको तलुवामुनि, सदियौँदेखि कुल्चिएका छौ तिमीले - मेरो अस्तित्व । (कविता)...
म निसास्सिइरहेको छु
मैले तिमीलाई गाउँ गाउँ अनि दलित, गरिबका बस्ती बस्तीमा आउ भनेको थिएँ । तर तिमी त सहर-बजारका...
गणतन्त्र
गाउँभरि युवाहरूको अभावमा खेत बाँझो देख्न नसकी, घरका हल गोरुसँगै, आफ्नो पनि हत्या गर्ने वृद...
एक बौद्धिकलाई प्रश्न
मेरो अन्त्यको अर्थहीन विलम्बबीच म सोचमग्न छु- अविलम्ब जागृत हुनुपर्ने मानिस कहाँ छ ? (कवित...
सृष्टिमा अन्तिम सेतो जिराफ
सत्तालाई सबैभन्दा बढी झोँक चल्छ, जब चिच्चाउन थाल्छ कोही नाङ्गो मानिस... ...