खुकुरीको बेथा
माग भए पनि कामदार र कच्चा पदार्थको अभावमा भोजपुरे खुकुरीको घट्दो सान
भोजपुर ।। भोजपुरे खुकुरीको ख्याति र माग अझै उस्तै छ । तर, हाल यसको उत्पादनका लागि कामदार र कच्चा पदार्थ पाउनै गाह्रो हुन थालेको छ । भोजपुर सदरमुकाममा उर्मिला, रञ्जिता र न्यु भोजपुरे खुकुरी गरी तीन उद्योग सञ्चालनमा छन् । यसबीच भोजपुर सदरमुकाम, टक्सार, रानीबास, खैराङ, कोट, गोगने र खावा गाविसमा रहेका ६ दर्जन खुकुरी उद्योग बन्द भएका छन् ।
न्यु भोजपुरे खुकुरी उद्योगका सञ्चालक सफल सेन्चुरीका अनुसार माग धान्न हम्मेहम्मे छ तर कामदार नभएकाले उत्पादन गर्न सकिएको छैन । रञ्जिता खुकुरी उद्योगका सुनिल गजमेरको अनुभव पनि सेन्चुरीको भन्दा फरक छैन । भन्छन्, “हरेक महिना पाँच सयदेखि एक हजार थान खुकुरीको माग आउँछ । माग पूरा गर्न सके मासिक पाँचदेखि सात लाख आम्दानी गर्न सकिन्थ्यो । तर, कामदार पाउन मुस्किल छ । जान्ने बूढापाकाले बलको काम गर्न सक्दैनन् । बलियाबांगा ठिटा धूलो, फोहोर काम भनेर पन्छिन्छन् । बरू, जोखिमपूर्ण काममा विदेश जान्छन् ।”
उद्योगले कामदार अभाव मात्र झेलेका छैनन् । साल, सिसौ र ओखरका बोट काट्न नपाउने वन ऐन लागू भएपछि टिकाउ बिडका लागि काठ र फलाम गाल्ने कोइलाको पनि अभाव छ । विसं १९६५ देखि भोजपुरमा विभिन्न डिजाइनका खुकुरी बनाउने प्रचलन सुरु भएको बताउने स्थानीय ५० वर्षीय उद्यमी गणेश गजमेरका अनुसार उहिले उत्पादित खुकुरी घरायसी प्रयोजनका लागि मात्र प्रयोग हुन्थ्यो । अहिले सजावट र उपहारका लागि पनि प्रयोग हुन्छ । गजमेर भन्छन्, “जिल्लाबाहिरबाट सरकारी तथा गैरसरकारी कार्यालयमा काम गर्न आएका कर्मचारीले गृहजिल्ला फर्कंदा चिनारीस्वरूप खुकुरी नै किन्ने गर्छन् ।” जिल्लामा उच्च ओहोदाका व्यक्तिको आगमन र बिदाइका क्रममा खुकुरी नै उपहारस्वरूप दिने चलन छ ।
गजमेरका अनुभवमा दशक लामो द्वन्द्वमा जिल्लाबाट धेरै विस्थापित भए । केहीले स्थायी रूपमै बसाइँसराइ पनि गरेपछि दक्ष जनशक्तिको अभाव हुन थाल्यो । उनको अनुभवमा द्वन्द्वले गर्दा स्थानीय लघु र घरेलु उद्योग त नष्ट भए नै, उद्यम गरेर स्वावलम्बी बन्नेभन्दा ठालू पल्टिने चलन बढ्यो ।
भोजपुरे खुकुरी आकर्षक, बुट्टादार र कलात्मक शैलीका हुने भएकाले धेरै मानिसको रोजाइमा पर्छ । बुदुना, सिरुपाते र बाँसपाते खुकुरी अत्यधिक किनबेच हुन्छ । बुदुना मोटो र फराकिलो हुन्छ । सिरुपाते खुकुरी सिरुको पात आकारको पातलो हुन्छ । बाँसपाते बाँसको पातजस्तै हुन्छ र यो सिरुपातेभन्दा केही मात्रामा बाक्लो हुन्छ ।
सम्बन्धित
अमेरिकाले बर्सेनि निकाल्ने आतंकवादसम्बन्धी प्रतिवेदन नेपालबारे फेरिएको धारणा...
नेपाललाई 'आतंकवादको हब' मान्ने अमेरिकी धारणा कसरी परिवर्तन भयो ?
लकडाउनपछि आफ्नो मुलुक फर्किएका भारतीय मजदुर सम्पर्कमै आएनन्, रेडजोनमा परेका स्वदेशकैलाई ल्...
उद्योग चलाउनै मुस्किल
सात दशकयताको दलीय तानातानको शिकार बन्दै आएको नागरिकता मुद्दामा यसपल्ट पनि विगतकै राजनीतिक ...
नागरिकतामा किन सधैँ किचलो ?
केन्द्रीय अनुसन्धान ब्युरो, बाग्मती प्रदेशसहितको सिन्धुपाल्चोक, काभ्रे र प्रदेश २ सर्लाहीब...
आश्रममै रहे पनि किन पक्राउ पर्दैनन् बमजन ?
मुख्यमन्त्री शंकर पोखरेललाई प्रदेशमा आएर केन्द्रीय भूमिका गुम्ने भय, पार्टी इन्चार्ज र अर्...
ओलीका ‘अलराउन्डर’ विश्वासपात्र
कोरोना महामारीले खर्च घटाउन र प्रशासनलाई चुस्त राख्न सबक सिकाए पनि अनावश्यक खर्च कटौतीमा भ...