नेपाली नन–एक्टर
‘रियल’ चरित्रलाई ‘रिल’मा उतार्ने कलाकार
‘मलाई मान्छे नसोच्नू, म भरिया हो भरिया ।’
सेतो सूर्यमा अमृत परियारले यो संवाद बोल्दा आङ सिरिंग नहुने सायदै कोही होलान् । फुच्चे भएकै कारण आफूभन्दा बडेमानको भारी बोक्न नपाएपछि परियारका मुखबाट यो वाक्य फुत्त निस्कन्छ । यो संवाद निर्देशक दीपक रौनियारको होइन, परियारकै हो । किनभने, सेतो सूर्य खेल्नुअगाडि वास्तविक जीवनमा उनी भरिया नै थिए । भारी बोकेर, खच्चड र भेडा धपाएर उनको बालापन बित्यो । फिल्ममा जस्तै वास्तविक जीवनमा पनि उनी टुहुरा हुन् । अनि, कसरी ननिस्कियोस् त्यो पीडाभाव ? भन्नु परोइन कि जीवन्त अभिनयबाट देश/विदेशमा काफी प्रशंसा बटुलेका परियारलाई सेतो सूर्य नखेल्दासम्म अभिनय भनेको कुन चराको नाम हो जस्तो लाग्थ्यो ।
माघ अन्तिम साता प्रदर्शित फिल्म डाइङ क्यान्डलको मुख्य भूमिकामा छन्, लाक्पा सिङी तामाङ । यसमा सौगात मल्ल, अर्पण थापा, सिर्जना सुब्बाजस्ता गिनेचुनेका कलाकार पनि छन् तर चर्चा तामाङकै भयो । आखिर ग्रामीण भेगको गरिब परिवारको बालकको चरित्रलाई तामाङले साँच्चै जीवन्त बनाएका छन् । किनभने, उनको वास्तविकता र फिल्मी चरित्रबीच अधिक समानता छ । सुटिङ पनि उनकै गाउँ रसुवाको गत्लाङमा भएको थियो ।
सशस्त्र द्वन्द्वकालको कारुणिक कथा भनिएको कालो पोथी प्रदर्शनसँगै खड्ग नेपाली र शुक्रराज रोकाया रातारात चर्चामा आए । यही एउटा फिल्मले उनीहरूलाई मूलधारको चल्तीको स्टारभन्दा बढी ख्याति दिलायो । यी दुईको पृष्ठभूमि पनि परियार र तामाङको भन्दा फरक छैन । मतलब नेपाली र रोकायाले आफ्नै जीवनसँग अति नजिक भएको चरित्र निर्वाह गरे, फिल्म खेल्न टाढा कहीँ जानुपरेन, निर्माण टोली उनीहरूकै गाउँ मुगुको भामबाडा पुग्यो ।
फिल्मी भाषामा यस्ता कलाकार/पात्रलाई ‘नन–एक्टर’ भनिन्छ । जो आफैँमा कलाकार होइनन्, न त कहिल्यै अभिनयको प्रशिक्षण नै लिए । तर, पर्दामा यस्तो चरित्रमा देखिए, जुन उनीहरूको यथार्थसँगै मिल्दोजुल्दो छ । भनिन्छ, जब समाजको तल्लो तहमा पुगेर कथा बुनिन्छ, तब नन–एक्टरको बाहुल्य बढ्छ । किनभने, कुनै व्यावसायिक कलाकारभन्दा सोही पृष्ठभूमिमा हुर्किएकाले चरित्रलाई जीवन्तता दिन्छन् । नुमाफुङ र दलनमा नन–एक्टरलाई काम गराएका निर्देशक नवीन सुब्बा भन्छन्, “उनीहरू जुन परिस्थितिमा बाँचेका हुन्छन्, चरित्र त्यस्तै हुन्छ । त्यसमाथि कहिल्यै नदेखेको अनुहार हुने भएकाले दर्शकले छिट्टै रिलेट गर्छन् ।” यसो हुँ‘दा फिल्मको कलात्मक पक्ष बलियो हुन्छ ।
स्टार सिस्टमले गाँजेको हाम्रो जस्तो फिल्म उद्योगमा नन–एक्टरलाई प्रमुख चरित्रमा उभ्याउनु आफैँमा चुनौती हो । तर, निर्देशकले सही मात्रामा त्यस्ता पात्रलाई पर्दामा उतार्न सके भने त्यसको ख्याति स्वदेशमा मात्र सीमित हुन्न । जस्तो : कालो पोथीले प्रतिष्ठित भेनिस फिल्म फेस्टिभल–२०१६ मा क्रिटिक्स विकमा उत्कृष्ट फिल्मको अवार्ड जित्यो । सेतो सूर्यले भेनिसमै ‘इन्टर फिल्म अवार्ड’ चुम्यो भने डाइङ क्यान्डल अमेरिकाको क्विन्स वल्र्ड फेस्टिभल–२०१६ मा उत्कृष्ट फिल्मसहित तीन विधामा मनोनयनमा पर्यो ।
हुन त आधा शताब्दी पार गरेको नेपाली फिल्ममा नन–एक्टरलाई काम गराएर समाजका अन्तरकुन्तरलाई खोतल्ने निर्देशक र फिल्मको खडेरी छ । बलिउडको मसला सूत्रबाट दीक्षित फिल्ममेकरले अभिनय र चरित्रका भित्री आयामलाई उधिन्ने कष्टै गरेनन् । तर, यो वर्ष रिलिज भएका कालो पोथी, सेतो सूर्य र डाइङ क्यान्डल मात्र नन–एक्टरलाई देख्न पाइएको भने होइन । बजारभन्दा कलालाई महत्त्व दिने निर्देशकहरूले यसअघि नै यसको अभ्यास गरिसकेका थिए ।
विसं ०५० तिर नेपाल टेलिभिजनबाट उजेली नामक सिरियल प्रसारण भएको थियो । निर्देशक थिए, दीपेन्द्र गौचन । बालविवाहमा आधारित यस सिरियलले तत्कालीन समयमा नेपालमा बहस त छेड्यो नै, सँगै विश्वका २० भन्दा बढी टेलिभिजन च्यानलबाट पनि प्रसारण भयो । धेरैलाई थाहा नहोला, यो सिरियलको मुख्य भूमिकामा रहेकी बालिका बिन्द्रा अधिकारी पनि नन–एक्टर नै हुन् । पटकथा र लोकेसन निधो भएपछि अडिसन्समार्फत नुवाकोट बेतिनीकी अधिकारीलाई अभिनय गराइएको थियो । आफ्नै गाउँमा छायांकन भएको र आफँैले देखे/भोगेको चरित्रमा उनले बनावटी अभिनय नै गर्नुपरेन । सिर्फ क्यामेराअगाडि वास्तविक जीवन बाँचिन् । जसको कारण अढाई दशकपछि पनि उक्त चरित्र धेरैले सम्झने गर्छन् ।
ओस्कार अवार्डको ७२औँ संस्करणमा उत्कृष्ट विदेशीभाषी फिल्मको मनोनयनमा परेको क्याराभानका मुख्य अभिनेता थिन्ले लेन्डुप पनि डोल्पाका स्थानीय हुन् । फ्रेन्च निर्देशक एरिक भ्यालीले डोल्पा पुगेरै थिन्लेलाई कास्टिङ गरेका थिए । उनको लबज, हुलिया, भाषा र हाउभाउले फिल्मको वजन बढायो । अघिल्लो वर्ष देहान्त भएका थिन्लेले क्याराभानपछि इकु नामक फिचर फिल्म र नेपथ्य ब्यान्डको सा...कर्णाली...को भिडियोमा देखिए । निर्देशक मनोज पण्डितले पनि बालयौन दुराचारमा आधारित फिल्म छायाँमा जयबागेश्वरीस्थित स्कुलमा ३ कक्षामा अध्ययनरत प्रविना खड्कालाई अभिनय गराएका छन् । नन–एक्टरको स्वाभाविकता र चरित्रकरणबीच सन्तुलनमा राख्न सकियो भने उनीहरूको निश्छलता र निर्दोषपन फिल्मको सबभन्दा ठूलो विशेषता हुने पण्डितको बुझाइ छ ।
नेपाली फिल्मको मौलिकता निर्माणमा मानक मानिएको नुमाफुङमा बोझु बनेकी राममाया तुम्रुकलाई निर्देशक सुब्बाले पाँचथरको सिवाबाट छानेका थिए । पात्र लेखेपछि खोज्दै जाँदा भेटिएका थिए, सुब्बाकै खाङग्रीकी मुख्य कलाकार जङ्बु शेर्पा । मनाङ, खुम्बुजकी जङ्बुले खाङग्रीअगाडि कुनै फिल्मसमेत हेरेकी थिइनन् । चर्चित सिरियल दलनका अधिकांश बालकलाकार सुटिङस्थल पर्वत र कास्कीका हुन् । कटुवालको भूमिकामा रहेका ल्यामबहादुर दर्जी पनि नन–एक्टर नै । दलनका दलित कलाकार यथार्थमै पनि दलित हुन् । निर्देशक सुब्बा भन्छन्, “कथाकै परिवेश र समाजमा हुर्किएकालाई अभिनय गराउँदा नक्कल लाग्दैन, वास्तविक महसुस हुन्छ । त्यसैले नन–एक्टर सधैँ हाम्रो रोजाइमा पर्छन् ।”
फिल्म प्राविधिक रूपमा जटिल माध्यम हो । त्यसैले कहिल्यै फिल्मसँग सरोकाकार नभएकालाई अभिनय गराउँदा क्यामेरा, लाइटिङ र रिफ्लेक्टरसँग डराउने खतरा हुन्छ । अपेक्षाकृत काम पनि निस्कँदैन । यसका लागि ती कलाकारलाई सहज र सौहार्द्र माहौल उपलब्ध गराउनुपर्ने डाइङ क्यान्डलका कास्टिङ निर्देशक विमल सुवेदी सुनाउँछन् । करिब पाँच सय विद्यार्थीको अडिसन लिएपछि तामाङ छानिए । त्यसपछि उनले करिब तीन महिना अभिनयको वर्कसप दिएका थिए । विमल भन्छन्, “लाक्पा जस्तो छ, त्यस्तै चरित्र थियो हाम्रो । त्यसैले क्यामेरामैत्री हुनासाथ चरित्रलाई पूरै आत्मसात् गर्न थाले ।” फिल्मका रोएका दृश्य अनुभूत गरेरै लाक्पा वास्तवमै रोएका थिए ।
बरू, व्यावसायिक को–स्टारले रि–टेक लिन्थे तर कालो पोथीका नेपाली र रोकाया अनि सेतो सूर्यका परियारको अक्सर पहिलो सट नै ‘ओके’ हुन्थ्यो । सेतो सूर्यकी सुमी मल्ल पनि अमृतजस्तै सोही पृष्ठभूमिकी हुन् । सुरुमा उनको भूमिकाका लागि काठमाडौँबाट एउटी बालिका लगिएको थियो, कास्कीको घान्दु्रकमा तर त्यो परिवेशलाई उनले आत्मसात् नै गर्न सकिनन् । त्यसैले सुटिङको तीन दिनपछि सुमीलाई छानिएको थियो । यही फिल्मका अभिनेता रवीन्द्रसिंह बानियाँ भन्छन्, “अमृत र सुमीको जीवन्त अभिनयले म र दयाहाङ (राई)लाई आच्छुआच्छु पथ्र्यो । किनभने, उनीहरू आफ्नै जीवन बाँचिरहेका थिए, हामी बाँचेको जस्तो नक्कल गरिरहेका थियौँ ।”
इटालीमा दोस्रो विश्वयुद्धपछि कम बजेटमा समाज अन्तरकथा खोतल्ने फिल्म बनाउन थालिएसँगै नन–एक्टरलाई काम गराउने अभ्यास सुरु भयो । पछि यो ‘ट्रेन्ड’ इरानतिर सर्यो । नन–एक्टरलाई खेलाइएका फिल्महरूबाटै इरानले विश्व फिल्मी मानचित्रमा आफ्नो अलग र विशेष पहिचान बनाइरहेको छ । हामीकहाँ कालो पोथीहरूले त्यही सम्भावना देखाएका छन् । भनिहालियो, नन–एक्टरलाई अभिनय गराइएका फिल्म एकातिर सामाजिक यथार्थसँग अति नजिक हुन्छन्, अर्कातिर विदेशी फिल्म फेस्टिभलमा सम्मानजनक उपस्थिति जनाएका छन्, नुमाफुङदेखि डाइङ क्यान्डलसम्मले । निर्देशक सुब्बा भन्छन्, “बलिउडको मसला ह्याङ र स्टारको टाउको बेच्ने प्रवृत्तिको अन्त्य गर्न पनि नन–एक्टरलाई काम गराउनु फलदायी हुन्छ ।”
तर, संकट त नन–एक्टर फिट हुने मौलिक कथा र उनीहरूलाई काम गराउने निर्देशकको न हो !
सम्बन्धित
पर्फ्युममा सुँघ्ने क्षमतासँगै अस्तित्वको खोजी र ग्रनोई अवचेतन रूपमै मृत्युको नजिक रहेको दे...
सिनेमामा गन्धको प्रस्तुति
गरिरहेका काम जहाँको तहीँ थाती राखेर क्वारेन्टाइन पसेका रंगकर्मीको उकुसमुकुस ...
नाटकघरमा उज्यालो फर्केला ?
अमेरिकन आइडल–२०२० को उपाधि चुम्न आतुर नेपाली ठिटो...
'भाषा हटाइदिनुस्, भावना उस्तै हुन्छ'
बलिउडमा स्थापित भन्दा फरक पृष्ठभूमिबाट सिनेक्षेत्रमा प्रवेश गरेका इरफानको संघर्ष आफैंमा एउ...
इरफानको शक्तिशाली समय
लकडाउनमा सेलिब्रिटी दैनिकीः पारिवारिक पुनर्मिलन, सिर्जनात्मक रचनादेखि जनचेतनाका आवाजसम्म...
सेलिब्रिटीका लकडाउन सिर्जना
च्याम्पियनका अन्य प्रतिस्पर्धीले कन्टेन्टका लागि माथापच्ची गरिरहादा हिमेश भने तु लेखिसक्थे...