चित्र कोरेजस्तो उपन्यास
उपन्यासको विशेषता भने यसको इतिहास र विगतको समाजलाई जीवन्त तुल्याउन गरेको प्रयास नै हो ।
स्वच्छन्द र निस्फिक्री जीवन बिताउने चाहना राख्ने एक किशोरी ।
नाम : तिलोत्तमा उप्रेती ।
स्थान : भारत–नेपालको सीमावर्ती कुमाउँ क्षेत्र ।
समय : उन्नाइसौँ शताब्दीको उत्तराद्र्ध ।
लेखक, प्रकाशक र साहित्यिक महोत्सवहरूकी निर्देशक नमिता गोखलेको उपन्यास थिङ्स टू लिभ बिहाइन्ड (बिर्सन पर्ने कुराहरू)की यी पात्र आफूले बिताइरहेको समयभन्दा धेरै अगाडि जन्मिएझैँ लाग्छ । र, आफ्ना साथीसँगीभन्दा निकै फरक पनि । यिनै तिलोत्तमाको जीवनसँग जोडिएर आउने भारतीय, नेपाली र अंग्रेज पात्रहरूसँगै अघि बढ्दै गएको यो उपन्यासले अन्तत: त्यो समयको समग्र शासन
व्यवस्था र सामाजिक पृष्ठभूमिलाई नै छर्लंग पारिदिन्छ ।
अ हिमालयन लभ स्टोरी र द बुक अफ स्याडोज्मा पहाडी जीवनको खुलेर वर्णन गरिसकेकी गोखलेले यो उपन्यासलाई तिनकै शृंखला मानेकी छन् । भारत स्वतन्त्र हुनुभन्दा धेरैअघि कुमाउँमा चलिरहेको अन्र्तद्वन्द्व र त्यहाँका बासिन्दाले देखे/भोगेको दैनिक जीवनलाई उनले आफ्नो कथावस्तु बनाएकी छन् । यसले गर्दा प्राय: भारतका ठूला सहर र नाम चलेका सेनानीहरूलाई केन्द्रमा राखेर तयार गरिने पुस्तक र चलचित्रभन्दा उनको उपन्यास भिन्न र स्मरणयोग्य बनेको छ ।
लखनउमा जन्मिए पनि बाल्यकालका धेरै वर्ष नैनीतालमा बिताएकी गोखलेले पहाडी रहनसहन र विशेष गरी यहाँका महिलाप्रति आफ्नो अगाध स्नेह रहेको कुरा अन्तर्वार्ताहरूमा बारम्बार व्यक्त गरेकी छन् । भन्छिन् मात्र होइन, यहाँ त उनले त्यो माया पानैपिच्छे छताछुल्ल पारेकी पनि छन् । उनको उपन्यासका हरेक पृष्ठमा छङछङ बग्ने झरना र घुमाउरा खोला, रंगीबिरंगी जंगलीफूल, शान्त नीला तलाउ, हिउँले छोपेका हिमालले पढ्दाखेरि आफू कुनै रमणीय संसारमा डुलिरहेको अनुभूति गराउँछन् । यसमा पनि त्यस्तै छ । यसको परिवेश नै मुख्य पात्रझैँ भूमिकामा छ । यसले कृतिको दोब्बर शोभा बढाएको छ । प्रत्येक हरियो पात र शीतको थोपाको सविस्तार वर्णन गरेर गोखलेले उपन्यासलाई कुनै चित्रकला वा कविताझैँ सुन्दर बनाएकी छन् । मनै प्रसन्न पार्ने उनको शब्द छनोट र वाक्य बनावटका नमुनाले पनि कृतिमा प्राण थपिएको छ ।
परिवेशको व्याख्याजत्तिकै ध्यान दिएर गोखलेले आफ्ना पात्रलाई पनि सजीव तुल्याएकी छन् । उनका महिला पात्र र विशेष गरी तिलोत्तमामा जुन प्रकारको वैचारिक शक्ति र साहस छ, अन्य पुस्तकका पात्रमा भेटाउन गाह्रै पर्छ । तिलोत्तमाकी छोरी देवकी र उनीहरूकी धार्मिक प्रवर्तक साथी रोजमेरीको चरित्र चित्रण पनि निकै ध्यान दिएर गरिएको छ । त्यति अगाडिको समयलाई छानेर र त्यस बेलाको सामाजिक अवस्थालाई ध्यानमै राखेर पनि उनले आफ्ना महिला पात्रलाई बलशाली बनाएकी छन् ।
गोखलेका महिला पात्र बडो रोचक छन् र प्रेरणादायी पनि । केन्द्रीय पात्रमा नारी नै भए पनि त्यतिबेलाको समाजलाई प्रतिविम्बित गरेको बहाना बनाउँदै निरीह र अबलाका रूपमा चित्रण गर्ने प्रवृत्तिलाई उनले चुनौती दिएकी छन् । यो फरक प्रयास बुझ्न र पढ्न निकै मजा आउँछ ।
उपन्यासको विशेषता भने यसको इतिहास र विगतको समाजलाई जीवन्त तुल्याउन गरेको प्रयास नै हो । प्रशस्त खोज, अनुसन्धान र शोध गरेर मात्र लेखिएको प्रतीत हुने यो उपन्यासमा भारतमाथि अंग्रेजले गर्ने राज, सीमा क्षेत्रमा त्यसले पर्ने प्रभाव, नेपाल–भारतबीचको राजकीय र सामाजिक अन्तर्सम्बन्ध अनि त्यो बेलाको धर्म–संस्कृति र मनोविज्ञान सरल ढंगमा बुझ्नका लागि कृति उपयोगी छ । अझ नेपालका राजा–रजौटा, चिकित्सक जीवनचन्द्र पन्त र डोटेली सहयोगीहरूको पनि प्रसंग जोडिएकाले नेपाली पाठकका लागि उपन्याससँग बेग्लै आत्मीयता जोडिनेछ ।
यस उपन्यासमा कहीँ–कहीँ भने ऐतिहासिक घटनाक्रम र पात्रहरूको खुलेरै वर्णन गरिएको छ, जुन इतिहासमै अत्यधिक चाख राख्ने पाठकबाहेक अरूलाई पट्यार लाग्न सक्छ । किनभने, विद्यालयमा इतिहासकै पाठ्यक्रममा समावेश भएजस्ता अनुच्छेद पढ्न कमैलाई मन लाग्ला । कुनै–कुनै ठाउँमा आख्यान र इतिहासको तारतम्य नमिल्दा केही पृष्ठ निरस पनि बन्न पुगेका छन् । फेरि, कथा पूर्णतया: इतिहासका पात्र वा घटनामा पनि सीमित छैन, कहीँ मिथक र किंवदन्ती आएर जोडिन्छन् भने कतै गोखलेले आफ्नै सम्झनाहरूले काम चलाउँछिन् । कहिलेकाहीँ लम्बिएका यस्ता स्पष्टीकरणले कथामा क्षणिक रोकावट ल्याए पनि गोखलेको कलम फेरि उनका पात्र र कुमाउँका मनोरम स्थलहरूलाई वर्णन गर्न थालिहाल्छ र उपन्यास पुन: मन्दगतिमा अघि बढ्छ ।
सुन्दर लेखाइ र समसामयिक साहित्यभन्दा बेग्लै स्वाद दिने यो उपन्यास ऐतिहासिक चिरफार र विश्लेषण मन पराउनेहरूका लागि उत्कृष्ट उपहार हुनेछ ।
थिङ्स टू लिभ बिहाइन्ड
लेखक : नमिता गोखले
प्रकाशक : पेन्गुइन
पृष्ठ : ३०२
मूल्य : ८०० रुपियाँ
सम्बन्धित
भोको बिहान बोकेर, सँधै सँधै उदाइरहने, मेरा हत्केलाका ठेलाहरू हेर, लेख्न सक्छौ तिमी, मेरा अ...
पोस्टमार्टम स्थलबाट सूर्यबहादुर तामाङको आग्रह
जुत्ताको तलुवामुनि, सदियौँदेखि कुल्चिएका छौ तिमीले - मेरो अस्तित्व । (कविता)...
म निसास्सिइरहेको छु
मैले तिमीलाई गाउँ गाउँ अनि दलित, गरिबका बस्ती बस्तीमा आउ भनेको थिएँ । तर तिमी त सहर-बजारका...
गणतन्त्र
गाउँभरि युवाहरूको अभावमा खेत बाँझो देख्न नसकी, घरका हल गोरुसँगै, आफ्नो पनि हत्या गर्ने वृद...
एक बौद्धिकलाई प्रश्न
मेरो अन्त्यको अर्थहीन विलम्बबीच म सोचमग्न छु- अविलम्ब जागृत हुनुपर्ने मानिस कहाँ छ ? (कवित...
सृष्टिमा अन्तिम सेतो जिराफ
सत्तालाई सबैभन्दा बढी झोँक चल्छ, जब चिच्चाउन थाल्छ कोही नाङ्गो मानिस... ...