दक्षिण सुडान: जातीय युद्धले छियाछिया
जात आधारित राजनीतिको परिणाम
रुम्बेक (दक्षिण सुडान) ।। अफ्रिकाको सबैभन्दा लामो गृहयुद्धका कारण २० लाखभन्दा बढी मानवीय क्षति बेहोरेर ६ वर्षअघि सुडानबाट अलग भएको दक्षिण सुडान स्वतन्त्रतापछि जारी जातीय युद्धका कारण तहसनहस भएको छ । यस्तो लाग्छ, अब दक्षिण सुडानसँग गुमाउनलाई केही छैन । जातीय लडाइँ कति भयानक र नृशंस हुन्छ, त्यसको उदाहरण बनेको छ, दक्षिण सुडान ।
“युद्धमा हामीले सबैथोक गुमायौँ,” दक्षिण सुडानको रुम्बेकका मोसेस बाकोर, ३२, युद्धको त्रासदी सुनाउँदै थिए, “अब त गुमाउनका लागि केही बाँकी छैन ।” मोसेस गृहयुद्ध अन्त्य भएको हेर्न चाहन्छन्, शान्ति र विकास चाहन्छन् । सबैले पढ्न पाऊन् भन्ने कामना गर्छन् । उनीजस्तै अन्य सुडानीको पनि वार्ता र संवादबाट समस्याको समाधान होस् भन्ने चाहना छ । तर, नेतादेखि जातीय अगुवाहरूमा उग्र जातीयता, बदला र प्रतिशोधको भावना यति हाबी भएको छ कि त्यस्तो भावना बाहिर आउनै पाउँदैन । जातीय युद्धबाट अशान्त रहेको दक्षिण सुडानमा शान्ति स्थापनार्थ खटिएको नेपाली सेनाका एक अधिकृतको चिन्ता थियो, जातीयताको यो आगोले नेपाललाई नजलाओस् ।
बेलायती उपनिवेशबाट सन् १९५६ मा मुक्त भएयता सुडानी जनताले कहिल्यै शान्ति र स्थिरता देख्न पाएनन् । उत्तर र दक्षिण सुडानबीच ३८ वर्ष लामो लडाइँ भयो । १९५५ देखि १९७१, १९८३ देखि २००५ सम्म द्वन्द्व जारी रह्यो । ६० वर्ष लामो गृहयुद्धमा २० लाखभन्दा बढीको मृत्यु भएपछि २००५ मा युद्धविराम भयो । त्यसपछि पनि दक्षिण सुडानको स्वतन्त्रताका लागि संघर्ष जारी रह्यो । जोन गराङको नेतृत्वमा १९८३ मा स्थापना भएको साउथ सुडान लिबरेसन मुभमेन्ट (एसएसएलएम) र त्यस मातहतको साउथ सुडान लिबरेसन आर्मी (एसएसएलए)ले गरेको सशस्त्र संघर्षमा थप लाखौँ नागरिकले ज्यान गुमाए । २०११ मा भएको जनमतसंग्रहमार्फत अलग्गिएको दक्षिणी सुडान दुई वर्ष केही शान्त रहे पनि राष्ट्रपति साल्भाकिर र उपराष्ट्रपति रिक माचारबीच द्वन्द्व चर्किएपछि पुन: गृहयुद्धमा धकेलियो ।
दक्षिण सुडानमा ६० भन्दा बढी फिरन्ते जाति छन् । डिङ्का र नियुर यहाँका प्रमुख जाति हुन् । यहाँ डिङ्का ३६ र नियुर १६ प्रतिशत छन् । स्वतन्त्रताका लागि यी दुवै जाति मिलेर लडेका थिए । त्यही कारण स्वतन्त्रतापछि डिंका जातिका साल्भाकिर राष्ट्रपति र नियुर जातिका रिक माचार उपराष्ट्रपति भए । तर, सत्तामा पुगेपछि दुवै नेताबीच बढेको जातीय वर्चस्व कायम गर्ने महत्त्वाकांक्षा र अहंकारका कारण शान्ति प्रक्रिया नै धरापमा पर्यो । अहिले बाहिरबाट हेर्दा डिङ् का र नियुर जातिबीच मात्र द्वन्द्व देखिए पनि डिङ् काकै उपजातिहरूका बीचमा र अन्य जात–जातिका बीचमा पनि उत्तिकै द्वन्द्व र मारकाट भइरहेको छ ।
डिसेम्बर २०१३ मा राष्ट्रपति साल्भाकिरले उपराष्ट्रपति माचारमाथि कुको आरोप लगाउँदै पदच्यूत गरे । साल्भाकिरले सुडान पिपुल्स लिबरेसन आर्मी (एसपीएलए)का नियुर जातिका अधिकृतहरूलाई निशस्त्र गरेर निकालिदिए । त्यसलगत्तै नियुर जातिकै ४० हजार सैनिकलाई लिएर माचार बाहिरिएपछि दक्षिण सुडान पुन: गृहयुद्धमा धकेलियो । लडाइँका कारण १६ लाख विस्थापित भएका छन् । १० हजारभन्दा बढीको मृत्यु भएको छ । सन् २०१३ यता जातीय द्वन्द्वका कारण १० लाखभन्दा बढीले देश छाडेका छन् । देशभित्रै विस्थापित भएर शिविरमा बस्नेको संख्या दुई लाख २३ हजार छ ।
आफ्नै देशमा विस्थापित हुनुको पीडा दक्षिण सुडानीलाई मात्र थाहा छ । शिविरभन्दा बाहिर जाँदा मारिने डर त छँदै छ, भोकभोकै मर्ने भयले पनि उनीहरू बाहिर निस्किन सकिरहेका छैनन् । शिविरभित्र कम्तीमा सुरक्षा र आवश्यक खाद्यान्न यूएनले उपलब्ध गराइरहेको छ । हो, यही कारण शिविरमा रहेकाहरूको संख्या घट्नुको साटो अन्यत्रबाट विस्थापित भएर आउने क्रम जारी रहेका कारण शिविरहरू साँघुरो हुँदै गएका छन् ।
सडकमा आममानिस कम, एसपीएलएका सैनिक बढी भेटिन्छन् । उनीहरूको कुनै निश्चित पोसाक हुँदैन । मैलो र पुराना पोसाकमा फाटेका जुत्ता–चप्पल लगाएकाहरूका हातमा एके–४७ देख्दा उनीहरू सेना हुन् कि विद्रोही छुट्याउन गाह्रो हुन्छ ।
१९८३ मा दक्षिणी सुडानको स्वतन्त्रताका लागि विभिन्न जातिका सैनिकहरूलाई एकीकरण गरी गठन गरिएको एसपीएलए नै सन् २०११ मा स्वतन्त्रतापछि राष्ट्रिय सैनिकमा परिणत भएको हो । तर, चेन अफ कमान्ड छैन, एसपीएलएमा । केन्द्रीय कमान्डको निर्णय तल्लो तहका कतिपय सेनाले स्वीकार गर्दैनन् । उनीहरू आफूखुसी निर्णय र काम गर्छन् । एसपीएलएका विरुद्ध कहीँकतै सुनुवाइ पनि हुँदैन ।
सुडानबाट अलग्गिँदा उनीहरू एक थिए । मुख्य परिचय थियो, दक्षिणी सुडानी नागरिक । अनि, धार्मिक रूपमा उनीहरूको अर्को परिचय थियो, क्रिस्चियन । धर्म एउटै तर ईष्र्या र प्रतिशोध यति हाबी छ कि उनीहरूले देश र धर्म एउटै भएको बिर्सिएका छन् । एउटै जातिको उपजातिबीच समेत मारामार छ । जातको राजनीति कति भयावह हुन्छ, घृणा र बदलाको भावना कति खतरनाक हुन्छ, त्यसको उदाहरण दक्षिण सुडान हो ।
दक्षिण सुडानमा शान्ति स्थापनार्थ खटिएको नेपाली सेनाका सकल दर्जाको एउटै चिन्ता छ, नेपाल दक्षिण सुडान नबनोस् । जातीय युद्धले तहन–नहस भइरहेको यो देशलाई नजिकबाट हेरिरहेका एक सैनिक अधिकारी भन्छन्, “हाम्रा नेताले दक्षिण सुडानबाट पाठ सिक्लान् ?”
सम्बन्धित
अमेरिकाले बर्सेनि निकाल्ने आतंकवादसम्बन्धी प्रतिवेदन नेपालबारे फेरिएको धारणा...
नेपाललाई 'आतंकवादको हब' मान्ने अमेरिकी धारणा कसरी परिवर्तन भयो ?
लकडाउनपछि आफ्नो मुलुक फर्किएका भारतीय मजदुर सम्पर्कमै आएनन्, रेडजोनमा परेका स्वदेशकैलाई ल्...
उद्योग चलाउनै मुस्किल
सात दशकयताको दलीय तानातानको शिकार बन्दै आएको नागरिकता मुद्दामा यसपल्ट पनि विगतकै राजनीतिक ...
नागरिकतामा किन सधैँ किचलो ?
केन्द्रीय अनुसन्धान ब्युरो, बाग्मती प्रदेशसहितको सिन्धुपाल्चोक, काभ्रे र प्रदेश २ सर्लाहीब...
आश्रममै रहे पनि किन पक्राउ पर्दैनन् बमजन ?
मुख्यमन्त्री शंकर पोखरेललाई प्रदेशमा आएर केन्द्रीय भूमिका गुम्ने भय, पार्टी इन्चार्ज र अर्...
ओलीका ‘अलराउन्डर’ विश्वासपात्र
कोरोना महामारीले खर्च घटाउन र प्रशासनलाई चुस्त राख्न सबक सिकाए पनि अनावश्यक खर्च कटौतीमा भ...