जहाज खरिद प्रक्रिया अवरुद्ध
ऋणदाता सञ्चय कोष र नागरिक लगानी कोषले खरिद प्रक्रियामा उठाए प्रश्न
नेपाल वायुसेवा निगमका दुईवटा वाइड बडी एयरबस–३३०–२०० जहाज खरिद प्रक्रियामा कर्मचारी सञ्चयकोष र नागरिक लगानी कोषले एकाएक ‘ब्रेक’ लगाइदिएका छन् । सरकारी स्वामित्वका यी दुई संस्थाले कतिपय कागजात भरपर्दो र विश्वसनीय नभएको भन्दै निगमलाई थप प्रस्ट पार्न र आवश्यक कागजात उपलब्ध गराउन पत्राचार गरेपछि खरिद प्रक्रिया अवरुद्ध भएको छ ।
७ वैशाख ०७४ को मन्त्रिपरिषद्ले जहाज खरिदका लागि सञ्चय कोष र नागरिक लगानी कोषबाट २५ अर्ब ऋण उपलब्ध गराउनका लागि सरकार जमानी बस्ने निर्णय गरेको थियो । सञ्चय कोष र लगानी कोषलाई अर्थ मन्त्रालयले ग्यारेन्टीपत्र पनि पठाइसकेको छ । अर्थ मन्त्रालयबाट पत्र पाएपछि ऋण प्रवाह गर्ने अन्तिम तयारीमा थिए, यी दुवै कोष । तर, संस्थाका विज्ञहरूको अध्ययनले जहाज खरिद प्रक्रियामा कतिपय कुरा अस्पष्ट रहेको र कागजात अपुग भएको औँल्याएपछि भने यी दुवैले निगमलाई पत्र पठाएका हुन् । दुवै संस्थाले निगमलाई पत्राचार गरेको पनि दुई साता नाघिसकेको छ । र, यी पंक्ति लेखुन्जेल ५ जेठसम्म पनि निगमले पत्रमा भनिए अनुसारको कागजात र जवाफ उपलब्ध गराएको छैन ।
सुरुआती टेन्डर, समझदारीपत्र र खरिद सम्झौताबीच रहेका कतिपय असंगतिमाथि सञ्चय कोष र नागरिक लगानी कोषले प्रश्न उठाएका छन् । तीमध्येका केही प्रश्न हुन् :
रकम भुक्तानी गर्न लागिएको कम्पनी वैधानिक हो कि होइन ? कम्पनीबारे सुरुकै ‘रिक्वेस्ट फर प्रपोजल’ (आरएफपी)मै किन उल्लेख गरिएन ? खरिद समझदारी एएआर कर्पोरेसन इन्क (अमेरिका), जर्मन एभिएसन क्यापिटल (जर्मनी) र हाइफ्लाइ एरो ट्रान्सपोर्ट (पोर्चुगल)को सहवित्तीयकरण (कन्सोर्टियम) सँग भएको तर सम्झौताचाहिँ हाइफ्लाइ एक्स आयरल्यान्डसँग किन गरिएको ? अर्डर दिइएको भनिएको जहाज निगमकै लागि हो भन्ने के ग्यारेन्टी छ ? भुक्तानी दिएपछि जहाज आउँछ भन्ने आधार के ? रकम भुक्तानीका लागि बेलायतमा खोल्ने खाता सञ्चालन र नियन्त्रण कसरी हुन्छ ? खाता सञ्चालन सम्बन्धमा भविष्यमा कुनै विवाद सिर्जना भयो भने त्यसको निरूपण कसरी गर्ने ?
यी प्रश्नहरूको प्रस्ट र चित्तबुझ्दो जवाफ नआएसम्म दुवै सरकारी संस्था ऋण सम्झौता गर्ने पक्षमा छैनन् । सरकार नै ग्यारेन्टी बसेपछि ऋण प्रवाहमा किन ढिलाइ त भन्ने प्रश्नमा कर्मचारी सञ्चय कोषका प्रमुख कार्यकारी अधिकृत कृष्णप्रसाद आचार्य भन्छन्, “सञ्चय कोषका लागि सरकार ग्यारेन्टी बसेको हो । त्यो त भुक्तानीको ग्यारेन्टी मात्र हो । हामी केही विषयमा प्रस्ट र विश्वस्त हुन चाहन्छौँ । हामीले मागेका कागजात प्राप्त भएपछि त्यसको अध्ययन गरिनेछ ।” चित्तबुझ्दो जवाफ आएको खण्डमा मात्र कोषको बोर्डमा ऋण प्रस्ताव लगिने र अन्तिम निर्णय लिइने आचार्यको भनाइ छ । नागरिक लगानी कोषका नायव प्रमुख कार्यकारी अधिकृत तथा प्रवक्ता सुशीलकुमार अर्याल पनि निगमलाई सोधिएका प्रश्नहरूको प्रस्ट जवाफ आएसम्म ऋण सम्झौता अघि नबढ्ने बताउँछन् । भन्छन्, “लगानी कोष कुनै किसिमको हतारो गर्ने पक्षमा छैन । सञ्चय कोष र लगानी कोष दुवै सरकारी संस्था भएकाले एकअर्काको समन्वयमा नै ऋण सम्झौता गरिनेछ ।” जहाज खरिदको ऋण प्रवाहमा सञ्चय कोष अनुभवी भएकाले समन्वय गरेर मात्र निर्णय लिइने उनी बताउँछन् ।
निगमले १९ भदौ ०७३ मा ४५ दिनको समय दिएर दुईवटा जहाजका लागि ग्लोबल टेन्डर आह्वान गरेको थियो । टेन्डरमा ११ वटा कम्पनी सहभागी भएका थिए । एएआर कर्पोरेसनले सबैभन्दा कम मूल्य कबोलेर जहाज आपूर्ति गर्ने मौका पायो । पोर्चुगलको हाइफ्लाइ एरो ट्रान्सपोर्टले जहाज उत्पादक कम्पनीले एयरबस इन्डस्ट्रिजसँग खरिद सम्झौता गरेको दुईवटा एयरबस जहाज एएआरले निगमलाई उपलब्ध गराउने भनेको हो । त्यसैले यी दुई कम्पनीसहित जर्मन एभिएसन क्यापिटल पनि रहेको कन्सोर्टियमसँग निगमले १४ माघ ०७३ मा जहाज खरिदका लागि समझदारीपत्रमा हस्ताक्षर गरेको थियो । तर, खरिद सम्झौताचाहिँ त्यो कन्सोर्टियमसँग भएन । २५ चैत ०७३ अप्रिलमा भएको सम्झौता निगम र अर्को नयाँ कम्पनी हाइफ्लाइ एक्स आयरल्यान्ड लिमिटेडसँग भयो । अनौठो त के भने निगमले सम्झौता गरेको हाइफ्लाइ एक्स १० फागुन ०७३ मा मात्रै आयरल्यान्डमा दर्ता भएको हो । जबकि, त्यसको करिब एक महिनाअघि नै निगमले जहाज खरिदका लागि कन्सोर्टियमसँग समझदारी गरिसकेको थियो ।
निगमले गरेको समझदारीपत्रमा प्रत्येक जहाजका लागि दुई जना इन्जिनियर र चार सदस्यीय फ्लाइट क्रुका लागि ३२ लाख डलर छुट्याइएको छ । यस हिसाबले प्रत्येक सदस्यका लागि औसत करिब ४५ हजार डलर तिर्नुपर्ने हुन्छ । जबकि, अन्तर्राष्ट्रिय बजारमा मासिक १० देखि १५ हजार डलरमा पाइलटहरू सहजै पाइन्छन् । समझदारीपत्रमा उल्लेख भए पनि त्यो बाध्यकारी नहुने निगमका प्रबन्ध निर्देशक सुगतरत्न कंसाकार दाबी गर्छन् । भन्छन्, “कतिवटा पाइलट राख्ने र कसरी लिने त्यो निगमको कुरा हो । समझदारीपत्रमा उल्लेख भए पनि त्यो बाध्यकारी छैन ।” तर, प्राविधिक मूल्यांकन दस्तावेजमा उल्लिखित विवरणले कंसाकारको दाबीलाई गलत साबित गर्छ । त्यसमा फ्लाइट क्रुका लागि छुट्याइएको ३२ लाख डलर जहाजको मूल्यमै समावेश गरिएको प्रस्टसँगै उल्लेख छ । यसबाट जहाजको मूल्य अनावश्यक बढाउने नियत राखिएको आशंकालाई बल पुगेको छ ।
निगमका उच्च अधिकारीहरू एक हजार घन्टाभन्दा कम उडेको जहाज खोजेको एएआरले नयाँ जहाज नै दिने प्रस्ताव गरेकामा दंग देखिन्छन् । प्रबन्ध निर्देशक कंसाकार भन्छन्, “हामीले टेन्डर गरेको तीन महिना चलेको वा एक हजार घन्टा चलेको ल्याउने योजना थियो । तर, चिन्ता थियो कन्डिसनको पाइन्छ कि पाइँदैन भन्ने । भाग्यवश, नयाँ जहाज नै भेटियो । हाइफ्लाइले नयाँ जहाजका लागि एअरबसमा अर्डर गरिसकेको रहेछ ।”
निगमका उच्च अधिकारीहरूले एएआरको तर्फबाट हाइफ्लाइले एअरबससँग नयाँ जहाजका लागि सम्झौता गरिसकेको दाबी गरेका छन् । तर, एअरबसको बेबसाइटको विवरण अनुसार १७ वैशाख ०७४ सम्ममा हाइफ्लाइ नामक कम्पनीले नयाँ जहाजको अर्डर दिएको छैन । बरू हाइफ्लाइका नाममा रहेका दुईवटा ए ३३०–२०० सञ्चालनमा रहेको उल्लेख छ । यसले नयाँ जहाज नै ल्याउन लागिएको भन्ने निगम अधिकारीको दाबीमाथि शंका उत्पन्न गराएको छ । स्रोतका अनुसार सञ्चय कोष र नागरिक लगानी कोषले जहाज निर्माता एअरबससँगको सम्झौताको कागजात माग गरेपछि मात्र निगमका अधिकारीहरूको अनुरोधमा हाइफ्लाइले एअरबससँग सम्झौता गर्ने तयारी गरेको छ ।
तर, सञ्चय कोष र नागरिक लगानी कोषले देखाएको चासोले खरिद प्रक्रियालाई पेचिलो बनाएको छ । र, निगम व्यवस्थापनले यी दुई सरकारी संस्थाले अघि सारेका चासोलाई कसरी सम्बोधन गर्छ, त्यसैमा जहाज खरिद प्रक्रियाको भविष्य निर्भर गर्छ ।
सम्बन्धित
राष्ट्रको आर्थिक योजनाको मेरुदण्ड मानिने बजेटमा निश्चित व्यक्ति एवं घरानाको स्वार्थ हावी ह...
बजेटमा चलखेल, पहिलो घटना भने होइन
निश्चित व्यापारी पोस्ने ध्येयले भन्सार दर परिवर्तन गर्ने अर्थमन्त्री खतिवडाको व्यापारीसँग ...
गुलियो चकलेटभित्रको नमीठो खेल
लकडाउनको उकुसमुकुसमा अनौपचारिक क्षेत्रका श्रमिकहरू...
भाइरसबाट बच्न खोज्दा भोकै परिने डर
गाउँपालिकालाई खाद्यान्नमा आत्मनिर्भर बनाएर गाउँ फर्किएका युवालाई कृषि पेसामा प्रोत्साहन गर...
खाद्यान्न बढी फलाउनेलाई नगदै पुरस्कार
सरकारले कोरोनापछिको अर्थतन्त्र चलायमान बनाउन स्वास्थ्य, कृषि, पूर्वाधार र रोजगारी सिर्जनाल...
आउँदो बजेटमा प्राथमिकताका तीन क्षेत्र
सय दिन नेपाली आकाशमा रहने मनसुनले अनुकूल वर्षा गराउने आकलन...