[स्मरण] त्यो नखोतलिएको दु:खदायी घटना
दिल्ली सम्झौताका क्रमका नेपाली भूमिमाथि कुनै किसिमको आक्रमण, दंगा र फसाद सिर्जना भए भारतीय फौजले सहयोग गर्ने समझदारी बनेको रहेछ ।
बैरगनिया सम्मेलनको ‘गर या मर’ प्रतिबद्धता अनुरूप सशस्त्र संघर्ष उत्कर्षतर्फ लम्किरहेको थियो । एकाएक नेताहरू दिल्ली पुगे । दिल्लीमै राजा, भारत र नेपाली कांग्रेसबीच त्रिपक्षीय सम्झौता भयो । उक्त सम्झौता धोका हो भन्ने भैरहवा क्याम्पस्थित हाम्रो मुक्ति सेनाको निष्कर्ष थियो । राणाशाही पूर्ण रूपमा निर्मूल नभएसम्म सशस्त्र आन्दोलन जारी रहन्छ भन्ने उद्घोष गर्दै डा केआई सिंहको नेतृत्वमा रहेको हाम्रो मोर्चाले संघर्ष जारी राख्ने निर्णय गर्यो ।
९ फागुन २००७ को बिहान ३ बजेको हुँदो हो । भैरहवास्थित कदमहवामा रहेको हाम्रो क्याम्पमा भीषण आक्रमण भयो । एक्कासि चारैतिरबाट मोर्टार, सेल र ठूला फायरपावरबाट धावा बोलियो । तर्साउने र नियन्त्रणमा लिने उद्देश्यभन्दा पनि मुक्ति सेनाका प्रजातन्त्र सेनानीको नामोनिसान समाप्त पार्ने किसिमले भारतीय फौजलाई विधिवत् रूपमा नेपाल प्रवेश गराएर हामीमाथि उक्त जघन्य आक्रमण भएको थियो ।
राजा त्रिभुवन मुलुक छोडेर भारत (दिल्ली) जाने क्रममा उनले जुगाड गरेको रसदपानी र सरसामग्री हेर्दा उनी छिट्टै स्वदेश फर्किने छनक थिएन । मुलुकमा तुरुन्तै प्रजातन्त्र आउने संकेत पनि थिएन । सायद राजाले पनि यही रहस्य बुझेर उक्त कदम चालेका थिए । राजाको प्रजातान्त्रिक विचारका बाबजुद भारतीय दूतावास एवं कूटनीतिक क्षेत्रले अपनाएको हस्तक्षेपकारी अभियान त्यतिबेलै पनि आलोच्य थियो । तर, कसैले यसतर्फ ध्यान दिएन । वास्तवमा मुलुकमा भारतीय हस्तक्षेप र हेपाहा प्रवृत्तिको सुरुआत त्यही घटनाबाट सुरु भएको थियो । यसरी राजा त्रिभुवनलाई शरण दिने नाममा सुरु भएको नेपाली भूमिमाथिको हस्तक्षेपकारी घटना भारतीय सुरक्षा फौजलाई मुलुकमा भित्र्याएर सार्वजनिक रूपमै पटाक्षेप गर्ने काम यस घटनाले गरेको थियो ।
दिल्ली सम्झौताका क्रमका नेपाली भूमिमाथि कुनै किसिमको आक्रमण, दंगा र फसाद सिर्जना भए भारतीय फौजले सहयोग गर्ने समझदारी बनेको रहेछ । सोही अनुरूप हामीमाथि आक्रमण भएको अनुमान लगाउन कठिन भएन । तर, नेपाली सीमा क्षेत्रसँग जोडिएका भारतीय क्यान्टोनमेन्टका फौजभन्दा धेरै टाढा पुगेर दक्षिण भारतको मराठा पल्टन झिकाएर हामीमाथि आक्रमण गरिनुको रहस्य पनि धेरै समय रहेन । सीमा नजिकका र नेपाली भूमिसँग जोडिएका पल्टनलाई ल्याएर आक्रमण गर्न लगाउँदा सहानुभूति र मानवीय पक्षलाई मध्यनजर गर्न सक्ने आकलन गरेरै त्यति टाढाको फौजलाई झिकाइएको रहेछ ।
मराठा पल्टनको आक्रमणका क्रममा हाम्रा नौ जना वीर जवानले सहादत प्राप्त गरे भने झन्डै ३ सय ५० को संख्यामा रहेका मुक्ति सेनाका सेनानीलाई नेल–हत्कडी र जनसाधरणलाई डोरीले बाँधेर नेपाली सेनाको जिम्मा लगाइयो । राजनीतिक संघर्षका योद्धाका रूपमा होइन कि कुनै आतंककारी वा अपराधीलाई गर्नेजस्तो व्यवहार भारतीय फौजले हामीसँग गर्यो ।
मराठा पल्टनका जवानले त्यस क्षेत्रमा मच्चाएको बितन्डा यति दर्दनाक र बीभत्स थियो कि जसको बयान गरिसाध्य छैन । गाउँगाउँबाट मुक्ति सेनाका सेनानी मात्र होइन, उनीहरूलाई समर्थन र सहयोग गर्ने जनसाधारणलाई खोजीखोजी उक्त सैनिक जत्थाले धरपकड गरेको थियो । आफ्ना बुट र बन्दुकको कुन्दाले टाउको र संवेदनशील अंगमा प्रहार गरेर ज्यादै ठूलो यातना र पीडा दिएको थियो । कतिसम्म भने उनीहरूले दिएको यातनाकै कारण कति सर्वसाधारणले पनि आफ्नो जीवन गुमाउनुपरेको थियो । तर, दुर्भाग्य ! यसको यकिन जानकारी र तथ्यांक न त तत्कालीन सरकारसँग छ, न मुक्ति सेनाको नेतृत्व पंक्तिसँग नै ।
त्यो आक्रमणका क्रममा वीरगति प्राप्त गर्ने नौ जना सहिदको समेत आजसम्म पहिचान खुल्न सकेको छैन । ती अज्ञात सहिदबारे संयुक्त सरकारले त खोजबिन गरेन नै, आफूलाई प्रजातान्त्रिक बताउने र मुक्ति सेनाको त्यही जगमा निर्माण हुन पुगेको नेपाली कांग्रेसको सरकारले पनि ध्यान पुर्याएन ।
आफ्ना जनतालाई विदेशी सेना लगाएर हत्या गरिनुजस्तो लज्जापूर्ण र घृणित कार्य अरू हुन सक्दैन । नेपाली सेना परिचालन गरेर सहजै ढंगले नियन्त्रणमा लिन सकिने अवस्थामा विदेशी सेना नेपाली भूभागमा उतारेर मच्चाइएको त्यो तान्डव वास्तवमै नेपालको राजनीतिक इतिहासमा कालो दिन हो ।
राणा प्रधानमन्त्री मोहनशमशेरको नेतृत्वमा रहेको कथित संयुक्त प्रजातान्त्रिक सरकारले यतिसम्मको क्रूरता प्रदर्शन गर्ला भन्ने लागेको थिएन । राणाहरूले ओछ्याएको मायाजालमा नेताहरू फसेका कारण यो घटना भएको थियो । शासनसत्तामा पुगेपछि जस्तै प्रजातान्त्रिक भनिने शक्ति पनि आफ्नो पद र प्रतिष्ठा जोगाउन कतिसम्म तल झर्दो रहेछ भन्ने एउटा उदाहरण थियो त्यो ।
भारतीय फौजले हामीलाई नियन्त्रणमा लिएपछि नेपाली सेनाको जिम्मा लगायो । झन्डै तीन महिना हामी जेल बस्यौँ । विद्यार्थीहरूलाई रिहा गर्ने सरकारी निर्णय भएसँगै हामी जेलमुक्त भयौँ । मेरो ९० वर्षको जीवनमा सबैभन्दा दु:खदायी सम्झना यही हो ।
प्रस्तुति: ईश्वरी ज्ञवाली
सम्बन्धित
कम्युनिस्ट पार्टीको गुपचुप गतिविधि गरिरहेका नरबहादुर कम्मर र छाती दुवैतिर जापानी, भारु, ने...
थैले काण्डमा पक्राउ पुर्जी
नारदमुनि स्वयंले अंग्रेजी पढाउँथे । ब्रिटिस फौजको जमदार भएका र त्यति धेरै नपढेका उनले हाम...
नारदमुनि थुलुङको सम्झना
हुन त कतिपयले ममा भारतीय कलाकार मकबुल फिदा हुसैनको प्रभाव परेको भन्ठान्छन् । तर भक्तपुरमा ...
यस कारण घोडाचित्र
राजा वीरेन्द्रले आफ्ना निजी सचिव चेतबहादुर कुँवरमार्फत ६० हजार रुपैयाँ पठाइदिए । त्यही पै...
राजाले दिएको टिकटमा अमेरिका
सरकारी स्वामित्वको अखबार भएको हुँदा व्यवस्थाको विरोध गरेर गोरखापत्रमा व्यंग्यचित्र बनाउन प...
अखबारमा कार्टुनकारिता
जापानको फुकुओका आर्ट म्युजियममा पहिलोपल्ट आयोजित एसियाली कला प्रदर्शनीमा दस अवतार सिर्जना ...