किन जित्छ सधैँ जर्मनी ?
जितको रहस्य– सशक्त युथ फुटबल
‘फुटबल एउटा यस्तो खेल हो, जसमा २२ खेलाडी एउटै बलका पछि कुद्छन् र अन्त्यमा सधैँ जर्मनीले जित्छ ।’ सन् १९९० को विश्वकपको सेमिफाइनलमा जर्मनीसँग पेनाल्टीमा हारेपछि इंग्ल्यान्डका ग्यारी लिनेकरले दिएको प्रतिक्रिया हो यो । १८ असारमा फिफा कन्फेडेरेसन कपको उपाधि जर्मनीले जितेपछि यो भनाइ एकपटक फेरि सार्थक बनेकोे छ ।
ग्यारी लिनेकरले भनेजस्तै विश्व फुटबलमा जर्मनीको टिमले सधैँराम्रो नतिजा ल्याएको छ । जुनसुकै प्रतियोगिता सुरु हुनुअघि दाबेदारको सूचीमा जर्मनी तल होला तर अन्त्यमा जर्मनीले जित्ने कुरामा ढुक्क भए हुन्छ । नपत्याए, प्रमुख प्रतियोगितामा उसको प्रदर्शन हेर्नाेस् । पछिल्लो चार विश्वकप र तीन युरोकपमा जर्मनी सेमिफाइनलमा पुगेको छ । समग्रमा जर्मनीले विश्वकपमा ११ पटक र युरोकपमा नौपटक सेमिफाइनल खेलेको छ ।
जर्मनी फुटबलको महाशक्ति हो । यो प्रमुख प्रतियोगितामा उसको प्रदर्शनले सिद्ध गरिसकेको छ । तर, जर्मनीबाट पलभरमै एकल प्रयासमा टिमलाई जिताउन सक्ने जादुयी खेलाडी बिरलै निस्किएका होलान् । ऊबेलाका पेले, म्याराडोना वा अहिलेका मेसी, रोनाल्डो वा नेयमारजस्ता । जादुयी खेलाडी नभए पनि सधैँ एकरुपको परिणाम कसरी निकाल्छ जर्मनीले ? आखिर कसरी जित्यो जर्मनीले ? हरेक खेलपछि विपक्षी टिमका समर्थकले यस्तै प्रश्न गर्छन् ।
जर्मन भाषामा उनीहरूको राष्ट्रिय फुटबल टिमलाई ‘डाई मान्च्साप्mट’ भनिन्छ । किन जित्छ जर्मनीले भन्ने प्रश्नको जवाफ उनीहरूको यही उपनाममा छ । डाई मान्च्साप्mटको अर्थ हो, ‘द टिम’ । व्यक्तिगत रुपमा प्रत्येक खेलाडीले जस्तोसुकै खेलून् तर एक टिमका रुपमा जर्मनीले सधैँ राम्रो खेलेको छ । कन्फेडेरेसन कपको उपाधि पनि जर्मनीले कुनै एक खेलाडीकै कारण जितेको होइन । टिमका रुपमा उसको समग्र प्रदर्शन विपक्षीको भन्दा राम्रो थियो । सेमिफाइनलमा मेक्सिको र फाइनलमा चिली खेलमा हाबी देखिए पनि पाएको मौका सदुपयोग र गल्ती कम गर्नेमा जर्मनी नै अघि थियो ।
जर्मनीका लागि अहिले जितेको कन्फेडेरेसन कपको उपाधिले विशेष महŒव बोकेको छ । किनभने अन्तरमहादेशीय कपमा जर्र्मनीका लागि यो पहिलो उपाधि हो । र, म्यानुअल नोयर, म्याट ह्युमेल्स, जेरोम बोटेङ, टोनी क्रुस, मेसुट ओजिल लगायत अन्य मुख्य खेलाडीबिनै जर्मनीले जित्यो । नयाँ र कम अनुभवी टिम भए पनि आखिर यसमा अन्य प्रतियोगितामा जस्तै भयो । दाबेदार कोही अरू थियो होला तर जित्यो जर्मनीले ।
विश्व फुटबलमा प्रमुख प्रतियोगितामा जर्मनीले लगातार राम्रो प्रदर्शन गर्नु पछाडि त्यहाँको फुटबल संघको र व्यावसायिक क्लबको ठूलो मिहिनेत लुकेको छ । प्रतिभाशाली युवा खेलाडी उत्पादनका लागि मात्रै त्यहाँ वर्षेनी एक अर्ब ५० करोड युरोभन्दा बढी पैसा खर्च हुन्छ । राम्रा खेलाडी उत्पादन गर्न युवा परियोजनाको महत्व जर्मनीले सन् १९९८ को विश्वकप र सन् २००० को युरोकपमा असफल भएपछि मात्रै बुझेको थियो । त्यतिबेलै जर्मन फुटबल संघले स्थानीय तहमा प्रशिक्षण केन्द्र खोलेर ११-१२ वर्षका नयाँ प्रतिभा खोज्न थाल्यो । बिस्तारै यसमा जर्मन बुन्डेसलिगाका सबै १८ क्लब जोडिए । र, उनीहरूले पनि युवा खेलाडीमा लगानी बढाउन थाले ।
जर्मनीमा अहिले व्यावसायिक लिगको (बुन्डेसलिगा) तीन तह छ । व्यावसायिक लिग खेल्ने सबै क्लबमा ‘क’ वर्गका लाइसेन्सप्राप्त प्रशिक्षक हुनु अनिवार्य छ । बुन्डेसलिगा खेल्ने सबै क्लबको छुट्टै यू–२१ र यू–१७ टिम हुन्छ । २००७ यता यू–१७ को छुट्टै व्यावसायिक लिग पनि सुरु भएको छ । त्यस्तै, स्थानीय तहमा आप्mनै लिग छन् । जसको बुन्डेसलिगा क्लबसम्म राम्रै पहुँच छ । यसरी स्थानीय तहमा युवा र नयाँ प्रतिभा भेटिए, उनीहरूलाई थप प्रशिक्षण दिएर व्यावसायिक बनाउन त्यहाँ निकै प्रभावकारी प्रक्रिया छ । अहिले राष्ट्रिय टिममा रहेका प्रतिभाशाली खेलाडी यही प्रक्रियाबाट आएका हुन् । व्यावसायिकताको दृष्टिमा बुन्डेसलिगाभन्दा इङ्ल्यान्डको प्रिमियर लिग र स्पेनको लालिगा पनि कम छैन । तर, जर्मनीको जस्तो सशक्त युथ फुटबल अरू देशमा छैन ।
२० वर्षअघि जर्मनीको टिममा निकै बलिया र फुर्तिला खेलाडी हुन्थे । युवा परियोजना सुरु भएपछि प्रतिभाशाली खेलाडी आउन थाले । ब्राजिल, अर्जेन्टिनाका जस्तै जर्मनीमा कुशल खेलाडी नभए पनि फुटबलको प्राविधिक पक्षका बारेमा जानकार खेलाडी छन् । यो पनि त्यहाँ व्यावसायिक फुटबलमा आएको सुधारले दिलाएको उपलब्धि हो । र, अहिले मेसुट ओजिल, मारियो गोड्जे, मार्को रुइस र जुलियन ड्रयाक्सलरजस्ता प्लेमेकर पनि निस्कन थालेका छन् ।
१५ वर्षयता जर्मनीको सफलताको प्रमुख हतियार हुन्, उसका प्रतिभावान युवा खेलाडी । टिममा युवा खेलाडीको बाहुल्य बढाउने नीति सबैभन्दा पहिले योर्जेन क्लिन्समेनले ल्याएका थिए । २००६ को विश्वकपमा उनकै सहयोगी भएर काम गरेका अहिलेका प्रशिक्षक लोले पनि यही नीति अपनाइरहेका छन् । उनी हरेक प्रतियोगिताअघि युवा प्रतिभा खोज्न लागिपर्छन् । अर्को वर्ष हुने विश्वकपका लागि राम्रो टिम तयार गर्नकै लागि उनले अन्तरमहादेशीय कपमा पूरै युवा टिम उतारेका हुन् ।
कन्फेडेरेसन कप जितेको जर्मन टिमको औसत उमेर मात्रै २४ वर्ष छ । ती खेलाडीहरूले राष्ट्रिय टिमबाट खेल्नका लागि मात्रै १५-२० दिन सँगै प्रशिक्षण गरेका थिए । तर, व्यावसायिक खेलमा भने उनीहरूको अनुभव अन्य टिमको भन्दा कम थिएन । र, यसको श्रेय पनि उनीहरूको घरेलु सरंचनालाई नै जान्छ । कन्फेडेरेसन कपअघि राष्ट्रिय टिमबाट कुल दुई सय खेल पनि नखेलेका जर्मन खेलाडीले विभिन्न व्यावसायिक क्लबबाट दुई हजारभन्दा बढी खेल खेलेका छन् । जर्मन टिमको पछिल्लो सफलताको आधार पनि यही हो ।
कन्फेडेरेसन कप जित्नुभन्दा ठीक दुई दिनअघि जर्मनीको २१ वर्षमुनिको टिमले यू–२१ युरोकप पनि जितेको छ । कन्फेडरेसन कप जित्ने टिमका आठ खेलाडी यू–२१ टिमका लागि पनि खेल्नयोग्य थिए । यसको मतलब यू–२१ युरोकप जित्दा पनि जर्मनीले आप्mनो मुख्य टिम प्रयोग गरेन । युवा खेलाडीले दिलाएका पछिल्ला यी दुई सफलताले अबको १०-१२ वर्षसम्म पनि जर्मन टिममा प्रतिभाशाली खेलाडीको कुनै कमी नरहने र नतिजा पनि ग्यारी लिनेकरको त्यही भनाइलाई सार्थक देखाउने खालको नहोला भन्न सकिँदैन ।
सम्बन्धित
कोभिड १९ पछि नेपाली खेलकुदलाई पुरानै लयमा फर्काउने चुनौती ...
खेलकुदमा वर्ष ०७६ लाई फर्केर हेर्दा
१ सय २४ वर्षभन्दा लामो इतिहास बोकेको आधुनिक ओलम्पिकमा प्रतियोगिता स्थगित भएको यो दोस्रो घट...
कोरोना संक्रमणको असरले खेल गतिविधिमा कस्तो असर ?
दुई महान् पिताका पुत्रहरू पनि फुटबलप्रति उति नै रुचि राख्ने भएका छन् । रोनाल्डोका छोरा क्र...
रोनाल्डोका छोराका आदर्श मेसी, मेसीका छोरा रोनाल्डोका प्रशंसक
नेपालको थाइल्यान्ड यात्रा नमीठो सम्झना...
एसिया कप खेल्ने सपनामा यसरी लाग्यो तगारो
एक महिना महत्त्वपूर्ण प्रतियोगिता खेल्न नसक्ने स्थितिमा नेपाल ...
महिला भलिबलका तीन हस्ती नै चोटग्रस्त
आर्मीको खेल साँच्चै नै उम्दा थियो, यो सिजनको लिगमा । डिफेन्स र गोलरक्षणमा निकै बलियो । आर्...