स्वतन्त्रताका लागि संघर्ष
नमीठा शब्द र हिंसात्मक व्यवहारको घेरा लगाएर विवाहलाई पिँजडामा परिवर्तन गरिदिने एउटा श्रीमान् र त्यही काँडेतारभित्र छटपटाइरहेकी उसकी श्रीमतीको कथा ।
लेखिकालाई पत्रिकाको सम्पादकले रचना पठाउन अनुरोध गर्छ । लेखिकाले ल्यापटप झोलाभित्र हाल्न खोज्दा उसको श्रीमान्ले आपत्ति जनाउँछ, ‘मेरो परिवारसँग समय बिताऊ, काम सघाऊ, घर जान लागेकी मान्छे कतिबेला लेख्न भ्याउनू ?’
त्यो हप्ता थाँती रहेका घरेलु कामबाट समय चोरेर लेखिकाले आफ्नो मोबाइलमै टाइप गरी गरी शब्दसंख्या पुर्याउँछे । त्यो हातैमा हराउने मोबाइलमा कसरी सम्पादन गर्नू, कताको पुनर्लेखन गर्नू ? श्रीमान्को इन्टरनेट डिभाइस चोरेर रचना सम्पादकलाई पठाउँछे । सम्पादकले उसलाई धन्यवाद पठाएपछि दंग पर्छे । उसकै समकक्षीहरू धक फुकाएर, नयाँ ठाउँहरू घुम्दै स्वछन्द सिर्जनामा रमाउँदा अति सीमित घेराभित्र पनि खुसी हुन सिकेकी यी युवतीको पृष्ठभूमि के होला ?
त्यही साँघुरो परिधिमा आफ्नो अस्तित्व खोज्दै गरेकी केटीको जीवनकथा समेटिएको छ, मीना काण्डसामीको ह्वेन आई हिट यू (जब तिमीलाई मैले हिर्काएँ)मा । पढेलेखेकी, आत्मविश्वासी र खरी युवतीको भेट एउटा भद्र बुद्धिजीवीसँग हुन्छ । सँगसँगै काम गर्दा सुरु भएको सम्बन्धलाई उनीहरूले बिहेमा परिणत गर्छन् । युवती शिक्षक श्रीमान्सँगै पढाउने र लेखनलाई अघि बढाउने सपना पालेर नयाँ राज्यमा सर्छे । तर, विवाहको पहिलो हप्तामै उसको जीवनमा अकल्पनीय घटनाहरू घट्छन्, लाञ्छना लाग्छन्, स्वतन्त्रता एक निमेशमै खोसिन्छ । रुसी किताब, माओको दर्शन र समावेशिताको नारालाई जीवनको लक्ष्य बनाएकी एउटी साहसी केटी फेसबुकमा लेख्न बाध्य हुन्छे, ‘लेखनलाई ध्यान दिन म यो अकाउन्ट केही समयलाई बन्द गर्दैछु ।’ अन्याय सहनुभन्दा चर्चर्ती बाझ्ने र एक कदम पछि नहट्ने त्यो निर्भीक नारीवादी युवतीलाई केले यो अवस्थामा पुर्यायो ? उपन्यासभरि तिनै घटना र परिस्थितिको व्याख्या मात्र छ ।
कथा सामान्य छ । नमीठा शब्द र हिंसात्मक व्यवहारको घेरा लगाएर विवाहलाई पिँजडामा परिवर्तन गरिदिने एउटा श्रीमान् र त्यही काँडेतारभित्र छटपटाइरहेकी उसकी श्रीमतीको कथा । तर, यो उपन्यास काण्डसामीले आफ्ना सम्झना र अनुभवका बलमा रचेकी हुँदा यो आख्यान कम र यथार्थ बढी भएको छ । कुनै उपन्यासका काल्पनिक पात्र भए यसको सर्वत्र चर्चा हुन्थ्यो होला । नारीवादी र माक्र्सवादी समीक्षाहरू पत्रिकामा छापिन्थे । र, हामी पात्रलाई भरपूर स्नेह दिन्थ्यौँ । तर, कथा सत्य घटनामा आधारित भएकै कारणले उपन्यासकार अहिले विवादित बन्न पुगेकी छन् । लेखिकालाई चरित्रहीन, अपूर्ण महिला, अक्षम पत्नी, अति–नारीवादी र वेश्याजस्ता उपमा दिन मानिसहरूलाई भ्याइनभ्याई छ । जातीय भेदभाव, लैंगिक हिंसा र राज्यको निरंकुशतालाई कडा आलोचना गर्दै कविता, आख्यान र गैरआख्यानमा नाम कमाइसकेकी काण्डसामीले आफ्नो वैवाहिक जीवनलाई असरल्ल फैलाएपछि थप विरोध भइरहेको छ ।
विरोध उनको विषयवस्तुको मात्र होइन, उनको शब्दको तागतको हो । हामी घरेलु हिंसा वा उत्पीडनका कति कथा पढ्छाँै, देख्छौँ र भोग्छौँ पनि । तर, सकेसम्म बिर्सिने प्रयास गर्छौं । यी दक्षिण भारतीय लेखिकाले कविताझैँ लय हालेर आफ्नो भयानक अतीत उधिन्छिन्, यसलाई प्रयास गरेर पनि बिर्सिन सकिँदैन । सामान्य इच्छा गुम्स्याएर, अस्तित्वलाई दबाएर, सही–गलत पन्छाएर युवती पात्रसँगै केही दिन बाँच्दा पनि निसासिएको अनुभव हुन्छ । उपन्यासका शब्दहरूले घोच्छन्, चिथोर्छन्, हिर्काउँछन् र त्यो नारकीय भोगाइ आफूमाथि घटिरहेको भान दिन्छन् ।
वैवाहिक सम्बन्धमा केन्द्रित उपन्यासले थुप्रै मुद्दा उठाउँछ । तीमध्ये चाखलाग्दो छ, एउटा ‘क्रान्तिकारी’ले आफूभन्दा सक्षम, पठित र बुद्धिमान् श्रीमतीप्रति गर्ने व्यवहार । सोचमा, भाषण छटाइमा र सिद्धान्तमा अब्बल नारीवादीका रूपमा आफूलाई प्रस्तुत गरेर नाम कमाएको एउटा पुरुष घर छिर्नेबित्तिकै पितृसत्तात्मक खोलले किन ढाकिन्छ ? परिवर्तनको चर्चा गरेर जीविका चलाउने मान्छेले आफ्नो जड सोच किन फाल्न सक्दैन ? प्रगतिशील र क्रान्तिकारीको बिल्ला भिरेर गमक्क पर्ने तर घोकिएका सिद्धान्तको रत्तिभर प्रयोग नगर्ने सबै बुद्धिजीवीको जमातलाई युवतीको श्रीमान्ले मजैले प्रतिनिधित्व गर्छ ।
विधाका रूपमा यो उपन्यासभन्दा पनि निबन्ध वा अझ लामो कविताजस्तो छ । उनले वैवाहिक हिंसाकै बारे एउटा शक्तिशाली संस्मरण लेखिसकेकी छन्, त्यतिखेरको एकत्रित उद्वेग र क्रोध यो उपन्यासमा भने छरिन पुगेको छ । एउटै मिहिन विषय बारम्बार दोहोरिँदा कतिपय पाठकलाई झर्को लाग्न सक्छ । फेरि एकोहोरो एउटै व्यक्तिविरुद्ध कयौँ पानाभरि तिक्तता पोखिइरहँदा नयाँ केही पढ्न खोजेका पाठक निराश हुन्छन् । कुनै ठाउँमा एउटै घटना र त्यसको असरलाई यति तन्काइएको छ, यसले विषयान्तर नै गराइदिने खतरा छ । उपन्यासको बीचमा लेखिकाले आफ्ना प्रेमीहरूलाई लेखेका पत्र रोचक त छन् तर यो खँदिलो उपन्यासभन्दा बेग्लै कुनै विधामा सुहाउँथे । पत्रपत्र खुल्दै जाने विम्ब र अर्थहरूको स्वाद लिन धैर्य पनि आवश्यक छ ।
तर, एउटा डरलाग्दो सपनाजस्तो विगतलाई पल्टाएर हेर्न, अझ त्यसबारे लेख्न र संसारसामु राख्न निकै नै आँट चाहिन्छ । उनको यो साहस र विरोधको प्रयासलाई नजिकसँग आत्मसात् गर्न पनि उपन्यास पढ्न आवश्यक छ । यसले स्वतन्त्र हुन चाहनेहरूलाई पखेटा लगाइदिन्छ । र, अरूलाई बन्धनमा पार्न चाहनेहरूलाई दह्रो चेतावनी ।
ह्वेन आई हिट यू (अर, द पोर्टेट अफ द आर्टिस्ट एज अ यङ वाइफ)
लेखक : मीना काण्डसामी
प्रकाशक : जगरनट
पृष्ठ : २४९
मूल्य : ८०० रुपियाँ
सम्बन्धित
भोको बिहान बोकेर, सँधै सँधै उदाइरहने, मेरा हत्केलाका ठेलाहरू हेर, लेख्न सक्छौ तिमी, मेरा अ...
पोस्टमार्टम स्थलबाट सूर्यबहादुर तामाङको आग्रह
जुत्ताको तलुवामुनि, सदियौँदेखि कुल्चिएका छौ तिमीले - मेरो अस्तित्व । (कविता)...
म निसास्सिइरहेको छु
मैले तिमीलाई गाउँ गाउँ अनि दलित, गरिबका बस्ती बस्तीमा आउ भनेको थिएँ । तर तिमी त सहर-बजारका...
गणतन्त्र
गाउँभरि युवाहरूको अभावमा खेत बाँझो देख्न नसकी, घरका हल गोरुसँगै, आफ्नो पनि हत्या गर्ने वृद...
एक बौद्धिकलाई प्रश्न
मेरो अन्त्यको अर्थहीन विलम्बबीच म सोचमग्न छु- अविलम्ब जागृत हुनुपर्ने मानिस कहाँ छ ? (कवित...
सृष्टिमा अन्तिम सेतो जिराफ
सत्तालाई सबैभन्दा बढी झोँक चल्छ, जब चिच्चाउन थाल्छ कोही नाङ्गो मानिस... ...