स्वदेश र विदेशको पढाइ
क्यानडाको राजधानी ओटावामा रहेको कार्लटन विश्वविद्यालयमा विद्यार्थी हुँदा एउटा कोर्स उत्तीर्ण गर्नका लागि १५ मिनेटको ‘प्रिजेन्टेसन’ दिनुपर्ने थियो, आफैँले रोजेको विषयमा ।
क्यानडाको राजधानी ओटावामा रहेको कार्लटन विश्वविद्यालयमा विद्यार्थी हुँदा एउटा कोर्स उत्तीर्ण गर्नका लागि १५ मिनेटको ‘प्रिजेन्टेसन’ दिनुपर्ने थियो, आफैँले रोजेको विषयमा । ‘विकास र अर्थशास्त्र’ विषय भएकाले मैले ‘नेपालको जलविद्युत्का सम्भावना र चुनौती’ विषय रोजेको थिएँ । आफ्नो प्रस्तुति सकिएपछि अनेकाँै प्रश्न आउने सम्भावना भएकाले पूर्ण तयारीमा थिएँ । नेपालमा किताब मात्रै घोत्लिएर पढेको मजस्ताका लागि विदेशको यस्तो पढाइ अनौठो मात्रै होइन, रमाइलो पनि थियो । त्यो १५ मिनेटको प्रिजेन्टेसन बनाउँदा मैले नेपालको जलविद्युत्बारेमा यति धेरै महत्त्वपूर्ण कुराहरू सिकेको थिएँ कि सायदै मैले कोर्सका पुस्तकबाट त्यस्तो ज्ञान पाएको थिएँ ।
काठमाडौँ छँदा म पाटन संयुक्त क्याम्पसमा भर्ना भएको थिएँ । घरबाट अलि टाढा पर्ने भएकाले कक्षा लिन कहिले मीनभवन क्याम्पस त कहिले कहिले शंकरदेव जान्थँे । बीबीएसको त्यो पढाइ केवल भन्नका लागि जस्तै थियो । परीक्षा आउन एक महिनाअगाडि पुतलीसडकमा पाइने खैरो रंगको पातलो निमा गेस पेपर पढेर नै धेरै परीक्षा उत्तीर्ण गरियो । पढाइ भनेको नै कोर्समा जे–जे छन्, त्यही परीक्षामा लेख्नेबाहेक केही थिएन । जसरी हुन्छ, पास हुने । न त दुई–चार जनाको अगाडि उभिएर कहिल्यै केही विषयमा बोल्नुपर्यो । न ‘टिमवर्क’मा केही गरियो, न त समस्या समाधान विधि अपनाएर केही नयाँ कुरा नै गरियो । नतिजा पनि प्रतिशत–प्रतिशतमै अल्झिएको थियो ।
स्नातक गर्न पहिलोपल्ट फिनल्यान्डको ताम्पेरे विश्वविद्यालय आइपुग्दा यहाँको तौरतरिका देखेर अचम्भित भएँ । भौतिक विकास देख्दा अचम्म पर्नु त सामान्य हो । तर, मलाई सबैभन्दा प्रभावित पारेको कुरा थियो, शिक्षक–विद्यार्थीको सम्बन्ध । वार्षिक कार्यतालिका, समय, भवन, कोर्स, शिक्षक नामावली, कोठा नम्बर र सम्पर्क ठेगाना सबै समेटिएको पुस्तिका पाउँदा झन् अनौठो लाग्यो । सुरुका दुई–तीन महिना कुनै शिक्षकलाई बोलाउन नै सकिनँ । किनभने, नेपालमा जस्तो सर–म्याडम कसैले नभन्दा रहेछन् । नामले बोलाउन निकै अप्ठ्यारो लाग्ने । बिस्तारै बानी पर्दै गयो । नेपालमा शिक्षकहरूलाई कक्षाकोठाबाहेक अन्त कतै भेटिँदैनथ्यो । सोधेको कुराको जवाफ त परै जाओस्, नमस्ते फर्काउँदा पनि पैसा पर्लाजस्तो गर्थे । तर, यहाँ भने अफिस समयमा मात्र होइन, राती–बिहानको समयमा पनि केही समस्या परेमा जवाफ तुरुन्त इमेलबाट दिइहाल्थे । केही समस्या लिएर जाँदा शिक्षकहरूले गर्व महसुस गरेको भेटँे । शिक्षकहरू साथीजस्तै भएपछि अलि खुल्न पनि सकियो । क्याम्पसबाहिर पनि भेटघाट, कफीगफ आदिले सम्बन्ध गाढा बनाउँदो रहेछ । तर, नेपालमा जस्तो गुरुलाई सम्मान–आदर गरेको भने खासै भेटिनँ ।
नेपालको जस्तै विद्यार्थी संगठनको सान र इज्जतको लोभमा आएको दोस्रो वर्ष नै अन्तर्राष्ट्रिय विद्यार्थीको चुनावमा सचिवमा उठेर जितेँ पनि । तर, यहाँ न कसैलाई भर्ना गराउन सोर्सफोर्स लगाउन मिल्ने, न त कुनै राजनीतिक पार्टीसँग नजिकिन पाइने । सबै काम विश्वविद्यालयले आफैँ गर्ने भएकाले हाम्रो काम मनोरञ्जन गराउनु, पार्टी गर्नु, घुमघाम गर्नु, अफ्रिकातिर हुने मानवाधिकार उल्लंघनविरुद्घमा स–साना कार्यक्रम गर्नु र फेरि अर्को पार्टी गर्नु ‘डान्स फर अ कज’ भन्ने नाराका साथ । यस्तै थिए, विद्यार्थी राजनीतिका अनुभव ।
विदेशतिर के पढाइन्छ भन्दा कसरी पढाइन्छ भन्ने जान्नमा उत्सुक थिएँ । विश्वकै उत्कृष्ट शिक्षा प्रणाली मानिएको फिनल्यान्डको पढाइप्रति पनि मेरो निकै कौतूहल थियो । मिलेसम्म धेरैभन्दा धेरै कलेजमा कोर्स लिएँ । एक ठाउँमा भर्ना भएर जुनसुकै ठाउँमा पढ्न पाइने भएकाले मैले देशभरिका पाँच ठाउँमा क्लास लिएँ । स्वीडेन बसाइमा पनि उप्साला विश्वविद्यालयमा विद्यार्थीको एकमहिने अनुभव बटुलेँ । त्यसपछि जुरेको थियो, क्यानडामा विद्यार्थी बन्ने अवसर ।
पश्चिमी शिक्षा प्रणालीको अनुभव लिएपछि अफ्रिकातिर जाने निर्णय गरेँ । भएभरको जुक्ति अपनाएर आफ्नै विश्वविद्यालयबाट पूर्वी अफ्रिकाको तान्जानिया जाने मौका जुराएँ । देशकै उत्कृष्ट दार ए सलाम विश्वविद्यालयमा एक सेमेस्टर बिताएँ । कीर्तिपुरको त्रिविकै झल्को दिने त्यहाँको अनुभवले मलाई विकसित र अविकसित देशमा कसरी सक्नेले नसक्नेलाई दबाउँछन् भन्ने कुराको फेरि अनुभव भयो । त्यहाँ नेपालमा जस्तै घमन्डी शिक्षक देखेँ । भौतिक संरचनादेखि शिक्षण पद्धतिमा धेरै समानता पाएँ ।
युरोप, अमेरिका र अन्य विकसित देशतिर मुख्यत: समूहमा कसरी काम गर्ने भनेर अनेकाँै ‘ग्रुप वर्क’ गरिन्छ, आफ्नो विषय कसरी राख्ने र अरूले सोधेको प्रश्न कसरी समाधान गर्ने भनेर आफैँले रोजेको विषयमा १०–१५ मिनेटको प्रिजेन्टेसन दिइन्छ । अनि, कुनै पनि कुराको स्वतन्त्र अनुसन्धान र त्यही विषयमा सूक्ष्मभन्दा सूक्ष्म कुराका बारे पेपर लेख्न लगाइन्छ । लिखित परीक्षा एकदमै थोरै हुन्छ । पछि व्यावसायिक जीवनमा काम लाग्ने पनि तिनै कुरा रहेछन् ।
नेपालमा अप्ठ्यारो तरिकाले र पाठ्यपुस्तकलाई मात्रै आधार बनाएर पढेकाले यतातिरको पढाइ रमाइलो मात्र होइन, धेरै सजिलो पनि लाग्यो । नेपाल र विदेशमा पढाइने विषयवस्तुमा मैले खासै फरक भेटिनँ । त्यसैले होला, विश्वका जस्तोसुकै ठाउँमा पनि पढ्नै भनेर आएका नेपाली विद्यार्थीले निकै राम्रो गरिरहेका छन् । संसारका कुनै पनि विद्यार्थीभन्दा नेपाली विद्यार्थी केही कुरामा पनि कम छैनन् ।
सम्बन्धित
पढ्ने–पढाउने पाउनै मुस्किल...
४२ विद्यालयमा चलेको थारु भाषा शिक्षा अहिले जेनतेन एउटामा
शिक्षकहरू हाम्रा नानीहरूलाई मायाको आँखाबाट कहिले हेर्छन् ? आखिर कहिले उनीहरू ‘वास्तविक शिक...
... अनि किन जाने यस्तो स्कुल ?
राजनीति–व्यापार गठजोडका कारण मेडिकल कलेजद्वारा विद्यार्थीबाट असुलेको अतिरिक्त रकम फिर्ता ग...
अटेरी मेडिकल कलेज सञ्चालकसामु निरीह सरकार
विद्यार्थीको सिकाइमा सकारात्मक प्रभाव पारे पनि शिक्षकमै विषयगत ज्ञान कमजोर...
स्थानीय पाठ्यक्रम कति प्रभावकारी ?
अतिरिक्त शुल्क फिर्ता गराउन चिकित्सा शिक्षा संघर्ष समितिको आन्दोलन ६–७ वटामेडिकल कलेजमा ...
मेडिकल कलेजका बेथिति : निर्लज्ज सञ्चालक, मूकदर्शक सरकार
परीक्षाजस्तो संवेदनशील विषयमा त्रिवि विज्ञान तथा प्रविधि अध्ययन संस्थान परीक्षा शाखाले आकस...