स्मरण: गीतमा प्रतिबन्ध
‘सर्वहारा’ शब्द कम्युनिस्ट शब्द हो भनेर प्रतिबन्ध लगाइएको रहेछ ।
विसं २०१७ सम्म प्रेम र यौवनका गीतहरूको बोलवाला थियो । त्यतिबेलाका प्राय: गीत रसरंगमा आधारित भएरै रचना गरिन्थे । यस्तै गीत लेख्न र गाउनमा प्रतिस्पर्धा थियो । मैले पनि त्यस्ता थुप्रै गीत लेखेँ, जस्तो : ‘ए कान्छा ठट्टैमा...’, ‘स्वर्गकी रानी...’, ‘घुम्तीमा नआऊ है...’, ‘त्यो खोलाको सङ्लो पानी...’ आदि, इत्यादि । त्यसमध्ये ‘त्यो खोलाको सङ्लो पानी...’ त अश्लील भयो भनेर गोरखापत्रले सम्पादकीय नै लेख्यो र रेडियो नेपालले प्रतिबन्ध लगायो । त्यसउप्रान्त त्यो गीत रेडियोबाट कहिल्यै बजेन ।
यत्तिकैमा एक दिन नारायणगोपालले ‘केवल मायाप्रीतिका मात्र गीत कति लेख्छस्, फरक ढंगका पनि लेख् न, त्यस्ता गीत गाउने मलाई खुब धोको छ’ भन्यो । एकदिन नारायणगोपाल र म नयाँ परिवेश अनुरूपका गीतका बारेमा हाम्रो घरमा बसेर चर्चा गरिरहेका थियौँ, यत्तिकैमा एक हुल माग्नेहरू गेटमा आएर ‘अलौक भिक्षा पाऊँ !’ भन्दै कराएको सुन्यौँ र देख्यौँ । नारायणगोपाललाई के लागेछ कुन्नि ? ‘यिनै माग्नेका दु:खलाई लिएर गीत लेख् न त ?’ भन्यो । मलाई पनि उसको कुरा खुब जँच्यो । तत्कालै एउटा स्थायी पंक्ति फुराएँ, ‘एक मुठी चामल पाऊँ लौ हजुर, जयजय मनाऔँला !’
स्थायी पंक्तिलाई हामीकहाँ धूँवा भन्ने चलन छ । नारायणगोपालले यो सुनेपछि भन्यो, ‘धूँवा त धुँवादार छ त !’ त्यसपछि अन्तरा थपेँ, ‘धर्म कठै बग्यो कर्मले है ठग्यो, घरघर मगन्ते भेषमा डुल्नुपर्यो ।’ र, अन्त्यमा लेखेँ, ‘बिहानीका तारा हामी सर्वहारा, धूलोमा लडी ओड्दछाैँ शीतका धारा ।’
नारायणगोपालले यो गीत खुब मन परायो । उसकै संगीतमा रेडियो नेपालबाट प्रत्यक्ष प्रसारण भयो । संगीतकार तथा गायकले मात्र होइन, मैले पनि धेरै नै प्रशंसा र वाहवाही पाएँ । तर, दुर्भाग्य ! यो गीतले दोस्रोपटक बज्ने मौकै पाएन । रेडियो नेपालले एकतर्फी रूपमा प्रतिबन्ध लगाइदियो ।
त्यसबेलाको राजनीतिक व्यवस्था नै त्यस्तै थियो । किन मेरो गीत बजेन भनेर सोध्ने अवस्थै थिएन । मैले पनि त्यो गीत दोहोरिएर किन बजेन भनेर रेडियो प्रशासनसँग सोधिनँ । रेडियो प्रशासकसँग कारण सोधियो भने गीतका रिल काटिदिने र क्यासेट छेडखानी गरेर सधैँभरिका लागि बज्नै नमिल्ने गरेर थन्काइदिन्थे । यसै पनि रेडियो नेपालका कर्मचारी र बाहिरका गीतकार र गायकहरूमा ठूलो विभेद थियो । गीत रचना गर्ने हामी मात्र होइन, नारायणगोपालजस्ता गायक र संगीतकार पनि त्यसको प्रत्यक्ष मारमा परेका थिए । त्यस कारण पनि रेडियो प्रशासनसँग दोहोरो कुराकानी गरिँदैनथ्यो ।
पछि, साथीभाइ एवं नजिकका इष्टमित्रबाट थाहा पाएँ, खासमा ‘सर्वहारा’ शब्दका कारण गीत नै प्रतिबन्धमा परेको रहेछ । ‘सर्वहारा’ शब्द कम्युनिस्ट शब्द हो भनेर प्रतिबन्ध लगाइएको रहेछ । त्यसै गरी, युवा एवं नयाँ पुस्तालाई मध्यनजर गरेर नारायणगोपालकै अनुरोधमा रचिएको र उसैले संगीत दिएर गाएको ‘हाँस्छौँ गाउँछौँ वसन्त ल्याउँछौँ प्रेमको अनुरोधमा, धन्ना लिन्नौँ हामी केही उनको विरोधमा’ भन्ने मेरो अर्को गीतमाथि पनि प्रतिबन्ध लगाइयो । त्यसरी एकपटक बजेका मेरा झन्डै १० वटा गीतमाथि रेडियो नेपालले बन्देज लगायो । पछिल्लो गीतमा ‘उनको विरोधमा’ भन्ने वाक्यांश राजालाई लक्षित गरिएको भनेर प्रतिबन्ध लगाइएको रहेछ ।
प्रतिबन्धमा परेका मेरा अधिकांश गीत नारायणगोपालले नै गाएको थियो । रेडियो नेपालको एकाधिकार यस्तो थियो कि त्यहाँका हाकिमहरूलाई लागेपछि लाग्यो, लाग्यो । बाहिर केही कुरा गरेको या रेडियो नेपालका बारेमा कुरा काटेको चाल पाएपछि उनीहरूको कोपभाजनमा परिहालिन्थ्यो । नारायणगोपाल र म त्यसको बढी सिकार भयौँ ।
प्रस्तुति: ईश्वरी ज्ञवाली
सम्बन्धित
कम्युनिस्ट पार्टीको गुपचुप गतिविधि गरिरहेका नरबहादुर कम्मर र छाती दुवैतिर जापानी, भारु, ने...
थैले काण्डमा पक्राउ पुर्जी
नारदमुनि स्वयंले अंग्रेजी पढाउँथे । ब्रिटिस फौजको जमदार भएका र त्यति धेरै नपढेका उनले हाम...
नारदमुनि थुलुङको सम्झना
हुन त कतिपयले ममा भारतीय कलाकार मकबुल फिदा हुसैनको प्रभाव परेको भन्ठान्छन् । तर भक्तपुरमा ...
यस कारण घोडाचित्र
राजा वीरेन्द्रले आफ्ना निजी सचिव चेतबहादुर कुँवरमार्फत ६० हजार रुपैयाँ पठाइदिए । त्यही पै...
राजाले दिएको टिकटमा अमेरिका
सरकारी स्वामित्वको अखबार भएको हुँदा व्यवस्थाको विरोध गरेर गोरखापत्रमा व्यंग्यचित्र बनाउन प...
अखबारमा कार्टुनकारिता
जापानको फुकुओका आर्ट म्युजियममा पहिलोपल्ट आयोजित एसियाली कला प्रदर्शनीमा दस अवतार सिर्जना ...