[स्मरण] भूपीसँगका पल
ज्यादै खर्चालु स्वभावको थियो ऊ । खल्तीमा पैसा छउन्जेल दिल खोलेर खर्च गथ्र्यो ।
थोरै लेखेर धेरै चर्चा बटुल्ने कवि हो, भूपी शेरचन । ऊसँग बिताएका पलहरू सम्झिँदा अहिले पनि म ज्यादै भावुक हुन्छु । होटल सोल्टीको क्यासिनोमा बाह्रमासे खेल्दाको कुरा होस् या न्युरोड पीपलबोट आसपास र उपत्यकाका अधिकांश भट्टी पसलमा जाँड–रक्सीमा झुम्दाको कुरा, सदैव
सम्झनामा नाचिरहन्छन् ।
ज्यादै खर्चालु स्वभावको थियो ऊ । खल्तीमा पैसा छउन्जेल दिल खोलेर खर्च गथ्र्यो । पिउन–पिलाउन, साथीभाइहरूसँग रमाइलो गर्न ऊ सधैँ अगाडि नै हुन्थ्यो । असल रक्सी, असल चुरोट र महँगो होटलमा पैसा खर्च गर्दा ऊ खुसी हुन्थ्यो ।
एक दिन चुरोट किन्ने पैसा नभएर बिँडी किनेर काम चलाएको सम्झिन्छु । एउटा बिँडी मलाई सल्काउन दिएर अर्को बिँडी सल्काउँदै उसले एउटा शेर सुनाएको थियो, ‘ उपर गए तो सिँढी पर, उतर गए तो बिँडी पर ।’
पिउन थालेपछि बेहिसाब पिउँथ्यो । मस्त पिएर सोल्टी होटलबाट मोटरसाइकलमा फर्किंदा एकोहोरो हर्न बजाएको एउटा सन्दर्भ छ । उसले हर्न थिचेको थिच्यै गर्दा मैले सोधेँ, ‘के गरेको ? अगाडि त कोही पनि छैनन् त ?’ उसको जवाफ आयो, ‘हँ ! बजाइदिऊँ न ! के फरक पर्छ र ! उपत्यका जागै रहेको सन्देश त जान्छ ।’
घनिष्टता बढ्दै गएपछि मैले उसलाई रक्सी नपिउन धेरैपटक अनुरोध गरेँ । मुखले त ‘हुन्छ, म छोडिदिन्छु’ भन्थ्यो । तर, साँझ परेपछि त्यही मण्डलीमा पुगिहाल्थ्यो । रक्सीका बारेमा ठट्टा पनि खुबै गथ्र्यो । जस्तो : ‘भोलिदेखि म नपिउने विचारमा छु तर आजसम्म म बारमा छु ।’ के कारणले ऊ यति धेरै पिउँथ्यो र दु:खी हुन्थ्यो, मैले पनि धेरैपटक जान्ने कोसिस गरेँ । तर, ऊ सधैँ हाँसेर मेरो प्रश्नको जवाफ नदिई तर्किन्थ्यो । ज्यादै कर गर्यो भने ऊ यो कविता सुनाउँथ्यो :
‘ए मैले पिएकामा रिसाएका साथीहरू !
पिएर त हेर पिउन झन् गाह्रो छ
ए मरेर सहिद हुनेहरू हो
जिएर त हेर जिउन झन् गाह्रो छ ।’
म नपिउने भएकाले पनि होला, भूपी बारम्बार मलाई यो कविता सुनाउँथ्यो । मैले पनि सोचेँ, उसलाई पनि कविताबाटै जवाफ फर्काउँछु । अनि, एउटा कविता लेखेँ, जो रूपरेखामा प्रकाशित पनि भयो :
‘पिएर के हेरुँ साथी !
जबकि, नपिएरै म यहाँ अघाएको छु ।
मरेर सहिद किन हुनु साथी
जबकि, जिउँदै म यहाँ मरेको छु ।’
संगत बढ्दै गएपछि भूपी र मैले एउटा युगल गीत लेख्यौँ । तर, दुर्भाग्य ! नगाईकनै त्यो गीत हरायो । गीत भनेपछि ऊ भुतुक्कै हुन्थ्यो । एक दिन नारायणगोपाललाई साथ लिएर ऊ मेरो घर आयो । म बिरामी भएर ओच्छ्यान परेको थिएँ । उसले भन्यो, ‘रत्न ! आज मेरो एउटा गीतमा सानुबाबुले धेरै मीठो धुन भरेको छ । त्यही गीत तँलाई सुनाउन हामी यहाँ आएको ।’ भूपी नारायणगोपाललाई सानुबाबु भन्थ्यो । भूपीले त्यहाँ सुनाएको गीतको बोल यस्तो थियो :
‘सानो हुरीमै बैँशको सपना, सिमलको फूलझैँ झरी गयो
तिमी के गयौ, खुसीले पनि मलाई आँखा तरी गयो ।’
भूपीले धेरै गीत लेखेको छ । त्यसमध्ये उसको चर्चित गीत ‘यो नेपाली शिर उचाली...’ पनि हो । नातिकाजीको संगीतमा प्रेमध्वज र तारादेवीले गाएका थिए, यो गीत ।
एक दिन न्युरोडमा भेट हुँदा यस गीतका बारेमा भूपीले भनेको थियो, ‘हेर साथी ! मैले यो गीत लेखेर ठूलो गल्ती गरेँ ।’ म आश्चर्यचकित भएँ, यति सुन्दर र चर्चित गीत लेखेर किन गल्ती भयो भनेर मैले उसलाई सोधेँ । ‘यो नेपाली शिर खुम्च्याई चाकरीमा दगुरिन्छ’ भन्ने पो लेख्नुपर्ने रहेछ भन्ने उसको जवाफ आयो ।
साधारणदेखि बौद्धिक पाठकसम्मलाई आफ्ना कवितामार्फत प्रभावमा पार्न सक्ने अचूक क्षमता थियो उसमा । बहुमुखी प्रतिभा र उन्नत स्तरको कवि भूपीले थोरै लेखेर धेरै चर्चा बटुल्नुको कारण पनि यस्तै–यस्तै थियो । त्यसैले त उसका हरेक रचना उच्च कोटिका छन् । तर, दुर्भाग्य ! यस्तो महान् प्रतिभा अल्पायुमै हामीबाट बिदा भयो ।
प्रस्तुति : ईश्वरी ज्ञवाली
सम्बन्धित
कम्युनिस्ट पार्टीको गुपचुप गतिविधि गरिरहेका नरबहादुर कम्मर र छाती दुवैतिर जापानी, भारु, ने...
थैले काण्डमा पक्राउ पुर्जी
नारदमुनि स्वयंले अंग्रेजी पढाउँथे । ब्रिटिस फौजको जमदार भएका र त्यति धेरै नपढेका उनले हाम...
नारदमुनि थुलुङको सम्झना
हुन त कतिपयले ममा भारतीय कलाकार मकबुल फिदा हुसैनको प्रभाव परेको भन्ठान्छन् । तर भक्तपुरमा ...
यस कारण घोडाचित्र
राजा वीरेन्द्रले आफ्ना निजी सचिव चेतबहादुर कुँवरमार्फत ६० हजार रुपैयाँ पठाइदिए । त्यही पै...
राजाले दिएको टिकटमा अमेरिका
सरकारी स्वामित्वको अखबार भएको हुँदा व्यवस्थाको विरोध गरेर गोरखापत्रमा व्यंग्यचित्र बनाउन प...
अखबारमा कार्टुनकारिता
जापानको फुकुओका आर्ट म्युजियममा पहिलोपल्ट आयोजित एसियाली कला प्रदर्शनीमा दस अवतार सिर्जना ...