[स्मरण] डुंगामा कवि गोष्ठी
डुंगामा उभिएर कविता वाचन गर्ने पंक्तिमा पर्न नसकेका हामी केही कवि/साहित्यकार राजा डुंगामा सवार हुने बाटोमा पंक्तिबद्ध भएर लाम लागेका थियौँ ।
चितवनको रामपुरस्थित पञ्चायत प्रशिक्षण केन्द्रमा २३ फागुन २०२३ बाट साताव्यापी साहित्य सम्मेलन आयोजना गरिएको थियो, जसमा मुलुकभित्र र प्रवासका गरी १ सय ४० जना कवि/साहित्यकारको उपस्थिति थियो । साहित्यकार तथा तत्कालीन यातायातमन्त्री केदारमान व्यथितको विशेष अग्रसरतामा सम्पन्न उक्त कार्यक्रममा वाग्मती अञ्चलबाट चूडानाथ भट्टराई, भैरव अर्याल, पोषण पाण्डे, जीवनलाल सत्याल, निरविक्रम प्यासी, कृष्णप्रसाद पराजुलीसँगै म पनि सहभागी थिएँ ।
प्रतिनिधिहरूले आ–आफ्ना अञ्चलका साहित्यिक गतिविधिमाथि प्रकाश पारेपछि विभिन्न उपसमितिका तर्फबाट प्रस्तावित प्रस्ताव पारित गरिएको थियो । पारित सात प्रस्तावमा बालकृष्ण सम प्रस्तावक र गोविन्दबहादुर मल्ल समर्थक रहेको ‘वर्तमान युगमा साहित्यकारको दायित्व’ र सिद्धिचरण श्रेष्ठ प्रस्तावक र गोविन्द भट्ट समर्थक रहेको ‘ विश्वशान्ति र लेखक’ बारेको प्रस्ताव ज्यादै उच्चस्तरका थिए । कवि लेखनाथ पौड्यालले यही पावन क्षेत्रमा निधन हुँदा ‘एक वेद/संस्कृत पढाउने पाठशाला’ र ‘ कवि/लेखकहरूका निम्ति एउटा धर्मशाला’ निर्माणको अन्तिम इच्छा व्यक्त गरेकाले सम्मेलनले गोविन्दप्रसाद लोहनीले प्रस्तुत गरेको ‘कविशिरोमणि लेखनाथ पौड्यालको अन्तिम इच्छालाई कार्यान्वित गर्ने’बारेको प्रस्तावलाई उचित महत्त्व दिँदै राजा महेन्द्रमा विशेष ढंगले जाहेर गर्ने प्रस्ताव पनि पारित गरेको थियो ।
साहित्य सम्मेलनको अन्तिम दिन नवलपरासी, तनहुँ र चितवनको त्रिवेणी देवघाटमा कवि गोष्ठीको आयोजना गरियो । प्रतिनिधि कविहरूले कविता वाचन गरेपछि साहित्य सम्मेलनलाई औपचारिक रूपमा राजा महेन्द्रले सम्बोधन गर्ने र समापन गर्ने कार्यतालिका थियो ।
२८ फागुन बेलुका त्यस्तै साढे ६ बजेको हुँदो हो, राजा महेन्द्र देवघाट पुगे । दुई डुंगाको बीचमा राखिएको डुंगालाई विशेष ढंगले सजाइएको थियो । बीचको डुंगा राजाका लागि थियो । त्यसबाहेकका दुई डुंगा थिए, कविहरूका लागि । तिनै डुंगामा उभिएर कविहरूले कविता वाचन गर्ने कार्यक्रम रहेछ ।
सबै कवि/साहित्यकार दुईवटा डुंगामा नअट्ने भएपछि आयोजकहरूले तजबिजी अधिकार प्रयोग गरी २९ जनालाई मात्र कविता वाचनका लागि छाने । त्यो छनोटमा न्याय भएन । किनभने, कुनै अञ्चलका चार जनासम्म कवि/साहित्यकार कविता वाचनमा परेका थिए भने कुनै अञ्चलको प्रतिनिधित्व नै शून्य थियो । तर, यसको विरोध कसैले गरेन ।
डुंगामा उभिएर कविता वाचन गर्ने पंक्तिमा पर्न नसकेका हामी केही कवि/साहित्यकार राजा डुंगामा सवार हुने बाटोमा पंक्तिबद्ध भएर लाम लागेका थियौँ । मभन्दा अघि कोसी अञ्चलका प्रतिनिधि गणेश भण्डारी उभिएका थिए भने पछाडिपट्टि पनि सोही अञ्चलका कवि पुण्यप्रसाद सुवेदी । राजा सबैसँग परिचय लिँदै अगाडि बढिरहेका थिए । यत्तिकैमा मसँगै उभिएका गणेश भण्डारीले आफ्नो नाम उच्चारण गर्दै परिचय दिए । राजाले टक्क उनलाई रोके र सोधे, ‘ए ! तिमी तिनै भण्डारी हौ, जसलाई त्रिभुवन विश्वविद्यालयले पहिले एमए उत्तीर्ण भएको घोषणा गरेर पछि अनुत्तीर्ण करार गरिदिएको थियो ?’
भण्डारी त हेरेको हेरै भए । आँखाभरि आँसु पारेर उनले भने, ‘सरकार ! न्याय हराए गोरखा जानु भन्थे, अब त त्यो उखान पनि समाप्त भयो ! कतै गए पनि मैले न्याय पाइनँ ।’ राजाले कुममा हात राख्दै सान्त्वना दिए, ‘कसैमाथि यत्तिकै अन्याय हुन दिन्न । हेरुँला ।’
भण्डारीपछि मेरो पालो आयो । मैले आफ्नो नाम भनेँ । ‘तिम्रा गीत सुनेको छु, अझ राम्रो गर्दै जाऊ’ भन्दै राजा अगाडि बढे । एवंरीतले सबैसँग कुराकानी गर्दै राजा अघि बढे । र, भव्य सजावट गरिएको ठूलो डुंगातर्फ लम्किए ।
बेलुका ठीक ७ बजे देशव्यापी नेपाली साहित्य सेमिनार तयारी समितिका अध्यक्ष केदारमान व्यथितको अध्यक्षतामा १४ अञ्चलका प्रतिनिधि कविहरूका बीचमा डुंगा कवि गोष्ठी भयो । झन्डै दुई घन्टा त्यो कवि गोष्ठीमा समापन मन्तव्य राजाले नै दिए । गोष्ठी सकिएपछि नारायणी अञ्चलाधीश रामनारायण श्रेष्ठले कविहरूका निम्ति देवघाटको जंगलमा रात्रिभोज दिए । त्यो रात्रिभोज पनि राजा महेन्द्रले प्रत्यक्ष अवलोकन गरे र हाँसो–ठट्टा गर्दै रात्रिकालीन समयलाई अविस्मरणीय बनाइदिए ।
राजा महेन्द्र सूचना संग्रहका कति धनी थिए भन्ने गणेश भण्डारीलगायत त्यस कवि गोष्ठीमा सहभागीहरूलाई एक–एक गरी सोध्दै उनीहरूका बारेमा केही न केही कुरा भनेबाट पनि प्रस्ट हुन्छ । तर, उनले भण्डारीलाई स्वत: पास गराउन भने दबाब दिएनन् । फेरि परीक्षा दिएरै उनी एमए उत्तीर्ण भए । तर, दुर्भाग्य ! पछि कार दुर्घटनामा परेर उनको निधन भयो ।
५० वर्षअघिको त्यो घटना सम्भिँmदा राजा महेन्द्रको प्रत्येक व्यक्तिका बारेमा सूचना संकलन गर्ने र सोही अनुसार प्रस्तुत हुने उनको व्यवहार प्रभावित पार्ने खालको त थियो नै, साथसाथै उनको मिलनसार र मृदुभाषी बोली–वचनले उनको कदलाई पनि साँच्चै उँचो बनाएको थियो भन्ने लाग्छ ।
प्रस्तुति : ईश्वरी ज्ञवाली
सम्बन्धित
कम्युनिस्ट पार्टीको गुपचुप गतिविधि गरिरहेका नरबहादुर कम्मर र छाती दुवैतिर जापानी, भारु, ने...
थैले काण्डमा पक्राउ पुर्जी
नारदमुनि स्वयंले अंग्रेजी पढाउँथे । ब्रिटिस फौजको जमदार भएका र त्यति धेरै नपढेका उनले हाम...
नारदमुनि थुलुङको सम्झना
हुन त कतिपयले ममा भारतीय कलाकार मकबुल फिदा हुसैनको प्रभाव परेको भन्ठान्छन् । तर भक्तपुरमा ...
यस कारण घोडाचित्र
राजा वीरेन्द्रले आफ्ना निजी सचिव चेतबहादुर कुँवरमार्फत ६० हजार रुपैयाँ पठाइदिए । त्यही पै...
राजाले दिएको टिकटमा अमेरिका
सरकारी स्वामित्वको अखबार भएको हुँदा व्यवस्थाको विरोध गरेर गोरखापत्रमा व्यंग्यचित्र बनाउन प...
अखबारमा कार्टुनकारिता
जापानको फुकुओका आर्ट म्युजियममा पहिलोपल्ट आयोजित एसियाली कला प्रदर्शनीमा दस अवतार सिर्जना ...