तस्बिरमा अस्ट्रेलियाका नेपाली
अस्ट्रेलियामा बस्ने नेपालीका बारेमा अध्ययन गर्नुपर्दा वा भोलिको पुस्ताले खोज्दा यो पुस्तक प्रभावकारी सन्दर्भ–सामग्री हुनेमा शंकै छैन ।
नेपालीहरू नेपालमा मात्र सीमित छैनन्, संसारभर छरिएका छन् । ‘ग्लोबल भिलेज’को अवधारणा व्याप्त जो छ । स्थायी बसोवासका लागि सुविधासम्पन्न मुलुक पहिलो रोजाइमा पर्ने भइहाल्यो । कोही अध्ययन त कोही रोजगारीका लागि परदेश पुग्छन् र त्यहीँको माहौलमा रमाउँछन् । यस्ता नेपाली र नेपालीभाषीको संख्या लाखौँ पुगेको छ । अवैध बाटो र प्रक्रियाबाट नेपाल छोड्नेको पनि कमी छैन, जो विकसित देशमा वैध बसाइका लागि संघर्ष गर्छन् । विडम्बनाचाहिँ ती नेपालीहरू कसरी विदेश पुगे, कुन हैसियतमा विदेशमा बसिरहेका छन्, नेपाल र नेपाली संस्कृतिप्रतिको लगाब कतिको गाढा छ जस्ता विविध पक्षका बारेमा अध्ययन–अनुसन्धान भएको छैन, अखबारमा छापिने एकाध रिपोर्टिङबाहेक । जबकि, उनीहरूका बारेमा स्वदेश र अन्य डायस्पोरामा निकै चासो राखिन्छ । थोरै नै सही, त्यही अभाव पूर्ति गर्ने प्रयास गरेको छ, फोटो पुस्तक फार एन्ड अवे : नेप्लिज फ्याम्लिज इन अस्ट्रेलियाले । नामैबाटै थाहा हुन्छ, पुस्तक अस्ट्रेलियामा रहेका नेपालीसँग केन्द्रित छ । फोटोहरू सुधीरा शाहले खिचेकी हुन् भने शब्दचाहिँ योगेन्द्र विष्टले लेखेका हुन् ।
सुधीरा आफैँ अस्ट्रेलियामा बस्छिन् । तर, नेपाल छँदै फोटोग्राफी र फोटो–पत्रकारितामा नाम कमाइसकेकी थिइन् । नेपालमा मात्र होइन, भारत, बेलायत र अस्ट्रेलियाका पत्रपत्रिकामा समेत उनका फोटोहरू छापिइसकेका छन् । सन् २०१६ मा प्रतिष्ठित ‘एआईपीपी फोटोग्राफर अफ द एयर’को फाइनलमा पुगेकी थिइन् । यही दक्षता उनको पुस्तकमा मज्जाले अनुभूत गर्न पाइन्छ । आठ खण्डमा विभक्त यस पुस्तकमा करिब ४ सय ७० परिवारका फोटो र छोटो–मीठो जानकारी समावेश छ । पुस्तक किन पनि विशेष लाग्छ भने यति विघ्न फोटो हुँदा पनि झारोटराइ ढंगले खिचिएको छैन, सबै आकर्षक बान्की र शैलीका छन् । र, प्रत्येक तस्बिरमा मुस्कान, परिवारको सामीप्य र घनिष्ठता महसुस हुन्छ । तर, पुस्तकलाई अब्बल बनाउन यी विशेषता मात्र पर्याप्त छैनन् । मुख्य कुरा, जति पनि फोटोहरू छन्, तिनमा नेपाली भेषभूषा, गरगहना र शैलीलाई विशेष महत्त्व दिइएको छ । फोटोहरू हेर्दा लाग्छ, ती तस्बिरहरू नेपालबाट झन्डै आठ हजार किलोमिटर दूर रहेको मुलुकमा खिचिएको होइन, नेपालमै खिचिएको हो । कतिले दौरा–सुरुवाल लगाएका छन्, कतिले साडी–चोलो । हाकु पटासीलगायतका निश्चित समुदायको चिनारी दिने पहिरनमा सजिएका फोटो पनि समाविष्ट छन् । सायद यही कारण हुनुपर्छ, पुस्तक पल्टाइरहँदा आँखा मात्र होइन, मन पनि तानिरहन्छ ।
पुस्तकमा उल्लेख भए अनुसार सन् १९६४ मा सम्भवत: पहिलो पटक पाँच नेपाली अस्ट्रेलिया पुगेका थिए, जसमध्ये तीन जना त्यहीँ ‘सेटल’ भए । तर, उनीहरू को–को थिए ? पहिचान हुन सकेको छैन । ’७० को दशकमा पुगेका अमृत तन्डुकार, नारायण प्रधान र इन्द्रा बानले चाहिँ नेपालीहरूसँग सम्पर्क सुरु गरे, स्थायी बसोवासका लागि सघाउ गरे । सन् १९९५ सम्म अस्ट्रेलियामा बस्ने नेपालीको संख्या सात सय पुग्यो, त्यसको पाँच वर्षपछि त २ हजार १ सय । यो संख्या अहिले ६० हजार पुगिसकेको छ । जसमा अध्ययन, रोजगारी, स्थायी बसोवासको प्रमाणपत्र र नागरिकता लिएर बसेका नेपाली पर्छन् । यो आँकडाले अस्ट्रेलिया नेपालीको आकर्षणको अग्रभागमा रहेको पुष्टि गर्छ । सुधीराको चाह तिनै नेपाली र उनीहरूका बारेमा पठनीय जानकारी पुस्तकमार्फत सार्वजनिक गर्नु र अभिलेख राख्नुमा देखिन्छ । मोटो र चिल्ला कागज, आकर्षक साजसज्जा मात्र होइन, फोटोग्राफीको स्तरमा समेत यो पुस्तकले अब्बलता हासिल गरेको छ । प्रत्येक परिवारको फोटोलाई एक पेज छुट्याइएको छ । रंगीन मात्र होइन, श्यामश्वेत तस्बिर पनि संग्रहित छन् ।
सुधीरा र उनका श्रीमान् विजयले एक दशकमा अस्ट्रेलियाका विभिन्न सहरको भ्रमण गरे । त्यस क्रममा अस्ट्रेलिया पुगेका नेपालीको पहिलो पुस्तादेखि अध्ययनका लागि भर्खरै छिरेका नेपालीहरूलाई भेटे, जीवनशैली नियाले, कुराकानी गरे, उनीहरूभित्रका दु:ख–सुख र उज्यालो भविष्यको पर्खाइलाई महसुस गरे, नेपालप्रतिको प्रेमलाई आत्मसात् गरे । त्यही अगाध स्नेहको प्रतिफल हो, यो पुस्तक । अन्यथा अस्ट्रेलियाका फरक सहरमा बसिरहेका नेपालीलाई एउटै किताबरूपी मालामा उन्न कसरी सम्भव हुन्थ्यो होला र ? अधिकांश तस्बिरहरूमा दुई पुस्तालाई देख्न सकिन्छ । यसले तीनपुस्ते नेपाली परिवार अस्ट्रेलियामा विकसित भई नसकेको प्रतीत हुन्छ । परिवारका पोट्रेटहरू जति सुन्दर छन्, योगेन्द्र विष्टले त्यति नै प्रभावकारी र रसिलो पारामा परिवारका यावत् विवरण शब्दमा बुनेका छन् । यसले पुस्तकको महत्त्व अझ बढाएको छ ।
अस्ट्रेलियामा बस्ने नेपालीका बारेमा अध्ययन गर्नुपर्दा वा भोलिको पुस्ताले खोज्दा यो पुस्तक प्रभावकारी सन्दर्भ–सामग्री हुनेमा शंकै छैन । सुधीराको लगन र फोटोग्राफी कला अनि योगेन्द्रको शब्दशिल्पले जो–कोहीको मत जित्छ । तर, परिवारले नेपाली चाडपर्व मनाइरहेका केही तस्बिरहरू पनि समावेश हुँदा हुन् त अझ आत्मीयता आभास हुन सक्थ्यो ।
फार एन्ड अवे, नेप्लिज फ्याम्लिज इन अस्ट्रेलिया
फोटो : सुधीरा शाह
शब्द : योगन्द्र विष्ट
प्रकाशक : स्टुडियो
पृष्ठ : ४९६
मूल्य : उल्लेख नभएको
सम्बन्धित
भोको बिहान बोकेर, सँधै सँधै उदाइरहने, मेरा हत्केलाका ठेलाहरू हेर, लेख्न सक्छौ तिमी, मेरा अ...
पोस्टमार्टम स्थलबाट सूर्यबहादुर तामाङको आग्रह
जुत्ताको तलुवामुनि, सदियौँदेखि कुल्चिएका छौ तिमीले - मेरो अस्तित्व । (कविता)...
म निसास्सिइरहेको छु
मैले तिमीलाई गाउँ गाउँ अनि दलित, गरिबका बस्ती बस्तीमा आउ भनेको थिएँ । तर तिमी त सहर-बजारका...
गणतन्त्र
गाउँभरि युवाहरूको अभावमा खेत बाँझो देख्न नसकी, घरका हल गोरुसँगै, आफ्नो पनि हत्या गर्ने वृद...
एक बौद्धिकलाई प्रश्न
मेरो अन्त्यको अर्थहीन विलम्बबीच म सोचमग्न छु- अविलम्ब जागृत हुनुपर्ने मानिस कहाँ छ ? (कवित...
सृष्टिमा अन्तिम सेतो जिराफ
सत्तालाई सबैभन्दा बढी झोँक चल्छ, जब चिच्चाउन थाल्छ कोही नाङ्गो मानिस... ...